सामाजिक सञ्जाल बन्द गर्ने सरकारी नीति हत्केलाले सूर्यलाई छेक्छु भनेजस्तो : मीनेन्द्र रिजाल

सामाजिक सञ्जाल बन्द गरेपछि भीपीएन डाउनलोड गर्नेको संख्या बढेको र त्यसले नागरिकलाई अर्को जोखिमतिर धकेल्न सक्ने कांग्रेस नेता रिजालले बताएका छन् ।

भाद्र २२, २०८२

किशोर दहाल

The government policy of shutting down social media is like hitting the sun with the palm of your hand: Meinendra Rizal

What you should know

काठमाडौँ — कांग्रेस नेता मीनेन्द्र रिजालले सामाजिक सञ्जाल बन्द गर्न सरकारले लिएको नीतिलाई हत्केलाले सूर्यलाई छेक्छु भनेजस्तो काम भएको टिप्पणी गरेका छन् ।

कान्तिपुरसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल बन्द गरेपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) डाउनलोड गर्नेको संख्या बढेको र त्यसले अर्को जोखिमतिर धकेल्न सक्ने बताए । उनले भने, 'नागरिकलाई एउटा बाटो रोकेर अर्को बाटोतर्फ धकेल्नु उचित हुँदैन । त्यही नै गर्न खोजिएको हो भने, जसरी चीनले नियन्त्रण गरेर लिएर हिँडेको छ, त्यो बाटोमा जान सक्ने नेपालको प्रशासकीय क्षमता पनि छैन । मेरो भनाइको सार हो– सामाजिक सञ्जाल बन्द गर्नु हत्केलाले सूर्यलाई छेक्छु भनेको जस्तो काम हो । यसो गर्नु उचित हुँदैन ।' 

उनले सामाजिक सञ्जालका चुनौतीलाई बुझेका र विषयका ज्ञातामार्फत सामाजिक सञ्जालका प्लाटफर्म सञ्चालकसँग व्यवसाय लगायतका विषयमा कुरा गर्ने ठाउँ भए पनि सरकारले त्यतातर्फ नसोची मलाई गाली गर्ने मान्छेको मुख बन्द गर्छु भन्ने उद्देश्य राखेको बताए । उनले सरकारले जनताको म्यासेज सुन्नेभन्दा पनि म्यासेन्जरमाथि आक्रमण गर्ने काम भएको बताउँदै भने, 'नयाँ प्रविधिका यी–यी प्लाटफर्म छानेर लिन्छु, यी–यी लिन्नँ भनेर सैद्धान्तिक रूपमा भन्न सकिँदैन । व्यावहारिक रूपमा सम्भावना छैन । त्यसैले सरकारले जुन ‘भर्चुअल वाल’ हरू खडा गरेको छु भनेको छ, त्यसलाई ‘भर्चुअल्ली’ कसैले पनि ब्रेक गर्न सक्छ । सामाजिक सञ्जाल जस्ता माध्यमलाई बन्द गर्नु हुँदैन ।

उनले रिस उठेका बेलामा शासनलाई प्रयोग गर्न नहुने बताउँदै सामाजिक सञ्जाललाई खुला राख्नुपर्ने बताए । उनले सामाजिक सञ्जालमा व्यक्त विचार मन नपरे पनि ती  विचार अभिव्यक्त हुने माध्यमलाई दण्डित गरेर  लोकतन्त्रको आधार बलियो बन्न नसक्ने बताए । भने, 'व्यवसायलाई व्यावसायिक ढंगले सम्बोधन गर्नुपर्छ । तिर्ने कर तिर्नुपर्छ । दर्ता गर्नुपर्ने हो भने गर्नुपर्छ । तर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र विचार अभिव्यक्त गर्नबाट रोक्नका लागि अन्य बहाना प्रयोग गर्नु हुँदैन । त्यो गलत हुन्छ ।

मीनेन्द्र रिजालसँग गरिएको विस्तृत कुराकानी पढनुहोस् ।

किशोर दहाल दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully