सरकारी निर्णयले फिल्मको व्यापारमा समेत असर पार्ने भयो : हरिवंश

धेरैका छोराछोरी विदेशमा रहेको भन्दै हरिवंशले उनीहरुसँग संवाद गर्न अब गाह्रो हुने बताएका छन् ।

भाद्र १९, २०८२

रीना मोक्तान

The government's decision also affected the business of the film: Harivansh

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा हास्यकलाकार हरिवंश आचार्य खुबै सक्रिय छन् । आफ्ना दैनिन्दिनका गतिविधिदेखि नातिनीसँगको हँसीमजाक र ठट्टाका भिडियो उनले सामाजिक सञ्जालमा राख्दै आएका छन् ।

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्नेबारे लिएको निर्णयले आम जनतालाई असर पर्ने उनले बताए । उनले फेसबुकमा एउटा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,'सारङ्गी रेटौंला, फेसबुक चलाउने मौका मिले फेरि भेटौंला' । 

आचार्यले सरकारले सामाजिक सञ्जालमा धेरैको रोजगारी जोडिएको बताउँदै यसलाइ बन्द गर्न नहुने धारणा राखे । दसैंजस्तो ठूलो चाडबाडका मुखमा सरकारको निर्णयले धेरैलाई अप्ठ्यारो पार्ने उनको भनाइ छ । धेरैका छोराछोरी विदेशमा रहेको बताउँदै उनले भने, 'उनीहरुसँग संवाद गर्नलाई पनि गाह्रो हुन्छ । यसमै आश्रित व्यापार र व्यवसाय छन् । उनीहरुलाई असर पार्छ ।' फेसबुकमा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् ।

सामाजिक सञ्जाल जीवनकै एउटा अंग भइसकेको हुँदा चाँडै नै दर्ताको पहल गराउनुपर्ने हरिवंशले बताए । पछिल्लो समय नेपाली फिल्मको प्रचारका लागि पनि सामाजिक सञ्जाल बलियो माध्यम बन्दै आएको छ । सरकारी निर्णयले नेपाली फिल्मको व्यापारमा समेत असर पार्ने उनी बताउँछन् ।

'अहिले त फिल्मको प्रचार पनि डिजिटल माध्यममै हुन्छ । अब देश सानो भयो भन्दैमा उनीहरुले पनि दर्तै गर्न नहुने भन्ने हुँदैन । उनीहरुले पनि हामीलाई कम आँक्नुभएन,' उनले भने, 'हामीले पनि जतिसक्दो चाँडै पहल गर्नुपर्छ । यो एउटा समस्या हो भने यसलाई सरकारले समाधान गर्नुपर्छ ।' 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully