कालापानीमा भारतीय अतिक्रमण, ३० वर्षअघि कान्तिपुरको त्यो स्थलगत रिपोर्टिङ

कान्तिपुरका तत्कालीन संवाददाता नारायण वाग्ले (पछि प्रधानसम्पादक) ले २०५३ मै स्थलगत रिपोर्टिङमार्फत कालापानी क्षेत्रमा भारतको बलमिच्याइँ र नियत उदांगो पारेका थिए ।

भाद्र १८, २०८२

दया दुदराज

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years ago

What you should know

काठमाडौँ — चीन र भारतले लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेसँगै नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी पुनः एक पटक चर्चाको केन्द्रमा छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको नेपालको भूमि हो । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएसँगै नेपाल–भारतबीचको सीमा विवाद पुनः बल्झिएको छ ।

गत भदौ ३ मा भएको उक्त सम्झौतामा नेपाललाई कुनै जानकारीसमेत दिइएको छैन । भारत–चीनको उक्त सम्झौतासँगै नेपालले चीन र भारत दुवैलाई फरक–फरक कूटनीतिक नोट पठाएको छ । तर दुवै देशले हालसम्म कुनै जवाफ फर्काएका छैनन् । बारम्बार बल्झिरहने यो विषय नेपालका लागि कहिल्यै निको नहुने घाउजस्तो बनेको छ ।

भारतले नेपाली भूभागमा रहेको कालापानी क्षेत्रलाई बलमिच्याइँ गरेर आफ्नो दाबी गर्दै आएको छ । कान्तिपुर दैनिकले करिब ३० वर्षअघि नै स्थलगत समाचार प्रकाशित गरेर भारतको बलमिच्याइँ र नियत उदांगो पारेको थियो । कान्तिपुरका तत्कालीन संवाददाता नारायण वाग्ले (पछि प्रधानसम्पादकसमेत भएका) ले २९ असोज २०५३ को अंकमा कालापानी अतिक्रमणको स्थलगत समाचार लेखेका थिए ।

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years ago

‘कालापानीमा भारतीय सीमा प्रहरी शिविर, भारतद्वारा महाकालीको कृत्रिम मुहान निर्माण’ शीर्षकमा पहिलो पृष्ठमा प्रकाशित उक्त समाचारले नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको उपस्थितिलाई उजागर गरेको थियो । समाचारमा भारतले इन्डो–तिबेतियन बोर्डर पुलिस (आईटीबीपी) को शिविर स्थापना गरेको खुलासा गरेको थियो । साथै महाकाली नदीको उद्गमस्थललाई नै परिवर्तन गर्ने उद्देश्यले कृत्रिम मुहान निर्माण गरेको पनि समाचारमा उल्लेख थियो । समाचारमा सन् १९६२ को भारत–चीन युद्धदेखि नै यो क्षेत्र भारतीय सेनाको नियन्त्रणमा रहेको उल्लेख गरिएको थियो ।

त्यसको भोलिपल्ट अर्थात् असोज ३० को अंकमा पनि वाग्लेकै ‘बाइलाइन’ मा अर्को समाचार पनि प्रकाशन भएको थियो । नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सीमाबिन्दु नै प्रस्ट नभएका कारण यो सीमा विवादित बनेको समाचारमा उल्लेख थियो । समाचारका अनुसार त्रिपक्षीय सीमा बिन्दु प्रस्ट नभए पनि सन् १८१६ मा भएको सुगौली सन्धि र ऐतिहासिक नक्साहरूका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका सम्पूर्ण भूभागहरू नेपालकै रहेको समाचारमा उल्लेख छ ।

सन् १९६२ मा भएको भारत–चीन युद्धपछि भारतले कालापानीमा आफ्नो सैनिक शिविर स्थापना गरेर नियन्त्रण कायम राख्दै छ । त्यतिबेला कान्तिपुरमा प्रकाशित समाचारअनुसार भारतले काली नदीको मुहान लिम्पियाधुरा नभई कालापानी नजिकैको एउटा सानो खोलालाई मानेर नेपाली भू–भाग अतिक्रमण गरेको थियो ।

कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमण, महाकाली नदीको मुहानसम्बन्धी विवाद र यसमा चीनको संलग्नताले सिर्जना गरेको त्रिपक्षीय सीमा विवादको गम्भीरतालाई मध्यनजर गर्दै समाचार प्रकाशन भएको थियो । पत्रकार वाग्लेले नेपालको ऐतिहासिक प्रमाण र दाबीलाई प्रस्तुत गर्दै भारतको एकपक्षीय कदमको आलोचनासमेत गरेका थिए ।

लगातार फलोअपपछिको परिणाम

कात्तिक १ को अंकमा पनि पत्रकार वाग्लेले कालापानीकै विषयमा ‘फलोअप स्टोरी’ गरेका थिए । उक्त स्टोरीमा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमण र त्यसका असरबारे लेखिएको थियो । भारतीय नियन्त्रणले गर्दा त्यस क्षेत्रमार्फत हुँदै आएको नेपाल–तिब्बतबीचको परम्परागत व्यापार मार्ग अवरुद्ध भएको र त्यसले स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा पनि गम्भीर नकारात्मक असर परेको उल्लेख थियो ।

कान्तिपुरले लगातार तीन दिनसम्म कालापानी अतिक्रमणबारे समाचार प्रकाशित गरेपछि यो राष्ट्रिय चासोको विषय बनेको थियो । त्यसको प्रभावस्वरूप यो विषय बिस्तारै सडक र सदनमा समेत गुन्जिन थाल्यो । २ कात्तिकमा एमालेले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई स्मृतिपत्र बुझाएको थियो । सोही दिन कान्तिपुर दैनिकले ‘कालापानी र भारतीय सैनिक’ शीर्षकमा सम्पादकीय पनि छापेको थियो ।

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years ago

पत्रकार वाग्लेले कालापानी क्षेत्रको सीमा विवादबारे मात्रै लेखेनन्, त्यहाँको जीवनशैलीबारे पनि लेखेका थिए । कान्तिपुरको ९ कात्तिकको अंकमा ‘पर्यटन निषेधित दार्चुलाका बासिन्दा भन्छन्, हुम्लाले पाउने, हामीले किन नपाउने’ शीर्षकको समाचार छापिएको थियो । जसमा दार्चुलावासीले बेहोरिरहेको दुःख र कष्टबारे लेखिएको थियो । त्यस्तै ११ कात्तिकको अंकमा पनि ‘दार्चुलेहरू हरेक दिन सडक खन्छन् तर दार्चुलामा सडक छैन’ शीर्षकको समाचारमा पनि वाग्लेले दार्चुलावासीले पाएको दुःखबारे लेखेका थिए ।

समिति गठन तर मौन

संसद् र सडकमा दलहरूले आवाज उठाएपछि कालापानी अतिक्रमणबारे छानबिन गर्न कुनै समिति नबनेपछि कान्तिपुरले १४ कात्तिकको अंकमा ‘कालापानी पठाउने तिथि अझै अनिश्चित’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । समाचारमा कालापानीमा रहेको भारतीय सैनिक शिविर हटाउने–नहटाउनेबारे कुनै पनि निर्णय गर्न नसकेको भन्दै सरकारको आलोचना गरिएको थियो ।

समाचारको प्रभावस्वरूप संसदीय छानबिन समिति बन्यो । संसदीय छानबिन समितिको नेतृत्व तत्कालीन सभामुख रामचन्द्र पौडेलले गरेका थिए । तत्कालीन सिनियर डिभिजनल हाइड्रोलोजिस्ट जगतकुमार भुसालले पनि महाकाली नदीको उद्गमस्थलबारे विचार लेखेका थिए । त्यसकै भोलिपल्ट अर्थात् १९ कात्तिकमा ‘कालापानी र भारतीय सेना’ शीर्षकमा फेरि एक पटक सम्पादकीय प्रकाशित भएको थियो । जसमा उचित रूपमा छानबिन गर्न माग गरिएको थियो ।

त्यसको केही समयपछि अर्थात् मंसिर १ मा संसदीय टोली महाकाली नदी अनुगमनका लागि गयो । अनुगमनमा जाने टोलीको नेतृत्व तत्कालीन सभामुख पौडेलले नै गरेका थिए । पौडेलसँगै उर्वादत्त पन्त, झलनाथ खनाल, प्रेमबहादुर सिंह, भरतमोहन अधिकारी, भीमबहादुर रावल, महेश चौधरी, रामजनम चौधरी, सुवासचन्द्र नेम्बाङ र हृदयेश त्रिपाठी पनि अनुगमनमा सहभागी थिए ।

उनीहरूसँगै प्रतिनिधिसभाका तत्कालीन सचिव सूर्यकिरण गुरुङ, नापी विभागका तत्कालीन महानिर्देशक पुण्यप्रसाद ओलीलगायत जलस्रोत मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित थिए । दुईदिने अनुगमनमा पौडेल नेतृत्वको समितिले नेपालको ३५ वर्ग किलोमिटर भारतले अतिक्रमण गरेको निष्कर्षसमेत निकालेको थियो ।

छानबिन समितिको निर्णयपछि संसद्मा यस सीमा विवादलाई लिएर छलफल भयो तर त्यसबारे कुनै निर्णय भने हुन सकेन । सोही बैठकमा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप पनि चलेको थियो । पछि संसदीय समितिले कालापानी अतिक्रमण गरेको निष्कर्ष निकालेको थियो । मंसिर ५ मा कान्तिपुरले फेरि एक पटक सैनिक शिविर हटाउनुपर्छ भन्दै सम्पादकीय प्रकाशित गरेको थियो ।

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years ago

माघ ७ को अंकमा कान्तिपुरमा पत्रकार वाग्लेकै बाइलाइनमा ‘भारतले महाकालीको सीमांकन गर्न मानेन’ शीर्षकको समाचार प्रकाशन भएको थियो । देहरादुनमा बसेको नेपाल–भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिको बैठकमा नेपालको सीमा विवादबारे छलफल भएको थियो ।

त्यसपछि पनि कालापानी अतिक्रमण र महाकाली नदीको उद्गम कुन हो भन्ने सम्बन्धमा तत्कालीन संसदीय समितिले छानबिन गरेको थियो । छानबिन समितिले कालीको उद्गम पहिचान गरेपछि कालापानीको स्थिति स्पष्ट पार्ने जिम्मा नेपाल–भारत संयुक्त सीमा प्राविधिक कार्यदललाई दिइएको थियो । तर समितिले विवाद टुंग्याउन सकेन ।

पछि २३–२५ जेठ २०५४ मा नेपाल भ्रमणमा रहेका तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालले कालापानी मुद्दा सुल्झाउने सहमति गर्ने आश्वासन दिएका थिए । तर, गुजरालले आश्वासन दिएको एक वर्षसम्म पनि कुनै ठोस काम भने हुन सकेन । बरु २०५५ जेठमा तत्कालीन भारतीय राजदूत केभी राजनले कालापानी भारतीय भूभाग रहेको दाबी गरे । २० जेठमा काठमाडौंस्थित भारतीय दूतावासबाट जारी विज्ञप्तिमा कालापानी १९ औं शताब्दीदेखि नै भारतीय भूभाग रहेको दाबी गरिएको थियो ।

दूतावासको विज्ञप्तिलाई कटाक्ष गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कालापानी नेपालकै रहेको दाबी गरेका थिए । आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै कोइरालाले प्रस्ट शब्दमा भनेका थिए, ‘कालापानी नेपालको हो, म अरू कुरा जान्दिनँ ।’ त्यसपछि भारतको विरोधमा प्रदर्शनसमेत भएको थियो ।

३२ असार २०५५ मा विद्यार्थी नेता योगेश भट्टराईको नेतृत्वमा वामपन्थी विद्यार्थीको एउटा टोली कालापानी पुगेको थियो । त्यसपछि कालापानी क्षेत्रमा सैन्य तैनाथीमा थप कडाइ गर्‍यो । थप १५ सय मिटर नेपाली भूभाग मिचेर तारबार लगाउनुका साथै यसअघि मेजरको कमान्ड रहँदै आएकामा कर्णेलको कमान्डमा थप सुरक्षाकर्मी तैनाथ गर्न थाल्यो ।

भारत त्यतिमा मात्रै रोकिएन, १ साउन २०५५ मा नेपाल–भारत संयुक्त प्राविधिक बैठकमा पनि भारतले कालापानी आफ्नै भनी दाबी गर्‍यो । भारतले नेपाली भूभागलाई आफ्नो दाबी गरेपछि १२ साउन २०५५ मा कोलम्बोमा भएको सार्क बैठकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय समकक्षी अटलबिहारी बाजपेयीसँग कालापानीबारे छलफल गरेका थिए ।

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years agoनेपाली पक्षले कालापानी क्षेत्रमा आफ्नो दाबी निरन्तर दोहोर्‍याइरह्यो । तर भारतले भने त्यसलाई सहज रूपमा लिएन । ७ साउन २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि कालापानीमा नेपालको दाबी फेरि एक पटक दोहोर्‍याए । त्यसपछि १७ साउन २०५६ मा तत्कालीन चिनियाँ राजदूत जे जेवाङले लिपुलेक–लिम्पियाधुरा त्रिदेशीय सीमा बिन्दुका विषयमा नेपाल, भारत र चीनबीच छलफल हुनुपर्ने धारणा राखेका थिए । तर पछि चीनले यसबारेमा चासो दिन छाड्यो ।

२६ भदौ २०५६ मा तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंहको नेपाल भ्रमणका बेला कालापानी मुद्दामा छलफल भएको थियो । पछि ३० जेठ २०५७ मा भारतीय राजदूत केभी राजनले पनि कालापानी नेपालको देखिए छाड्न सकिने बताएका थिए । त्यसपछि १६ साउन २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा कालापानी टुंग्याउने र यो कार्य संयुक्त सीमा प्राविधिक समितिलाई दिने सहमति भएको थियो । २९ जेठ २०६४ मा बसेको समितिको बैठकमा दुवै पक्षले आ–आफ्ना दाबी प्रस्तुत गरेका थिए । तर त्यसपछि पनि कालापानीका विषयमा कुनै प्रगति भएन । उल्टै १ जेठ २०७२ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने लिखित सहमति भयो । त्यसको विरोधस्वरूप नेपालले भारत र चीन दुवैलाई ‘कूटनीतिक नोट’ नै पठाएको थियो ।

भारतले बारम्बार अटेर गर्दै १६ कात्तिक २०७६ मा नेपालको कालापानी क्षेत्रसमेत समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गर्‍यो । त्यसको प्रतिक्रियास्वरूप २० कात्तिकमा नेपालको परराष्ट्र मन्त्रालयले एकपक्षीय नक्सा मान्य नहुने भन्दै विज्ञप्ति जारी गर्‍यो । त्यसपछि २०७७ जेठमा सरकारले सुगौली सन्धिलाई आधार मानेर लिम्पियाधुरासम्मको भूभागलाई समेत समेट्दै नयाँ नक्सा जारी गर्‍यो । उक्त नक्सालाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । तर, त्यसपछि पनि कालापानी क्षेत्रमा भारतको सीमा अतिक्रमण कायम छ । 

सम्बन्धित अन्य समाचारहरु

विश्वासलाई धमिलो बनाइरहने सीमा विवाद

किन बल्झिरहन्छ कालापानी मुद्दा ? सात तथ्यमा बुझ्नुहोस्

सीमा सम्बन्धमा १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट, सबै अनुत्तरित

चुच्चे नक्सा हामीले किताबमै पढेको हो, कसरी हरायो ?

नेपाली भूमिका १७ चेकपोस्ट फिर्ता हुँदा कालापानीबाट किन फिर्ता भएन भारतीय सेना ?

‘भारतले स्वभाव बदल्नुपर्छ, त्यसो गर्दा मात्रै सबै छिमेकी र नेपालसँग सम्बन्ध राम्रो हुन्छ’

लिम्पियाधुरा विवाद

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully