‘भारतले स्वभाव बदल्नुपर्छ, त्यसो गर्दा मात्रै सबै छिमेकी र नेपालसँग सम्बन्ध राम्रो हुन्छ’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्- विश्वभर ‘प्रोफाइल’ बढाउँदै अघि बढिरहेको देशले सबैभन्दा पहिले छिमेकसँग कस्तो सम्बन्ध राख्ने भनेर ‘रिभ्यु’ गर्नुपर्छ, तर दक्षिण एसियाका सानाठूला सबै देशसँग भारतको सम्बन्धमा कहीं न कहीं समस्या देखिन्छ।

भाद्र ८, २०८२

किशोर दहाल

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

What you should know

चीन र भारतले नेपाली भूमि लिपुलेकबाट व्यापार गर्ने सहमति गरेपछि त्यस क्षेत्र पुनः बहसमा आएको छ । भारतले बलपूर्वक कब्जा गरेको भूमिबाट व्यापार गर्ने सहमतिपछि यस मामिलामा चीनसमेत जोडिएको छ । सन् २०१५ मा यस्तै सहमति हुँदा नेपालले कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो ।

त्यसयता नेपालले आफ्नो नक्सा अद्यावधिक गर्दै संविधान संशोधनसमेत गरेको छ, जसबारे दुवै देशलाई जानकारी छ । यी सबै पृष्ठभूमिलाई बेवास्ता गर्दै दुवै मुलुकले गरेको सहमतिको अन्तर्य के हो ? अब समस्या समाधानका सूत्र के हुन् ? यी लगायतका विषयमा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कान्तिपुरका किशोर दहालले गरेको कुराकानी :

चीन र भारतले हालै नेपाली भूमिमा पर्ने लिपुलेक पास हुँदै सीमा व्यापार खोल्ने सहमति गरेका छन् । नेपाली भूमिमा बलमिच्याइँ गर्न उनीहरू किन अग्रसर भए होलान् ?

चीन र भारतका बीचमा लिपुलेक पासबाट दुईपक्षीय व्यापार गर्ने भनेर गरिएको समझदारी नेपालका निम्ति अनपेक्षित हो । किनकि सन् २०१५ मै उनीहरूले यस विषयमा समझदारी भएको भनेर विज्ञप्ति जारी गरेपछि नेपाल सरकारले त्यतिबेलै औपचारिक रूपमा दुवै देशलाई कूटनीतिक नोटमार्फत आपत्ति जनाएर आफ्नो ‘पोजिसन’ प्रस्ट पारिसकेको थियो । सन् २०१९ मा भारतले आफ्नो राजनीतिक नक्साको संशोधन गर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्रमा उसको दाबी दोहोरिएपछि पनि हामीले कूटनीतिक–औपचारिक माध्यमबाट त्यसको विरोध गर्‍यौं, ‘पोजिसन’ प्रस्ट गर्‍यौं र अन्ततः नेपालको नक्सामा समाहित गर्दै संविधानको अनुसूचीमा पनि राख्यौं ।

संसारका विभिन्न मुलुकका बीचमा सीमासम्बन्धी विवाद उठ्न सक्छन् । विवाद पनि हुन सक्छन् । तर एउटा सार्वभौम देशको भूभाग जोडिएको विषयमा अरू दुई वटा देश बसेर फैसला गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार मिल्दैन । स्वीकार्य पनि हुँदैन । नेपालले दुई वटा छिमेकीबाट यस्तो व्यवहारको अपेक्षा पनि गर्दैन । सरकारले औपचारिक ‘पोजिसन’ स्पष्ट पारिसकेको छ– त्यो भूभाग नेपालको हो, नेपालको अनुपस्थितिमा गरिने कुनै पनि निर्णय नेपालका निम्ति स्वीकार्य हुँदैनन् र हामी कूटनीतिक माध्यमबाट यसको समाधान गर्न चाहन्छौं । सिंगो देशकै पोजिसन त्यही हो भन्ने म ठान्छु ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

धारणा सार्वजनिक गर्ने, कूटनीतिक नोट पठाउने त प्रचलित अभ्यास छँदै छ । यसअघि पनि भएकै हो । तर परिणाम आएन । यस पटक पनि हामीले त्यही उपक्रम दोहोर्‍याएर फेरि चुप बस्ने कि थप केही काम गर्न पनि आवश्यक छ ?

भारतको विकास र सुरक्षाका निम्ति नेपालले आफ्नोतर्फबाट धेरै योगदान गरेको छ, यो पृष्ठभूमिमा नेपालले जायज ढंगले उठाएका विषयको सम्बोधन नहुनुपर्ने कुनै कारण देखिँदैन। हामी चुप लागेकै छैनौं । खासगरी भारतसँगको छलफलमा यो विषय गम्भीरतापूर्वक उठाइरहेकै छौं । विवाद भारतसँगको सिमानामा हो । तर चीन पनि जोडिन आइपुगेको छ । त्यसैले अब चीनसँग पनि यो विषय गम्भीरतापूर्वक उठाउनुपर्ने नयाँ परिस्थिति निर्माण भएको छ । सन् २०१४ मै नेपाल र भारतका बीचमा कालापानी क्षेत्रको विषय टुंग्याउनका लागि दुई देशका परराष्ट्र सचिवहरूको संयन्त्र बनाउने सहमति भइसकेकै छ । तर नेपालका धेरै प्रयत्नका बाबजुद अहिलेसम्म संयन्त्रको बैठक बसाल्न भारत तयार भएको छैन ।

के कारणले यस्तो भएको होला ? मलाई लाग्छ– उहाँहरूले यो विषयलाई उपेक्षा गरिरहनुभएको छ । यसैगरी नै यो विषयलाई टुंग्याउन सकिन्छ भन्ने उहाँहरूलाई लागेको छ । वा, उहाँहरूलाई थाहा छ कि, यस सम्बन्धमा आफूसँग पर्याप्त प्रमाण छैन । नेपालसँग पर्याप्त प्रमाण भएको र उहाँहरूसँग नभएका कारण वार्तामा बस्न अनुच्छुक हुनुभएको होला । तर विषयलाई सल्टाउनै पर्छ । नसल्टाउँदासम्म दुई देशका बीचमा न्यायो, समस्यारहित, हार्दिक, पारस्परिक सम्मान र विश्वासयुक्त सम्बन्ध विकास गर्न कठिन हुन्छ ।

भारतसँग कूटनीतिक संवाद होला र विषय टुंगिएला भनेर कुरिरहनु उचित होला कि हामीले थप विकल्प पनि खोज्नुपर्छ ?

कूटनीतिक माध्यम र दुईपक्षीय वार्ताबाटै विषय टुंग्याउन सकिन्छ भन्ने विश्वास कायमै छ । धैर्य गरिरहेकै छौं । हामीलाई थाहा छ, केही समयअघि भारतले बंगलादेशसँगको यस्तै समस्यालाई समाधान गरेको छ । अरू देशसँग पनि सीमा विवाद टुंगिएका छन् । नेपालसँग भने नटुंगिनुपर्ने कुनै पनि कारण देखिँदैन । यदि ऊ साँचो मित्र हो भने, मित्रले मित्रको कुरा सुन्नुपर्छ । तथ्यका आधारमा छलफल गर्न तयार हुनुपर्छ । सत्यका आधारमा समस्या समाधान गर्न तयार हुनुपर्छ । अहिलेचाहिँ कूटनीतिक प्रयत्नबाटै अगाडि बढ्नुपर्छ । त्यसपछिको विकल्पमा त्यतिबेलै छलफल गर्न सकिन्छ ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

चीनलाई तुलनात्मक रूपमा नेपाली संवेदनशीलता ख्याल गर्ने देशका रूपमा चित्रित गरिन्थ्यो । तर सन् २०१५ मा भारतसँग गरेको लिपुलेक पास हुँदै व्यापार गर्ने सहमति, २०२३ मा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतपट्टि देखाउँदै जारी गरेको नक्सा तथा हालै लिपुलेक पास हुँदै सीमा व्यापार पुनः खोल्ने सहमतिले उसको फरक चित्र देखिएको छ । ऊ किन भारतीय रणनीतिको साझेदार भइरहेको छ ?

हामीसँग भन्दा बलियो प्रमाण भारतसँग छ भने बसेर छलफल गरौं न । हामीलाई पूर्ण विश्वास छ, उहााहरूसँग त्यस्तो तथ्य र प्रमाण छैन । त्यसैले पनि उहाँहरू वार्ताबाट पन्छिन खोजेको जस्तो ठान्छु। जानकारी नहुँदासम्म कुनै पनि देशले आफ्नै ढंगले आफ्नो धारणा बनाउन सक्छ । तर सन् २०१५ पछि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको हो भनेर तथ्य, प्रमाणसहित औपचारिक रूपमै चीनलाई जानकारी गराएका छौं । नेपालबाट जाने डेलिगेसनहरूले उहाँहरूको ध्यानाकर्षण पनि गराएका छन् । नेपालीको चित्त दुख्ने, नेपालीको संवेदनशीलतामा आँच आउने कुनै पनि काम गर्दैनौं भन्नुभएको पनि हो । तर त्यही स्थिति १० वर्षपछि दोहोरिँदा हामी गम्भीर पनि भएका छौं ।

नेपाल, भारत र चीनका बीचमा त्रिदेशीय बिन्दु टुंगो लागेको छैन भन्ने चीनलाई राम्रोसँग थाहा छ । त्यसैले पनि चीनसँगको सीमास्तम्भ ‘नम्बर १’ बाट सुरु हुन्छ, ‘नम्बर ०’ अहिलेसम्म हामीले स्थापना गरेका छैनौं । किनकि, सीमास्तम्भ ‘नम्बर ०’ स्थापना गर्नका लागि त्रिदेशीय बिन्दु निर्क्योल गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले नेपाल र भारतका बीचमा सहमति हुनुपर्छ । त्यसपछि चीन पनि जोडिएर त्रिदेशीय बिन्दु टुंगो लाग्नुपर्छ ।

त्यसो हुन नसकेकै कारण नेपालको सीमास्तम्भहरूको गणना ‘नम्बर १’ बाट सुरु हुन्छ । त्यसैले चीनलाई थाहा छ कि, नेपालको पश्चिम सीमाको निर्क्योल भएको छैन । त्यो जान्दाजान्दै लिपुलेकलाई दुईपक्षीय व्यापारको बिन्दु बनाउने जुन सहमति छ, त्यसबाट चीनले नेपालको संवेदनशीलतालाई ध्यान नदिएको निष्कर्ष निस्किन्छ ।

ठूला देशहरूमा अहिले आफ्नो स्वार्थभन्दा पर केही पनि नहेर्ने प्रवृत्ति देखिएको छ । हामी चीन र भारत दुवैको असल छिमेकी हुनुको नाताले उहाँहरूको राम्रो समझदारी भएको, सम्बन्ध सुध्रिएकामा खुसी व्यक्त गर्छौं । तर सम्बन्ध सुधारको मूल्य नेपालले, नेपालको भौगोलिक अखण्डताले, सार्वभौमसत्ताले चुकाउनचाहिँ मिल्दैन । निष्कर्षमा, नेपालप्रति संवेदनशीलताको कमी चीनमा पनि देखियो ।

चीन र भारतको बलमिच्याइँ आफ्नो ठाउँमा छँदै छ । हामीकहाँ पनि सिमानाको विषय राजनीतिक खपतका लागि उठाउने तर कूटनीतिक पहलकदमी गर्ने र समस्या समाधानका लागि रचनात्मक खोज्ने सवालमा भने कमजोरी रहेको भनेर आलोचना हुने गर्छ । हामीबाट पनि कमजोरी भएको हो ? 

इतिहासको कतिपय सरकार र राज्यका आफ्नै किसिमका सीमा थिए होलान् । कुनै बेला आफैं नक्सा बनाउने नेपालको सामर्थ्य थिएन । लामो समयसम्म हामीले ब्रिटिस–भारतले बनाइदिएको नक्सामाथि भर पर्नुपर्‍यो । तर सन् १८१६ देखि झन्डै १८६० सम्म उसैले बनाएको नक्साले पनि (महा)कालीको मुहान प्रस्ट पारेको छ । तर तिब्बतसँगको व्यापारका लागि लिम्पियाधुरापूर्व र कालापानी/टिंकर पश्चिमको भूभाग बढी प्रभावकारी हुन सक्छ भन्ने लागेपछि ब्रिटिस–भारतले सीमा अतिक्रमण गर्दै ल्यायो । दुई पटक सीमा अतिक्रमण भएको देखिन्छ । पहिलो, लिम्पियाधुराबाट निस्किएको महाकालीलाई मुहान मान्न छाडेर लिपुलेकबाट निस्किएको लिपु खोलालाई सिमाना मान्ने गरी नक्सा परिवर्तन गरियो । दोस्रो, त्यो नक्सा पनि परिवर्तन गरियो । लिपु खोला पनि छाडेर कालापानीबाट निस्किने तुरतुरे सानो खोल्सीलाई सीमा बनाइयो ।

त्यतिबेलाको राज्यका आफ्नै सीमा थिए होलान् । साधन स्रोतको अभाव पनि थियो होला । तर नेपालले त्यतिबेला जुन ढंगले ‘प्रोटेस्ट’ गर्नुपर्ने थियो, त्यसो गर्न नसकेको देखिन्छ । कुनै देशले कुनै बेला आफ्नो भूभागमा औपचारिक नियन्त्रण कायम गर्न सकेन भन्दैमा अर्को देशको हक लाग्दैन । हक लाग्ने विषय दुई देशबीचको सीमा सन्धिले तय गर्छ । सुगौली सन्धियता नेपाल–भारतबीच सीमा छुट्याउनका लागि कुनै सन्धि नै भएको छैन । त्यसैले हामीले सुगौली सन्धिलाई आधार मान्नुपर्छ । त्यसले प्रस्ट रूपमा महाकालीलाई सीमा नदी मान्छ । महाकाली मुहान खोज्दै जाँदा निःसन्देह लिम्पियाधुरा पुग्छौं । यसविपरीत ब्रिटिस–भारतले बलमिच्याइँ गरेको देखिन्छ । त्यही विरासत अहिलेको भारतले पनि बोकेको छ । 

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

अर्को तथ्य पनि हामीले बिर्सन मिल्दैन । सन् १९६२ मा चीन र भारतबीच युद्ध हुँदाखेर भारतको हात तल पर्‍यो । चिनियाँ सेनाबाट पराजित भएका भारतीय सेनाले कालापानीमा अस्थायी आवास बनाए । पछि त्यसैलाई स्थायी सीमा चौकी, ब्यारेक बनाएर त्यस पश्चिमको भूभागमा नेपालको पहुँच र प्रवेशलाई नै रोकिदिएका कारण अहिलेको समस्या बनेको हो । अप्ठ्यारो परेका बेलामा कसैले आश्रय लिएकै भरमा आफ्नै भूभाग हो भनेर जाने हो भने कहीं पनि पुगिँदैन । त्यसैले यस मामिलामा नेपाल चुकेको देखिँदैन । कतिपय बेलामा समयमै तथ्य प्रमाण प्रस्तुत गर्ने सवालमा कमजोरी रहे होलान् । तर त्यसकै आधारमा ती भूभागमा नेपालको हक कमजोर हुन्छ भन्ने रत्तिभर होइन ।

हामीसँग हाम्रो पक्षका धेरै तथ्य छन् । ऐतिहासिक नक्सै राखेर कुरा गर्ने हो पनि हामी नै बलियो स्थितिमै देखिन्छौं । सिमानाको विषयमा आन्तरिक एकता पनि बलियो देखिन्छ । तैपनि त्यो भूगोल हाम्रो हुन सकिरहेको छैन । किन ?

यसबारेमा हामीले व्यवस्थित ढंगले प्रयत्न गरेकै वास्तवमा वि.सं. २०७६ पछि मात्रै हो । जब सन् २०१४ मा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरको संयुक्त आयोगले परराष्ट्र सचिवको संयन्त्र बनाउने भन्यो । हाम्रो प्रयत्न त्यसैलाई सक्रिय बनाउनतर्फ रह्यो । हामीले राखेको प्रस्तावमा भारत तयार भएन । त्यसको बैठक एक पटक पनि बसेको छैन ।

नेपालसँग परामर्श पनि गरेको छैन । दुई देशबीचको संयुक्त बैठकको माइन्युट र जारी वक्तव्यमै ‘आउटस्यान्डिङ इस्यु’ भनिसकेको सन्दर्भ पनि छ । तर जुन ढंगले नक्सा प्रकाशन गरेर एकतर्फी दाबा कायम गर्ने कोसिस भयो । त्यसपछि नै नेपाल बढी तत्परताका साथ अगाडि बढ्यो । त्यतिबेला म आफैं नेपालको परराष्ट्रमन्त्री थिएँ । हामीले लगातार कूटनीतिक नोट पठायौं । बैठकमा औपचारिक प्रस्ताव गर्‍यौं । तर कोभिडको बहानामा त्यसलाई पन्छाउँदै लगियो । बरु कोभिडकै बीचमा लिपुलेकको बाटोको भर्चुअल उद्घाटन गरियो ।

त्यसयता प्रत्येक प्रधानमन्त्री र सरकारले यस मामिलामा भएको बृहत्तर राष्ट्रिय सहमतिकै पक्षमा बोल्नुभएको छ भन्ने मलाई लाग्छ । दुईपक्षीय भेटघाटमा कति प्रभावकारी ढंगले बोल्नुभयो, त्यो म भन्न सक्दिनँ । नेपालको यो अडानमा कुनै पनि सरकार दायाँबायाँ भएको अवस्था छैन । तर भारतबाट सुनिएको नसुन्यै गरिएको छ । यसबाट पाठ सिकेर यस विषयलाई हामीले हरेक बैठकमा गम्भीरतापूर्वक एजेन्डा बनाउने, शान्त, परिपक्व र प्रभावकारी कूटनीतिक कदम चाल्ने र त्यसको माध्यमबाट समाधान खोज्न पहलचाहिँ गर्नुपर्छ ।

तपाईं परराष्ट्रमन्त्री भएकै बेलामा, २०७७ सालमा हामीले नयाँ नक्सा जारी गर्‍यौँ । संविधान संशोधन पनि गर्‍यौँ । अद्यावधिक नक्सालाई चीन, भारतदेखि संयुक्त राष्ट्रसंघसम्मलाई पठाउँदै अन्तर्राष्ट्रियकरण गर्ने सवालमा चाहिँ हामी किन चुक्यौँ ?

हामीले भारतसँग वार्ता र कूटनीतिक पत्राचारमा हाम्रो ‘पोजिसन’ बारे कुरा गर्ने नै भयौं । चीनलाई पनि यसबारे पर्याप्त जानकारी गराएका छौं । मैले तत्कालीन चिनियाँ राजदूतलाई आफ्नै कार्यकक्षमा बोलाएर कुरा गरेको थिएँ । सीमा जोडिएको देश र सन् २०१५ को विवादमा चीनसमेत एउटा पक्ष भएकाले पनि जानकारी गराउन आवश्यक थियो । त्यसक्रममा नेपालको ऐतिहासिक तथ्य र प्रमाण यी हुन्, यस–यस कारणले त्यो भूभाग नेपालको हो भन्ने जानकारी गराइएको छ ।

त्यतिञ्जेल त्यस्तो जानकारी गराउन आवश्यक ठानिएको थिएन, किनकि दुईपक्षीय संयन्त्रले नै विवाद टुंग्याउँछ भनेर पर्खिरहेका थियौं । तर संयन्त्रको बैठक नै नबस्दै एकतर्फी कदम चालिएका कारणले नेपालको ‘पोजिसन’ बारे नेपालका दुवै मित्र राष्ट्रलाई जानकारी गराएको छु । त्यसैले जानकारी भएन भन्नु सही होइन । तर यसलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने र कतिपय मुलुकले जस्तो अन्तर्राष्ट्रिय अदालतमा जाने जस्ता काम, जसलाई अन्तर्राष्ट्रियकरण भनिन्छ, त्यसतर्फ भने हामी प्रवेश नगरेको सत्य हो । आज पनि हामी दुईपक्षीय वार्ता र कूटनीतिक माध्यमबाटै समस्याको समाधान गर्नुपर्छ भन्नेमा प्रस्ट छौं । तर संविधान संशोधनबारे दुई देशलाई जानकारी गराउनुपर्ने विषयमा भने कुनै कमजोरी भएको छैन ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

तपाईंले चीनका राजदूतसँग छलफल गर्नुको अतिरिक्त थप केही पनि भयो ?

नेपालबाट चीन गएका विभिन्न तहका डेलिगेसनले पनि यो विषय राखेका छन् । यहाँसम्म कि, नेपाली सेनाको उच्चपदस्थ पदाधिकारी जाँदा समकक्षीसँग र रक्षामन्त्रीसँगको शिष्टाचार भेटमा, प्रधानमन्त्रीले पनि विभिन्न तहमा कुरा गर्दा हाम्रो पोजिसनका विषयमा कुरा राख्नुभएको छ । कुराकानीमा कमजोरीचाहिँ रहेको छैन ।

चीन र भारतलाई हामीले हाम्रो संविधान संशोधनका बारेमा पत्र नै पठाएर जानकारीचाहिँ गरायौं कि गराएनौं ?

जुन भूभागमा भारतले दाबी गरेको छ, त्यो भूभाग यस कारणले तपाईंहरूको होइन भनेर उहाँहरूलाई औपचारिक रूपमा पठाउने नै भइहाल्यौं । चीनसँग पनि यी भूभाग यी ऐतिहासिक तथ्यका आधारमा हाम्रो हो भनेर पठायौं । त्यसपछि स्वाभाविक रूपमा नेपालको मानचित्र नै बदलिएको छ । हाम्रो सबै सरकारी कागजातमा ती विषय उल्लेख छन् । पत्राचार त्यही लेटरहेडमा हुन्छ । त्यसैले नक्सा र नक्सासँग जोडिएका विषय पर्याप्त मात्रामा ‘सेयर’ भएका छन् ।

हामीले पठाएको जानकारीपछि चिनियाँ पक्षको प्रतिक्रिया कस्तो थियो ?

नेपालले यति गम्भीरतापूर्वक उठाएको विषयमा हामी एकदम संवेदनशील छौं, अब कुनै पनि थप निर्णय गर्दा नेपालको पोजिसनलाई ध्यानमा राख्छौं भन्ने उहाँहरूको भनाइ थियो । बरु (भारतसँग) दुईपक्षीय ढंगले यो विषयको छिटो टुंगो लगाउनुहोस् र त्यसो भयो भने त्रिदेशीय बिन्दुलाई पनि छुट्याउन सजिलो हुन्छ भन्ने उहाँहरूको भनाइ थियो ।

चीनले पाँच वर्षमा आफ्नै भनाइ किन खण्डित गर्‍यो होला ?

त्यतिबेला भनिएको र अहिले गरिएको कुरामा विरोधाभास देखियो । त्यसैले मैले सुरुमै भने जस्तो भारत र चीनको यो समझदारी नेपालका निम्ति अनपेक्षित हो ।

तपाईंले परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै हो भन्नलाई के–कति ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक प्रमाण हामीसँग छन् ?

म मन्त्रालयमा हुँदा नै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै हो भन्ने तथ्यलाई पुनःपुष्टि गर्न र विषयलाई सल्टाउन नेपाल कसरी वार्तामा प्रस्तुत हुनुपर्छ भन्नेबारेमा समग्र अध्ययन गर्ने उद्देश्यले नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख विष्णुराज उप्रेतीको नेतृत्वमा विज्ञ कार्यदल बनाएका थियौं । उहाँहरूले मिहिनेत गरेर प्रतिवेदन तयार पनि गर्नुभएको छ । त्यो परराष्ट्र मन्त्रालयमै छ ।

सन् १८१६ मार्चमा पहिलो पटक सुगौली सन्धि भयो । त्यसमा पूर्वको सिमाना मूलतः मेची र पश्चिमको सिमाना महाकाली भनेर प्रस्ट उल्लेख गरिएको छ । तर कोशीदेखि राप्तीसम्मको तराई भूभाग नेपालले गुमाएको अवस्था थियो । त्यसै वर्षको डिसेम्बरमा सुगौली सन्धिकै पूरक सन्धि भयो । त्यसले अहिलेको सप्तरीदेखि लिएर राप्तीसम्मको तराईको भूभागलाई समेत समेट्यो ।

त्यसपछि सन् १८६० मा जंगबहादुरले भारतको सिपाइ विद्रोह दबाउन सहयोग गरेको भनेर नयाँ मुलुक फिर्ताका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त गर्‍यौं । त्यसले हाम्रो नक्सालाई थप समृद्ध बनायो । त्यस्तै, सन् १८७५ तिर दाङको कोइलाबास क्षेत्र टुंग्याउन अर्को पूरक सन्धि भएको छ । महाकालीमा शारदा ब्यारेज बनाउँदा जग्गा सट्टापट्टा भने भएको छ । कञ्चनपुरको केही जग्गा भारतीय स्वामित्वमा दिएर त्यसको सट्टामा अर्को ठाउँमा नेपालले लिएको छ । यसर्थ, नेपाल र भारतको सिमाना टुंग्याउनका लागि सुगौली सन्धि र त्यसकै पूरक सन्धिबाहेक अरू कुनै सन्धि भएको छैन ।

दोस्रो, नक्साको विषय हो । सन् १८१६ देखि लिएर १८६० सम्म विभिन्न नक्सा प्रकाशित भएका छन् । सन् १८५७/५८ सम्म ब्रिटिस–भारतले नै निकालेको हरेक नक्साले लिम्पियाधुरालाई महाकालीको मुहान भनेको छ । त्यसपछि भने उहाँहरूले अतिक्रमण गर्नुभएको छ ।

तेस्रो, वि.सं. २०१५ को संसदीय आमनिर्वाचनका लागि मतदाता नामावली संकलन भएको छ । २०३० को दशकसम्म पनि त्यहाँका जग्गाको तिरो बैतडी र डडेलधुराको मालमा तिरिएका रसिद छन् । यस्ता धेरै तथ्य प्रमाण हामीसँग छ ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

त्यस्तै, महाकालीका धेरै शाखा छन् । तर अन्तर्राष्ट्रिय सन्धि र प्रचलनले मूल नदी (नदीको मुहान) छुट्याउने तीन वटा आधार दिएका छन् । पहिलो, सबैभन्दा लामो शाखा कुन हो ? दोस्रो, सबैभन्दा गहिरो तथा पानीको बहाव भएको शाखा कुन हो ? तेस्रो, सबैभन्दा बढी जलाधार भएको नदी कुन हो ? त्यहाँ उभिएर हेर्दा जोकसैले सहजै लिम्पियाधुराबाट आएको नदी नै मूल नदी हो भनेर छुट्याउन सक्छ । यी सबै तथ्यले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा र त्यहाँबाट निस्किने महाकाली हो भन्नेमा कुनै सन्देह रहँदैन ।

हामीसँग प्रमाण भए पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूगोलमा हाम्रो नियन्त्रण छैन । यो स्थिति कहिलेसम्म रहला ? ती क्षेत्रमा हाम्रो नियन्त्रण कहिले कायम होला ? कसरी होला ?

भारतले आफ्ना छिमेकीसँगको सम्बन्धलाई कस्तो बनाउन चाहन्छ भन्ने प्रश्न उसैतर्फ उठ्छ । ऊ दक्षिण एसियाको सबैभन्दा ठूलो देश हो । क्षेत्रीय शक्ति हो । भविष्यमा विश्वशक्ति बन्ने आकांक्षा पालेको पनि देखिन्छ । विश्वभर प्रोफाइल बढाउँदै अघि बढिरहेको देशले सबैभन्दा पहिले छिमेकसँग कस्तो सम्बन्ध राख्ने भनेर ‘रिभ्यु’ गर्नुपर्छ ।

दक्षिण एसियाका सानाठूला सबै देशसँग उसको सम्बन्धमा कहीं न कहीं समस्या देखिन्छ । पाकिस्तानसँगको समस्या बुझ्न सकिन्छ । सन् १९४७ को भारत–पाकिस्तान विभाजन र त्यसका डोब छन् । नत्र त माल्दिभ्स वा श्रीलंकासँग सम्बन्ध सुमधुर नहुनुपर्ने कारण छैन । बंगलादेशको निर्माणमा त भारतको निर्णायक भूमिका नै थियो । ऊसँग सम्बन्ध राम्रो नहुनुपर्ने कुनै कारण छैन । 

नेपालसँग पनि ऐतिहासिक र बहुआयामिक सम्बन्ध छ । सामाजिक, सांस्कृतिक, धार्मिकदेखि जनस्तरकै सम्बन्ध प्रगाढ छ । संसारका विरलै मुलुकबीच हुने खुला सिमाना छ । नेपालले त्यो सिमानाको सही ढंगले सुरक्षा गरेकै कारणले भारतले त्यसका लागि खासै लगानी गर्नुपरेको छैन । भारतको विकास र सुरक्षाका निम्ति नेपालले आफ्नो तर्फबाट धेरै योगदान गरेको छ ।

यी सबैको पृष्ठभूमिमा नेपालसँग भारतको सम्बन्ध राम्रो नहुनुपर्ने कुनै कारण छैन । नेपालले जायज ढंगले उठाएका विषयको सम्बोधन नहुनुपर्ने कुनै कारण देखिँदैन । हामीसँग मात्रै भारतको विवाद भएको भए हामीले नै समस्यालाई ठीक ढंगले ‘डिल’ गर्न जानेनौं कि भन्ने हुन सक्थ्यो । तर कहीं न कहीं भारतले छिमेकसँगको सम्बन्धमा उदारता राख्न नसकेको, छिमेकका देशको संवेदनशीलतामा गम्भीर हुन नसकेको, समस्यालाई वार्ताबाटै समाधान गर्ने पहल लिन नसकेको बरु बेवास्ता गर्न खोजेको जस्तो देखिन्छ । यो स्वभावलाई भारतले बदल्नुपर्छ । त्यसो गर्दा मात्रै सबै छिमेकी र खासगरी नेपालसँग सम्बन्ध राम्रो हुन्छ ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

नेपालको भारतसँग कुनै प्रतिस्पर्धा छैन । वैरभावना पनि छैन । असल छिमेकीका रूपमा अगाडि बढ्न चाहन्छौं भने त्यही ढंगले अगाडि बढ्न पाउनुपर्ने हो । समस्या बल्झाएर भारतलाई पनि कुनै लाभ भइरहेको छ जस्तो लाग्दैन । मित्रताको सबैभन्दा बलियो आधार नै विश्वास र सद्भाव हो । त्यसलाई अहिलेका जस्ता (भारत–चीन सहमति) घटनाले ठेस पुर्‍याउँछन् । त्यस्तो नहोस् भन्नका लागि भारतले आफ्ना नीतिलाई ‘रिभ्यु’ गरोस् । हामीले त कूटनीतिक संयन्त्रलाई सक्रिय बनाऔं, तथ्य र प्रमाणलाई बोल्न दिऔं भनेका छौं । हामीसँग भन्दा बलियो प्रमाण उहाँहरूसँग छ भने पनि बसेर छलफल गरौं न । हामीलाई पूर्ण विश्वास छ, उहाँहरूसँग त्यस्तो तथ्य र प्रमाण छैन । त्यसैले पनि उहाँहरू वार्ताबाट पन्छिन खोजेको जस्तो ठान्छु ।

अहिलेका जस्ता विवादको विषय एक पटक ह्वात्त आउँछ । हामी केही महिना त्यसलाई प्राथमिकता दिएर सक्रियता देखाउँछौं । त्यसले निष्कर्ष नपाउँदै हामी चुप लाग्छौं । पुनः त्यस्तै विषय उठेपछि पुनः सक्रियता देखाउँछौं । निरन्तर संवाद र कूटनीतिक पहल गरेर समाधान खोज्न किन आवश्यक ठान्दैनौं ?

खासगरी सचिवस्तरको संयन्त्रलाई नै यस्ता समस्याको समाधान गर्ने भनिएको छ, त्यो संयन्त्र सक्रिय भएको भए धेरै समस्या आउने थिएनन् । त्यस्तै, नेपाल र भारतका प्रधानमन्त्रीले स्वीकार गर्नुभएको छ, दुई देशको सम्बन्धलाई एक्काइसौं शताब्दीअनुकूल बनाउन जरुरी छ । नयाँ ढंगले अद्यावधिक गर्न जरुरी छ । त्यसका लागि गर्नुपर्ने काम के–के हुन्, त्यसबारेमा सुझाव दिनका लागि दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) बन्यो ।

नेपाल–भारत सम्बन्ध बहुआयामिक र कतिपय सन्दर्भमा जटिल पनि छ । तथापि प्रबुद्ध व्यक्तिहरूले सन् २०१८ मा सर्वसम्मतिले प्रतिवेदन तयार गरे । त्यो प्रतिवेदन बुझेको भए र क्रमिक रूपमा कार्यान्वयन गर्दै लगेको भए कैयौं समस्या आउने थिएनन्, धेरै पुराना समस्या समाधान भइसकेका हुने थिए । नेपालबाट कमजोरी भएको देखिँदैन । 

किनकि, सचिवस्तरीय संयन्त्र सक्रिय बनाउन आग्रह गरेका छौं । त्यस्तै, ईपीजी निर्माण गर्न, सक्रिय बनाउन, सफल बनाउन र त्यसको प्रतिवेदन तयार गर्नमा नेपालले ‘प्रोएक्टिभ’ भूमिका खेलेको छ । प्रतिवेदनलाई हस्तान्तरण गर्नका लागि हामीले लामो समयदेखि प्रयत्न गर्दै आएका छौं । सचिवस्तरीय संयन्त्र सक्रिय नहुँदा पनि परराष्ट्रमन्त्रीस्तरको जुन संयुक्त आयोग छ, त्यसको पाँचौं र छैटौं बैठकको मैले पनि ‘को–चेयर’ गर्ने अवसर पाएको थिएँ ।

नेपालमा नयाँ नक्सा प्रकाशित भएर संविधान संशोधन भइसकेपछिको अलि असहज स्थितिभित्रै दिल्लीमा सन् २०२१ को जनवरीमा छैटौं बैठक भएको थियो, त्यसमा पनि हामीले खुलेर कुरा गरेका छौं । निष्कर्षमा, नेपालका तर्फबाट कमी भएको देखिँदैन । एउटा टिप्पणी भने छ, नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमणमा गएर फर्केपछि दुई वटा मामिलालाई गलत ढंगले प्रस्तुत गर्नुभयो ।

पहिलो, पत्रकारले ईपीजीको प्रतिवेदनका विषयमा प्रश्न सोध्दा उहाँले त्यो विषय नउठाएको जवाफ दिनुभयो । भारतीय मित्रहरूलाई त्यति रुचिकर हुने नदेखेकाले सो विषय नउठाएको उहाँको भनाइ थियो । दोस्रो, उहाँले जग्गा सट्टापट्टाको विषय ल्याउनुभयो । जुन एकदमै त्रुटिपूर्ण थियो ।

किनकि, जग्गाको उपयोग कसरी गर्ने भनेर त धेरै ढंगले छलफल गर्न सकिन्छ । सबैभन्दा पहिलो त स्वामित्व विषय हो । नेपालको सार्वभौम क्षेत्र हो कि होइन भनेर निर्क्योल नहुँदै सट्टापट्टा गर्न तयार रहेको जसरी बोल्नुभयो, त्यो हल्का र पद सुहाउँदो अभिव्यक्ति थिएन । नत्र भने सबैले नेपालको सवाल गम्भीरतापूर्वक नै उठाउनुभएको छ । तर भारत भने छलफलका लागि तत्पर देखिएको छैन ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

प्रचण्डले भारत भ्रमणका बेला ईपीजीको विषय नउठाए पनि अब केपी शर्मा ओली केही सातामै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले चाहिँ उठाउनुहुन्छ ?

निःसन्देह उठाउनुहुन्छ । हामी सम्बन्ध विकासका लागि तीन वटा विषयलाई आधार मान्छौं । पहिलो, दुइटा मित्रहरूका बीचमा कुनै पनि विषय लुकाइनु हुँदैन । लुकाएर समस्याको समाधान हुँदैन । मित्रहरूका बीचमा खुला ढंगले छलफल हुनुपर्छ । एक–अर्कालाई आफ्ना सवाल निर्धक्क भन्नुपर्छ । समाधान तत्काल ननिस्किन सक्ला तर अर्को मित्रले थाहा पाउनुपर्छ कि– मेरो मित्रको पोजिसन के हो ? दोस्रो, समस्यालाई कूटनीति माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ ।

त्यो नहुँदा हाम्रो मित्रतालाई कहीं न कहीं बिझाइरहेको हुन्छ । लामो यात्रामा हिँड्ने हो भने जुत्ता टक्टक्याएर ढुंगाका टुक्रा निकाल्नुपर्छ । नत्र त्यसैले बिझाइरहन्छ । नेपाल र भारतको सहयात्रामा लामो पृष्ठभूमि पार गरेर यहाँसम्म आइपुगेका छौं । लामो समयसम्म सँगै अगाडि बढ्नुपर्नेछ । तर जुत्ताभित्र ढुंगाको टुक्रा रहिरह्यो भने खुट्टामा घाउ बन्छ । हामी त्यस्तो चाहँदैनौं ।

तेस्रो, मित्रता, मित्रतापूर्ण सहयोग र साझेदारी तथा समस्या समाधानका लागि हुने छलफल समानान्तर ढंगले अघि बढ्नुपर्छ । साझेदारीको कुरा गर्दा समस्यालाई ओझेलमा पार्ने र समस्याको कुरा उठाउँदा बृहत्तर साझेदारीलाई ओझेलमा पार्ने काम गर्नु हुँदैन । दुइटैलाई समानान्तर ढंगले अघि बढाउनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दुई देशका समग्र आयामका बारेमा खुलेर कुरा गर्नुहुन्छ ।

प्रधानमन्त्रीका रूपमा २०७८ मा शेरबहादुर देउवा र २०८० मा प्रचण्ड भारत पुगेर आएपछि विपक्षी दलका नेता केपी शर्मा ओलीले नै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समस्या नभई आफूहरूको भूमि हो भन्ने विषय उठाउनुभएको थियो । यतिबेला यही मुद्दा बढी चर्चामा पनि छ । उहाँले त्यस्तो अडान राखेर आउनुहोला ?

यस सवालमा एमाले र केपी शर्मा ओलीको पोजिसन के हो भन्ने बारेमा त व्यवहारमै देखिएको छ । मलाई विश्वास छ, केपी शर्मा ओलीकै कारण यो विषयले अहिलेको उचाइ प्राप्त गरेको छ । राष्ट्रिय सहमति कायम हुन सक्यो । हामीले संवैधानिक, कानुनी र प्राविधिक हिसाबले पनि त्यो भूभागमाथिको आफ्नो हकलाई स्पष्टताका साथ दाबा प्रस्तुत गर्न सक्यौं । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा प्रभावकारी ढंगले आफ्ना सवाल राख्ने विषयमा सन्देह गर्नु पर्दैन ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

केपी शर्मा ओली नै अघिल्लो पटक प्रधानमन्त्री हुँदा संसद्बाट पारित भएको नक्साको विषय पनि राख्नुहोला ?

त्यो लगायत नेपाल र भारतको सम्बन्धसँग जोडिएका राम्रा र बिझाउने समग्र विषयलाई छलफलको टेबलमा ल्याइन्छ । बिझाउने विषयलाई कसरी समाधान गर्ने र सहकार्य, मित्रता र साझेदारीको दायरालाई फराकिलो बनाउँदै जाने भन्ने बारेमा समग्रमा कुराकानी हुन्छ ।

प्रधानमन्त्री चीन भ्रमणमा पनि जाँदै हुनुहुन्छ । त्यहाँ भारत र चीनका उच्चस्तरका नेतासँग भेट हुने भनिएको छ । त्यसैले भारत–चीनबीचको सहमतिलाई दुवै देशका नेतासँग एकसाथ असहमति राख्ने अवसर कत्तिको छ ? त्यसको सदुपयोग होला ?

चीनको भ्रमण सांघाई सहयोग संगठन (एससीओ) अर्थात् एउटा बहुपक्षीय मञ्चका लागि हुने हो । त्यसैले बहुपक्षीय मञ्चमा दुईपक्षीय सवाल उठाउँदैनौं । तर दुईपक्षीय भेटघाट हुँदा स्वाभाविक रूपमा यो विषय उठाइन्छ ।

यस बिषयसँग सम्बन्धित अन्य समाचारहरु 

किन बल्झिरहन्छ कालापानी मुद्दा ? सात तथ्यमा बुझ्नुहोस्

फेरि बल्झियो ६ दशक पुरानो लिम्पियाधुरा विवाद

सीमा सम्बन्धमा १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट, सबै अनुत्तरित


लिम्पियाधुरा विवाद

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully