‘क्याथल्याब’ सञ्चालन नहुँदा दुर्घटना, प्राकृतिक प्रकोप, चोटपटकजस्ता आकस्मिक घटनामा घाइते भएर मुटु वा रक्तनलीमा ‘ब्लकेज’ भएका बिरामीहरूको तत्काल उपचार गर्नुपरेमा अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको छ।
What you should know
काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरको मुटुको चिरफारबिना उपचार गर्ने ‘क्याथल्याब’ १३ वर्षदेखि प्रयोगविहीन छ । ‘क्याथल्याब’ सञ्चालन नहुँदा दुर्घटना, प्राकृतिक प्रकोप, चोटपटकजस्ता आकस्मिक घटनामा घाइते भएर मुटु वा रक्तनलीमा ‘ब्लकेज’ भएका बिरामीहरूको तत्काल उपचार गर्नुपरेमा अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।
छेउमै रहेको वीर अस्पतालमा क्याथल्याब छ । तर, त्यो पनि सातामा दुई दिन मात्र चल्छ । वीरमा पनि मुटुमा रहेको समस्याको उपचार गर्नुपरे अन्य अस्पतालमा रेफर गर्नुपर्छ ।
सिभिल अस्पतालमा भने क्याथल्याब छैन । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा चार वटा सञ्चालनमा छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको तीन वटामध्ये एउटा र त्रिवि शिक्षण अस्पतालको एउटा ‘क्याथल्याब’ १२ वर्ष पुरानो हो । पुराना भएकाले बेला बेलामा बिग्रिरहन्छ ।
राजधानीकै ठूला अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन नहुँदा चिरफारबिना मुटुको उपचार गराउन चाहने बिरामीहरूले महिनौं पालो कुर्नुपर्ने बाध्यता छ । बिरामीको अत्यधिक भीडभाडका कारण गंगालाल हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मात्रै मुटुको उपचार गराउन पालो कुर्नेको संख्या करिब ५ हजार जना छन् । वीर र त्रिवि शिक्षण अस्पतालमा मुटुलगायत रोगको शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी संख्या ६ हजार जना छन् ।
वीरमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–९ का ३० वर्षीय मानसिंह तामाङले ‘क्याथल्याब’ बाट मुटुको उपचार गराउन ६ महिनापछि मात्र पालो पाए । उनका अनुसार गत फागुनमा मुटुमा समस्या देखिएको थियो । ‘त्यसयता हृदयाघात हुनबाट रोक्ने औषधि सेवन गर्दै आइरहेका थिए,’ उनले भने । अहिले प्रायः मुटुका बिरामी बिनाचिरफार उपचार गर्न चाहन्छन् । वीरका चिकित्सकहरूका अनुसार अस्पतालमा मुटु रोगी सरदर दैनिक ओपीडीमा १ सय ३० जनादेखि १ सय ७० जनासम्म उपचार गराउन आउने गर्छन् । बिरामीले मुटुको निजीमा उपचार गराउनुपरेमा कम्तीमा ३ लाख रुपैयाँ खर्च लाग्छ ।
ट्रमा सेन्टरमा क्याथल्याब भारत सरकारले विशेष गरी दुर्घटनामा परेकाहरूको मुटु वा नसामा ब्लक भएर समस्या भएमा तत्काल उपचार गर्न २०६९ सालमा व्यवस्था गरिदिएको थियो । ट्रमाले दक्ष जनशक्ति अभावको कारण देखाएर हालसम्म सञ्चालनमा ल्याएको छैन । क्याथल्याब चलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चासो नदिएको अस्पतालको गुनासो छ । चिकित्सकहरूका अनुसार सामान्यतया एउटा क्याथल्याबबाट दैनिक सरदर १२ देखि १५ जनासम्मको मुटुको उपचार गर्न सकिन्छ ।
ट्रमा सेन्टरका अधिकारीहरूका अनुसार लामो समय प्रयोगविहीन बनेको क्याथल्याब समयअनुकूल अपग्रेड र मर्मत गर्न कम्तीमा ४०–५० लाख रुपैयाँ खर्च लाग्छ । क्याथल्याब मर्मत र अपग्रेड गर्न जर्मन सिमेन्स कम्पनीको शाखा नेपालमा पनि छ । तर, मेसिन मर्मत गर्न लाग्ने खर्च जुटाउन न ट्रमा सेन्टर तयार छ न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै ।
ट्रमा विज्ञ डा. विनोद शेरचनले क्याथल्याब थन्काएर राख्नुभन्दा सञ्चालनमा ल्याएमा ट्रमाका बिरामीले मात्र नभई वीरका बिरामीले समेत उपचार पाउने बताए । ‘यदि कम्मरको हड्डीमा चोट लागेर अंगभित्र रक्तस्राव भएमा त्यसलाई रोक्न क्याथल्याब चाहिन्छ,’ उनले भने, ‘फ्याक्चर हुँदा हाडजोर्नी जोड्न नसा मिलेको छ/छैन हेर्न पनि प्रयोग हुन्छ ।’
राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले स्वास्थ्य मन्त्रालयले चासो नदिँदा क्याथल्याब अलपत्र परेको बताए । ‘क्याथल्याब मर्मत र दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक रकम अस्पतालको आन्तरिक स्रोतबाट बेहोर्न सक्दैनौं । स्वास्थ्य मन्त्रालयले पनि लगानी गरिदिँदैन,’ उनले भने, ‘क्याथल्याब दिगो रूपमा चलाउने हो भने मन्त्रालयले आवश्यक जनशक्तिको दरबन्दी नै सिर्जना गर्नुपर्यो । नत्र ल्याब आवश्यक परेको अस्पताल पहिचान गरेर हस्तान्तरण गर्न भूमिका खेल्नुपर्यो ।’
वीरका कार्डियोलोजी विभाग प्रमुख डा. समीर पौडेलले जनशक्ति अभावको कारणले सातामा दुई दिन मात्र क्याथल्याब चलाउन बाध्य बनेको बताए । ‘जनशक्ति व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले विशेष रूपमा ध्यान दिएको छैन,’ उनले भने, ‘सातै दिन चलाउन पाएमा धेरै बिरामीले राहत पाउँथे ।’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यको नयाँ क्याथल्याब खरिद गर्न बजेट माग गरे पनि मन्त्रालयले नदिने गरेको बताए ।
गंगालाल हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मात्रै मुटुको उपचार गराउन पालो कुर्नेको संख्या करिब ५ हजार, वीर र त्रिवि शिक्षण अस्पतालमा मुटुलगायत रोगको शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी संख्या ६ हजारक्याथल्याब सञ्चालनमा ल्याउन इन्टरभेन्सनल रेडियोलोजी, कार्डियोलोजिस्ट, कार्डियोथोरासिक भास्कुलर सर्जन र नर्सिङ जनशक्ति चाहिन्छ । ट्रमामा करारमा कार्डियोथोरासिक भास्कुलर सर्जन मात्र कार्यरत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै कुरा मन्त्रालयलाई मात्र पन्छाएर समस्या समाधान नहुने बताए । ‘अस्पताल आफैंले पनि कमाउनुपर्यो । मन्त्रालयले पनि नयाँ दरबन्दी सिर्जना गर्न चाहन्छ । तर, अर्थ मन्त्रालयले फाइल रोकिदिन्छ,’ उनले भने, ‘अस्पताल विकास समिति छ । निर्देशक छन् । उनीहरूले विशेष ध्यान दिनुपर्यो ।’
गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले बिरामीका चापका कारण आगामी आर्थिक वर्षमा एउटा क्याथल्याब थप्ने योजना रहेको बताए । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले धेरै प्रयासपछि चालु आर्थिक वर्षका लागि क्याथल्याब स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याएको बताए । ‘क्याथल्याब नहुँदा धेरै बिरामी मर्कामा परेका छन्,’ उनले भने, ‘समयमा खरिद गर्छौं ।’
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार जन्मेका १ प्रतिशत बच्चाहरूमा मुटुको कुनै न कुनै जन्मजात रोग हुन्छ । नेपालमा वार्षिक ५ लाखदेखि ७ लाख बच्चा जन्मिन्छन् । मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, ६ देखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा कोलेस्ट्रोल, २० देखि २५ प्रतिशतमा धूमपान र १५ देखि २० प्रतिशतमा मोटोपन रहेको छ ।
विश्व मुटु महासंघका अनुसार बर्सेनि १ करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ । जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटु रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । नेपालमा मुटु रोगी ४० लाखभन्दा बढी छन् । नेपालमा सर्वाधिक मृत्युको कारण मुटु तथा रक्तनलीसम्बन्धी रोग हो । यस रोगबाट बर्सेनि ४६ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । मुटुसम्बन्धी रोगमध्ये पनि ७० प्रतिशत हृदयाघातबाट हुने गरेको तथ्यांक छ ।
