२२ महिना लामो युद्धमा ६० हजार प्यालेस्टिनीको मृत्यु र डेढ लाख घाइते भएको समाचार एजेन्सी बीबीसीको दाबी छ । गाजा कब्जा गर्ने इजरायलको घोषणापछि दुवैतर्फबाट आक्रमण तीव्र छ ।
What you should know
तेल अविव, इजरायल — इजरायलको चर्चित मिडिया ‘आई–ट्वान्टीफोर न्युज’ का प्रमख अली वाक्ड यस्ता पत्रकार हुन् जो प्यालेस्टिन मूलका हुन् र जसले द्वन्द्वका कारण परिवार तथा आफन्त गरी ४० भन्दा बढी व्यक्तिलाई गुमाएका छन् ।
७ अक्टोबर २०२३ मा हमासले दक्षिण इजरायलको किबुजलगायत नजिकको सहरी क्षेत्रमा गरेको आक्रमणको प्रतिवादका रूपमा दुई वर्षपछि गाजापट्टीलाई कब्जामा लिने इजरायली सरकारको कदमलाई धेरै जनताले नचाहेको युद्ध ठान्छन् उनी ।
भन्छन्, ‘वास्तवमा यो युद्ध चाहिएको छैन, धेरै युवा पुस्ताले यो निर्णय मन पराएका छैनन् तर हाम्रो सरकारमा केही यस्ता मानिस छन् जो युद्ध भइरहोस् भन्ने चाहन्छन् ।’
हमासले किबुज र आसपासका क्षेत्रमा ७ घण्टासम्म मिसाइल तथा स्थलगत रूपमा गरेको आक्रमण त्यही हो, जसमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । विपिनसहित इजरायल र अन्य मुलुकका गरी २५१ लाई हमासले बन्धक बनाएर लगेका थिए । आक्रमण, आगजनी र अपहरणको त्यस ‘नरसंहार’ मा इजरायलमा रहेका १२ सयको ज्यान गएको थियो ।
त्यसयता २२ महिना लामो युद्धमा ६० हजार प्यालेस्टिनीको मृत्यु र डेढ लाख घाइते भएको समाचार एजेन्सी बीबीसीको दाबी छ । गाजा कब्जा गर्ने इजरायलको घोषणापछि दुवैतर्फबाट आक्रमण तीव्र छ । केही इजरायली जनता युद्धको समर्थनमा देखिएका छन् भने केहीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजामा पूर्ण नियन्त्रण गर्ने कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
पत्रकार अलीको नेतृत्वमा रहेको ‘आई–ट्वान्टीफोर न्युज’ को मुख्यालय तेल अविवको जाफा पोर्टमा छ । यस च्यानलले इजरायलबाट हिब्रु, फ्रान्सेली, अरबी र अंग्रेजी गरी चार भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ । ‘म एक अरब इजरायली हुँ, प्यालेस्टिनी परिवारबाट आएको,’ इजरायल भ्रमणमा रहेका नेपाली सञ्चारकर्मीको टोलीसँग तेल अविवमा अलीले भने, ‘मेरा आफन्त गाजामा छन् र हिंसामा मारिएका छन्, अर्कोतर्फ मेरा केही आफन्त तथा साथी इजरायली सेनामा छन् । अवस्था जटिल छ तर यसले मलाई एउटा अवसर दिएको छ, कस्तो हुनुपर्छ लोकतान्त्रिक इजरायल भन्ने बुझ्न र बुझाउन ।’
विपिन जोशीलगायत हमासको कब्जामा रहेका ५० जना फिर्ता पाउनुपर्ने मात्र होइन, गाजालाई सदासदाका लागि हमासमुक्त बनाउने भन्दै इजरायलले सुरु गर्यो नयाँ हमला, प्यालेस्टिनी सरकार कस्तो रहने भनेर इजरायलले तय गर्ने विषयमा विश्वभर जस्तै इजरायलभित्र पनि फरक मत
एक पत्रकारका आँखाबाट अलीले इजरायलको द्वन्द्व र इजरायल सरकारले चालेको कदमलाई फरक ढंगबाट हेरेका छन्, जसलाई उनी धेरै इजरायली जनताको वास्तविकता भन्न चाहन्छन् । ‘गाजामा रहेका मेरा केही आफन्त द्वन्द्वमा मारिएका छन्, केही आफन्त र साथी सेनामा रहेकाले दुई खालको सम्बन्ध र अनुभवले मलाई दुई–राष्ट्र नै समाधान हो भन्ने विश्वास दिलाएको छ,’ अली भन्छन्, ‘यहाँ इजरायलीका रूपमा बाँच्ने मेरो अधिकार जति वैध छ, त्यति नै वैध अधिकार हरेक प्यालेस्टिनीलाई आफ्नो देश पाउने पनि छ । म विश्वास गर्छु, सुरक्षित र लोकतान्त्रिक इजरायल केवल त्यतिखेर सम्भव हुन्छ जब त्यसका प्यालेस्टिनी छिमेकीहरूसँग पनि सुरक्षित हुन्छन् र देश लोकतान्त्रिक हुन्छ ।’
यी इजरायली सम्पादक अलीका आमा–बुबा दुवै सन् १९४८ भन्दा पहिले जन्मिएका हुन् । बाबुको परिवार १९४८ को युद्धका बेला सिरिया भागेको थियो । ‘दुर्भाग्यवश सन् २०१३ मा त्यहाँ भएको आणविक आक्रमणमा हामीले १८ जना परिवारका सदस्य गुमायौं,’ उनले सुनाए, ‘मेरा आमा पक्षका परिवार, जसको स्थायी थलो अहिलेको उत्तरी तेल अविवमा थियो, प्यालेस्टिनीमाथि आक्रमण बढेपछि उनीहरू गाजामा विस्थापित भए, त्यसैले केही मेरा कजनहरू गाजामा भइरहेको युद्धमा मारिएका छन् । अवस्था यस्तो छ कि, इजरायली सेनामा मेरा केही आफन्त तथा साथी छन् र उता गाजामा पनि केही आफन्त छन् ।’
उनले आफू ‘एक–राष्ट्र समाधान’ को पक्षमा नरहेको प्रस्ट पारे । ‘यस्तो राज्य लोकतान्त्रिक हुँदैन, बरु एउटा रंगभेदी (अपार्थाइड) हुनेछ, सबै नागरिकका लागि पूर्ण लोकतन्त्र भएको इजरायल हुनुपर्छ भन्नेमा म अडिग छु,’ उनले भने ।
हेर्नोस्, बुबाआमा १९४८ मा भाग्नुभयो तर यो मेरो देश हो । पछि म यहाँ जन्मिएको हुँ, म इजरायली हुँ, त्यसैले म यहाँ बस्नैपर्छ । यहाँ बस्ने मेरो अधिकार, हरेक प्यालेस्टिनीलाई आफ्नो देशमा बस्ने अधिकार अरूलाई जत्तिकै वैध हो,’ अली भन्छन्, ‘म दुई–राष्ट्र नै समाधान हो भन्ने पक्षको समर्थक हुँ । किनकि म मान्छु, इजरायललाई सुरक्षित र लोकतान्त्रिक बनाउन एक मात्र बाटो भनेको प्यालेस्टिनीलाई पनि आफ्नो स्वतन्त्र, लोकतान्त्रिक र सुरक्षित देश दिनु हो ।’ उनी इजरायल सरकार यस मान्यताका साथ अघि बढ्ने हो भने शान्तिपूर्ण समाधान हुन सक्ने ठान्छन् ।
गाजामा नियन्त्रणका लागि ८ महिने रणनीति
इजरायलले गाजा सिटीलाई सैन्य नियन्त्रणमा लिने नयाँ योजना अघि सारेको छ, जुन योजना पूर्ण रूपमा कार्यान्वयन हुन करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ । इजरायलको सरकारी सञ्चार संस्था ‘कान टीभी न्युज’ का अनुसार, यो योजना देशको सुरक्षा परिषद्ले स्वीकृत गरेको हो ।
वास्तवमा यो युद्ध चाहिएको छैन, धेरै युवापुस्ताले मन पराएका छैनन्, तर हाम्रो सरकारमा केही यस्ता मानिस छन् जो युद्ध भइरहोस् भन्ने चाहन्छन्। - अली वाक्ड इजरायलको ‘आई–ट्वान्टीफोर न्युज’ प्रमुख
कान टीभीका अनुसार आगामी दुई साताभित्र गाजा सिटीका करिब आठ लाख नागरिकलाई दक्षिण गाजास्थित अल–मावासी मानवीय क्षेत्रमा सुरक्षित रूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । अर्को महिनापछि इजरायलले थप आरक्षित डिभिजन परिचालन गर्नेछ, जसले हाल क्रियाशील पाँच डिभिजनसँग सहकार्य गर्दै दुई महिनाभित्र स्थलगत कारबाही (आक्रमण) थाल्ने अनुमान गरिएको छ ।
मानवीय अवस्थालाई ध्यानमा राख्दै गाजामा प्रवेश गरिने राहत सामग्री बोकेका ट्रकको संख्या बढाएर दैनिक १२ सय पुर्याउने निर्णय गरिएको पनि उक्त सरकारी सञ्चारमाध्यमको दाबी छ ।
समर्थन र विरोध
गाजामाथि इजरायली सैन्य आक्रमणको घोषणा भएको दिनदेखि नै इजरायलभित्र र अन्तर्राष्ट्रिय समुदायबाट समर्थन र विरोध दुवै भइरहेको छ । नेपालका लागि दुई कार्यकाल इजरायली राजदूत भइसकेका हानन गोदारले इजरायली जनताले हमासको आतंकवादबाट मुक्त चाहेको बताए ।
‘इजरायल अरू सबै कुरामा लचिलो हुन तयार छ तर आतंकवाद र इजरायली भूमि तथा इजरायली जनताको सुरक्षामा कुनै सम्झौता गर्ने छैन,’ लामो समयदेखि भइरहेको द्वन्द्वबारे प्रस्ट पार्दै उनले इजरायल भ्रमणमा रहेका नेपाली पत्रकारलाई भने, ‘आँखा झिमिक्क गर्यो कि हामीमाथि आतंकवादी आइलाग्न सक्छन्, त्यसैले आँखासमेत नझिम्क्याइकन इजरायली सुरक्षा फौज चौबिसै घण्टा अलर्ट अवस्थामा छ ।’
आक्रमण गरेर आतंककारी हमासको अन्त्य गर्न र उनीहरूको बन्धकमा रहेका इजरायली जनता, नेपालका विपिन जोशी तथा अन्य देशका नागरिकलाई मुक्त गरेर ल्याउन इजरायली जनताबाटै व्यापक दबाब रहेको दाबी पनि नेपालका लागि इजरायलका पूर्वराजदूत हाननले गरे । काठमाडौस्थित इजरायली दूतावासकी नियोग उपप्रमुख जानन बिबरले पनि नेपाली पत्रकार टोलीलाई इजरायल सरकारको द्वन्द्व नीतिबारे प्रस्ट पार्दै भनिन्, ‘मुख्य कुरा आतंककारीको अन्त्य हुनुपर्छ र इजरायली जनताले शान्तिपूर्वक बाँच्न पाउनुपर्छ भन्ने हो ।’
एक दिन हमासले आक्रमण गरेको दक्षिण इजरायलको किबुज तथा आसपासका क्षेत्र र अर्को दिन इरानले मिसाइल आक्रमण गरेको उत्तरपूर्वी इजरायलको लेवनान तथा सिरियासँगको त्रिदेशीय सीमा क्षेत्र गोलेन हाइट्समा क्षति अवलोकन तथा पीडितसँग भेट गराउने क्रममा नेपाली पत्रकारसँग उनको भनाइ थियो, ‘हेर्नुस्, आतंककारीले बालबालिका, गर्भवती, महिला, वृद्धवृद्धा सबैलाई कसरी निर्मम हत्या गरेका छन् । तर इजरायली सेना संयमित भएर बसेको छ । लामो समयदेखि जनताले आतंककारीमाथि सैन्य कारबाही गर्न दबाब दिँदै आए पनि सरकार र सेनाले संयम यसकारण अपनाएको हो कि, आक्रमणमा निर्दोष कोही नपरून् ।’
इजरायल अरू सबै कुरामा लचिलो हुन तयार छ तर आतंकवाद र इजरायली भूमि तथा जनताको सुरक्षामा कुनै सम्झौता गर्ने छैन। - हानन गोदार, नेपालका लागि इजरायली पूर्वराजदूत
तर आतंककारीमाथि कारबाही हुनैपर्छ भन्ने युद्ध पीडितले माग गरिरहेको नियोग उपप्रमुख जाननले बताइन् । इजरायलको सैन्य कारबाही आतंककारीका लागि मात्र लक्षित हुने पनि उनको दाबी थियो ।
गाजा नियन्त्रणमा लिने सरकारको घोषणाकै दिन बिहीबार भएको प्रदर्शनका कारण राति अबेरसम्म तेल अविव सहरमा सवारी जामले जनजीवन अस्तव्यक्त बनेको थियो । आइतबार पनि पूर्वसैनिकको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीले जेरुसलेमको सडकमा नाराजुलुससहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासतर्फ मार्च पास गरेका थिए ।
बीबीसीका अनुसार इजरायलका पूर्वसैनिक म्याक्स क्रेसले एक समूहलाई साथमा लिएर मार्च पास गरेका हुन् । उनले इजरायल सरकारको निर्णय अस्वीकार गर्ने बताएका छन् । ‘हामी ३५० भन्दा अधिक सैनिक छौं जसले युद्ध लडेका थिए, तर हामी नेतान्याहुको राजनीतिक युद्धलाई अस्वीकार गर्छौ,’ उनले बीबीसीलाई भनेका छन् । जेरुसलेमका साथै तेल अविव, हाइफालगायतका ठाउँमा प्रदर्शन भएका छन् ।
आक्रमणबाट थप ३७ को मृत्यु
गाजामा इजरायली आक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको हो । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक रहेको दाबी गरिएको छ ।
नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमानाका नजिकै भेला भएका माथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको दाबी गरेका छन् । उनले त्यहाँ करिब दुई सय जना घाइते भएको बताएका छन् ।
मध्य गाजाको सहायता केन्द्र नजिकै पनि अन्य ६ जनाको मृत्यु भएको र ३० जना घाइते भएको उनको भनाइ छ । यस्तै दक्षिणी सहर खान युनिस नजिकै भएको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । तर गाजामा मिडियामाथिको प्रतिबन्ध र त्यस क्षेत्रका ठूला भागमा पहुँच पुर्याउन कठिनाइका कारण नागरिक सुरक्षा र इजरायली सेनाले प्रदान गरेका तथ्यमाथि स्वतन्त्र पुष्टि गर्न पहुँच नभएको एएफपीको भनाइ छ ।
हजारौं प्यालेस्टिनी गाजामा खाना वितरण केन्द्र नजिकै दैनिक भेला हुन्छन्, जसमा चार वटा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा व्यवस्थापन गरिएको छ । प्रधानमन्त्री नेतान्याहुले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालको संकटबाट फिर्ता ल्याउन र प्यालेस्टिनी लडाकुले बन्धक बनाएका मानिसलाई मुक्त गर्न युद्धविराममा सहमत हुन बढ्दो दबाबको सामना गरिरहेका छन् । त्यसै क्रममा शुक्रबार बिहान इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्न अपरेसन योजनालाई अनुमोदन गरेको थियो ।
जनताले आतंककारीमाथि कारबाही गर्न दबाब दिँदै आए पनि इजरायली सरकार र सेनाले संयम यसकारण अपनाएको हो, आक्रमणमा निर्दोष कोही नपरुन्। जानन बिबर, इजरालयी दूतावासकी नियोग उपप्रमुख
प्रधानमन्त्री नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे घोषणा सार्वजनिक गरेको छ । त्यसमा युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउने क्रममा इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजा सहर कब्जामा लिन आवश्यक तयारी गर्ने उल्लेख छ ।
इजरायलले भनेको ५ बुँदे सिद्धान्तमा हमास समूहको निःशस्त्रीकरण, सबै बन्धक फिर्ता गर्नुपर्ने, गाजापट्टीलाई गैरसैनिकीकरण गरिनुपर्ने, गाजामाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने, हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकार बनाउने उल्लेख छ ।
हालै एक सर्वेक्षणमा अधिकांश इजरायली जनता बन्धकको रिहाइका लागि सरकारले हमाससँग सहमति जुटाउनुपर्नेर् बताएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । करिब ३६५ वर्ग किमि क्षेत्रफलमा फैलिएको गाजामा करिब २१ लाख मानिसको बसोबास छ । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणपछि इजरायली सैन्य कारबाही हुँदै आएको थियो । त्यसयता भने प्यालेस्टिनीको जनसंख्या घट्दो छ ।
‘गाजालाई कब्जा गर्न होइन, स्वतन्त्र बनाउन चाहेका हौं’
गाजा कब्जाको विरोधलाई मत्थर पार्ने उद्देश्यसहित इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार विदेशी सञ्चारमाध्यमलाई विशेष सम्बोधन गरेका छन् । ‘हाम्रो लक्ष्य गाजालाई कब्जा गर्नु होइन, गाजालाई स्वतन्त्र बनाउनु हो,’ नेतान्याहुले विदेशी पत्रकारसँग भने ।
गाजामा थालिएको नयाँ सैन्य आक्रमणको बचाउ गर्दै उनले आतंककारी हमासको अत्य हुनुपर्ने बताए । ‘हाम्रोसामु अरू विकल्प छैन, हामीले यो काम पूरा गर्नैपर्छ र हमासलाई पूर्ण रूपमा पराजित गर्नैपर्छ,’ उनले भने ।
आइतबार बेलुकी राष्ट्रिय सुरक्षा परिषद्को बैठकअघि उनले विदेशी सञ्चारमाध्यमलाई सम्बोधन गरेका हुन् । उनले ‘अझ धेरै विदेशी पत्रकार भित्र्याउन’ सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘यो महत्त्वपूर्ण विकास हुनेछ, २२ महिनादेखि चलिरहेको युद्धमा सेनाका साथमा पत्रकारलाई पनि गाजामा प्रवेश दिइनुपर्छ ।’
(संचारकर्मी बस्नेत इजरायल सरकारको प्रायोजनमा २ देखि ९ अगस्तसम्म इजरायल भ्रमणमा सहभागी थिए)
