लडेर उठेकी साहसी समीक्षा

करिअरमा ब्रेक लाग्नु, समाजले धकेलेर पर पुर्‍याउनु ! तर यसैलाई दुःख मानेर आफूलाई विलय गराउनु समीक्षा अधिकारीका लागि न्यायोचित थिएन । एक दिन समीक्षाले संकल्प गरिन्, ‘मेराविरुद्ध सामाजिक सञ्जालमा तथानाम गाली र भद्दा मजाक गरेर रमाउनेलाई एक्सपोज्ड गरेरै सबक सिकाउँछु ।’

असार ३२, २०८२

समर्पण श्री

Courageous review

काठमाडौँ — जून जस्ती रे, फूल जस्ती रेकञ्चन खोला झरनाको, मूल जस्ती रे

गत शनिबार रेडियो कान्तिपुरद्वारा आयोजित ‘नेसनल म्युजिक अवार्ड्स’ मा समीक्षा अधिकारी पार्श्व गायिकामा उत्कृष्ट हुँदै अवार्ड लिन ललितपुरस्थित गोदाबरी सनराइज कन्भेन्सन सेन्टरको स्टेज चढ्दै गर्दा यही गीत पृष्ठभूमिमा गुन्जिरहेको थियो ।

स्टेज उक्लिँदै गर्दा आफ्ना सम्मानका लागि बजिरहेका ताली सुनिन् । जब हातमा अवार्ड पर्‍यो, खुसीले गद्गद् भइन् । भावुक त्यो क्षणमा बाआमालाई सम्झिइन्, जसले उनका अँध्यारा दिनहरूमा हात समातेर डोहोर्‍याएका थिए । गीतका सर्जक प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीलाई सम्झिइन्, जसले विश्वास गरेर यो गीतमा आवाज भर्न दिएका थिए । अवार्ड लिँदाको क्षण समीक्षाका आँखा रसिला भएका थिए । ‘एउटा रहरथियो, त्यो पनि पूरा भयो,’ उनले गौरवान्वित हुँदै भनिन् ।

समीक्षाले सानै उमेरमा निकै उतारचढाव भोगिन्, जीवनमा पनि र सांगीतिक करिअरमा पनि । गायिका बन्न खासै ठूलो संघर्ष गर्नु नपरेपनि त्यसपछि भने उनका संघर्ष सामान्य रहेन । १३ वर्षको उमेरमा नै उनले पहिलो गीत रेकर्ड गराउने अवसर पाएकी थिइन् । त्यो पनि चल्तीको फिल्म सिरिज ‘नाइँ नभन्नु ल ५’ का लागि पार्श्व गायनबाटै उनले सांगीतिक करिअर शुरु गरिन् ।  

‘फेरि कहाँ आउँछ र घुमेर

यो बालापनको उमेर... 

समीक्षा आफ्नै गीतका स्थायी सम्झँदै हाँस्छिन् । हुन पनि उनले आफ्नो बालापन धेरै भोग्न पाईनन् । गीत हिट भएपछि उनी कलिलो उमेरमा नै एकाएक ‘सेलिब्रिटी’ गायिका बन्ने छनक दिइसकेकी थिइन् । तर त्यो ख्यातीमा उनले धेरै लामो समय रमाउन पाइनन् ।

Courageous review

जिन्दगीको एउटा नमीठो घटनामा परिन् । नाबालिका समीक्षाका लागि पितृसत्तात्मक सोच बोकेको समाज अप्ठ्यारो बनिदियो । मेला, महोत्सवदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन पनि उनलाई असहज बनाइयो । भर्खर उडान भर्दै गरेको उनको सांगीतिक करिअरमा नै अवरोध पारियो ।

...

अगाडि बढिरहेको करिअरमा ब्रेक लाग्नु, बिनागल्ती समाजले धकेलेर पर पुर्‍याउनु ! तर यसैलाई दुःख मानेर आफूलाई विलय गराउनु उनका लागि न्यायोचित थिएन । गायक पशुपति शर्मासँगको युगल गायनमा समीक्षाको गीत छ, ‘मलाई पनि छ उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ ।’

संसारका ‘हर’ मान्छेलाई हुने दुःखबाट आफू भाग्न नहुने लागिरहेको बेला यो गीत गाएकी थिइन् समीक्षाले । लाग्छ, उनका सुनौला दिन त्यही गीतबाट फर्किए । अघिल्लो वर्ष हिट भएको फिल्म ‘बोक्सीको घर’ को गीत ‘बुझिनँ मैले बुझाइदेऊ’ का शब्द समीक्षालाई गाउनका लागि आयो । गीतका शब्दहरूले उनको शरीरमा काँडा उमारे । एउटै नारीलाई बोक्सी, बेबी, डार्लिङ र देवी भन्ने समाजको चित्रण गीतले बलियोसँग गरेको थियो ।

‘यो गीतले मभित्र पनि अनौठो ऊर्जा दियो, सायद यसमा मेरो स्वर मात्र हैन, भावनाको पनि मिश्रण छ,’ समीक्षा भन्छिन् । त्यति बेलै उनले लागेको थियो, ‘यो गीतले जादु गर्छ ।’ नभन्दै गीतले समीक्षाकै करिअरमा जादु गर्‍यो । फिल्मको भविष्यमा जादु गर्‍यो । महिलाहरूको सशक्तीकरणमा ‘जादु’ गर्‍यो ।

यो बीचमा उनले स्वर दिएका केही गीतहरूमा महिलाका दरिला आवाज सुनिन्छन् । समीक्षा ठान्छिन्, ‘यो संयोग मात्र हैन, रहर पनि हो ।’ बिनागल्ती समाजमा एउटी नारी सजायको भागेदार किन हुनुपर्छ ? समीक्षाभित्र पटक–पटक यो प्रश्न जन्मिरहन्छ । जवाफ अझै प्रस्ट पाउन सकेकी छैनन् उनले । ‘समाजले पुरुषले गरेको गल्तीलाई गल्ती मान्दैन । तर महिलाले गल्ती नै नगर्दा पनि जीवन सकाउनतिर लाग्छ,’ उनी असन्तुष्ट सुनिन्छिन् ।

Courageous review

कुनै समय सामान्य गालीमा पनि हतासिने समीक्षा आजकल विचलित हुन्नन् । बरु असभ्य कमेन्ट गर्नेहरूलाई सबक सिकाइरहेकी छन् । केही समयदेखि उनी र अर्की गायिका एलिना चौहानले आफूहरूमाथि सामाजिक सञ्जालमा असभ्य कमेन्ट गर्ने व्यक्तिका प्रोफाइल खोजी खोजी सार्वजनिक गरिरहेका छन् । यी गायिकाद्वयको प्रतिकारलाई यतिबेला बौद्धिक वर्गले पनि निकै समर्थन गरेको छ ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘साहसी छोरीहरू’ भनेर उनिहरूको अभियानलाई समर्थन गर्दै लेखे, ‘समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

केही वर्षअघिसम्म पनि बाआमाले थकित अनुहार लगाउँदै ‘आज टेन्सन भइरहेको छ’ भन्दा समीक्षा ‘यो टेन्सन कुन सामानको नाम होला ?’ भन्ने ठान्थिन् । आमालाई उल्टै सोध्थिन्, ‘ममी, यो टेन्सन भनेको के हो ?’ त्यति बेला खुला आकाशको पन्छी जस्तै घुम्थिन्, समीक्षा चारैतिर ।

समीक्षाको बाल्यकालीन कथा उनैले गाएका गीतका अन्तराजस्तै छन् । तर त्यो बालापनको रामरमाइलो धेरै भोग्नै पाइनन् । संसार नै आफु विरूद्ध खनिएको पो हो की भन्ने लाग्न थालेपछि उनका ‘टेन्सन’ सुरु भए । ‘कमेन्ट गर्नेको प्रोफाइल हेरेँ, त्यहाँ छोरीहरू र श्रीमतीको बीचमा एउटा श्रीमान् । के म पनि त्यही छोरीजस्तो हैन ?’ उनले आफूविरुद्ध भद्दा कमेन्ट गर्ने पात्रलाई लक्षित गर्दै दुःख पोख्छिन् । 

...

समीक्षाको समय राम्रो चलिरहेको थियो । तर, अचानक आइदियो ‘ब्याड टाइम’ । त्यो ऐंठनबाट निकै दिन र महिनाहरू गुज्रिइन् समीक्षा । पीडितलाई झन् पीडित बनाउने समाजको कमजोर चेतनाले लामो समयसम्म उनलाई डसिरह्यो । यो क्षेत्रमा लागेका सुरुवाती दिनमा सबैको माया पाउँदा उनी फुरुङ्ग थिइन् ।

त्यस बेला एक–दुई राम्रा कमेन्ट फेसबुकमा आउँदा पनि खुसीले तीन दिनसम्म भोक र निद्रा हराउने उनका लागि घृणित र असभ्य गालीको वर्षात् हुँदा कस्तो भयो होला ? सर्वप्रिय भइरहेकी उनका लागि त्यस्तो निकृष्ट व्यवहारको सामना गर्नुपर्ला भन्ने सोच कहिल्यै थिएन । सानै उमेरमा वाहवाही बटुलेकी समीक्षाले कहिल्यै ‘टेन्सन’ को सामना गर्नुपरेको थिएन । ‘सधैं गुड टाइम चलिरहँदा सोचेको थिइनँ, ब्याड टाइम पनि चल्छ भनेर,’ समीक्षा भन्छिन् ।

एक समय लाग्यो समीक्षालाई, अब सारा प्रशंसकहरू गुमे, सारा दर्शक गुमे । संसार नै आफूविरुद्ध लागिरहेको अनुभूत भयो । त्यति बेला उनी पीडित हुनुको पीडा त आफैंमा गहिरो थियो । त्यसमाथि उनको व्यावसायिक जीवनमा नै अवरोध आए । ‘कहीँ त यस्तो मान्छेसँग किन गीत रेकर्ड गरेको भन्दै रेकर्डिङ भएको भोकल हटाइए,’ समीक्षा सम्झिन्छिन् । तर जतिसुकै समस्या र झमेला आइपरे पनि उनले हिम्मत भने हारिनन् । बा र आमाले आँट दिइरहन्थे, ‘तिमी हिम्मतिली छौ, हिम्मत नहार ।’

Courageous review

एक पटक त चारैतिर ढोका बन्द भएको भान भयो समीक्षालाई । कति रातहरू अनिद्रामा बिते, कति दिनहरू उकुसमुकसमा बिते । गलिनन्, थाकिनन् । 

‘अरू कोही हुन्थे त जे पनि गरिसक्थे, मैले आफूलाई सम्हालिरहे, जोगाइरहेँ,’ उनी सम्झिन्छिन् । जीवनको सबैभन्दा अँध्यारो क्षणमध्येको एउटा उनी बिर्सन सक्दैनन् । संखुवासभाको एउटा महोत्सवमा पुगेकी थिइन् समीक्षा । स्टेजमा गाउँदै गर्दा उनीमाथि ढुंगा बर्सिए, गालीगलौज आए ।

‘त्यो दिनले थुप्रै दिनसम्म मलाई झस्काइरह्यो । त्यही कारण आजको दिन पनि स्टेज चढ्दा मुटु ढुकढुक हुन्छ,’ समीक्षा भन्छिन् । त्यति बेलाचाहिँ उनलाई लागेको थियो, ‘हिम्मत नहारी यहाँसम्म पुगेकै थिएँ, अब सक्दिनँ ।’

उदास बितिरहेका दिनहरूमाझ उनले फेरि आफूलाई झकझकाइन्, ‘म उठ्नुपर्छ ।’ एक पटक उनी अस्ट्रेलिया पुगेकी थिइन् । धेरैले लख काटे– समीक्षा अब फर्किन्नन् । ‘म एक महिना बसेँ । फ्रेस भएर फर्किएँ । किनकि भोलि राम्रो हुन्छ भन्ने थाहा थियो,’ उनी भन्छिन् ।

...

समीक्षाका सुनौला दिन फेरि फर्किएका छन् । यी दिनलाई उनी संयमतापूवर्क अगाडि बढाइरहेकी छन् । उनलाई भाइरल हुने जमानमा पानीको फोका भएर बिलाउनु छैन । हिँड्दाहिँड्दै थाक्नु पनि छैन । ‘मलाई त लङ रेसको घोडा हुनु छ । परपरसम्म पनि गुन्जिनु छ,’ समीक्षा उत्साहित सुनिन्छिन् । कुनै समय थियो, स्टेज चढ्दा पनि डरले भाउन्न छुट्थ्यो समीक्षालाई । तर सपना त थियो स्टेज नै चढ्ने । जहाँ टेकेर गीत गाइरहेका गायक–गायिकाका लागि सयौं हात श्रद्धा र प्रेमका लागि उठ्थे । 

समीक्षा स्टेज उक्लेर दर्शक–श्रोताको प्रेम बटुल्ने दिन पनि आयो । तर स्टेजमा सधैं प्रेम मात्र कहाँ वर्षन्छ र ! आजकल बिहानदेखि साँझसम्मै बेफुर्सदिली छन् समीक्षा । बर्खामा कार्यक्रम कम हुन्छन् । तर नजिकिँदै गरेको तीजको माहोलले कलाकारलाई छपक्कै छोप्ने गरेको छ ।

समीक्षालाई दिनमै ८ वटाभन्दा बढी गीत रेकर्डिङका प्रस्ताव आउँछन् । उनी चार वटासम्म गर्छिन् । ‘धेरै गर्‍यो भने घाँटीलाई असर हुन्छ । आवाजलाई पनि जोगाउनुपर्‍यो नि, हैन र !’ समीक्षा हाँस्दै भन्छिन् । गीत रेकर्डिङको व्यस्त सिलसिलाबाट केही समय जुटाएर कुरा गर्न राजी भएकी थिइन्, उनी । ‘मलाई गायिका बन्ने चाहना थियो तर सोचेको थिइनँ, कुनै दिन यतिसम्म व्यस्त हुन्छु भनेर,’ आफ्ना कामहरूको फेहरिस्त सुनाउँदै समीक्षा भन्छिन् ।

...

कास्कीको माछापुच्छ्रे, लाहाचोकमा जन्मिएकी समीक्षा कक्षा ३ पुग्दासम्म आफ्नो सुमधुर स्वरबारे बेखबर थिइन् । कक्षामा एक जना साथी साह्रै राम्रो गाउँथिन् । उनले समीक्षालाई एउटा गीत ‘सिकेर आऊ’ भनिन् । समीक्षाले घर पुगेर गीत पूरै कण्ठ गरिन् ।

Courageous review

भोलिपल्ट कक्षामा शिक्षिकाले समीक्षा र उनकी साथीलाई एकैपटक गाउन लगाइन् । ‘साथीहरू र मिसलाई मात्र हैन, मलाई पनि म मीठो गाउन सक्छु भनेर पहिलो पटक त्यही दिन थाहा भयो,’ समीक्षा सुनाउँछिन् । त्यसपछि त मनपर्ने गायक गायिकाका गीतलाई आफ्नै आवाजमा सुन्दा उनी हुरुक्कै हुन थालिन् । कक्षा ६ मा आइपुग्दा समीक्षाको सपना नै गायक बन्ने भयो । त्यो सपना पूरा गर्न उनले निकै ठूलो संघर्ष गर्न र हन्डर खानु भने परेन । 

इन्टरनेटको समयमा आफ्नो आवाजलाई घरबाटै संसारले सुन्न र हेर्न सक्छ । स्कुले पोसाकमा समीक्षाले गाएको एउटा गीतको भिडियो धेरै मान्छेसम्म पुग्यो । करिब ८ वर्षअघि फिल्म ‘नाइँ नभन्नु ल ५’ का निर्देशक विकासराज आचार्य र संगीतकार वसन्त सापकोटाले उनको स्वर मन पराए । त्यसपछि वसन्तले समीक्षालाई पार्श्व गायनका लागि प्रस्ताव गरे । १३ वर्षको उमेरमा स्टुडियोभित्र पुग्दा उनलाई अजिव महसुस भयो । ‘पहिलो पटक कानमा हेडफोन आएको छ, स्टुडियोमा बसेर म गाइरहेकी छु । सपनामा छु जस्तो लागिरह्यो,’ समीक्षा सम्झन्छिन् । 

गीत रेकर्ड भयो । फिल्मसँगै गीत पनि रिलिज भयो । गीत निकै रुचाइयो तर समीक्षालाई कसैले याद गरेन । पछि उनका काका पर्ने सीडी विजय अधिकारी ‘भ्वाइस अफ नेपाल’ को विजेता भएर गाउँ पुग्दा बाजागाजासहित धुमधामले स्वागत गरिएको थियो । त्यही बेला समीक्षा पनि त्यहाँ पुगेकी थिइन् ।

‘उहाँको अन्तर्वार्ता लिन आउनु भएकाहरूलाई मेरा साथीहरूले समीक्षाले पनि गीत गाउँछ भनिदिएछन् । त्यसपछि उहाँहरूले मेरो पनि अन्तर्वार्ता लिनुभयो । त्यति बेला ‘मेरो पनि आफ्नो गीत छ’ भन्दा उहाँहरू अचम्ममा पर्नुभयो । त्यो अन्तर्वार्ता भाइरल भएपछि म चिनिन थालेँ,’ समीक्षा सम्झन्छिन् ।

त्यसपछि समीक्षालाई गीतका प्रस्तावहरू निकै आउन थाले । संगीत सर्जक र श्रोताको आँखामा उनी पर्दै गइन् । आधुनिक गीत गाइरहेकी समीक्षाले लोक गीत पनि गाउन थालिन् । त्यसअघि कसैलाई लागेको थिएन, उनले लोक गीत पनि गाउन सक्छिन् भनेर ।

Courageous review

‘लकडाउनको समयमा लोक गीत ‘माया मारेर’ गाएँ । त्यो गीत गाउन स्टुडियो बोलाउँदासम्म मैले लोक गीत गाउन सक्दिनँ कि भन्ने रहेछ, जब मैले गाएँ धेरै जना अचिम्भत हुनुभयो,’ समीक्षा सम्झन्छिन् ।

आधुनिक र लोक गीत दुवै गाउने भइसकेपछि उनको व्यस्तता झन् चुलिँदै गयो । समीक्षा पहिला–पहिला कलाकारसँग फोटो खिचाउन पाउँदा असाध्यै खुसी महसुस गर्थिन् । जब मान्छेहरू आफैंसँग फोटो र सेल्फी खिचाउन आए, त्यति बेला मात्र उनलाई लाग्यो, ‘म पनि सेलिब्रिटी भएँ ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully