जोखिमपूर्ण राजमार्गमा अलमलाउने पुल

मुग्लिन–नारायणगढ खण्डमा बनिबनाउ कालोपत्र सडकले यात्रा सहज त छ, तर ३६ किमिको यो सडक खण्डका साना–ठूला १९ वटा पुल सडकको रेखाभन्दा दायाँ वा बायाँ, तलमाथि हुने गरी बनाइँदा सवारी दुर्घटनाको जोखिम उच्च

असार १, २०८२

विमल खतिवडा

A confusing bridge on a dangerous highway

मुग्लिन, चितवन — चितवनको नारायणगढ–मुग्लिन सडक भएर ओहोरदोहोर गर्नेले पक्कै पनि एउटा कुरा ख्याल गरेकै हुनुपर्छ । त्यो हो, यस खण्डमा निर्माण गरिएका पक्की पुल । मुग्लिनदेखि नारायणगढ जोड्ने सडकको दूरी ३६ किलोमिटर छ, तर उक्त खण्डमा निर्माण गरिएका साना–ठूला पुलको संख्या मात्र १९ वटा छ ।

मुग्लिन बजार–नारायणगढ खण्डमा बनिबनाउ कालोपत्र सडकले यात्रा सहज त छ, तर सोही खण्डमा बनाइएका नयाँ पुलका लागि कि दायाँ मोडिनुपर्छ, कि बायाँ । फेरि कतै सडकको तहभन्दा केही अग्ला पुलमाथिबाट ओरालो–उकालो गर्नुपर्छ ।

पुराना मात्र होइन, नयाँ बनाइएका पुल पनि यस्तै छन् । जहाँ ३५ वर्षभन्दा पुराना पुल छन्, त्यसको आडैमा समानान्तर रूपमा नयाँ पुल बनाइएको छ । यो सडक भएर दैनिक ११ हजारभन्दा बढी साना–ठूला सवारीसाधन ओहोरदोहोर गर्ने गरेको तथ्यांक सडक डिभिजन कार्यालय भरतपुरसँग छ । 

नयाँ पुल बनेपछि दुर्घटना कम भए पनि समग्र दुर्घटनामा कमी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले बताए । ‘पहिला साँघुरा पुल हुँदा दुर्घटना बढी हुन्थ्यो,’ उनले भने, ‘पुलका कारण नभए पनि उक्त खण्डमा तीव्र गतिका कारण दुर्घटना भने बढेको छ ।’

A confusing bridge on a dangerous highway

सडक सहज भएपछि सवारी साधनको गति बढ्दा दुर्घटना बढेको उनको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार उक्त सडक खण्डमा आव ०७८/७९ मा १८, ७९/८० मा ११, ०८०/८१ मा २१ र ०८१/८२ मा २६ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । यसमा दुईपांग्रे सवारीसाधनको संख्या बढी रहेको उनले बताए । ‘पहिला साँघुरा पुलले बढी दुर्घटना हुन्थ्यो,’ उनले भने, ‘अहिले कम भएको छ, समग्र सडक खण्डमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको छ ।’

विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा २०१५ अप्रिल २० बाट यो सडकको दुई लेनमा स्तरोन्नति थालिएको थियो । पछि सन् २०१८ अगस्टमा स्तरोन्नति सकेर सडक डिभिजन कार्यालय भरतपुर, चितवनलाई हस्तान्तरण गरियो । यो बेलासम्म चार वटा पुल मात्र निर्माण भए भने १५ वटा पुल बनेकै थिएनन् । 

A confusing bridge on a dangerous highway

केहीको ठेक्का भएको थियो, केही ठेक्का हुने प्रक्रियामै थिए । नयाँ पुल नबन्दासम्म पुरानै इन्टरमिडिएड पुल मात्र थिए । अहिले बनाइएका नयाँ पुल दुई लेनका छन् । पुराना र नयाँ दुवै पुल सञ्चालनमा छन् । पुरानोसँगै निर्माण गरिएका पुललाई एकतर्फी बनाइएको छ, एउटाबाट सवारीसाधन आउने र अर्कोबाट जाने बनाइएको छ । भौगोलिक अवस्थाले गर्दा पुराना पुल भत्काएर नयाँ बनाउन सक्ने अवस्था नहुँदा पुराना पुलसँगै नयाँ पुल बनाइएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले बताए । 

‘यस खण्डमा सवारी चाप बढी छ, त्यसैले सडक निर्माणका क्रममा पुराना पुल चलाइराख्यौं, नयाँ बनाउँदा पुराना पुल भत्काएनौं,’ उनले भने, ‘तराईतिर समथर खण्डमा डाइभर्सन बनाएर पुरानो पुल भत्काई नयाँ बनाउन त सकिन्थ्यो, पहाडी भूबनोट, अप्ठ्यारो ठाउँले सडक चौडाइमा जग निकाल्न गाह्रो भयो, त्यसैले पुरानो पुल नभत्काई समानान्तर रूपमा त्यहीं नै नयाँ बनाएका हौं ।’ 

पुरानो पुल भत्काएर नयाँ बनाउन सकेको भए सडक र पुलको तह मिल्ने उनको भनाइ छ । ‘तर एकदमै अप्ठ्यारो खण्ड भएकाले यो सम्भव भएन,’ उनले भने । १७ वटा पुल नयाँ–पुरानासँगै बनाइएको छ । जलबिरे र सेतीदोभान पुलमा नयाँबाटै सवारीसाधन ओहोदोहोर गर्छन् । जलबिरेमा पुरानो पुल पनि छ । पुरानो पुल पुग्न धेरै घुम्नुपर्ने भएकाले सवारी चालकले नयाँ पुल नै प्रयोग गर्छन् । 

A confusing bridge on a dangerous highway

चार वटा पहिला र पछि बनेका पुल सञ्चालनमा आएको एक वर्ष भएको इन्जिनियर आचार्यले बताए । उनका अनुसार पुल पनि विश्व बैंकको १ अर्ब २७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणमा बनेका हुन् । ‘पुल जुगेडीबाट सुरु हुन्छन्,’ उनले भने, ‘जुन ३५ देखि ९० मिटरसम्म लामा छन् ।’

तत्काल पुराना पुलको ठाउँमा नयाँ बनाउने अवस्था नरहेकाले मर्मतसम्भार गरेर चलाइएको उनको भनाइ छ । ‘अहिलेसम्म पुराना पुल मर्मत गरेर चलाउन सक्ने अवस्थामै छन्,’ उनले भने । जहाँ पुलको मुख छ, त्यहाँ सडक चौडा पारिएको छ । ‘पुल साँघुरा हुँदा ठूला यात्रुवाहक सवारीसाधनलाई ओहोरदोहोर गर्न समस्या थियो, दुर्घटनाको जोखिम पनि थियो,’ उनले भने, ‘पुलको मुखमा गाडी ठोक्किएर दुर्घटना हुने क्रम अहिले घटेको छ, दुवै पुलको मुखमा सडक फराकिलो बनाइएको छ, नयाँ पुलमा मान्छे हिँड्न मिल्ने फुटपाथ बनाइएको छ, पुरानामा त्यो थिएन ।’ 

पहिला सडक स्तरोन्नति नहुँदा र नयाँ पुल नबन्दा दुर्घटनाको जोखिम बढी थियो । साँघुरो पुलका कारण सवारीसाधन आपसमा ठोक्किने जोखिम उस्तै थियो । त्यति मात्र होइन, पुलमै ट्राफिक जाम हुँदा सवारीसाधन ओहोरदोहोर गर्न हम्मेहम्मे पर्थ्यो । कति सवारीसाधन त जोखिमयुक्त पुलबाट खसेर दुर्घटनामा पनि परे । पुलको रेलिङ भत्काएर मालवाहक सवारीसाधन बढी दुर्घटनामा पर्थे । तत्काल रेलिङ नलगाई रेलिङमा रातो रिबन टाँगेर सवारीसाधन चलाइने गरेको दृश्य त्यसबेला नौलो लाग्दैनथियो । कारण बर्खा सुरु हुनसाथ, पहिरो खस्थ्यो । अहिले पनि पहिरोको जोखिम कायमै छ । 

A confusing bridge on a dangerous highway

पुराना पुल भत्काएर नयाँ बनाउने ठाउँ नभएकाले त्यसको आडैमा नयाँ बनाइएको पुल महाशाखाका प्रमुख लजिजन खनालले बताए । ‘भौगोलिक बनावट जटिल छ, पहाडको फेदबाट सडक बनाइएको छ,’ उनले भने, ‘त्यसैले भत्काएर बनाउन सक्ने अवस्था भएन, यस खण्डमा सवारी चाप पनि अत्यधिक छ ।’ 

भित्तो खनेर पुल बनाउन सक्ने अवस्था नहुँदा सडक र पुलको तालमेल नमिलेको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘तर, केही–केही पुलमा भने त्रुटि भएको देखिन्छ, मुग्लिनबाट चार नम्बर पुल त्रुटिपूर्ण छ, नारायणगढबाट मुग्लिनतर्फ आउने पहिलो पुल नचाहिने ठाउँमा बनाइएको छ,’ उनले भने, ‘बढी नै समस्या ६ वटा पुलमा छ ।’ नयाँ पुल बनिसकेकाले पुरानाको ठाउँमा नयाँ बनाउन समस्या नहुने उनले बताए । 

‘सडकसँग पुलको तालमेल नमिल्दा सवारीसाधनलाई ओहोरदोहोर गर्न अप्ठ्यारो छ, अब त्यसमा सुधार गर्न गाह्रो छ,’ उनले भने, ‘फेरि मुग्लिनबाट नारायणगढतर्फ जाँदा भौगोलिक बनावट पनि जटिल छ, जसले गर्दा सहजै पुल निर्माण गर्न गाह्रो छ ।’  

‘भौगोलिक जटिलताले सडकको रेखाङ्कनअनुसार पुल बनाउन सकिएन’

A confusing bridge on a dangerous highwayकेशवकुमार शर्मा सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

नारायणगढ–मुग्लिन सडकमा सडकको तहअनुसार पुल बनाइएको छैन, किन ?

भित्तो खनेर पुल बनाउन एकदमै जटिल थियो । यो पहिरो खसेर समस्या आइरहने सडकमा पर्छ । पहाड काटेर काम गर्दा पहिरोको जोखिम भयो । त्यसैले पहाड कटिङ गर्न सक्ने अवस्था थिएन । अहिले भइरहेको पुलछेउमै खन्न सक्ने अवस्था पनि भएन । पुरानो पुलबाट डाइभर्ट गरेर धेरै टाढा लग्ने अवस्था पनि भएन । जसले गर्दा खुला रूपमा पुल बनाउन सकिएन । कतिपय अवस्थामा पुरानो पुल भत्काउनुपर्ने अवस्था थियो । विकल्प नहुँदा सवारी आवागमन ठप्प पारेर भत्काउनुपर्ने अवस्था भयो । त्यसैले सवारी आवागमन प्रभावित नहुने गरी पुरानो पुलकै नजिक नयाँ पुल बनाइएको हो । मुग्लिनबाट नारायणगढतर्फ लाग्दा भौगोलिक बनावट जटिल भएकाले निकै गाह्रो गरी पुल निर्माण गर्न सक्यौं । जहाँ पहाड कटिङ गरेर सडक बनाइएको छ । यस्तो ठाउँमा भित्तो काट्ने अवस्था पनि छैन, तल त्रिशूली नदी भएकाले त्यताबाट पुल बनाउन सक्ने अवस्था थिएन । अहिले जति पुल बनाइएको छ, निकै मिहिनेतसाथ बनाइएको छ । 

अब पुराना पुल भत्काएर नयाँ बनाइन्छ कि त्यसैलाई मर्मत गरेर चलाइन्छ ? 

पुरानो पुलको अब आवश्यकता छैन । नयाँ दुई लेनका पुल बनेका छन् । पुराना पुल साँघुरा छन् । फेरि पुराना पुल ‘इन्टरमिडिएड’का छन् । स्तरोन्नति गरिएको सडक दुई लेनको छ । त्यसैले पुराना पुल भत्काइसकिएको छैन । कुनै बेला सडक चौडा गरियो भने चाहिन्छ भनेर पुराना पुल नभत्काई राखिएको हो । बिस्तारै यो पुलको प्रयोग पनि कम हुँदै जान्छ । 

यो सडकका पुलमा मात्र समस्या हो कि, अन्यत्र पनि यस्तै छ ? 

सबैभन्दा अप्ठ्यारो सडक यही हो । अन्त त्यति समस्या छैन । अलि–अलि नारायणगढ–बुटवल सडकमा पुल र सडकको तालमेल नमिल्न सक्छ । पुरानो पुललाई जोगाउनुपर्दा समस्या भएको हो । अहिले नागढुंगादेखि मुग्लिनसम्मको सडकमा पनि पुरानो पुल भएको स्थानमा नयाँ डाइभर्सन दिएर काम गर्न सकिएको छैन । त्यसैले पुराना पुल पनि जोगाउनुपर्ने र भित्तालाई धेरै चलाउन नमिल्दा पुल र सडकको रेखांकन मिलाउन गाह्रो भएको हो । 

कतिपय सडक बनेपछि मात्र पुल निर्माण गरिन्छ, एकैचोटि सडक र पुल निर्माणको काम गर्न मिल्दैन र ? 

थोरै बजेटमा पुल बनाउन सकिँदैन । सडक बनाएजस्तो पुल बनाउन सजिलो छैन । थोरै बजेट छ, एक किमि भए पनि सडक बनाऔं भन्ने हुँदैन । पुलको काम एकैचोटि गर्नुपर्छ । पहिला सडक र पुलको ठेक्का छुट्टाछुट्टै गरेर काम गरिन्थ्यो । अहिले त्यस्तो छैन । अहिले विस्तार थालिएका नारायणगढ–बुटवल, नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, काँकडभिट्टा–लौकही लगायतका राजमार्गमा सडक र पुलको एकैचोटि ठेक्का गरेर काम गरिएको छ । दुई/चार वर्षदेखि पुल र सडकको ठेक्का एकैचोटि गरेर काम गरिन्थ्यो । पहिला सडक बनाएर मात्र पुल बनाइन्थ्यो । 

म्यागेजिन

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully