‘भौगोलिक जटिलताले सडकको रेखाङ्कनअनुसार पुल बनाउन सकिएन’

असार १, २०८२

कान्तिपुर संवाददाता

”Due to geographical complexity, the bridge could not be built according to the road layout”

चितवनको नारायणगढ–मुग्लिन सडक भएर ओहोरदोहोर गर्नेले पक्कै पनि एउटा कुरा ख्याल गरेकै हुनुपर्छ । त्यो हो, यस खण्डमा निर्माण गरिएका पक्की पुल । मुग्लिनदेखि नारायणगढ जोड्ने सडकको दूरी ३६ किलोमिटर छ, तर उक्त खण्डमा निर्माण गरिएका साना–ठूला पुलको संख्या मात्र १९ वटा छ ।

यहाँ बनाइएका पुलकाका कारण कहिले दायाँ मोडिनुपर्छ, कहिले बायाँ । फेरि कतै सडकको तहभन्दा केही अग्ला पुलमाथिबाट ओरालो–उकालो गर्नुपर्छ । पुराना मात्र होइन, नयाँ बनाइएका पुल पनि यस्तै छन् ।

यो सडकमा दुर्घटनाको जोखिम हुने गरी किन यसरी पुलहरू निर्माण भए त ? भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग गरिएको संक्षिप्त कुराकानी :

नारायणगढ–मुग्लिन सडकमा सडकको तहअनुसार पुल बनाइएको छैन, किन ?

भित्तो खनेर पुल बनाउन एकदमै जटिल थियो । यो पहिरो खसेर समस्या आइरहने सडकमा पर्छ । पहाड काटेर काम गर्दा पहिरोको जोखिम भयो । त्यसैले पहाड कटिङ गर्न सक्ने अवस्था थिएन । अहिले भइरहेको पुलछेउमै खन्न सक्ने अवस्था पनि भएन । पुरानो पुलबाट डाइभर्ट गरेर धेरै टाढा लग्ने अवस्था पनि भएन । जसले गर्दा खुला रूपमा पुल बनाउन सकिएन ।

कतिपय अवस्थामा पुरानो पुल भत्काउनुपर्ने अवस्था थियो । विकल्प नहुँदा सवारी आवागमन ठप्प पारेर भत्काउनुपर्ने अवस्था भयो । त्यसैले सवारी आवागमन प्रभावित नहुने गरी पुरानो पुलकै नजिक नयाँ पुल बनाइएको हो । मुग्लिनबाट नारायणगढतर्फ लाग्दा भौगोलिक बनावट जटिल भएकाले निकै गाह्रो गरी पुल निर्माण गर्न सक्यौं । जहाँ पहाड कटिङ गरेर सडक बनाइएको छ । यस्तो ठाउँमा भित्तो काट्ने अवस्था पनि छैन, तल त्रिशूली नदी भएकाले त्यताबाट पुल बनाउन सक्ने अवस्था थिएन । अहिले जति पुल बनाइएको छ, निकै मिहिनेतसाथ बनाइएको छ । 

अब पुराना पुल भत्काएर नयाँ बनाइन्छ कि त्यसैलाई मर्मत गरेर चलाइन्छ ? 

पुरानो पुलको अब आवश्यकता छैन । नयाँ दुई लेनका पुल बनेका छन् । पुराना पुल साँघुरा छन् । फेरि पुराना पुल ‘इन्टरमिडिएड’का छन् । स्तरोन्नति गरिएको सडक दुई लेनको छ । त्यसैले पुराना पुल भत्काइसकिएको छैन । कुनै बेला सडक चौडा गरियो भने चाहिन्छ भनेर पुराना पुल नभत्काई राखिएको हो । बिस्तारै यो पुलको प्रयोग पनि कम हुँदै जान्छ । 

यो सडकका पुलमा मात्र समस्या हो कि, अन्यत्र पनि यस्तै छ ? 

सबैभन्दा अप्ठ्यारो सडक यही हो । अन्त त्यति समस्या छैन । अलि–अलि नारायणगढ–बुटवल सडकमा पुल र सडकको तालमेल नमिल्न सक्छ । पुरानो पुललाई जोगाउनुपर्दा समस्या भएको हो । अहिले नागढुंगादेखि मुग्लिनसम्मको सडकमा पनि पुरानो पुल भएको स्थानमा नयाँ डाइभर्सन दिएर काम गर्न सकिएको छैन । त्यसैले पुराना पुल पनि जोगाउनुपर्ने र भित्तालाई धेरै चलाउन नमिल्दा पुल र सडकको रेखांकन मिलाउन गाह्रो भएको हो । 

कतिपय सडक बनेपछि मात्र पुल निर्माण गरिन्छ, एकैचोटि सडक र पुल निर्माणको काम गर्न मिल्दैन र ? 

थोरै बजेटमा पुल बनाउन सकिँदैन । सडक बनाएजस्तो पुल बनाउन सजिलो छैन । थोरै बजेट छ, एक किमि भए पनि सडक बनाऔं भन्ने हुँदैन । पुलको काम एकैचोटि गर्नुपर्छ । पहिला सडक र पुलको ठेक्का छुट्टाछुट्टै गरेर काम गरिन्थ्यो । अहिले त्यस्तो छैन । अहिले विस्तार थालिएका नारायणगढ–बुटवल, नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, काँकडभिट्टा–लौकही लगायतका राजमार्गमा सडक र पुलको एकैचोटि ठेक्का गरेर काम गरिएको छ । दुई/चार वर्षदेखि पुल र सडकको ठेक्का एकैचोटि गरेर काम गरिन्थ्यो । पहिला सडक बनाएर मात्र पुल बनाइन्थ्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully