भुटानबाट खेदिएर नेपाल हुँदै तेस्रो मुलुक अमेरिका पुगेकामध्ये १० जना हालसालै ‘डिपोर्ट’ भएका छन्, उनीहरूमध्ये ४ युवा भुटान हुँदै फेरि नेपालकै शरणार्थी शिविर आइपुगेका छन्
बेलडाँगी, झापा — सन् १९९२ मा भुटानबाट लखेटिँदा आशिष सुवेदी मात्र दुई वर्षका थिए । बुबा नारायणकुमार सुवेदी, आमा र दाइ, दिदीसँगै उनी नेपाल भित्रिएका थिए । त्यतिबेला अबोध बालक उनले देशविहीनताको पीडा बुझ्न सकेका थिएनन् । तर, २०२५ मार्च २५ मा अमेरिकाबाट ‘डिपोर्ट’ भएपछि भने उनले त्यो घातक यथार्थलाई नजिकबाट महसुस गरे ।
‘अहिले म को हुँ ? कुन देशको नागरिक हुँ, मलाई नै थाहा छैन,’ बेलडाँगी शरणार्थी शिविरस्थित छाप्रोमा भावुक हुँदै उनले प्रश्न गरे, ‘के अब मेरो पुरानो पहिचान मैले पाउँदिनँ ?’
करिब ७ हजार ९ सय १३ माइल यात्रा फन्को मारेर आशिष सुवेदीसँगै अशोक गुरुङ, सन्तोष दर्जी र रोशन तामाङ पुनः पुरानो थातथलो झापा बेलडाँगी शिविर आइपुगेका छन् । उनीहरूको जीवन फेरि एउटै मोडमा आइपुगेको छ, जहाँ ३० वर्षअघि उनका बाबुआमाहरू भुटानदेखि ६ सय २८ किलोमिटर यात्रा तय गरेर नेपाल पसेका थिए ।
आशिषको त आफ्नै छाप्रो छ । परिवारका सबै अमेरिका जाँदा पनि बुबा नारायणकुमारले छाप्रो सम्हालेर बसे । १० वर्षदेखि उनी छाप्रोमा एक्लै थिए । अशोक, सन्तोष र रोशनका सबै परिवार अमेरिकातिरै छन् । अहिले अशोक आशिषकै छाप्रोमा आश्रित छन् । सन्तोष मितेरी साइनोका पदमकुमार मगरसँग र रोशन पथरी–शनिश्चरे शिविरका मामा विशेष तामाङसँग आश्रित छन् ।
अशोक गुरुङ, टिमाइ शिविरमा जन्मिएका हुन्, १९९२ मा । जुन वर्ष उनको परिवार भुटानबाट लखेटिएर आइपुगे । उनी २०१२ मा परिवारसहित अमेरिका पुगेका थिए । अमेरिका उड्नुअघिको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय आप्रवासी संगठनका प्रतिनिधिले भनेका थिए, ‘तिमीहरू अब अमेरिका जाँदै छौं । त्यहाँको नियम कानुनअनुसार बस्नुपर्छ, कुनै गम्भीर अपराध नगरेसम्म तिमीहरू जीवनभर अमेरिका नै बस्न पाउनेछौं ।’
नयाँ र सुखी जीवनको आशा अनि सपना सँगालेर रोशन तामाङ अमेरिका उडेका थिए । तर, छोटो समयमै उनको अमेरिका सपना तुहियो । आफ्नै कारणले उनी ‘ड्रिङकिङ एन्ड ड्राइभिङ’ मुद्दामा जेल बसे । यतिबेला ‘डिपोर्ट’ भएर आफू जन्मेको शिविर फर्किएका छन् ।
एउटा आपराधिक गिरोहसँगको संलग्नताको आरोपमा चार वर्ष जेल बसेपछि निस्किका थिए अशोक । कैद भुक्तान गरेर घर बसिरहेका उनलाई पुरानो मुद्दाका कारण पुनः गत मार्चमा पक्राउ गरियो । घरमा सुतिरहेका उनलाई अध्यागमनका अधिकारीले ‘अशोक भनेको तिमी हैन ? तिम्रो पुरानो मुद्दा उल्टिएको छ, अब तिमी हामीसँगै हिँड्नुपर्छ’ भनेपछि चकित भए । उनी पक्राउ मात्रै परेनन्, सोझै ‘डिपोर्ट’ भए ।
अपराधमा संलग्न भएर जेल सजाय भोग्न परेकोमा चारै युवालाई पछुतो छ । ‘म सुध्रिएर नयाँ जीवनबारे योजना बनाउँदै थिएँ,’ सन्तोषले भने, ‘तर, जुन देशले मलाई शरणार्थी बनायो, त्यही देशमा अमेरिकाले फर्कायो । त्यो देशले फेरि शरणार्थी बनाएर नेपाल पठायो ।’ सन्तोषका अनुसार उनीहरूमाथिको ‘डिपोर्ट’ अन्यायपूर्ण छ । ‘मलाई अमेरिकाले शरणार्थी स्वीकार गरेर नेपालबाट लगेको हो’, अशोकले भने, ‘अहिले फेरि यसरी फर्काउनु मेरा लागि ठूलो अन्याय भयो ।’
सन्तोष २०१५ मा अमेरिका गएका थिए । शिविरमा उनी अशोककै छिमेकी हुन् । लागूपदार्थसम्बन्धी मुद्दामा दुई पटक पक्राउ परेका उनले ८ वर्ष जेल सजाय भुक्तान गरे । तर, जेलबाट निस्किएलगत्तै उनलाई ‘डिपोर्ट’ गरियो । ‘मैले ८ वर्ष सजाय काटेर पछि स–सम्मान छाड्नु पर्नेमा उल्टै डिपोर्ट गरियो,’ दर्जी गुनासो पोख्छन् ।
रोशन २०११ मा परिवारसहित अमेरिका उडेका थिए । मादक पदार्थ सेवन गरी सवारी दुर्घटनामा परेपछि उनलाई पक्राउ गरी जेल पठाइएको थियो । १८ महिना जेल बसेर छुटेका उनलाई पनि ‘डिपोर्ट’ गरिएको हो । उनी अमेरिकी प्रहरीको यातनाका कारण ‘डिप्रेसन’को सिकार भएको मामा विशेष तामाङको दाबी छ ।
अमेरिकाले ‘डिपोर्ट’ गरेर भुटान पठाए पनि आफ्नो देशले अस्वीकार गरेपछि उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । सोही अभियोगमा प्रहरी हिरासतमा रहेका चार जना भुटानी शरणार्थी युवा चार सातापछि गत शुक्रबार थुनामुक्त भए ।
सर्वोच्च अदालतको आदेशले उनीहरूलाई सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ र हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । उनीहरूलाई करिब दुई महिना यसरी नै निगरानी गरिने जनाइएको छ ।
आशिष २०१६ मा अमेरिका पुगेका थिए । तर, २०२२ अगस्टमा एउटा आपराधिक मुद्दामा उनी दोषी ठहरिए । ‘ग्रस सेक्सुअल इम्पोजिसन’ मुद्दामा उनको संलग्नता देखियो । यो अमेरिकाको ओहायो राज्यमा एउटा गम्भीर अपराध मानिन्छ । अर्को व्यक्तिको संवेदनशील अंगहरूमा जबर्जस्ती यौनसम्पर्क गर्नु ‘ग्रस सेक्सुअल इम्पोजिसन’ हो । आशिष भन्छन्, ‘मलाई फसाइयो, यो अपराधमा मेरो संलग्नता थिएन ।’
उनी करिब २ वर्ष जेल बसे । २०२४ अगस्टमा सुरक्षाकर्मीले जेलबाटै उठाएर अध्यागमनको मुख्यालय लगे । अदालतले भुटान वा नेपालमध्ये कता डिपोर्ट हुने भन्ने विकल्प दिँदा आशिषले भुटान रोजे । ‘भुटान जान पाए उसले नागरिक स्विकार्छ भन्ने लाग्यो,’ उनले भने, ‘तर, सोचेजस्तो भएन ।’
भुटान जाने निधो भएपछि उनलाई प्रक्रियामा हालियो । २०२५ मार्च २५ मा आशिषसहित १० जना भुटानी युवालाई ‘डिपोर्ट’ गरियो । रातको दुई बजे आशिषलाई सुरक्षाकर्मीले भने, ‘झोलीतुम्बा तयार पार ।’ सबैलाई न्यु जर्सी लगियो, दिल्ली हुँदै भुटान लैजाने तयारी भयो । परिवारलाई अन्तिम पटक फोन गर्न दिइयो । तीन वर्षकी छोरीसँग भिडियो कल गर्न चाहेका थिए तर प्रहरीबाट अनुमति पाएनन् । छोरी जन्मिएको ४ महिना हुँदा नै उनी जेल परेका थिए । ‘छोरीको अनुहारसमेत हेर्न पाएको छैन,’ भावुक हुँदै आशिषले सुनाए, ‘अब त यता (नेपाल) आइयो ।’
मार्च २५ मा अमेरिकाबाट जहाज उड्यो, दिल्लीका लागि । आठ घण्टाको ट्रान्जिटपछि जहाज भुटानको पारो विमानस्थल पुग्यो । त्यहाँ भुटानी सुरक्षाकर्मीबाट उनीहरू घेरिए । सरकारी गेस्ट हाउस ‘पारो ग्रान्ड’ मा राखेर कडा निगरानी गरियो । फोटो, भिडियो खिचे । कागजातमा हस्ताक्षर गराए । कागजमा लेखिएको कुरा उनले विस्तृत त पढ्न सकेनन् । तर, त्यहाँ लेखिएको केही कुरा भने उनलाई थाहा छ । त्यहाँ लेखिएको थियो, ‘तिमीहरू भुटानी नागरिक हैनौ, त्यसैले यहाँ बस्ने अनुमति तिमीहरूलाई छैन आदि ।’
एक साता पारोमा बिताएपछि थिम्पु हुँदै फुन्चोलिङ पठाइयो । उनीहरूको मोबाइलका सबै तस्बिर डिलिट गर्न लगाए । भएका कागजात उनीहरूले खोसेर लगे । बाटोमा जनही ३० हजार भारु थमाइयो । ‘सुरुमा त १०/१० हजार मात्रै दिएको थियो । पछि फेरि २०/२० हजार थपिदिए,’ आशिष भन्छन् ।
फुन्चोलिङ पुग्दा भारतीय नम्बरका गाडी तयारी अवस्थामा थियो । फुन्चोलिङका भुटानी सुरक्षाकर्मीको समन्वयमा ती गाडीहरू रिजर्भ गरी तयार राखिएको थियो । उनीहरू चढेको गाडीमा रहेका बक्खुधारी एक अधिकारीले बीचबीचमा कुरा गर्दै गाडी तयार राख्न भनेको उनीहरूले सुनेका थिए ।
उनीहरूलाई जयगाउँबाट सिलिगुडी हुँदै पानीट्यांकी ल्याइयो । त्यहाँ कागजविहीनलाई अवैध रूपमा सीमा तार्ने गिरोह सक्रिय छ । खासगरी बंगलादेशी, बर्मेली र भुटानी नागरिकलाई बिनाकागज नेपाल छिराउने गरेको पाइन्छ । गत महिना यसरी नै नेपाल प्रवेश गर्न लागिएका तीन बंगलादेशी नाकामै पक्राउ गरेका थिए ।
यो गिरोहले मेची पुल उत्तर नकलबन्दा, बाहुनडाँगी र दक्षिणको सतिघट्टा क्षेत्रबाट अवैध रूपमा नेपाल प्रवेश गराउने गरेको पाइएको छ । उनीहरूलाई सतिघट्टा नाकाबाट प्रवेश गराइएको थियो । नेपाली सुरक्षाकर्मीको आँखा छलेर उनीहरूलाई प्रवेश गराइएको थियो । एउटा सिटी रिक्सा चालकले त्यो गिरोहको सम्पर्कमा पुर्याएको थियो ।
खासगरी कोरोना महामारीपछि भारतले काँकडभिट्टा–पानीट्यांकी नाकामा ‘आईडी भेरिफिकेसन’ अनिवार्य गरेको छ । जसका कारण सीमा वारपार गर्न विगतमा झैं सहज छैन । दलालहरूलाई एकमुष्ट २२ हजार भारु बुझाएपछि उनीहरूलाई मेची तारेर काँकडभिट्टासम्म पुर्याइएको थियो । काँकडभिट्टा बजारमा खाजा खाएपछि आशिषले बेलडाँगी शिविरमा रहेका बुबालाई फोन गरे ।
उनीहरू ४ हजार रुपैयाँमा ट्याक्सी रिजर्भ गरेर राति ९ बजे बेलडाँगी पुगे । तर, लामो समयसम्म खुला बस्न सकेनन् । सुवेदीले सल्लाहमै प्रहरीलाई जानकारी गराएपछि उनीहरू पक्राउ परे । चार साता लामो अनुसन्धानपछि तीन जना बेलडाँगीमा र एक जना पथरी–शनिश्चरे शिविरमा आश्रित छन् ।
फेरि शरणार्थी, फेरि देशविहीन
बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव राजमान गुरुङ शरणार्थी युवाको अवस्थालाई चरम मानवअधिकार हननको संज्ञा दिन्छन् । ‘यी युवा डबल रिफ्युजी भए,’ गुरुङ भन्छन्, ‘उनीहरूको मानवअधिकार हनन भएको छ ।’ नेपालले उनीहरूलाई बिदा गरिसकेको र अमेरिकाले पुनःस्थापित गरिसकेको स्मरण गराउँदै उनले अब पुनः अमेरिकाले नै उनीहरूलाई स्विकार्नुपर्ने माग गरेका छन् ।
‘पहिले उनीहरू शरणार्थी थिए, अब त्यो पहिचानसमेत गुमेको छ,’ गुरुङ भन्छन्, ‘उनीहरूको पहिचान नै हरायो । अब नेपाल सरकारले उनीहरूको पहिचान सुरक्षित गर्न सक्रिय पहल गर्नुपर्छ । साथै, संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) सँग पनि तत्काल पहल गर्नुपर्छ ।’ तर, अहिलेसम्म कसैले पनि निवेदन भने दिएका छैनन् ।
अमेरिकामा लामो समय जेल जीवन बेहोरेका उनीहरूले नेपालमा पनि २८ दिन हिरासतमै बिताए । अहिले उनीहरू जेल वा हिरासतमा त छैनन् तर उनीहरूको दैनिकी साँघुरिएको छ । स्वतन्त्रता हुँदाहुँदै पनि उनीहरूको जीवन अब एक साँघुरो घेराभित्र सीमित भएको छ । ‘यो पाराले कहिलेसम्म जिन्दगी चल्ने हो, थाहा छैन,’ खस्न लागेको आँसुको थोपालाई सम्हाल्दै उनले टुंग्याए, ‘आफ्नो देश त थिएन, अब पहिचान पनि खोसियो ।’
