आलु उत्पादनका लागि चिनिएको हेम्जामा पछिल्लो १० वर्षमा ५२.१० प्रतिशतले बढ्यो बस्ती, तीव्र सहरीकरणका कारण घर र घडेरीले खेत मासिँदै जाँदा आलु उत्पादन घट्दो
पोखरा — हेम्जाकी शारदा पौडेल २७ वर्षदेखि आलु खेतीमा सक्रिय छिन् । ८/१० वर्षअघिसम्म पनि उनी पोखरा महानगरपालिका–२५ स्थित २ रोपनी खेतबाट वार्षिक २५ क्विन्टलसम्म आलु फलाउँथिन् । अहिले मुस्किलले १५ क्विन्टल मात्र फल्ने गरेको उनले सुनाइन् । उत्पादन कम हुनुको कारणबारे शारदा भन्छिन्, ‘हिउँदमा पानी छैन । पहिले चौबीसै घण्टा कुलोको पानी आउँथ्यो । आजकल खेतमा बस्ती बढ्यो, पानीका मुहान सुक्दै गए ।’
५२ वर्षीया शारदाले अब आलु खेती नगर्ने मनसाय बनाएकी छन् । अपर्याप्त सिँचाइ, महँगो मलका कारण उत्पादनमा निरन्तर ह्रास आउन थालेपछि उनी आलु खेतीबाट टाढिन खोजेकी हुन् । ‘पहिला कुखुराको मल डेढ सय रुपैयाँ बोरा पाइन्थ्यो, अहिले ६ सय ५० पुगिसक्यो । किसानी गरी खान सक्ने अवस्था छैन,’ उनले थपिन्, ‘अब खेती गरेर केही हुन्छ जस्तो लाग्दैन ।’
छिटो पाक्ने र स्वादिलो भएकाले हेम्जाको आलु निकै रुचाइन्छ । आलु उत्पादनमा ख्याति कमाएको हेम्जामा आलु फल्ने खेतमा घर ठडिने क्रम बढ्दो छ । डेढ दशकदेखि आलु खेती गरिरहेका अर्जुन तिमिल्सिना माटोले सुधार नपाउनु, खेतीयोग्य जमिनमा घर ठडिनु, खेती महँगो हुनाले उत्पादनमा ह्रास आएको बताउँछन् । ‘मेरो खेत वरिपरि घर नै थिएनन् । सबैतिर आलु खेती हुन्थ्यो । अहिले प्लटिङका प्लटिङ गरिएका छन्, जताततै घर र घडेरी बनेको छ,’ उनले सुनाए, ‘म पहिला २०–२५ रोपनीमा खेती गर्थें, अहिले १० रोपनी मात्र छ ।’
पछिल्लो १० वर्षमा हेम्जा क्षेत्रमा ५२.१० प्रतिशतले बस्ती बढेको तथ्यांकले देखाएको छ । २०७८ को जनगणनाअनुसार हेम्जा रहेको पोखरा–२५ मा ४ हजार ५ सय ९२ वटा घर ठडिएका छन् । जबकि ०६८ को जनगणनाअनुसार साविकको हेम्जा गाविस (हालको पोखरा–२५) मा ३ हजार १९ मात्र घर थिए ।
१० वर्ष अवधिमा ५२.१० प्रतिशतले वृद्धि हुँदै १ हजार ५ सय ७३ घर थपिएका छन् । ०६८ मा साविकको हेम्जा गाविसमा २ हजार १ सय १३ कृषक थिए । महानगरपालिकामा सूचीकृत हेम्जाका निर्वाहमुखी र व्यावसायिक कृषकको संख्या घटेर हाल १ हजार ६ सय २४ मा पुगेको छ । ४ सय ८९ जना कृषक घटेका छन् । खेतमा घर बनेपछि कृषि गर्नेको संख्या घटेको यो तथ्यांकले देखाउँछ । ‘घर बनाउने र खेती गर्ने जमिन छुट्याउनुपर्ने हो । हाम्रोमा त मूल्यवान् खेतीयोग्य जमिन मासिएको छ,’ तिमिल्सिनाले भने ।
सडकको विकासले हेम्जा आसपासका गाउँका बासिन्दा बसाइँ सर्न थालेपछि यहाँ घर थपिने क्रम सुरु भएको हो । छिमेकी माछापुच्छ्रे गाउँपालिकासहित पर्वत, बागलुङ, म्याग्दीबाट हेम्जा क्षेत्र आएर बस्नेहरू बढेका छन् । हेम्जाको माथिल्लो बेल्टमा म्याग्दीबाट झरेकाले ‘म्याग्दी चोक’ भनेर ठाउँको नामकरण नै गरेका छन् । तल्लो बेल्ट जहाँ आलु खेती बढी हुन्छ, त्यहाँ माछापुच्छ्रे गाउँपालिकाबाट झरेका बढी छन् । पोखरा बजारबाट नजिक, सबैखाले सुविधाको उपलब्धता नै हेम्जामा बस्ती विकास हुनुको प्रमुख कारण हो । बस्ती विकास र सेवा सुविधाको सहजताले हेम्जाले दशक आसपासमै ग्रामीण भेगबाट एउटा सहरको स्वरूप लिएको छ ।
व्यवस्थित बस्ती विकास अवधारणाको अभावमा आलु खेती बर्सेनि संकटमा परेको छ । कृषि ज्ञान केन्द्र कास्कीको तथ्यांकअनुसार कास्कीमा १ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ । ५ पालिकामध्ये कुल क्षेत्रफलमध्ये ६९.८७ प्रतिशत खेती पोखरा महानगरपालिकाभित्र हुन्छ । पोखराका ३३ वडामध्ये १३, २३, २४, २५, २६, २७, २९ वडामा आलु खेती धेरै हुने पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको तथ्यांक छ । हेम्जाका किसानले एमएस ४२.३ जातको आलु लगाउँछन् । अन्य ठाउँमा जनकदेव, पीबीएस, अंगुरे जातको आलु धेरै उत्पादन हुन्छ ।
पोखरामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिने कृषि ज्ञान केन्द्र कास्कीको २०८०/८१ को तथ्यांक छ । यहाँबाट वार्षिक २२ हजार ५ सय टन आलु उत्पादन हुन्छ । हेम्जामा मात्रै करिब ४ सय ५० हेक्टरमा आलु खेती गरिन्छ जहाँ वार्षिक करिब ५ हजार टन आलु फल्छ ।
पोखरामा खपत हुने आलुको करिब ४० प्रतिशत माग हेम्जाले धानेको छ । महानगरपालिकाको तथ्यांकअनुसार २०७७/७८ देखि २०८०/८१ सम्म आउँदा पोखरामा आलु उत्पादन बढेको छ । २०७७/७८ मा १ हजार २ सय ५३ हेक्टरमा २१ हजार ३ सय १ टन आलु फलेको थियो । २०८०/८१ मा १ हजार २ सय ५० हेक्टरमा २२ हजार ५ सय टन आलु फलेको छ । हेम्जा क्षेत्रमा आलु खेती केही घटे पनि पोखराका अन्य क्षेत्रमा बढेकाले पोखरामा आलु उत्पादन बढेको पोखरा महानगरपालिका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
पोखरालाई आवश्यकभन्दा उत्पादन हुने आलु ४१.५८ प्रतिशत कम छ । जनसंख्यालाई आधार मानेर पोखरा महानगरपालिकाले गत वर्ष निकालेको तथ्यांकअनुसार वार्षिक ३८ हजार ५ सय १२ टन आलु आवश्यक पर्नेमा १६ हजार १२ मेट्रिक टनमात्र यहाँ उत्पादन हुन्छ । आवश्यक बाँकी आलु छिमेकी अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र तराईबाट आयात हुन्छ । पोखरा महानगरपालिकाले हेम्जाको आलुलाई ब्रान्डिङ गर्नुका साथै न्यूनतम समर्थन मूल्य ३० रुपैयाँ निर्धारण गरेको छ । अर्थात् कृषकले प्रतिकिलो ३० रुपैयाँभन्दा कममा बिक्री गर्नु पर्दैन ।
३ वर्षअघि हेम्जामा कोल्ड स्टोर बनेको छ । आलुको बीउ उत्पादन र कोल्ड स्टोरमा राख्दा ५० प्रतिशत अनुदान महानगरपालिकाले दिन्छ । सरकारी निकायको लगानी बढे पनि खेतमा घर ठडिनु हेम्जाको आलु खेतीका लागि चिन्ताको विषय भएको कडरिया बताउँछन् । ‘खेती गर्छु भन्नेसँग भूमि भएन । भूमि लिएर खेती गर्दा महँगो पर्ने भयो । हिउँदमा पानीको समस्या पनि छ,’ उनी कारणबारे भन्छन्, ‘अर्को दुःख गर्ने बानी पनि घटेको हो कि भन्ने लाग्छ । नभए सरकारको लगानी पहिलेभन्दा बढेकै छ ।’
पोखराको आलु बिक्री गर्न बजारको अभाव नरहेको प्रमुख कडरियाको दाबी छ । धान काटेपछि लगाइने भएकाले आलु छोटो समयमै राम्रो मुनाफा दिने नगदे बालीमा पर्ने उनी सुनाउँछन् । ‘आलु नबिक्ने, बजार नपाउने भन्ने छैन । १ सय ३० दिनमै राम्रो आम्दानी गर्न सकिने नगदे बाली हो,’ उनले थपे, ‘१ किलो उत्पादन गर्दा २३/२४ रुपैयाँ पर्छ । ४२ रुपैयाँमा बिक्री हुनु भनेको राम्रो हो ।’
हेम्जामा उत्पादित आलुको बजार बढ्नुको कारण यहाँ प्रत्येक वर्ष हुने आलु महोत्सव पनि हो । गाउँमा उत्पादित आलुको प्रचार र बजारीकरणको उद्देश्यले २०६६ देखि महोत्सव सुरु भएको हो । तर बढ्दो बस्ती विकासले आलु उत्पादन घटेर महोत्सव नै संकटमा पर्ने चिन्ता आयोजकलाई छ ।
छोटो समयमै ग्रामीणबाट सहरी क्षेत्रका रूपमा विकास हुँदा उत्पादन भूमि मासिन थालेकाले महोत्सव सञ्चालन गर्दै आएको स्थानीय विष्णुपादुका युवा क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘हेम्जाको माथिल्लो भागमा निकै बस्ती बढेको छ । त्यहाँ खेती हुने जमिन तलभन्दा कम छ । आलु फल्ने बडहरे, माईस्थानमा पनि यो क्रम बढेको छ,’ उनले सुनाए ।
सरकारले उत्पादनयोग्य भूमि संरक्षणमा नीतिमार्फत विशेष ध्यान दिन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । खेतीयोग्य जमिन संरक्षण नभए आलु उत्पादन नै नहुनेसम्मको अवस्था आउने उनी बताउँछन् । ‘भोलि उत्पादनमै समस्या हुने टड्कारो चुनौती हो । आलु महोत्सव भन्ने तर आलु नै उत्पादन नहुने हो कि भन्ने समस्या छ,’ श्रेष्ठले भने ।
खेतीयोग्य जमिन जोगाउने उद्देश्यले ०७९ मंसिरमा पोखरा महानगरपालिकाले कृषि र गैरकृषि क्षेत्र छुट्याएर भू–वर्गीकरण गरेको थियो । त्यसमा कृषिलाई गैरकृषि, गैरकृषिलाई कृषि क्षेत्रमा राखिएपछि उच्च अदालत पोखरामा रिट परेको थियो । अदालतले स्थानीय जनतालाई सूचित गरेर काम गर्न आदेश दिएपछि महानगरपालिकाले गत असोजमा अघिल्लो भू–वर्गीकरणमा गुनासो भए निवेदन दिन सूचना निकालेको थियो । प्राप्त निवेदन अध्ययन गरेर छिट्टै कृषि र गैरकृषि क्षेत्र छुट्याउने तयारी भइरहेको नगर प्रमुख धनराज आचार्यले बताए ।
विष्णुपादुका युवा क्लबको आयोजनामा चैत २४ देखि १३ औं संस्करणको आलु महोत्सव बुधबारसम्म जारी छ । महोत्सवमा आइतबारसम्म करिब ६२ हजार किलो आलु बिक्री भएको आलु तथा कृषिउपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिमिल्सनाले जानकारी दिए । प्रतिकिलो ४२ रुपैयाँ पर्ने आलुको आइतबारसम्म करिब २६ लाख रुपैयाँको कारोबार भएको छ ।
