मापदण्डविपरीतका अस्पतालमा आफन्त गुमाउँदै मधेशका बासिन्दा 

अस्पताल र चिकित्सकको लापरबाहीले धर्मेन्द्रले आफ्नो लक्काजवान छोरा लालु गुमाए, इब्राहिमले पत्नी नुर, उनीहरूजस्तै मधेशका हरेक जिल्लामा अस्पतालकै लापरबाहीले आफन्त गुमाउने धेरै परिवार छन्

चैत्र ३०, २०८१

शिव पुरी, स्वरूप आचार्य

Residents of Madhesh are losing their relatives in non-standard hospitals

चन्द्रनिगाहपुर, रौतहट — सेतो कुर्ता, पहेंलो रंगको ढाका टोपी लगाएका धर्मेन्द्रको मुहारमा कुनै तेज थिएन । जिल्ला प्रशासन कार्यालय रौतहटको गेटबाहिर मेचमा बसिरहेका उनी सातो गएजस्तो, गहिरो चोट लागेजस्तो, प्रिय वस्तु हराएजस्तो देखिन्थे । लक्काजवान छोराको काजकिरिया सकाएर लेखनदासको काममा फर्किए पनि उनी त्यो शोकबाट पूर्ण रूपमा निस्किन सकेका छैनन् ।

तर पनि दुई/चार पैसाको जोहो गर्न र मन भुलाउन उनी जिप्रकाको पर्खालमुनि सेवाग्राहीको पर्खाइमा थिए ।

गत फागुन १० मा गाउँका साथीसँग भोजमा गएका १८ वर्षका लालु (लल्ला) अधिकारीलाई एक्कासि पेट दुख्न थालेपछि साथीहरूले नै उनलाई प्रादेशिक अस्पताल गौर पुर्‍याए । आकस्मिक कक्षमा उपचार गराएर लालु बिहान ३ बजेतिर घर फर्किएका थिए । घर पुगेर पनि पेट दुखाइले छटपटाइरहेका उनले पुनः अस्पताल लैजान आग्रह गरेपछि धर्मेन्द्रले छोरालाई बिहान १० बजेतिर अस्पताल पुर्‍याएका थिए ।

गौर प्रादेशिक अस्पतालमा विभिन्न जाँच गरेर पल्टिरहेका लालुलाई डा. घनश्याम ठाकुरले हेरेका थिए । आकस्मिक कक्षमा रहेका चिकित्सकले पेट दुखाइका लागि शल्यक्रिया गर्नुपर्ने बताएपछि उनीहरू शल्यचिकित्सक आउने बाटो हेरिरहे । अस्पताल प्रशासनले दुई महिनाअघि मात्र अर्को शल्यचिकित्सक पनि थपेको थियो । दुई शल्यचिकित्सक भएपछि पालोअनुसार ड्युटी मिलाइएको थियो । त्यो दिन डा. पंकजकुमार साहको ड्युटी थियो । उनी आएर जाँच गरेसँगै धर्मेन्द्रको अत्तालिएको मन केही शान्त भएको थियो । 

तर जाँचपछि डाक्टरले जे भने, त्यसपछि उनको हंसले ठाउँ छोड्यो । छोरा लालुको आन्द्रामा प्वाल परेको र शल्यक्रिया गरेर तुरुन्तै टाल्नुपर्ने डाक्टरको भनाइ थियो । तत्कालै डाक्टरले अप्रिय ‘फरमान’ सुनाए, ‘यहाँ हुँदैन । तुरुन्तै, अर्को निजी अस्पतालमा लैजानुपर्छ ।’ छोराको जीवनरक्षाका लागि उनी डा. पंकजको हरेक कुरा मान्न तयार थिए । ‘हामी सामान्य मान्छेलाई के रोग लाग्यो भने के गर्ने कसरी थाहा हुन्छ र ? डाक्टरसाबले जे भन्नुभयो त्यसमा सामान्य सवालजवाफपछि हुन्छ भनियो,’ धर्मेन्द्र भन्छन्, ‘यहाँ मेसिन छैन, नजिकैको अर्को अस्पताल लानुपर्छ, भन्नुभयो । हुन्छ भनियो ।’

Residents of Madhesh are losing their relatives in non-standard hospitals

लालुलाई त्यसपछि शल्यक्रियाका लागि गौर प्रादेशिक अस्पतालबाट करिब ५–७ सय मिटर पर रहेको गौर सेन्ट्रल हस्पिटल लगियो । प्रादेशिक अस्पताल नजिकै रहेको उक्त निजी अस्पतालका सञ्चालक डा. फिरोज अन्जुमन हुन् । उनी पनि प्रादेशिक अस्पतालमा ७ वर्षदेखि शल्यचिकित्सकका रूपमा कार्यरत छन् । तर लालुको शल्यक्रियामा भने उनी संलग्न थिएनन् ।

धर्मेन्द्रका अनुसार बेलुका ७ बजेतिर डा. पंकजले नै लालुको शल्यक्रिया सुरु गरेका थिए । शल्यक्रियाका लागि पेट चिरिसकेपछि प्वाल परेको आन्द्रा सिलाउने प्रयास गरेको तर संक्रमण शरीरभरि फैलिएका कारण अवस्था चिन्ताजनक रहेको बताउँदै ९ बजेतिर थप उपचारका लागि सुविधासम्पन्न आईसीयू आवश्यक पर्ने डाक्टरले बताए । ‘एकछिन के गर्ने–नगर्ने अलमलमा परियो । त्यसपछि एम्बुलेन्समा राखेर मुखमा जोडेको ब्याग थिच्दैथिच्दै वीरगन्जको मेडिकल कलेज लगें । त्यहाँ पुग्नेबित्तिकै मरिसकेको छ भन्यो,’ धर्मेन्द्र सुनाउँछन् ।

गौर सेन्ट्रल हस्पिटलका सञ्चालक डा. फिरोज गौरका परिचित चिकित्सक हुन् । लामो समयदेखि प्रादेशिक अस्पताल गौरमा शल्यचिकित्सकका रूपमा काम गरिरहेका उनले नजिकै आफ्नो ‘प्राइभेट प्राक्टिस’ का लागि निजी अस्पताल सञ्चालन गरेको बताए । ‘मैले करिब ७/८ वर्षदेखि गौरमा काम गरिरहेको छु, कसैलाई कुनै समस्या पर्न दिएको छैन, सबैतिर बुझे हुन्छ,’ उनले भने, ‘तर त्यो दिन डा. पंकजले गर्न नहुने काम गर्नुभयो, उहाँको ‘जजमेन्टमा इरर’ थियो ।’

डा. फिरोजका अनुसार उनी ड्युटीमा भएको भए लालुको केस कि त गौर अस्पतालमा नै गर्थे नभए कुनै सुविधासम्पन्न अस्पतालमा रिफर गर्थे । ‘मैले त्यो घटना हुनु करिब एक महिनाअघि मात्रै रेफर गर्न नमिल्ने अवस्थामा आएको त्यस्तै केस गौर अस्पतालमै गरेको थिएँ । आकस्मिक रूपमा गर्नुपरेको थियो,’ उनले भने, ‘त्यस्तो केसलाई सानोतिनो शल्यक्रिया गर्ने मेरो जस्तो अस्पतालमा गर्नै हुन्नथियो ।’

चार तलाको अर्धनिर्मित भवनको पहिलो तलामा गौर सेन्ट्रल अस्पताल सञ्चालित छ । डा. फिरोजका अनुसार त्यस दिन उनी घरायसी काममा हुँदा डा. पंकजले त्यहाँ लालुलाई ल्याएर शल्यक्रिया गरेका थिए । ‘लाइसेन्स प्राप्त चिकित्सकले आफ्नो बिरामीलाई जहाँ कहीं पनि लगेर उपचार गर्न पाउँछ, खासगरी शल्यचिकित्सकका लागि यो कुनै नौलो कुरा होइन,’ उनले भने, ‘डा. पंकज र म एकै अस्पतालमा सँगै काम गर्ने भएकाले उहाँले यहाँ बिरामी ल्याएर शल्यक्रिया गर्दा म नभए पनि कसैले नाइँनास्ती गरेनन् ।’

प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हास्मीका अनुसार डा. फिरोजलाई सहज होस् भनेरै स्थानीय डा. पंकजलाई पनि केही समयअघि अस्पतालले करारमा राखेको थियो । ‘हामीले स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएपछि डा. पंकजले राजीनामा दिइसकेका छन्,’ उनले भने, ‘डा. फिरोजको अस्पतालमा लगेर आफूले एक्लै गर्न नसक्ने शल्यक्रिया गर्न आँट गर्नु हुँदैन थियो । उसका कारणले डा. फिरोज पनि अप्ठेरोमा परे ।’

छोरोको मृत्यु भएपछि विचलित भएका धर्मेन्द्रले डा. पंकजविरुद्ध कानुनी कारबाही गर्ने मन पनि बनाएका थिए । तर, डा. पंकजको ससुराली आफ्नै घर नजिक रहेकाले ‘जे हुनु भयो’ भनेर उजुरी नगरेको उनले बताए । तर, डा. पंकजले लालुको परिवारसँग माफी माग्नुका साथै उचित रकम क्षतिपूर्ति स्वरूप दिने भन्दै दबाब दिएपछि लालुको परिवार उजुरबाजुरबाट पछि हटेको प्रादेशिक अस्पताल गौरका एक स्वास्थ्यकर्मीले दाबी गरे । 

...

रौतहटको चन्द्रनिगाहपुर–७ की ३१ वर्षकी नुरजहान खातुनको जिन्दगी राम्रैसँग चलिरहेको थियो । श्रीमान् इब्राहिम सिद्दिकी र उनको भाइ मिलेर कपडा सिलाउने चार/पाँचवटा मेसिन घरमै राखेर काम सुरु गरेका थिए । दिदीबहिनीको नै इब्राहिमका दाजुभाइसँग बिहे भएकाले नुरलाई घरमा खासै ठूलो समस्या केही थिएन । नुर र इब्राहिमका ३ छोरी र १ छोरा पनि थिए । 

२०८० कात्तिकमा नुरलाई तल्लो पेटमा केही समस्या भएजस्तो भान भयो । नजिकैको मेडिकलमा जाँच गराउँदा सामान्य औषधि दिएर एक पटक अस्पतालमै देखाउन सल्लाह दिइयो । नुरका बुबाले यो कुरा थाहा पाएपछि आफूले चिनेका चिकित्सककहाँ जाँच गराउन लगे । गौरको गरुडा नगरपालिका–८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटलका चिकित्सक डा. चन्द्रदेव महरा (सीके महरा) ले पाठेघरमा समस्या रहेकाले त्यसलाई शल्यक्रिया गरेर निकाल्नुपर्ने बताए । तत्काल शल्यक्रिया नगरे क्यान्सर पनि हुन सक्ने बताएपछि नुरजहान र उनको परिवार चिनेजानेका आधारमा त्यहीं शल्यक्रिया गर्न राजी भए ।

इब्राहिमका अनुसार शल्यक्रिया कक्षभित्र छिराएपछि नुर चिच्याएको र कराएको सुनेरै आफूलाई यहाँ ठीक भइरहेको छैन जस्तो लागे पनि ढोका ढकढकाएर सोध्दा डाक्टरले हप्काएका थिए । ‘नुर भित्रबाट ठूलोठूलो स्वरमा कराइ रहेकी थिई । मलाई डाक्टरलाई अप्रेसन गर्न आउँदैन रहेछ भन्ने त्यतिबेलै लागेको थियो,’ उनले भने, ‘पछि त्यस्तै भयो । रगत धेरै बगेर उनको ज्यान गएछ ।’

आफूलाई चिकित्सक बताउने डा. सीके पाठेघर निकाल्न सक्षम शल्यचिकित्सक भने होइनन् । नुरको पोस्टमार्टम रिपोर्टमा पनि पाठेघरको शल्यक्रिया गर्दा आन्द्रा र पिसाबको थैलीको नसा काटिएर अत्यधिक रक्तस्राव भएको र पेटमा ९०० एमएल रगत पाइएको उल्लेख छ । इब्राहिमले चिकित्सकको लापरबाहीका कारण नुरको ज्यान गएको थाहा पाएपछि प्रहरीमा उजुरी दिए । प्रहरीबाट सरकारी वकिल हुँदै मुद्दा अदालतसम्मै पुग्यो । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले गत मंसिर २६ मा डा. सीकेले शल्यक्रिया गरेका हुन् भन्ने यथेष्ट प्रमाण नै नभेटिएको भन्दै सफाइ दिने आदेश सुनायो । अदालतबाट अस्पतालका सञ्चालकसहित डा. सीकेले पनि सफाइ पाएको भने इब्राहिमलाई पत्तै छैन । 

डुमरिया बजारमा कपडा बेचिरहेको अवस्थामा भेटिएका इब्राहिम नुरको विषयमा कुराकानी गर्दा भावुक भए । ‘खराब डाक्टरले मेरो घरबार नै बिगारिदियो । त्यसैले मैले उजुरी गरेको थिएँ । उनीहरूलाई प्रहरीले समातेको पनि थियो । पछि अदालतमा के भयो मलाई थाहा छैन,’ उनले भने, ‘हामी काम गरेर खाने मान्छेलाई मुद्दा मामिलामा दौडने कहाँ फुर्सद हुन्छ र ।’

नुरजहान बित्दा २ वर्ष रहेकी कान्छी छोरीलाई नुरकै बहिनी हसिनाले हुर्काइरहेकी छन् । हसिनालाई नै उनले ‘मा’ भन्न थालेकी छन् । हाल तीन वर्षकी छोरी देख्दा हसिनालाई नुरको याद आउँछ र मन अमिलो हुन्छ । ‘यो सानो नानीलाई मैले नै पाल्ने जिम्मा लिएकी छु । मेरो छोरी भनेको यही हो । यसैमा दिदीलाई देख्छु,’ उनले गहभरि आँसु परेर भनिन् ।

प्रदेश राजधानी जनकपुरका अस्पतालमा देखिएका बेथिति त्यहाँ मात्र सीमित छैन, मधेशभर फैलिएको छ । मधेशका हरेक जिल्लामा अस्पतालकै लापरबाहीले आफन्त गुमाउने धेरै परिवार छन् । त्यसैका उदाहरण हुन्, धर्मेन्द्र र इब्राहिम । रौतहटका पुराना र अनुभवी चिकित्सक डा. रामाशंकर ठाकुर विगतका केही वर्षयता मधेशको स्वास्थ्य क्षेत्रमा मौलाउँदै गएको बेथिति देखेर आजित भएको बताउँछन् । वीरगन्जस्थित नारायणी अस्पताल र गौर अस्पतालमा लामो समय प्रमुख भएर हाल सेवा निवृत्त भएका उनी बिनादक्षता पैसा कमाउने लोभमा कुनै पनि चिकित्सकले बिरामीको जीवनसँग खेलबाड गर्न नहुने तर्क राख्छन् ।

 ‘सरकारले लागू गरेको नियमकानुनको पालना त सबैले गर्नैपर्छ,’ उनले भने, ‘बिनादर्ता अस्पताल खोलेर दक्ष चिकित्सक, दक्ष एन–एस्थेसियाबिना शल्यक्रिया गर्ने, बिरामीको स्वास्थ्यसँग खेलबाड गर्ने, अहेब, एचएको भरमा बिरामीको उपचार गर्ने जुन काम भइरहेको छ, यो अत्यन्तै गम्भीर विषय हो । जे मन लाग्यो त्यही गर्न कसैलाई पनि छुट छैन ।’

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की भने स्वास्थ्यको सवालमा मधेश प्रदेश सरकार नै संवेदनशील नभएको आरोप लगाउँछन् । गैरकानुनी रूपमा सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराउने मुख्यमन्त्री सतीशकुमार सिंहको प्रयास राम्रो भए पनि त्यसले दीर्घकालीन रूपमा सुधार हुन नसक्ने उनको बुझाइ छ । ‘मुख्यमन्त्रीले अनुगमन नै गर्न हुँदैन भन्ने होइन । तर त्यो तहमा अनुगमन हुँदा नेपाल मेडिकल काउन्सिललाई पनि संलग्न गराएको भए सेवा प्रवाहमा पनि सुधार हुन सक्थ्यो,’ उनले भने, ‘मानिसको स्वास्थ्यसँग खेलबाड गर्न कदापि पाइँदैन । 

तर मुख्यमन्त्री सिंहको अनुगमन स्टन्टबाजीमा मात्रै सीमित हुने देखिन्छ । कानुनी तरिका पुर्‍याएर अनुगमन गरेको भए नियम उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउन पनि सहज हुन्थ्यो ।’ 

नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ केशरीले रौतहटमा मात्रै नभएर मधेशभर नै बिना र्ताको अस्पताल चलाउने होडबाजी रहेको बताए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यो बेथितिले कुनै पनि सभ्य समाजलाई फाइदा नगर्ने उनको भनाइ छ ।

२१ अस्पताल सञ्चालनमा रोक

रौतहट– मापदण्ड र दर्ताबिना अस्पताल सञ्चालन गरेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको गुनासोको चाङ लागेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह फागुन १७ मा चन्द्रनिगाहपुरस्थित राजमार्गमा सञ्चालित अस्पताल अनुगमन गर्न आएका थिए । यहाँका ११ वटा अस्पतालहरू अनुगमन गरे । दर्ता नभएका १० वटा फेला पारेपछि तत्कालै बन्द गर्न पत्र थमाए । मुख्यमन्त्रीले बन्द गराएका अस्पतालहरूले मापदण्ड पनि पूरा गरेका थिएनन् ।

‘सबैभन्दा पहिला दर्ता छ/छैन मुख्य कुरा हो । त्यसपछि मापदण्ड हेर्नुपर्छ,’ मुख्यमन्त्री सिंहले भने, ‘लथालिंग अवस्थामा पैसा कमाउन मात्र अस्पताल खोलेको भेटें । अब यसरी चलाउन दिन्नँ ।’ मुख्यमन्त्रीको कार्यालयमा मधेश प्रदेशकै अस्पतालबारे उजुरीको चाङ लागेपछि आफू अनुगमनमा हिँडेको उनले सुनाए । अधिकांश अस्पतालमा दक्ष चिकित्सकको अभाव देखिएको छ । बिरामीको शल्यक्रिया गर्दा 

लठ्याउने दक्ष चिकित्सकसमेत छैनन । रौतहटको गरुडामा पनि १० वटा अस्पतालको अनुगमन गर्दा इमर्जेन्सी, आईसीयू, फार्मेसी, ओपीडी कक्ष, चिकित्सक बस्ने कक्षलगायत कुनै पनि मापदण्डअनुसार नरहेको पाइएको थियो । गरुडा नगरपालिकाका अरुण सिटी हस्पिटल, अनामिका हस्पिटल, गरुडा अस्पताल, रोमा हस्पिटल, होप हस्पिटल, सनसिटी हस्पिटल, सरस्वती हस्पिटल, आनन्द हस्पिटल अनुगमनका क्रममा मापदण्डविपरीत फेला पारेपछि मुख्यमन्त्री सिंहले बन्द गराएका छन् । चन्द्रपुरका अस्पतालहरू मुख्यमन्त्रीले बन्द गराए पनि सञ्चालकहरूले अटेर गरेर सञ्चालनमा ल्याएका छन् । 

नगरपालिकाले नियमविपरीत सबै अस्पताललाई ३५ दिनको अस्थायी अनुमतिपत्र दिएको थियो । त्यसलाई नगरपालिकाले नै पछि खारेज गरे पनि अस्पतालहरू बन्द भएका छैनन् । मुख्यमन्त्री सिंहले जनकपुर, महोत्तरी, सर्लाही, रौतहट र पर्साका अस्पतालहरू अनुगमन गरेका छन् । अधिकांश मापदण्ड र दर्ताबिना सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्रीको अनुगमनपछि रौतहटमा २१ अस्पतालको सञ्चालनमा रोक लगाइएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully