पोखरा मझुवाकी विष्णुमायाका २४ वर्षीय छोरा सूर्यको २०७१ फागुन ५ मा शिवरात्रिका दिन हत्या भएको थियो, दोषीलाई कारबाहीको माग गर्दै उनले सर्वोच्चमा १२ वटा तारिख पाएकी छन् तर मुद्दाको सुनुवाइ नै सुरु भएको छैन
काठमाडौँ — विष्णुमाया पाण्डेलाई लेखपढ गर्न आउँदैन । र पनि कागजातको एउटा ढड्डा बोकेर उनी करिब दुई सातादेखि नयाँ बसपार्कको एउटा होटलमा बसिरहिन् । बिहीबार बिहानै जन्मथलो पोखरा फर्किनुअघि हरेक दिन उनको दैनिकी एउटै थियो– दिउँसो सर्वोच्च अदालत धाउनु र साँझ निराश मनस्थितिमै गलहत्याइनु ।
‘यो कस्तो न्याय हो यो देशमा ?’ अदालतका कर्मचारीले आइतबार सम्झाइबुझाइ गरी घर पठाउन खोज्दा उनी डाँको छाडेर रुँदै सर्वोच्चतिर फर्किन जिद्दी गरिरहेकी थिइन्, ‘वर्षौं भइसक्यो, एउटा मुद्दा टुंगो लाग्दैन, आदेश दिएँ भन्छन्, हेर्न दिँदैनन्, के चाला हो यो ?’
लेखपढ गर्न नजान्ने विष्णुमाया १२ वर्षदेखि कागजपत्रको ढड्डा बोकेर छोराका हत्यारालाई कारबाही गराइपाऊँ भनी अड्डा अदालत धाइरहेकी छन् । र, काम नबनेपछि आजित भएर यसै गरी आँसु खसाल्दै र गलहत्याइँदै घर फर्केकी छन् ।
कास्कीको जिल्ला र पुनरावेदनपछि पोखरा मझुवाकी उनी तीन वर्षयता सर्वोच्च धाइरहेकी छन् । तर मुद्दा पेसी चढ्ने पालै नआउने र आए पनि हेर्न नभ्याइने सूचीमा परेर सर्ने हुँदा उनी गएका तीन वर्षमा धेरै पटक पोखरादेखि सर्वोच्च अदालतसम्म आएर हिस्स परी फर्कनुपरेको छ ।
यस पटक शुक्रबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा मुद्दा सुनुवाइ भयो । उनलाई आशा थियो, ढिलै भए पनि अबचाहिँ मुद्दा छिनिने भयो, न्याय मिल्ने भयो । तर त्यस्तो केही भएन । इजलासले ‘अन्य’ आदेश गर्यो । यो भनेको के हो, के लेखिएको हो भनेर उनले फाँटमा गई सोधिन् ।
फाँटवालाले उनलाई इजलासबाट न्यायाधीश गइसकेकाले आदेश लिन आइतबार आउनुहोला भनी पठाए । पुराना कागजपत्रको ठेली बोकेर सुनुवाइ हुने एक साताअघि नै उनी नयाँ बसपार्कको एउटा होटलमा सर्वोच्चको यही न्याय कुरेर बसिरहेकी थिइन् । पर्खाइको घडी आइतबारचाहिँ टुंगिएला भनेर उनी अदालत खुल्नेबित्तिकै सर्वोच्च पुगिन् । त्यहाँका फाँट–फाँट चहारिन् ।
‘श्रीमान् आज आउनुभएको छैन,’ सर्वोच्चका कर्मचारीले साँझतिर उनलाई फर्काउन खोज्दै भने, ‘तपाईं भोलि आउनुस् ।’ आफ्नो उमेरसमेत कति भयो भन्नेसमेत निश्चयसाथ भन्न नसक्ने विष्णुमायाको यस पटक भने धैर्यको बाँध टुट्यो । र, उनी डाँको छाडेर रुन थालिन् । आफ्नो मृत छोराको न्यायका लागि छाती पिट्दै जति लड्दा पनि केही कहीँ सुनुवाइ नभएकामा देशको न्याय व्यवस्थालाई धिक्कारिन् ।
महिला प्रहरीले उनलाई इजलासबाट निकाल्न तानतुन गर्दा चुरा फुटेर उनको हातमा चोट लाग्यो र भुलुक्क रगत पनि निस्कियो । तर यो सबको बेवास्ता गर्दै सर्वोच्चतिर फर्केर आँसुका धारा खसालिरहेकी विष्णुमाया हिक्का छाड्दै एकोहोरो बोलिरहिन्, ‘पोहोर वैशाखमा आउँदा पनि केही भएन, पुसमा आउँदा पनि केही भएन, अस्ति शुक्रबार आउँदा पनि केही भएन, आज आइतबार हुन्छ भनेका थे, न्यायाधीशै आएनन् रे ।’
सर्वोच्चमा आएका सेवाग्राही विष्णुमायाको अरण्यरोदन देखेर केही टिठाए । तर अवस्थाचाहिँ उनीहरूको पनि यसै गरी रुनुपर्ने खालको पीडादायी थियो । महिनौंसम्म पेसीको पालो नआउने र आइहाले पनि सुनुवाइ नभएर सर्ने हुनाले सर्वोच्चमा विष्णुमाया रुनु र पीडाले छाती पिट्नु उनीहरूले महसुस गर्न सक्ने वेदना थियो ।
सर्वोच्च प्रशासनले विष्णुमायालाई थामथुम पार्न एक महिला कर्मचारीलाई खटाएको थियो । उनले विष्णुमायालाई फकाएर चमेना गृहसम्म लगेर खाजा खुवाइन् । तर, बिहानैदेखिकी भोकी विष्णुमायाले टेबलमा दिइएको खाजा तत्काल खाइनन्, बरु धेरै बेरसम्म सुँक्कसुँक्क गर्दै रोइरहिन् ।
विष्णुमायाका २४ वर्षीय छोरा सूर्यको २०७१ फागुन ५ मा शिवरात्रिका दिन हत्या भएको थियो । शव भोलिपल्ट बिहान तुलसीघाटस्थित राम मन्दिरको भीरमा फेला परेको थियो । बुझ्दै जाँदा सूर्यलाई उनकै साथी बुद्ध श्रेष्ठ, ध्रुव मानन्धर र रामचन्द्र मानन्धरले हत्या गरेको खुल्न आएको भनी विष्णुमायाले प्रहरीमा जाहेरी दिएकी थिइन् । तर चार–चार वर्षसम्म प्रहरीले उनको जाहेरी पनि बुझेन ।
आफूमाथि भएको यो अन्यायका लागि बोलिदिन विष्णुमायाले मानवअधिकार आयोगदेखि स्थानीय सरकारका प्रमुखसम्मलाई धेरै पटक हारगुहार गरिन् । उनले बोकेको ठेलीभरि अनेक मानिसका नम्बर छन्, जसमा फोन गर्न उनी अरू कसैको सहयोग माग्छिन् । धेरै रोइकराइ गरेपछि र हारगुहार लगाएपछि अन्ततः २०७५ चैत २९ मा उनले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्यो । त्यसपछि पक्राउ परेका उनीहरूले केटी जिस्काएको निहुँमा भएको झगडाका कारण सूर्यको हत्या भएको बयान दिए ।
जिल्ला अदालत कास्कीले २०७६ जेठ १३ मा थुनछेकको बहसमा उनीहरू तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्यो । तर, उच्च अदालत पोखराले २०७६ असार ५ मा जिल्लाको आदेशलाई आंशिक उल्ट्याउँदै बुद्ध र ध्रुवलाई जनही १ लाख धरौटीमा छाडिदियो । उच्चको यो आदेश बेरीतको भएको भन्दै विष्णुमायाको पक्षबाट सरकारी वकिलको कार्यालय पोखराले सर्वोच्चमा निवेदन दिएको छ ।
विष्णुमायाको धेरै जोडबलपछि सर्वोच्चमा २०७९ जेठ २० मा दर्ता भएको उक्त मुद्दा परेको ३३ महिना नाघ्दा १२ पटक तारिख तोकिएको छ । यस अवधिमा पेसीमा भने ५ पटक मात्रै परेको छ । पहिलो पेसी २०८० वैशाख २१ मा प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा परेको थियो । त्यस दिन उनी दिनभर इजलासमा पालो कुरेर बसिन् । तर साँझ उनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पर्यो । र, उनी हिस्स परेर फर्किन् ।
अर्को पटक उनको मुद्दा त्यसको ११ महिनापछि २०८० फागुन १ मा पेसी चढ्यो । यस पटक पनि विष्णुमायाको मुद्दा हेर्न नभ्याइने सूचीमै चढेर हट्यो, उनी काठमाडौं आउनु मात्रै भयो । तेस्रो पटक चार महिनापछि गत वर्ष असार २० मा उनको मुद्दा पेसी चढ्यो । यस पटक न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले ‘बुझ्ने आदेश’ जारी गर्यो ।
मुद्दाको छिनोफानो नभई मिसिल कागजमा भएका तथ्य र अरू यस्तै प्रमाण बुझ्ने भएकाले यस पटक पनि विष्णुमायाका लागि मुद्दाको पालो नआएकै सरह भयो । चौथो पटकको पेसी गत पुस ८ मा सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासमा पर्यो । अब त केही होला कि भनेर उनी बडो आशा लिएर आएकी थिइन् । तर, मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेर हट्यो । पछिल्लो पटकको पेसी गएको शुक्रबार शर्मा र पौडेलद्वयको इजलासमा पर्यो । इजलासले आदेश ‘अन्य’ गर्यो भन्ने जनाउ कर्मचारीले दिए । तर त्यो ‘अन्य’ आदेश भनेको के हो, लिखित पाऊँ भन्दा उनले हात पार्न सकिनन् ।
‘आखिर के भएको छ उनको मुद्दामा आदेश ?’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेललाई त्यसै दिन सोधिएको थियो । ‘त्यो लिखित नआई भन्न सकिन्न,’ आदेश गरेको छैटौं दिन बिहीबार सोध्दा पनि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेल भन्छन्, ‘मुद्दाको अंग नपुगेको भए त्यो पुर्याउन वा अरू केही प्रक्रिया नमिलेको भए त्यो मिलाउन हुने आदेश हो ‘अन्य’ आदेश भनेको तर केचाहिँ भनिएको हो भन्नेचाहिँ लिखितै नहेरी थाहा हुँदैन, म हेरेर भनुँला ।’
सर्वोच्चकै प्रवक्ताले बुझ्न नसकेको यो आदेश निरक्षर विष्णुमायाले बुझ्न सक्ने कुरै भएन । के रहेछ भनेर उनी अझै पनि सर्वोच्च धाइरहन चाहन्थिन् । तर, लामो समय होटलमा बस्न र अड्डा अदालतमा हिस्स परेर फर्किरहन मन र धन दुवैले दिएन । ‘आज पनि म रित्तै फर्किंदै छु,’ पोखरा जाने बस चढेर थानकोट कटिसकेकी विष्णुमायाले कान्तिपुरसँग भनिन्, ‘यो देशमा न्याय हामी गरिबले पाउने रहेनछौं ।’
विष्णुमाया वर्षौंदेखि न्यायको तड्पाईमा छिन् । र, त्यो नपाएपछि रोइरहेकी छन् । तर उनको रोदन एउटा नियमित प्रदर्शनीजस्तो कसैलाई नछुने हुँदै गएको छ । न्यायाधीशको संख्या कम र मुद्दाको चाप बढी हुँदा सर्वोच्चमा पेसीको पालै नआउने र आए पनि सुनुवाइ नभई मुद्दा सर्ने अनि सुनुवाइ नै भए पनि ‘अन्य’ वा यस्तै प्रक्रियागत झिनामसिना आदेश हुने भएपछि सेवाग्राही तारिख धाउँदा विष्णुमायाझैं हत्तुहैरान र निराश छन् ।
देशको न्याय सम्पादनको सर्वोच्च निकायमा भएको यो चरम ढिलासुस्तीले ‘ढिलो न्याय दिनु भनेको न्याय नपाउनुसरह हो’ भन्ने उक्तिलाई चरितार्थ गरेको छ । तर पनि त्यसको निकासका लागि प्रयत्न कहीँकतै नहुँदा विष्णुमायाहरू रोएका रोयै हुन अभिशप्त छन् ।
