मेड इन लुम्बिनी : पाल्पाको ढाकादेखि रुकुमका राडीसम्म

रैथाने अन्न उत्पादन, खानादेखि स्थानीय सामग्रीका लागि लुम्बिनी प्रदेश धनी छ । यहाँका १२ वटै जिल्लाका स्थानीय रैथाने खाद्यान्न, सामग्रीदेखि बालीनाली जोगाउँदै व्यवसायीकरणमा अग्रसर भएर लागेका छन् । तर पनि अझै पर्याप्त बजार नपाएको र सरकारले आवश्यक तर्जुमा नगरिदिएकामा उद्यमी भने निराश छन् ।

चैत्र १३, २०८१

माधव अर्याल

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

पाल्पा — मोरङको विराटनगरबाट आएका देवराज भण्डारी पौड्याल ढाका कपडाको शो रुममा टोपी रोज्दै थिए । ‘हाम्रातिर पनि ढाका उत्पादन हुन्छ तर पाल्पाली ढाका लैजान मन पर्छ,’ उनले भने । हुन त कुन्ती मोक्तानको ‘चोली राम्रो पाल्पाली ढाकाको...’ गीत जति चर्चित छ, त्यति नै ढाका कपडा भनेपछि देशविदेशमा बस्नेको जनजिब्रोमा समेत झुन्डिएको छ ।

पाल्पा आउने जोकोही पाहुना पहिलो कोसेलीका रूपमा ढाका र यसबाट निर्मित सामग्री खरिद गर्छन् । 

२०१५ मा उत्पादन सुरु भएको ढाका कपडा र यसका विविधीकरणले देश र विदेशमा ख्याति कमाएको छ । भ्रमणमा आउने हुन् वा व्यक्तिगत भेटघाटमा आउनेले फर्किंदा उपहारका रूपमा ढाका र यसबाट बनेका विविध सामग्री खरिद गरेर लैजाने प्रचलन बढेको ढाका उद्यमी मनोजराज शर्मा पौड्याल बताउँछन् ।

नेपालीको शिरको सानका रूपमा ढाका टोपीलाई हेरिन्छ । त्यसबाहेक ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाइलगायत पनि पछिल्लो समय चल्तीमा छन् । पाल्पामा मात्रै १५ भन्दा बढी ढाका कपडा उद्योग छन् । घरघरमै ढाकाका कपडा बुनेर यहाँका २ सयभन्दा बढी महिलाले राम्रो आम्दानी गरिरहेका छन् । पाल्पाली ढाकाको वार्षिक आम्दानी १० करोड रुपैयाँबराबर रहेको पाल्पाली ढाका संघले जनाएको छ । 

दाङको मुखै रसाउने तिल्की चामल 

पछिल्ला वर्ष स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षणको नीति लिएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ ।

प्रदेशको नीति तथा कार्यक्रम र बजेटमै दाङमा रैथाने प्रजातिको तिल्की धानको संरक्षण संवर्द्धनको व्यवस्था गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले रैथाने जातका बाली संरक्षणका लागि गत आर्थिक वर्षमै बजेट विनियोजन गरेको हो । रैथाने जातको धान उत्पादन कम भए पनि किसानले यसको मूल्य भने मनग्य पाउने गरेका छन् । तिल्की धानको चामल पर्व विशेष, अतिथि सत्कारका लागि उपयोग हुन्छ । 

रोल्पाली उपहार : अल्लोका कपडा 

रोल्पा सदरमुकाम लिवाङ पुग्ने जोकोहीले सुरुमै सोध्ने प्रश्न हो, ‘अल्लोको कपडा कहाँ पाइन्छ ?’ पाल्पाको तानसेनबाट भ्रमणमा पुगेका शिक्षक कमल केसीले अल्लोको विषयमा व्यापारीसँग बुझेपछि अल्लोबाट निर्मित हाते सामग्री खरिद गरेको सुनाए ।

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

अल्लो वा चाल्ने सिस्नो रोल्पाका जंगल, खोला वा बाटोका छेउछाउ ओसिलो स्थानमा पाइन्छ । यसको रेसा धागोकामा रूपमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपी, झोलासम्मका विभिन्न सामग्री बनाइन्छ । जिल्लाभित्रका अधिकांश व्यक्तिले अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप, ज्ञान प्राप्त गरेका छन् । अल्लोबाट बनेका सामग्रीले भनेजस्तो बजार र परिश्रमअनुसार मूल्य पाउन नसकेको उद्यमीको गुनासो छ । अल्लोको रेसा निकालेर सुकाउने, पकाउने, कुट्नेजस्ता प्रक्रिया पूरा गरी सामग्री बनाइन्छ । 

राडीपाखी र काम्लोले चिनिएको रुकुमपूर्व 

रुकुमपूर्वका बहुसंख्यक पुस्तौंदेखि भेडा तथा बाख्रापालनमा आबद्ध छन् । मगर समुदायले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गर्दै आएका छन् । यसबाट राम्रो आम्दानी पनि हुन्छ । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले उचित बजार पाउन भने सकेको छैन । रुकुमपूर्व तकसेराकी लालकुमारी बुढा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा भेटिइन् ।

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

आफूले थाहा पाउने उमेरदेखि नै भेडाको ऊनबाट सामग्री बनाउँदै आएको उनले बताइन् । घरमा भेडा, बाख्रापालन हुने भएकाले सानैबाट धागो कातेर राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैंचा, स्विटर, घुमलगायतका सामग्री बनाउने गरेको उनले बताइन् । पुथा उत्तरगंगा र भुमेका धेरै स्थानमा भेडाबाख्रा पालन हुन्छ । भेडाको रौंबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य हुन्छ । 

बाघमुखे चुलेसीमा प्यूठान अगाडि 

प्यूठान पुग्ने जोकोहीले खोज्ने मायाको चिनो हो– बाघमुखे चुलेसी । तर यसको उत्पादनमा उचित सहयोग नपाउँदा भने उद्योगी निराश छन् । यो चुलेसीले प्यूठानको पहिचान बोकेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठानबाट मायाको चिनो होस् वा स्वागत तथा बिदाइमा यही चुलेसी दिने प्रचलन छ । सामान्य बाघमुखे चुलेसी बनाउन झन्डै ६ सय लागत लाग्छ ।

जसको बिक्री मूल्य भने १ हजार ५ सयसम्म रहेको छ । पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउने व्यवस्था मिलाइदिन यसमा आबद्ध उद्यमीको माग छ । परम्परागत काम गर्ने जाँगर युवामा नभएकाले पनि पछिल्लो समय यो उद्यम संकटमा छ । बाघमुखे चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्त्व बढाए पनि यसलाई बनाउने सीप युवा पुस्तामा पर्याप्त हस्तान्तरण हुन भने सकेको देखिँदैन ।

महमा प्रख्यात अर्घाखाँची

यहाँका कोसेली घर वा पसलमा अर्घाखाँचीको मह अनिवार्य हुने गर्छ । यहाँका प्रायः सबै स्थानमा मौरीपालन हुन्छ । हुन त अर्घाखाँचीमा मह उद्योग पनि छ । तर यो व्यवस्थित रूपमा सञ्चालन हुन भने सकेको छैन । अर्घाखाँचीमा ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमार्फत मह उद्योग स्थापना भएको थियो । त्यसबेलाको लागत १ करोड ५ लाख रुपैयाँ थियो । व्यावसायिक मह उत्पादनमा जोड दिन नसक्दा यस उद्योगले कच्चा पदार्थ पाउन सकेको छैन । 

गुल्मीको पहिचान : उखु र गुँड 

पाल्पादेखि तम्घास जाने सडक छेउछाउका पसलमा होस् वा अन्यत्र गुल्मीको खुदो र गुँड देख्न पाइन्छ । गुल्मी पुग्नेहरू पछिल्लो समय यहाँको खुदो र उखु किन्न छुटाउँदैनन् । रुरु क्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा उखु खेती गरिन्छ । थोर्गा, रातमाटा, बलेटक्सार, थानपति, हर्दिनेटा, दिगाम र हुँगाका गाउँमा उखु खेती गरिन्छ । त्यहाँका किसानको मुख्य आम्दानी नै उखु बनेको छ ।

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

यहाँ उखु पेलेर खुदो र गुँड बनाउने गरिन्छ । थोर्गाको गुँड र खुदो कोसेलीका रूपमा जिल्लामात्र नभई जिल्ला बाहिर र विदेशसम्म पुग्ने गरेको छ । देशका विभिन्न स्थानमा आयोजना हुने व्यापारिक मेला, महोत्सव र औद्योगिक प्रदर्शनीमा थोर्गाको गुँड देखिन्छ । गुल्मीमा सादा, मसलेदार, फसफसे, चकलेटी र हाडे गुँड पाइन्छ । सादा गुँड २ सय र मसलेदार गुँड २ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । खुदो प्रतिलिटर १ सय ७० रुपैयाँमा बिक्री हुने गरेको छ । 

बर्दियाको पहिचान, बेतबाँसका सामग्री 

बर्दियाको गुलरिया होस् वा राजापुर, ठाकुरद्वारा पुग्नेले बेतबाँसका उपहारका सामग्री पाउँछन् । यो सामग्री भने राजापुर नगरपालिका क्षेत्रमा उद्योगका रूपमा फस्टाउँदै गएको छ । उद्योगीले बेतबाट कुर्सी, टेबुल, ह्यांगर लगायतका सामग्री बनाउँछन् । यहाँको बेत केही वर्षअघिसम्म त्यसै फालिन्थ्यो । अहिले भने बेतबाट फर्निचर तथा उपहारका सामग्री बन्छ ।

लुम्बिनी प्रदेश सरकारले पनि यसलाई सहयोग गर्ने नीति तथा कार्यक्रममा राखेको थियो । पछिल्ला वर्षमा किसानले बेतबाट बनेका सामान बिक्रीबाट राम्रो आम्दानी गर्न थालेका छन् । व्यवसायी पनि यसको बजार विस्तारमा लागिपरेका छन् ।

मुख्य रूपमा बर्दियाको राजापुरस्थित कर्णाली नदी तटीय क्षेत्रमा बेत पाइन्छ । राजापुर–४ का मोहनबहादुर केसी बेतबाट बनेका फर्निचरको बिक्रीबाट राम्रो आम्दानी गर्न थालेको बताउँछन् । बेतका फर्निचर तथा उपहारका सामग्री कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, बुटवल, नेपालगन्जदेखि काठमाडौंसम्म पुग्छन् । 

नवलपरासी (पश्चिम) : उखु नै उखु 

नवलपरासी पश्चिमको पहिचानकै रूपमा उखु खेती फस्टाउँदै गएको छ । लुम्बिनी चिनी कारखाना पूर्ण रूपमा सञ्चालन भएका बेला यहाँका किसानले उखु खेती थालेका हुन् । नवलपरासी (पश्चिम) मा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहिनी चिनी उद्योग छन् ।

नवलपरासीको उखु बाहिरी जिल्लामा समेत निकासी हुन्छ । यहाँ वार्षिक १५ देखि २५ लाख क्विन्टल उखु उत्पादन हुन्छ । नवलपरासीमा ५० भन्दा बढी भेलीका साना क्रसर उद्योग पनि छन् । कृषि ज्ञान केन्द्रको तथ्यांकमा नवलपरासीमा साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुन्छ । झन्डै १४ हजार घरपरिवार उखु खेतीमा आश्रित छन् । 

रूपन्देही : जनजिब्रोमा पवनको पेडा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उत्रिएका धेरैको सोच हुन्छ, पवनको पेडा लिएर फर्किने । बुटवल पुग्ने अधिकांशले भैरहवाको पवनको पेडा चाख्न बिर्संदैनन् । चाडपर्वमा तराईका मात्र होइन, पहाडमा पनि पवनको पेडा पुग्छ । पवन मिष्ठान भण्डारका सञ्चालक पवनकुमार हलुवाईका अनुसार बुटवल, भैरहवा मात्र नभई पहाडी जिल्ला हुँदै पोखरा, मुस्ताङ लैजानेहरू पनि उल्लेख्य छन् ।

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

भैरहवाको मिलन चोकमा २०२५ मा झुप्रोबाट सुरु गरिएको यो मिठाई पसलले अहिले पेडासहित कम्तीमा २५ प्रकारका मिठाई उत्पादन गर्ने क्षमता विस्तार गरिसकेको छ । बजारमा पेडाको प्रतिस्पर्धा रहे पनि पवनको पेडाको आकर्षण घटेको छैन ।

कपिलवस्तुको काला नमक धान

कपिलवस्तु धान उत्पादन अत्यधिक हुने जिल्ला हो । यहाँ रैथाने धान लगाउने प्रचलन अझै छ । रैथानेमध्येको एक हो, काला नमक । अधिकांश किसान अझै पनि काला नमक धान लगाउन छाडेका छैनन् । छिमेकी जिल्लादेखि काठमाडौंका भान्सामा पनि काला नमक धानको चामल पुग्ने गरेको छ । यसको भात स्वादिष्ट हुने भएकाले लोकप्रिय छ । 

काला नमक कपिलवस्तुको ब्रान्ड नै बनिसकेको छ । कालो हुने हुँदा यसलाई काला नमक भन्ने गरिएको हो । कृषि ज्ञान केन्द्रका अनुसार १५ वर्षअघिसम्म १० हजार बढी हेक्टरमा काला नमक खेती हुन्थ्यो । पछिल्ला वर्षमा बढीमा ६ सय हेक्टर क्षेत्रफलमा यसको खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

बाँके : मुखै रसाउने रावडी 

नेपालगन्ज पुग्ने जोकोहीका लागि यहाँको रावडीले आकर्षित गर्ने गर्छ । जनजनको मुखमा झुन्डिएको रावडी बाँकेको नेपालगन्जमा पाउने खानाका परिकारमध्ये लोकप्रिय छ । यहाँको त्रिभुवन चोकमा दर्जन जति रावडीका पसल छन् । पछिल्लो समयमा होटलमै रावडी किन्न पाइने गर्छ ।

Made in Lumbini : From Dhaka in Palpa to Radi in Rukum

रावडीको मूल्य किलोको झन्डै सात सय पर्छ । यहाँका मिष्ठान्न पसल र होटलमा दैनिक ५ देखि १० किलो रावडी बिक्री हुन्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully