बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : मुख्यमन्त्री आचार्य

चैत्र ११, २०८१

दुर्गालाल केसी

Monorail can be used to connect Buddha Circuit: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी विनोद चौधरीसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताएका हुन् । प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न तयार रहेको उनले बताए ।

प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको उनले बताए ।`बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ । अब यहाँ मोनोरेल चलाउन सकिन्छ,´उनले भने,` यसमा निजी क्षेत्रले लगानी गर्न सक्छ ।´

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए । पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने उनले बताए ।

छलफलका क्रममा प्रतिनिधिसभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गरे ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully