नौबस्ता औद्योगिक क्षेत्रमा घरटहरा हटाउँदै सीमांकन थालियो

चैत्र ११, २०८१

रुपा गहतराज

Demarcation started by removing houses in Naubasta Industrial Area

नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिका नौबस्तास्थित औद्योगिक क्षेत्रको सीमांकन सुरु गरिएको छ । सीमांकनभित्र परेका घर टहरा हटाउँदै बाटो निर्माणको काम पनि थालिएको हो ।

बैजनाथ-३ मा लुम्बिनी प्रदेश स्तरीय ‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण हुँदै छ । जग्गा सीमांकन गर्न खोज्दा यसअघि विवाद भएको थियो ।

सोमबार मानव बस्ती र औद्योगिक क्षेत्रको जग्गाको बीचबाट बाटो खोल्न अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको हो । औद्योगिक क्षेत्र निर्माण स्थलमा अहिले दुई वटा एक्स्काभेटर प्रयोग गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सर्वदलीय र सर्वपक्षीय निर्णयअनुसार खाली गराउन सुरु गरिएको बताए । Demarcation started by removing houses in Naubasta Industrial Area

बैजनाथ-३ का वडाअध्यक्ष निखिल बैगारले अधिकांश स्थानीय बासिन्दा सहमत भए पनि केही व्यक्ति अझै सहमत नभएको बताए । ‘केहीले मान्नुभएको छैन, हामीले सम्झाउने अधिकतम प्रयास गरेका छौं,’ उनले भने । गाउँ कार्यपालिकाका सदस्य समेत रहेका वडाअध्यक्ष बैगारले गाउँपालिका कार्यालयमा पनि यस विषयमा छलफल भएको बताए ।

औद्योगिक क्षेत्रको जग्गा सीमांकनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सोमबारबाट जग्गा सीमांकन गर्ने सहमति गरेको थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully