भैरहवा — समयमै रोगको पहिचान र उपचार नगराउँदा रुपन्देहीमा डेढ वर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले भैरहवामा आइतबार आयोजना गरेको क्षयरोग सम्बन्धी एक अन्तर्क्रिया कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधी सेवन नगर्नु र एचआईभी सहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार, आव २०८०/०८१ मा रुपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ को साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी ७ सय ७६ जना फेला परेका हुन् ।
२०८०/०८१ को तथ्याकं अनुसार, सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४ सय ४३, तिलोत्तमा नगरपालिकामा २ सय ७१, सिद्धार्थनगर नगरपालिकामा १ सय ७०, सैनामैना नगरपालिकामा १ सय ४६, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय २३, देवदहनगरपालिकामा १ सय ३९, मायादेवी गाउँपालिकामा १ सय १, कञ्चन गाउँपालिकामा ९६, गैडहवा गाउँपालिकामा ८६, ओमसतिया गाउँपालिकामा ८२, शुद्धोधन गाउँपालिकामा ७७, कोटहीमाई गाउँपालिकामा ६५, रोहिणी गाउँपालिकामा ६२, मर्चवारी गाउँपालिकामा ५३, सम्मरीमाई गाउँपालिकामा ४९ र सियारी गाउँपालिकामा ४९ जना बिरामी छन् ।
उक्त संख्यामध्ये १ हजार २ सय ३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् ।
स्वास्थ्य कार्यालयका क्षयरोगका फोकलपर्सन टिकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधी सवेन निको भएको ठानेर त्यसपछि नियमित औषधी सेवन नगर्नाले समस्या बल्झिने समस्या धेरै रहेको बताए ।
