बुटवल उपमहानगरपालिको सबैभन्दा सुन्दर पक्ष जनसहभागितामा विकास कार्यक्रम हो । सामाजिक कार्यक्रममा पनि जनसहभागिता छ । बुटवलका यस्ता धेरै अभ्यास छन्, जो साझेदारीमा छन् । हाम्रो पुरानो परम्परा पनि साझेदारीमै निर्भर छ । सडक र भौतिक पूर्वाधार निर्माणको साझेदारी ६० र ४० को नीतिले भएको छ ।
भौतिक पूर्वाधारको विकासका काममा जनताको सहभागिता अत्यधिक छ । अहिले प्रदेशबाट पाँच लाखभन्दा माथिको काममा टेन्डर गर्ने भनेपछि सहभागिता भने शून्यमा झर्न लागेको छ । यो पटक सहभागिताको अभ्यासभन्दा टेन्डर प्रक्रियाको अभ्यासलाई छाड्दै जानुपर्ने स्थिति छ ।
हामीले साना–साना कुरालाई ध्यान दिएका छैनौं । हामीकहाँ सुनचाँदीका गहना बनाउने भारतको पश्चिम बंगालका झन्डै ७ हजार कालिगढ छन् । हामीले पनि सुनचाँदी गहनाको तालिम दिएका थियौं । शतप्रतिशत रोजगार हुनुभयो ।
बुटवल व्यापारिक महत्त्वको स्थान हो । परापूर्वकालदेखि नै व्यावसायिक केन्द्रका रूपमा विकास भएको छ । २०२६ सालदेखि पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग खुल्दा व्यापार र यातायात क्षेत्रको हबका रूपमा विकास भयो । त्यसपछि औद्योगिक क्षेत्रका रूपमा विकास भयो । यातायात, उद्योग र व्यापारिक महत्त्वको क्षेत्र छँदै छ । अहिले शिक्षा र स्वास्थ्यमा पनि फड्को मारेको छ । ९९ हजार विद्यार्थी छन् । सरकारी विद्यालयको हकमा देशभरिकै नमुना विद्यालयका रूपमा स्थापित भएका छन् । दोब्बर संख्यामा विद्यार्थी राख्न सक्ने गरी विद्यार्थीको चाप र दबाब हाम्राबीचमा छ । त्यसैले बुटवलमा शिक्षाबारे गर्व गर्ने स्थिति छ । गत वर्ष पूर्ण बजेटको २६ प्रतिशत शिक्षामा छुट्याइएको छ ।
गत वर्षदेखि नर्सिङ या फार्मेसी अध्ययन सुरु गरेका छौं । शिक्षा र स्वास्थ्यलाई बुटवलले प्राथमिकतामा राखेको छ । बुटवलमा गरिने शिक्षा र स्वास्थ्यको विकास बुटवलका लागि मात्र होइन, देशका सबै क्षेत्रका लागि हो । शिक्षा र स्वास्थ्यमा हामी मात्र होइन, हाम्रो भूगोलसँग जोडिएका सबैले विश्वास गरेका छन् । यसमा प्रदेश, संघीय सरकारको पनि उत्तिकै सहयोग छ ।
सहर भनेको आर्थिक चलायमान क्षेत्र हो । आर्थिक चलायमान भएन भने सहरको रूपमा रहँदैन । हामीले निर्वाचित भएर आउँदा हाम्रा केही समस्या थिए, जटिल समस्या थिए । बुटवलका लागि ठूलो चुनौती ज्योतिनगर पहिरोलाई केही व्यवस्थापन गरेका छौं । ३ सय ७१ घर, क्याम्पस विस्थापित हुने अवस्थामा थिए । त्यसका लागि हामीले काम गर्यौं । तर विडम्बना प्रदेश सरकारबाट सहयोग भएन ।
सडक पाइपलाइन जस्ता छन् । सिद्धबाबाबाट सडकमा प्रवेश गर्नुभयो भने सुनौली आउँदासम्म कहीँ पनि पार्किङदेखि व्यापारिक केन्द्रसम्म व्यवस्थापन गरिएको छैन । अहिले राजमार्ग चौडा गर्नेदेखि बुटवलसम्म ६० वटा स्टल राख्न मिल्ने गरी गाडी पार्किङ, पैदलयात्रु हिँड्न मिल्ने व्यवस्था गरिएको छ ।
सम्पत्ति कर, घर बहाल कर, व्यावसायिक कर हामीले उठाउन पाएका छैनौं । जनता लालपुर्जा नपाएर निराश छन् । त्यहाँबाट आउनुपर्ने ठूलो राजस्व गुमाउनुपरेको छ । संघीय, प्रदेश सरकार र स्थानीय सरकारका बीचमा एउटै मञ्चमा छलफल गरेर अगाडि बढ्नुपर्छ । आवश्यकताका आधारमा समस्या समाधान गर्ने विधिको अभ्यास गर्न जरुरी छ । हामीले अरूका भन्दा केही फरक अभ्यास गरेका छौं । पीपीपी मोडेलमा ट्रान्सपोर्ट सिस्टम निर्माण गरेका छौं । ट्रान्सपोर्ट, अटो व्यवसायीका लागि पीपीपी मोडेलमा अटो भिलेज निर्माण गरेका छौं ।
कृषकका लागि कृषि मण्डीको निर्माण गरेका छौं । अहिले बसपार्कको पनि सुरुवात भएको छ । १ लाख ९५ हजार जनसंख्या हाम्रो तथ्यांकमा देखिन्छ । तर बुटवलको बसोबास एउटै वार्डमा डेढ लाख छ । ७ लाख जनसंख्या छ । पहाडबाट आउने तर बसाइँसराइ नल्याउने र दर्ता नगर्ने समस्या छ ।
पूर्वाधारका कुरामा बुटवलले सबै महानगरपालिकासँग भएका केही क्षमताभन्दा फरक क्षमता र विषयवस्तु स्थापित गरिसकेको छ । भौतिक पूर्वाधार, मानवीय संशाधनको विकास र आधारभूत सिद्धान्तमा हामी अगाडि नै छौं । सबै क्षेत्र र वर्गलाई बजेट व्यवस्थापन गरेका छौं ।
सहर भनेको समृद्धि हो । समृद्धिका लागि धेरै आधार जोडिनुपर्छ । पुरानो बजारलाई कसरी पुनः फर्काउने भनेर पारि बटौलीको संरक्षण गर्ने उपाय खोजिरहेका छौं । नयाँ सहर व्यवस्थापनका लागि रात्रिकालीन बजार सञ्चालन गर्ने काम भइरहेको छ ।
अहिले दाङका दुवै नगर प्रमुख भाग्यमानी हुनुहुन्छ । बुटवलमा आएको प्रदेशको राजधानी सहर दाङ गएको छ । ठूलो आशाले व्यवसायीले होटल सञ्चालन गर्नुभएको थियो, तर प्रदेशको राजधानी सहरबाट बुटवलबासीमा एउटा निराशा छाएको छ ।
भोलिको भविष्य पर्यटकीय क्षेत्रको विस्तार बुटवलदेखि मुक्तिनाथसम्मको यात्रा हो । कोरला नाकादेखि लुम्बिनीसम्मको यात्रालाई बुटवलले नेतृत्व गरेर धार्मिक पर्यटकीय यात्रामार्फत समृद्धिको बाटो खोज्ने प्रयत्न गरेका छौं ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’मा बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयद्वारा व्यक्त विचार)
