‘मीठा कुरा गरेर मात्रै विमानस्थल चल्दैन, विकास पनि हुँदैन’

चैत्र १९, २०८१

डिल्लीबहादुर चौधरी

”The airport will not run and development will not happen just by talking sweetly”

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा निर्माण भएर पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्नुका पछाडि राजनीतिक भन्दा पनि कसले के गर्ने भन्ने समस्या हो । देशका नीति निर्माताहरूमा काम गर्ने इच्छाशक्ति नहुँदा यस्तो भएको हो । सबैले गफ गर्ने तर काम नगर्ने प्रवृत्तिको परिणाम यो विमानस्थल हो ।

म मुख्यमन्त्री हुँदादेखि नै विमानस्थल सञ्चालनको कुरा उठेको हो, मैले मुख्यमन्त्री छोडेको पनि ११ महिना भइसक्यो । प्रधानमन्त्री, सरोकारवाला सबैसँग हामीले छलफल गर्‍यौं तर गर्दिने कसले हो ? प्रधानमन्त्री आफैँले विमानस्थल चलाउने कुरा भएन, अरूलाई मतलबै छैन । अर्थमन्त्रीले भैरहवा आउँदै आफ्नै भाषण दोहोर्‍याउनु हुन्छ, भाषण दोहोर्‍याउने होइन, काम गर्नुपर्‍यो । 

विमानस्थल बनाइसकेपछि सञ्चालन गर्ने पहिलो दायित्व नेपाल नागरिक उड्डयन प्राधिकरणको हो, प्राधिकरणका महानिर्देशकले कति जनालाई बोलाएर यो विषयमा छलफल गर्नुभयो, म उहाँलाई सोध्न चाहन्छु । उहाँ बोलाएको ठाउँमा आएर मिठो कुरा गरिदिनुहुन्छ । तर मिठो कुरा गरेर विमानस्थल पनि चल्दैन, यहाँको विकास पनि हुँदैन ।

अर्थमन्त्री यही क्षेत्रको हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ भन्ने कुरा आएको छ । सबै सकारात्मक नै हुनुहुन्छ भने भोलिदेखि नै विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन कसले रोकेको छ उहाँहरूलाई ? यहाँ अध्यागमन (विभाग) आउन कसले रोकेको छ, वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्न कसले रोकेको छ, परराष्ट्र मन्त्रालयको भिसा दिन कसले रोकेको छ ? 

मन्त्रिपरिषद्ले पनि विमानस्थल सञ्चालनसम्बन्धी निर्णय गरेको छ । मन्त्रिपरिषद्कै निर्णय कार्यान्वयन हुँदैन भने यो देश कसरी चलेको छ भन्ने त्यहीँबाट थाहा हुन्छ । विमानस्थल बनाउन लगानी गरिसकेपछि यसलाई सञ्चालन गर्ने पहिलो दायित्व प्राधिकरणको हो । प्राधिकरणका महानिर्देशकले सञ्चालन गर्न, लगानी उठाउन वा ऋण तिर्न कति कसरत गर्नु भयो ? त्यसपछि प्रधानमन्त्रीले जिम्मेवारी लिइसकेपछि मुख्यसचिवले यसबारे कति फलोअप गर्नुभयो ? सचिवहरूलाई बोलाएर निर्देशन दिए त भोलिदेखि नै उडान सुरु हुन्थ्यो । कुरा गर्ने, काम नगर्ने वातावरण अन्त्य भएपछि मात्रै विमानस्थल चल्छ ।

विमानस्थल चलाउने र अन्य केही पनि विषय प्रदेशको हातमा छैन । न यो विमानस्थलले प्रदेशलाई चिन्छ, न लुम्बिनी विकास कोषले प्रदेशलाई चिन्छ । प्रदेश कहीँ पनि छैन । अब वैशाख पूर्णिमा आउन लाग्यो, प्रधानमन्त्री लुम्बिनी आउनु हुन्छ, बैठक हुन्छ, नास्ता ख्वाएर सबैलाई पठाइदिइन्छ । कोष र विमानस्थलसँग न स्थानीय बासिन्दा, न प्रदेश, न स्थानीय सरकार जोडिन सकेको छ । वैशाख पूर्णिमामा बुद्धको जन्मदिनमा विश्वभर र स्थानीय बौद्धमार्गीलाई बोलाएर ठूलो कार्यक्रम गर्न सकिन्थ्यो तर त्यस्तो हुँदैन । 

धनगढी, दाङ, रुकुमका विमानस्थलसँग भैरहवालाई जोड्न सक्छौं कि सक्दैनौं ? हामी विदेशको कुरा त धेरै गरिरहेका छौं तर स्थानीय पर्यटक नै पर्याप्त आउन सक्छन् । यसलाई हामीले बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारीसँग जोड्न सकेका छैनौं, भित्रै गर्नुपर्ने काम पर्याप्त छन् । तर, सबै कुरा प्रधानमन्त्री, संघसँग ठोकिन्छ । प्रदेशलाई नाजुक बनाइएको छ ।

लुम्बिनीसँग धेरै कुरा जोडिन बाँकी छन् । पहिलो कुरा, यहाँका सर्वसाधारणसँग जोडिन बाँकी छ । बौद्ध मात्र होइन, धेरै हिन्दुहरू पनि लुम्बिनी आउन चाहन्छन् । १८ जना नोबल पुरस्कार विजेता यहाँ आउन खोजेका थिए । तीसँगै २ सय जना लगानीकर्ता आउन खोजेका थिए तर हामीले ल्याउन सकेनौं । केन्द्र सरकारले अधिकार छोड्दा पनि नछोड्ने, गर्न पनि केही नदिने स्थितिको अन्त्य नभएसम्म केही हुँदैन ।

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्री चौधरीद्वारा व्यक्त विचार)

डिल्लीबहादुर चौधरी

Link copied successfully