गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा निर्माण भएर पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्नुका पछाडि राजनीतिक भन्दा पनि कसले के गर्ने भन्ने समस्या हो । देशका नीति निर्माताहरूमा काम गर्ने इच्छाशक्ति नहुँदा यस्तो भएको हो । सबैले गफ गर्ने तर काम नगर्ने प्रवृत्तिको परिणाम यो विमानस्थल हो ।
म मुख्यमन्त्री हुँदादेखि नै विमानस्थल सञ्चालनको कुरा उठेको हो, मैले मुख्यमन्त्री छोडेको पनि ११ महिना भइसक्यो । प्रधानमन्त्री, सरोकारवाला सबैसँग हामीले छलफल गर्यौं तर गर्दिने कसले हो ? प्रधानमन्त्री आफैँले विमानस्थल चलाउने कुरा भएन, अरूलाई मतलबै छैन । अर्थमन्त्रीले भैरहवा आउँदै आफ्नै भाषण दोहोर्याउनु हुन्छ, भाषण दोहोर्याउने होइन, काम गर्नुपर्यो ।
विमानस्थल बनाइसकेपछि सञ्चालन गर्ने पहिलो दायित्व नेपाल नागरिक उड्डयन प्राधिकरणको हो, प्राधिकरणका महानिर्देशकले कति जनालाई बोलाएर यो विषयमा छलफल गर्नुभयो, म उहाँलाई सोध्न चाहन्छु । उहाँ बोलाएको ठाउँमा आएर मिठो कुरा गरिदिनुहुन्छ । तर मिठो कुरा गरेर विमानस्थल पनि चल्दैन, यहाँको विकास पनि हुँदैन ।
अर्थमन्त्री यही क्षेत्रको हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ भन्ने कुरा आएको छ । सबै सकारात्मक नै हुनुहुन्छ भने भोलिदेखि नै विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन कसले रोकेको छ उहाँहरूलाई ? यहाँ अध्यागमन (विभाग) आउन कसले रोकेको छ, वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्न कसले रोकेको छ, परराष्ट्र मन्त्रालयको भिसा दिन कसले रोकेको छ ?
मन्त्रिपरिषद्ले पनि विमानस्थल सञ्चालनसम्बन्धी निर्णय गरेको छ । मन्त्रिपरिषद्कै निर्णय कार्यान्वयन हुँदैन भने यो देश कसरी चलेको छ भन्ने त्यहीँबाट थाहा हुन्छ । विमानस्थल बनाउन लगानी गरिसकेपछि यसलाई सञ्चालन गर्ने पहिलो दायित्व प्राधिकरणको हो । प्राधिकरणका महानिर्देशकले सञ्चालन गर्न, लगानी उठाउन वा ऋण तिर्न कति कसरत गर्नु भयो ? त्यसपछि प्रधानमन्त्रीले जिम्मेवारी लिइसकेपछि मुख्यसचिवले यसबारे कति फलोअप गर्नुभयो ? सचिवहरूलाई बोलाएर निर्देशन दिए त भोलिदेखि नै उडान सुरु हुन्थ्यो । कुरा गर्ने, काम नगर्ने वातावरण अन्त्य भएपछि मात्रै विमानस्थल चल्छ ।
विमानस्थल चलाउने र अन्य केही पनि विषय प्रदेशको हातमा छैन । न यो विमानस्थलले प्रदेशलाई चिन्छ, न लुम्बिनी विकास कोषले प्रदेशलाई चिन्छ । प्रदेश कहीँ पनि छैन । अब वैशाख पूर्णिमा आउन लाग्यो, प्रधानमन्त्री लुम्बिनी आउनु हुन्छ, बैठक हुन्छ, नास्ता ख्वाएर सबैलाई पठाइदिइन्छ । कोष र विमानस्थलसँग न स्थानीय बासिन्दा, न प्रदेश, न स्थानीय सरकार जोडिन सकेको छ । वैशाख पूर्णिमामा बुद्धको जन्मदिनमा विश्वभर र स्थानीय बौद्धमार्गीलाई बोलाएर ठूलो कार्यक्रम गर्न सकिन्थ्यो तर त्यस्तो हुँदैन ।
धनगढी, दाङ, रुकुमका विमानस्थलसँग भैरहवालाई जोड्न सक्छौं कि सक्दैनौं ? हामी विदेशको कुरा त धेरै गरिरहेका छौं तर स्थानीय पर्यटक नै पर्याप्त आउन सक्छन् । यसलाई हामीले बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारीसँग जोड्न सकेका छैनौं, भित्रै गर्नुपर्ने काम पर्याप्त छन् । तर, सबै कुरा प्रधानमन्त्री, संघसँग ठोकिन्छ । प्रदेशलाई नाजुक बनाइएको छ ।
लुम्बिनीसँग धेरै कुरा जोडिन बाँकी छन् । पहिलो कुरा, यहाँका सर्वसाधारणसँग जोडिन बाँकी छ । बौद्ध मात्र होइन, धेरै हिन्दुहरू पनि लुम्बिनी आउन चाहन्छन् । १८ जना नोबल पुरस्कार विजेता यहाँ आउन खोजेका थिए । तीसँगै २ सय जना लगानीकर्ता आउन खोजेका थिए तर हामीले ल्याउन सकेनौं । केन्द्र सरकारले अधिकार छोड्दा पनि नछोड्ने, गर्न पनि केही नदिने स्थितिको अन्त्य नभएसम्म केही हुँदैन ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्री चौधरीद्वारा व्यक्त विचार)
