‘पालिकाले मात्रै रोजगार दिन सक्ने आधार बनेको छैन’

चैत्र १९, २०८१

टीकाराम खड्का 

”The municipality alone has not become a basis for providing employment”

हामीहरू सुरुमै शिक्षालाई सुधार्ने अभियानमा लाग्यौं । शिक्षा सुधारेकै कारण पालिकाले पुरस्कार पाएको छ । देशकै शिक्षामा राम्रो परिणाम ल्याउने पालिकामा हाम्रो पालिकाको नाम आउँछ । मेट्रो कलेजमार्फत साढे ७ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क पढाइरहेका छौं ।

सीटीईभीटी, लुम्बिनी बौद्ध विश्वविद्यालयसँग साझेदारी गरी विभिन्न विषय पढाइरहेका छौं । गरिब तथा विपन्न वर्गका मानिसलाई निःशुल्क रूपमा पढ्ने व्यवस्था मिलाएका छौं । आत्मनिर्भर शिक्षाले रोजगारी सिर्जना गर्छ भन्ने हाम्रो मान्यता हो ।

नगरस्तरीय १५ शैय्याको अस्पताल सुरु गरी विशेषज्ञसहित विपन्न नागरिकले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था गरेका छौं । फोहोर व्यवस्थापनका निम्ति धेरै प्रयत्न गरेका छौं । फोहोरबाट मोहर कमाउने उद्देश्यले फोहोरबाट मल उत्पादन गर्ने र बिक्री गर्न सुरु गरेका छौं । थारु र कुमाल जातिका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले पर्यटन क्षेत्रमा होमस्टे सञ्चालन गरेका छौं । 

अलमल र अन्योल भने शिक्षा क्षेत्रमै छ । संघले दरबन्दी दिँदैन भने प्रदेशको अधिकार छैन । विद्यालयमा योग्य शिक्षकको पदपूर्ति र विषयगत शिक्षक पठाउन हामी बाध्य भएर काजमा सरुवा गरेका छौं । काजमा सरुवा गर्ने अधिकार पालिकालाई छ । संघले जबसम्म शिक्षकको दरबन्दीको सुनिश्चितता र तहगत दरबन्दी उपलब्ध गराउँदैन, तबसम्म हाम्रो स्रोत र साधनलाई नै प्रयोग गर्ने हो ।

हामीले दरबन्दी मिलान र तहगत दरबन्दी मिलान गरेर लामो समयसम्म माध्यमिक विद्यालयमा प्राथमिक विद्यालयका शिक्षकले पढाउने प्रक्रियालाई अन्त्य गरेका छौं । अहिले विषयगत शिक्षकबाट तहगत दरबन्दीको व्यवस्था गरेका छौं । पालिकाको शिक्षालाई माथि उठाउने काम गरेका छौं । 

हरेक सरकारसँग ऋण हुन्छ । जनताको आवश्यकता पूरा गर्न हामीले केही दायित्व बोक्नैपर्छ । सरकारले दायित्व नबोके कसले बोक्छ ? त्यसैले दायित्व बोक्ने क्रममा केही धेरै थियो, अहिले दायित्व शून्य छ । राजस्व वृद्धि गर्न करको दर नभई दायरा बढाएका छौं ।

मैले कार्यकाल सम्हाल्दा वर्षमा १८ देखि २१ करोड राजस्व उठेको देखिन्थ्यो । गत वर्ष हामीले ३० करोड राजस्व उठायौं । यस वर्ष ५५ करोड राजस्व उठाउने लक्ष्य लिएका छौं । करको दर वृद्धि होइन, दायरा वृद्धि गरेका छौं । करको दायरामा नआएकालाई करको दायराभित्र ल्याएका छौं । उद्योग वाणिज्य संघ र हामी मिलेर करको दायरालाई कसरी बढाउन सकिन्छ भनेर समन्वय गरिरहेका छौं ।

अहिलेको मुख्य समस्या युवाहरू बेरोजगार हुनु हो । युवाहरू पलायन हुँदा गाउँ–बस्ती खाली हुँदै गइरहेका छन् । कसरी रोक्न सकिन्छ भन्ने उद्देश्यले युवाहरूलाई उद्यमशीलता प्रोत्साहन तालिम दिने र ऋण दिने योजना बनाएका छौं । कृषिमा संलग्न हुने युवालाई स्थानीय कोषमार्फत ऋण दिइरहेका छौं ।

कृषिमा काम गर्न चाहने तर सहयोग नहुने तुलसीपुरको मात्र नभई देशकै समस्या हो । कहिले दानाको त कहिले घाँसको समस्या हुन्छ, कहिले गाई मर्छन् । यस्ता अनेकौं समस्याले गर्दा उनीहरू भएका व्यवसाय पनि छोडिरहेका छन् । संलग्न पेसा नछोडून् भनेर ऋण प्रवाह गरिरहेका छौं । 

स्थानीय कृषकका लागि फलफूल तथा तरकारी बेच्न पसल राखिदिएका छौं । बिहान ४ देखि बेलुका ८ बजेसम्म सडकमै आफ्नो सामान बिक्री गर्न दिएका छौं । हाट बजार सञ्चालनका लागि दुईवटा संरचना निर्माण भइरहेका छन् । 

रोजगारी सिर्जना नगरेसम्म आर्थिक समृद्धिको आधार नै बन्न सक्दैन । अहिलेको संकट नै बेरोजगारी हो । पर्यटनको सम्भावना भए पनि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावले केही गर्न सकिएको छैन । पालिकाले मात्रै पूर्ण रोजगार दिन सक्ने आधार आजको दिनसम्म बनेको छैन ।

सीप र कला भएको तर प्रवर्द्धनको खाँचो भएको कुमाल र चौधरी समुदायलाई उद्यमशीलताको तालिम दिने र उत्पादित बस्तुको आफैँ बिक्री वितरण गर्ने गरी कार्यक्रम बनाएका छौं । दलित समुदायका मानिसलाई सरसफाइमा काम लगाउने र प्लास्टिकका भाँडाकुडा बनाउने तालिम दिइरहेका छौं । केही पुँजी दिएर उद्यम गर्न पनि प्रोत्साहन गरिरहेका छौं । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’मा तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काद्वारा व्यक्त विचार)

टीकाराम

Link copied successfully