‘विमानस्थल चलाउन अर्थतन्त्र चलायमान बनाउने अवयव सबै सक्रिय हुनुपर्छ’

चैत्र १९, २०८१

प्रदीप अधिकारी

All the components that make the economy run must be activated to run the airport.

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको क्रममा छ, यसले पूर्णता पाउनेबित्तिकै भैरहवा विमानस्थल सञ्चालन नहुने वा उडान घट्छन् कि भन्ने चिन्ता छ । यो चिन्ता नै गलत छ । वस्तुपरक र वास्तविकताभन्दा बाहिर गएर कुरा गर्नुको अर्थ हुँदैन । यस्तो शंका गर्नु आवश्यक छैन ।

काठमाडौं विमानस्थलको निर्माण कार्य अहिले पनि सम्पन्न भएको छैन, यथावत् छ । पहिले यो विमानस्थल २१ घण्टा चल्थ्यो, अहिले रातको १२ बजेसम्म खोलेका छौं, २ घण्टा थप गरिएको हो । उडानको निरन्तरताका सम्बन्धमा कुरा गर्दा, कुनै पनि विमानस्थलको ट्राफिक ‘आइसोलेसन’मा वा आपसमा सम्बन्धन नभएको हुँदैन । 

काठमाडौं, भैरहवा र पोखराको ‘ट्राफिक आइसोलेसन’ वा उनीहरूको एक्लो नभइ समग्र नेपालकै ट्राफिक हो । ट्राफिक कति आउला भनेर पूर्वानुमान गर्दा देशकै कुल गार्हस्थ उत्पादनको वृद्धिसँग ट्राफिकको वृद्धि भरपर्ने भएकाले, त्यसरी नै हेरिन्छ । नेपालमा ट्राफिक नियमन आवश्यक छ, विदेशतिर नियमनमा विभिन्न प्रयोग भइरहेका छन् । टर्कीले स्तानबुलमा नयाँ एपरपोर्ट बनाएपछि राजधानी अन्काराको विमानस्थलमा ‘रेस्ट्रिक्सन्स’ लगाएको छ । 

कूटनीतिक र ‘हाइ–एन्ड फ्लाइट’बाहेक ‘ट्रान्जिट’, ‘लो–कस्ट क्याडेट’, ‘कार्गो फ्लाइट’ र अन्य ‘कमर्सियल फ्लाइट’ नयाँ विमानस्थलबाट उडाइरहेको छ । आज उसले ११ करोडभन्दा बढी यात्रु वार्षिक रूपमा ‘हृयान्डल’ गरेको छ । चीनले पनि नयाँ विमानस्थल खोलेपछि पुरानो विमानस्थलको ‘स्टल’लाई लिलामीमा राखिदिएको छ । जसले बढी पैसा तिर्छ, त्यसलाई ‘स्टल’ दिइन्छ ।

सस्तो चाहनेहरू नयाँ विमानस्थलमा जान्छन् । हामीकहाँ पनि यस्ता नियमन आवश्यक भइसक्यो । मैले बारम्बार भन्ने गरेको कुरा नै, ‘ट्राफिक’ भनेको पोखरा, भैरहवा वा काठमाडौं नभइ देशकै मामिला भएकाले यसलाई नियमन गर्नुपर्छ । नियमन गरे हाम्रा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल चल्छन् ।

देशभरबाट हाम्रा दाजुभाइ–दिदीबहिनीहरू वैदेशिक रोजगारीमा जानुहुन्छ । पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि उहाँहरूलाई काठमाडौं नै नगइ नहुने बाध्यता छ । काठमाडौंमा यातायात, होटल, खानाका लागि महँगो खर्च गर्नु परिरहेको छ, भिसा सेन्टर, तालिम सेन्टर पनि काठमाडौंकै विभिन्न ठाउँमा छन् । यो सबैमा मान्छेहरूले दुःख पाइरहेका छन् ।

‘वर्किङ भिसा’ लिएका नारायणीपारिका नेपालीले भैरहवाबाटै उड्नुपर्ने ‘रेस्ट्रिक्सन’ नलाएसम्म यहाँको विमानस्थल चलायमान हुँदैन । कि त यहाँ टन्नै बिजनेस हुनुपर्यो ! बिजनेस बढाउन नसकिने पनि होइन । जस्तो– विश्वमा ५३ करोड बुद्ध धर्मावलम्बी छन् । यसको ५० प्रतिशत चीनमै छन् । नेपालमा आउने १ लाख ४७ हजार मात्रै छन् र यो पनि बढीजसो भारतबाट आउँछन् । कम्बोडियामा अहिले बुद्धको भाँच्चिएको नाक हेर्न ४० लाख पर्यटक गइरहेका छन् जबकि त्यहाँ न बुद्ध जन्मिनु भयो न बुद्धत्व प्राप्त गर्नुभयो । यो जनसंख्यालाई नेपाल भित्र्याउन पहल गर्नुपर्छ । 

त्यसकारण, विमानस्थल भनेको एक जनाले चलाउने कुरा होइन, यसमा जीडीपीका सबै अंग जोडिन्छन् । अर्थतन्त्रलाई चलायमान गर्नसक्ने अवयव कति सक्रिए भए, त्यसले पनि विमानस्थल सञ्चालनमा अर्थ राख्छ । यसलाई समग्रमा हेर्नुपर्छ । यसअघि काठमाडौंको उडान काटेर भैरहवामा ट्राफिक आएका होइनन् । भैरहवामा बिजनेस बढाउनु पर्‍यो, भिसा सेन्टर बनाउनु पर्‍यो । यस्ता विकल्प नदिएसम्म कसरी विमानस्थल चल्छ ! यसलाई चलाउने उपाय भनेको ‘रेगुलेसन’ वा ‘रेस्ट्रिक्सन’सँगै लुम्बिनीको प्रचार–प्रसार नै हो । 

अबका दिनमा हामीले लुम्बिनीको ‘प्रमोसन’मा जोड दिऊँ । बिजनेस बढाउने तरिकाहरू सोचौं । प्राधिकरणको नेतृत्वका रूपमा मेरा लागि भैरहवा, पोखरा, काठमाडौं एकै हुन्, समान हुन् । एक ठाउँ चल्दा खुसी र अर्को नचल्दा सबैभन्दा दुःखी म नै हुन्छु । काठमाडौं पहिला राती २ बजेसम्म विमानस्थल चल्थ्यो, अहिले १२ बजेपछि उडान बन्द गरिदिएका छौं । यसको उद्देश्य नै काडमाडौंको ‘स्पिल ओभर इफेक्ट’ भैरहवमा जाओस् भनेर हो । भैरहवा काठमाडौंभन्दा समृद्ध विमानस्थल हो । सुविधा, पूर्वाधार सबै हिसाबले भैरहवालाई कुनै कमी हुन दिइएको छैन । 

सबै मिलेर यसको सक्दो प्रचार गरौं । लुम्बिनी विकास कोषको जिम्मा लिएर प्रचारप्रसार गर्न म सक्दिनँ, उद्योग खोल्न पनि सक्दिनँ । विमानस्थल ‘डिफंक्ट’ भएर जहाज रोकियो, डाइभर्ट भयो भने मलाई दोष लगाउनूस् तर मलाई नै दोष लगाएर विमानस्थलन चलेन भन्नु गलत हो । नियामकका रूपमा गर्नुपर्ने नीतिगत पहल गरेकै छौं । भैरहवामा उडान गर्दा ‘ल्यान्डिङ’, ‘पार्किङ’, ‘नेभिगेसन’, ‘प्यासेन्जर सर्भिस चार्ज’ केही पनि लिएको छैन । यो विमानस्थललाई प्रवर्द्धन गरौं भनेर नै २०८३ सालसम्म यस्तो महसुल नलिने भनेका छौं । यसरी छुट दिँदा टिकटको मूल्य सस्तो हुन्छ भन्ने अपेक्षा हो, यी प्रयासलाई बिर्सनु भएन । 

काठमाडौंको विमानस्थलमा अब क्षमता थप्ने अवस्था छैन, यो ‘स्याचुरेसन’मा पुगिसक्यो । भोलिका दिनमा ‘एयरलक्ड’ नहोस् भनेर रणनीतिक रूपमा पोखरा र भैरहवामा विमानस्थल बनाएका हौं । अब यसको बिजनेस बढाऊँ, ‘प्रमोसन’ र ‘रेगुलेसन’मा जोड दियौं भने भैरहवा चल्छ । 

पछिल्ला वर्षमा हामीले देशभर विमानस्थलको संख्या थप्ने र स्तरोन्नतिका काम प्रशस्तै गर्‍यौं । एयरपोर्ट बनाइरहँदा वा स्तरोन्नति गरिरहँदा जहाज पनि थपिनुपर्छ भन्ने विषय चाहिँ हामीले बिर्सेकै हो । नेपाल मात्रै यस्तो देश हो, जहाँ विमानस्थल बढ्यो तर जहाजको संख्या भने घट्यो ।

हामीसँग अहिले जम्मा ८ वटा अन्तर्राष्ट्रिय जहाज छन् । कम्तीमा २० वा १५ वटा विमान भइदिएको भए हाम्रा विमानस्थल आफैँ चल्थे, विदेशको भर पर्नु पर्दैन थियो । उड्डयन क्षेत्र भनेको विमानस्थल, विमान र हवाई रुट हो । हामीसँग विमानस्थल र हवाई रुट त भयो तर पर्याप्त विमान भएनन् । हामीलाई अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्बाध सञ्चालनमा ल्याउन थप नेपाली ध्वजावाहक चाहिएको छ । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीद्वारा व्यक्त विचार)

प्रदीप अधिकारी

Link copied successfully