काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको क्रममा छ, यसले पूर्णता पाउनेबित्तिकै भैरहवा विमानस्थल सञ्चालन नहुने वा उडान घट्छन् कि भन्ने चिन्ता छ । यो चिन्ता नै गलत छ । वस्तुपरक र वास्तविकताभन्दा बाहिर गएर कुरा गर्नुको अर्थ हुँदैन । यस्तो शंका गर्नु आवश्यक छैन ।
काठमाडौं विमानस्थलको निर्माण कार्य अहिले पनि सम्पन्न भएको छैन, यथावत् छ । पहिले यो विमानस्थल २१ घण्टा चल्थ्यो, अहिले रातको १२ बजेसम्म खोलेका छौं, २ घण्टा थप गरिएको हो । उडानको निरन्तरताका सम्बन्धमा कुरा गर्दा, कुनै पनि विमानस्थलको ट्राफिक ‘आइसोलेसन’मा वा आपसमा सम्बन्धन नभएको हुँदैन ।
काठमाडौं, भैरहवा र पोखराको ‘ट्राफिक आइसोलेसन’ वा उनीहरूको एक्लो नभइ समग्र नेपालकै ट्राफिक हो । ट्राफिक कति आउला भनेर पूर्वानुमान गर्दा देशकै कुल गार्हस्थ उत्पादनको वृद्धिसँग ट्राफिकको वृद्धि भरपर्ने भएकाले, त्यसरी नै हेरिन्छ । नेपालमा ट्राफिक नियमन आवश्यक छ, विदेशतिर नियमनमा विभिन्न प्रयोग भइरहेका छन् । टर्कीले स्तानबुलमा नयाँ एपरपोर्ट बनाएपछि राजधानी अन्काराको विमानस्थलमा ‘रेस्ट्रिक्सन्स’ लगाएको छ ।
कूटनीतिक र ‘हाइ–एन्ड फ्लाइट’बाहेक ‘ट्रान्जिट’, ‘लो–कस्ट क्याडेट’, ‘कार्गो फ्लाइट’ र अन्य ‘कमर्सियल फ्लाइट’ नयाँ विमानस्थलबाट उडाइरहेको छ । आज उसले ११ करोडभन्दा बढी यात्रु वार्षिक रूपमा ‘हृयान्डल’ गरेको छ । चीनले पनि नयाँ विमानस्थल खोलेपछि पुरानो विमानस्थलको ‘स्टल’लाई लिलामीमा राखिदिएको छ । जसले बढी पैसा तिर्छ, त्यसलाई ‘स्टल’ दिइन्छ ।
सस्तो चाहनेहरू नयाँ विमानस्थलमा जान्छन् । हामीकहाँ पनि यस्ता नियमन आवश्यक भइसक्यो । मैले बारम्बार भन्ने गरेको कुरा नै, ‘ट्राफिक’ भनेको पोखरा, भैरहवा वा काठमाडौं नभइ देशकै मामिला भएकाले यसलाई नियमन गर्नुपर्छ । नियमन गरे हाम्रा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल चल्छन् ।
देशभरबाट हाम्रा दाजुभाइ–दिदीबहिनीहरू वैदेशिक रोजगारीमा जानुहुन्छ । पोखरा, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि उहाँहरूलाई काठमाडौं नै नगइ नहुने बाध्यता छ । काठमाडौंमा यातायात, होटल, खानाका लागि महँगो खर्च गर्नु परिरहेको छ, भिसा सेन्टर, तालिम सेन्टर पनि काठमाडौंकै विभिन्न ठाउँमा छन् । यो सबैमा मान्छेहरूले दुःख पाइरहेका छन् ।
‘वर्किङ भिसा’ लिएका नारायणीपारिका नेपालीले भैरहवाबाटै उड्नुपर्ने ‘रेस्ट्रिक्सन’ नलाएसम्म यहाँको विमानस्थल चलायमान हुँदैन । कि त यहाँ टन्नै बिजनेस हुनुपर्यो ! बिजनेस बढाउन नसकिने पनि होइन । जस्तो– विश्वमा ५३ करोड बुद्ध धर्मावलम्बी छन् । यसको ५० प्रतिशत चीनमै छन् । नेपालमा आउने १ लाख ४७ हजार मात्रै छन् र यो पनि बढीजसो भारतबाट आउँछन् । कम्बोडियामा अहिले बुद्धको भाँच्चिएको नाक हेर्न ४० लाख पर्यटक गइरहेका छन् जबकि त्यहाँ न बुद्ध जन्मिनु भयो न बुद्धत्व प्राप्त गर्नुभयो । यो जनसंख्यालाई नेपाल भित्र्याउन पहल गर्नुपर्छ ।
त्यसकारण, विमानस्थल भनेको एक जनाले चलाउने कुरा होइन, यसमा जीडीपीका सबै अंग जोडिन्छन् । अर्थतन्त्रलाई चलायमान गर्नसक्ने अवयव कति सक्रिए भए, त्यसले पनि विमानस्थल सञ्चालनमा अर्थ राख्छ । यसलाई समग्रमा हेर्नुपर्छ । यसअघि काठमाडौंको उडान काटेर भैरहवामा ट्राफिक आएका होइनन् । भैरहवामा बिजनेस बढाउनु पर्यो, भिसा सेन्टर बनाउनु पर्यो । यस्ता विकल्प नदिएसम्म कसरी विमानस्थल चल्छ ! यसलाई चलाउने उपाय भनेको ‘रेगुलेसन’ वा ‘रेस्ट्रिक्सन’सँगै लुम्बिनीको प्रचार–प्रसार नै हो ।
अबका दिनमा हामीले लुम्बिनीको ‘प्रमोसन’मा जोड दिऊँ । बिजनेस बढाउने तरिकाहरू सोचौं । प्राधिकरणको नेतृत्वका रूपमा मेरा लागि भैरहवा, पोखरा, काठमाडौं एकै हुन्, समान हुन् । एक ठाउँ चल्दा खुसी र अर्को नचल्दा सबैभन्दा दुःखी म नै हुन्छु । काठमाडौं पहिला राती २ बजेसम्म विमानस्थल चल्थ्यो, अहिले १२ बजेपछि उडान बन्द गरिदिएका छौं । यसको उद्देश्य नै काडमाडौंको ‘स्पिल ओभर इफेक्ट’ भैरहवमा जाओस् भनेर हो । भैरहवा काठमाडौंभन्दा समृद्ध विमानस्थल हो । सुविधा, पूर्वाधार सबै हिसाबले भैरहवालाई कुनै कमी हुन दिइएको छैन ।
सबै मिलेर यसको सक्दो प्रचार गरौं । लुम्बिनी विकास कोषको जिम्मा लिएर प्रचारप्रसार गर्न म सक्दिनँ, उद्योग खोल्न पनि सक्दिनँ । विमानस्थल ‘डिफंक्ट’ भएर जहाज रोकियो, डाइभर्ट भयो भने मलाई दोष लगाउनूस् तर मलाई नै दोष लगाएर विमानस्थलन चलेन भन्नु गलत हो । नियामकका रूपमा गर्नुपर्ने नीतिगत पहल गरेकै छौं । भैरहवामा उडान गर्दा ‘ल्यान्डिङ’, ‘पार्किङ’, ‘नेभिगेसन’, ‘प्यासेन्जर सर्भिस चार्ज’ केही पनि लिएको छैन । यो विमानस्थललाई प्रवर्द्धन गरौं भनेर नै २०८३ सालसम्म यस्तो महसुल नलिने भनेका छौं । यसरी छुट दिँदा टिकटको मूल्य सस्तो हुन्छ भन्ने अपेक्षा हो, यी प्रयासलाई बिर्सनु भएन ।
काठमाडौंको विमानस्थलमा अब क्षमता थप्ने अवस्था छैन, यो ‘स्याचुरेसन’मा पुगिसक्यो । भोलिका दिनमा ‘एयरलक्ड’ नहोस् भनेर रणनीतिक रूपमा पोखरा र भैरहवामा विमानस्थल बनाएका हौं । अब यसको बिजनेस बढाऊँ, ‘प्रमोसन’ र ‘रेगुलेसन’मा जोड दियौं भने भैरहवा चल्छ ।
पछिल्ला वर्षमा हामीले देशभर विमानस्थलको संख्या थप्ने र स्तरोन्नतिका काम प्रशस्तै गर्यौं । एयरपोर्ट बनाइरहँदा वा स्तरोन्नति गरिरहँदा जहाज पनि थपिनुपर्छ भन्ने विषय चाहिँ हामीले बिर्सेकै हो । नेपाल मात्रै यस्तो देश हो, जहाँ विमानस्थल बढ्यो तर जहाजको संख्या भने घट्यो ।
हामीसँग अहिले जम्मा ८ वटा अन्तर्राष्ट्रिय जहाज छन् । कम्तीमा २० वा १५ वटा विमान भइदिएको भए हाम्रा विमानस्थल आफैँ चल्थे, विदेशको भर पर्नु पर्दैन थियो । उड्डयन क्षेत्र भनेको विमानस्थल, विमान र हवाई रुट हो । हामीसँग विमानस्थल र हवाई रुट त भयो तर पर्याप्त विमान भएनन् । हामीलाई अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्बाध सञ्चालनमा ल्याउन थप नेपाली ध्वजावाहक चाहिएको छ ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीद्वारा व्यक्त विचार)
