‘कृत्रिम जलाशय बनाएर बाह्रै महिना सिंचाइको व्यवस्था मिलाएका छौं’

चैत्र १९, २०८१

नरुलाल चौधरी

”We have arranged an irrigation system for twelve months by making an artificial reservoir”

घोराहीमा सुख्खा क्षेत्र र आकाशेपानीमा मात्रै खेतीपाती गर्नुपर्ने बाध्यता थियो । पानी जम्मा गरेपछि विकास, रोजगारी, समृद्धि सिर्जना गर्न सकिन्छ भनेर अघि बढ्यौं । घोराहीमा अहिले ४३ वटा कृत्रिम जलाशय निर्माण गरी सतहगत र लिफ्टिङ र भूमिगत पानी पुनर्भरणसमेत भइरहेको छ । ती जलाशयहरूमा माछा छन् । पोखराबाट पनि मान्छे ल्याएर माछा मार्दा ११ किलोसम्मको माछा पाएका छौं ।

पर्यटकहरू जलाशय हेर्न आउँदा होटल तथा पसल चलेका छन् । विदेश जान चाहने युवाहरू अहिले घरमै तरकारीदेखि विभिन्न खेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन् । हामीकहाँबाट त पहिलाजस्तो विदेश जान छोडिसके । जलाशयको पानीले जमिन रिचार्ज भइहेकाले कुवा र डिप बोरिङहरू सुकेका छैनन् ।

ठूला खोलाहरू थुन्न सक्यो भने पानी, ढुंगा, गिट्टी बालुवाको सदुपयोग गर्न सक्छौं । खोलालाई अगाडिबाट थुन्यौं भने गेग्रानहरू अडिने भएकाले १२ महिना ढुंगा, गिट्टी र बालुवाको प्रयोग गर्न सक्छौं । ड्याम बनाएर माछा पाल्न सकिन्छ । त्यसबाट रोजगारी सिर्जना हुनेका साथै मानिसलाई आत्मनिर्भर बनाउन सकिन्छ । सरसफाइको क्षेत्रमा फोहरदेखि मोहर बनाउन सकिने भएकाले गल्ने फोहरबाट मल र ग्यास उत्पादनतर्फ लागेका छौं । नगल्ने फोहरलाई पुनः प्रयोग गर्नेदेखि छुट्याउने लगायतमा ध्यान दिएका छौं । घरमै गल्ने र नगल्ने फोहर छुट्याउन धेरै टोल विकास संस्थामार्फत काम भइरहेको छ । 

हाम्रो पालिकाका सडकमा गोबर भेटिँदैन । सडकमा छाडिने गाईबस्तुलाई चाक्लिघाटमा लगेर व्यवस्थापन गरेका छौं । सडकलाई छाडा गाईबस्तुमुक्त बनाएका छौं । समाज कल्याण संस्थासँग समन्वय गरी सडक मानवमुक्त गरेका छौं । सडकमा मागेर हिँड्ने, घरघरमा मागेर हिँड्नेलाई व्यवस्थापन गरेका छौं । बालमैत्री नगर घोषणा गरेका छौं । कुनै पनि अनाथ बालबालिकाले बाँच्नका लागि चोरीचकारी गर्नुपर्ने अवस्था छैन । होटलहरूमा बच्चाहरू काम गर्ने वातावरण छैन र बालश्रममुक्त बनाएका छौं । शान्ति बालगृहसँग समन्वय, स्वास्थ्य, शिक्षादेखि सबैको व्यवस्था गरेका छौं । 

घोराहीकै कुनै गाउँमा डोकामा बिरामी बोक्नुपर्ने अवस्था थियो । पहिला सुत्केरी महिला दिदीबहिनीलाई ल्याउन अप्ठ्यारो थियो । बसेरीलगायत धेरै ठाउँमा बाटोघाटो पुर्‍याएका छौं । हरेक टोलटोलमा एम्बुलेन्स जान सक्ने अवस्था छ । घोराहीले स्वास्थ्य नै समृद्धिको आधार हो भन्ने कुरा बुझेको छ । नागरिकको स्वास्थ्यका लागि पालिकाभित्र जनसुकै केसमा रगत चाहियो भने त्यो निःशुल्क उपलब्ध गराएका छौं । 

मोतीबिन्दुको अपरेसन निःशुल्क हुन्छ । ज्येष्ठ नागरिकलाई मासिक रूपमा घरदैलोमा गएर स्वास्थ्य जाँच गरिरहेका छौं । महिला पाठेघरको क्यान्सरबाट पीडित छन् । पाठेघरको मुखको क्यान्सर जाँच निःशुल्क हुन्छ । नियमित प्रत्येक हप्ताको बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थागत परिवार नियोजन कार्यक्रमअन्तर्गत पालिकाका कर्मचारीले नियमित जाँच गर्छन् । 

सरसफाइतर्फ अन्य चारवटा पालिकाको तुलनामा कम दर राखेर राजस्व उठाइरहेका छौं । यद्यपि, सरसफाइको क्षेत्रमा केही गुनासा अवश्य छन् । नागरिकलाई दर वृद्धि नगरी नियमन गर्ने काम भएको छ । नक्सापास गरेको छ भने करको दरमा सहुलियत छ । पहिले त घरको नक्सापास नगरेकाले नै राजस्वमा छुट पाइरहेको थियो । निजी क्षेत्रलाई टेन्डर दिइएकाले ठेकेदारले उठाएको छ । पहिला निःशुल्क लाभ लिँदै आएकाले नै आज गुनासा गरिरहेका छन् । पहिला सरसफाइमा ठूलो खर्च हुन्थ्यो भने आज त्यसैबाट आम्दानी गरिरहेका छौं ।

स्थानीय सरकारले आफ्नो कार्यकालमा पूरा गर्न सकिने काम पूरा गर्नुपर्छ । सडकको हिसाबले प्रत्येक वडालाई पिच सडकमा जोड्ने र नगरपालिकाको कार्यालय आउँदा पिचै पिच सडकबाट आउने वातावरण बनाउने उद्देश्य थियो । हाम्रो एउटा वडा पूरै पहाडी क्षेत्रमा पर्छ ।

जहाँ सडकका ट्याकहरू पनि थिएनन् । आफू निर्वाचित भएपछि मसिना कटुवाखोला हुँदै सैगा पुग्ने बाटोको ट्याक खोल्ने काम गरेँ । त्यसबाहेक १८ वडादेखि नगरपालिका आउने सडक पिच छ । कोही पनि मान्छे आफ्नो वडाबाट हिलोमाटोमा हिँडेर नगरपालिका आउनुपर्ने बाध्यता छैन । सडकको ट्रयाक छैन र एम्बुलेन्स जाँदैन भन्ने अवस्था छैन । वर्षातका कारण बाटो अवरोध होला, तर बाटो नै पुगेको छैन भन्ने अवस्था छैन ।

संघ र प्रदेश सरकारले समयमा काम नगर्दा जनगुनासो धेरै हुने र स्थानीय तहका प्रमुखहरूले ती गुनासा सुन्नुपर्ने अवस्था अझै पनि छ । सिस्टममा विकास नहुने कुराले समस्या निम्त्याएको छ । सरकार पटक–पटक परिवर्तन भइरहेको छ । एउटा मन्त्रीले पारेको ठेक्का र ठेक्का भएकामा अर्को सरकार आएपछि बजेट घटेर आउने समस्या यथावत् छ । बाटो नै प्वाल परेर जान्छ । बाटो नै अवरुद्ध हुन्छ । त्यहाँ स्थानीय सरकारले काम गर्न सक्दैन । प्रदेश र संघ सरकारले काम गर्ने अवस्था रहन्छ । यो नै देश विकासको समस्या हो ।

संघ र प्रदेशले सुरु गरेका काम पूरा गर्ने र पालिकाले पनि आफ्नो काम गर्नुपर्छ । संघ, प्रदेश र पालिकाले मैले गरेँ भनेर जस लिने भन्दा देशभरिको सुशासन, विकास र समृद्धि हाम्रो हो भन्न जरुरी छ । त्यसो भएन भने एकले अर्कोलाई आरोप लगाउने काम हुन्छ । तीनवटै सरकार सक्रिय भएर अघि बढ्न जरुरी छ । संविधानले स्थानीय सरकारलाई दिएको २२ वटा अधिकार पूर्ण रूपमा कार्यान्वयनमा लैजान पालिकाहरू लागेका छन् ।

दलित समुदायलाई माथि उकास्नका लागि राज्यले कानुन बनाएको छ । राज्य वा सरकारमा अपनत्व हुनु आमनागरिकको अधिकार हो । एक जना महिला प्रत्येक वडामा सहभागी हुँदैमा सबै दलितको प्रतिनिधित्व र विकास भयो भन्ने हुँदैन । आधारभूत विषयमा बजेट छुट्याउने र कार्यक्रम ल्याउने प्रमुख विषय हो । भूमिसम्बन्धी समस्या, रोजगार, विकास र अन्य विविध समस्या अन्त्य गर्ने प्रमुख विषय हो । राज्य र संविधानले दलितका लागि सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार प्रतिबद्ध छ । 

शैक्षिक सुधार विकासको मुख्य आधार हो । ९३ वटा सामुदायिक विद्यालय र ७६ वटा संस्थागत विद्यालय दुवै पालिकाको अधिकारभित्र पर्छन् । घोराहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो र शिक्षकको संख्या बढ्दो थियो । अहिले विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने काम गर्‍यौं ।

कुनै बेलाको प्राथमिक विद्यालय अहिले माध्यमिक विद्यालय भइसक्यो । तर नेतृत्व प्राथमिक विद्यालयको शिक्षकले गरिरहेको थियो । हामी निर्वाचित भएपछि तहगत रूपमा प्रधानाध्यापक व्यवस्थापन गर्‍यौं । शैक्षिक सुधारका लागि विद्यार्थीको संख्याभन्दा गुणस्तरमा जोड दियौं । नमुना विद्यालय बनाउन हामी अघि बढ्यौं । 

कक्षा ८ को परीक्षा अन्तरविद्यालयस्तरीय सुरु गरेका छौं । विद्यार्थीहरूमा म कमजोर छु, मैले पढ्नु पर्छ भन्ने मानसिकता बढाउन जरुरी छ । शिक्षकलाई पनि आफ्नो विषयमा विद्यार्थी कमजोर छ, थप पढाउनु पर्छ भन्ने वातावरण तयार गरिरहेका छौं ।

युवाहरूलाई अनुशासित बनाउनुपर्ने र सही बाटोतिर लगाउनु पर्छ भनेर मेयर कप फुटबल र उपमेयर कप भलिबल आयोजना गर्दै आएका छौं । खेलकुद विकास समिति विकास गरी धेरै विधाका खेलहरू गराइरहेका छौं । घोराही उपमहानगरपालिका खेलकुद हबका रूपमा विकास भइरहेको छ । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’मा घोराही उपमहानगरपालिका प्रमुख चौधरीद्वारा व्यक्त विचार)

नरुलाल चौधरी

Link copied successfully