घोराहीमा सुख्खा क्षेत्र र आकाशेपानीमा मात्रै खेतीपाती गर्नुपर्ने बाध्यता थियो । पानी जम्मा गरेपछि विकास, रोजगारी, समृद्धि सिर्जना गर्न सकिन्छ भनेर अघि बढ्यौं । घोराहीमा अहिले ४३ वटा कृत्रिम जलाशय निर्माण गरी सतहगत र लिफ्टिङ र भूमिगत पानी पुनर्भरणसमेत भइरहेको छ । ती जलाशयहरूमा माछा छन् । पोखराबाट पनि मान्छे ल्याएर माछा मार्दा ११ किलोसम्मको माछा पाएका छौं ।
पर्यटकहरू जलाशय हेर्न आउँदा होटल तथा पसल चलेका छन् । विदेश जान चाहने युवाहरू अहिले घरमै तरकारीदेखि विभिन्न खेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन् । हामीकहाँबाट त पहिलाजस्तो विदेश जान छोडिसके । जलाशयको पानीले जमिन रिचार्ज भइहेकाले कुवा र डिप बोरिङहरू सुकेका छैनन् ।
ठूला खोलाहरू थुन्न सक्यो भने पानी, ढुंगा, गिट्टी बालुवाको सदुपयोग गर्न सक्छौं । खोलालाई अगाडिबाट थुन्यौं भने गेग्रानहरू अडिने भएकाले १२ महिना ढुंगा, गिट्टी र बालुवाको प्रयोग गर्न सक्छौं । ड्याम बनाएर माछा पाल्न सकिन्छ । त्यसबाट रोजगारी सिर्जना हुनेका साथै मानिसलाई आत्मनिर्भर बनाउन सकिन्छ । सरसफाइको क्षेत्रमा फोहरदेखि मोहर बनाउन सकिने भएकाले गल्ने फोहरबाट मल र ग्यास उत्पादनतर्फ लागेका छौं । नगल्ने फोहरलाई पुनः प्रयोग गर्नेदेखि छुट्याउने लगायतमा ध्यान दिएका छौं । घरमै गल्ने र नगल्ने फोहर छुट्याउन धेरै टोल विकास संस्थामार्फत काम भइरहेको छ ।
हाम्रो पालिकाका सडकमा गोबर भेटिँदैन । सडकमा छाडिने गाईबस्तुलाई चाक्लिघाटमा लगेर व्यवस्थापन गरेका छौं । सडकलाई छाडा गाईबस्तुमुक्त बनाएका छौं । समाज कल्याण संस्थासँग समन्वय गरी सडक मानवमुक्त गरेका छौं । सडकमा मागेर हिँड्ने, घरघरमा मागेर हिँड्नेलाई व्यवस्थापन गरेका छौं । बालमैत्री नगर घोषणा गरेका छौं । कुनै पनि अनाथ बालबालिकाले बाँच्नका लागि चोरीचकारी गर्नुपर्ने अवस्था छैन । होटलहरूमा बच्चाहरू काम गर्ने वातावरण छैन र बालश्रममुक्त बनाएका छौं । शान्ति बालगृहसँग समन्वय, स्वास्थ्य, शिक्षादेखि सबैको व्यवस्था गरेका छौं ।
घोराहीकै कुनै गाउँमा डोकामा बिरामी बोक्नुपर्ने अवस्था थियो । पहिला सुत्केरी महिला दिदीबहिनीलाई ल्याउन अप्ठ्यारो थियो । बसेरीलगायत धेरै ठाउँमा बाटोघाटो पुर्याएका छौं । हरेक टोलटोलमा एम्बुलेन्स जान सक्ने अवस्था छ । घोराहीले स्वास्थ्य नै समृद्धिको आधार हो भन्ने कुरा बुझेको छ । नागरिकको स्वास्थ्यका लागि पालिकाभित्र जनसुकै केसमा रगत चाहियो भने त्यो निःशुल्क उपलब्ध गराएका छौं ।
मोतीबिन्दुको अपरेसन निःशुल्क हुन्छ । ज्येष्ठ नागरिकलाई मासिक रूपमा घरदैलोमा गएर स्वास्थ्य जाँच गरिरहेका छौं । महिला पाठेघरको क्यान्सरबाट पीडित छन् । पाठेघरको मुखको क्यान्सर जाँच निःशुल्क हुन्छ । नियमित प्रत्येक हप्ताको बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थागत परिवार नियोजन कार्यक्रमअन्तर्गत पालिकाका कर्मचारीले नियमित जाँच गर्छन् ।
सरसफाइतर्फ अन्य चारवटा पालिकाको तुलनामा कम दर राखेर राजस्व उठाइरहेका छौं । यद्यपि, सरसफाइको क्षेत्रमा केही गुनासा अवश्य छन् । नागरिकलाई दर वृद्धि नगरी नियमन गर्ने काम भएको छ । नक्सापास गरेको छ भने करको दरमा सहुलियत छ । पहिले त घरको नक्सापास नगरेकाले नै राजस्वमा छुट पाइरहेको थियो । निजी क्षेत्रलाई टेन्डर दिइएकाले ठेकेदारले उठाएको छ । पहिला निःशुल्क लाभ लिँदै आएकाले नै आज गुनासा गरिरहेका छन् । पहिला सरसफाइमा ठूलो खर्च हुन्थ्यो भने आज त्यसैबाट आम्दानी गरिरहेका छौं ।
स्थानीय सरकारले आफ्नो कार्यकालमा पूरा गर्न सकिने काम पूरा गर्नुपर्छ । सडकको हिसाबले प्रत्येक वडालाई पिच सडकमा जोड्ने र नगरपालिकाको कार्यालय आउँदा पिचै पिच सडकबाट आउने वातावरण बनाउने उद्देश्य थियो । हाम्रो एउटा वडा पूरै पहाडी क्षेत्रमा पर्छ ।
जहाँ सडकका ट्याकहरू पनि थिएनन् । आफू निर्वाचित भएपछि मसिना कटुवाखोला हुँदै सैगा पुग्ने बाटोको ट्याक खोल्ने काम गरेँ । त्यसबाहेक १८ वडादेखि नगरपालिका आउने सडक पिच छ । कोही पनि मान्छे आफ्नो वडाबाट हिलोमाटोमा हिँडेर नगरपालिका आउनुपर्ने बाध्यता छैन । सडकको ट्रयाक छैन र एम्बुलेन्स जाँदैन भन्ने अवस्था छैन । वर्षातका कारण बाटो अवरोध होला, तर बाटो नै पुगेको छैन भन्ने अवस्था छैन ।
संघ र प्रदेश सरकारले समयमा काम नगर्दा जनगुनासो धेरै हुने र स्थानीय तहका प्रमुखहरूले ती गुनासा सुन्नुपर्ने अवस्था अझै पनि छ । सिस्टममा विकास नहुने कुराले समस्या निम्त्याएको छ । सरकार पटक–पटक परिवर्तन भइरहेको छ । एउटा मन्त्रीले पारेको ठेक्का र ठेक्का भएकामा अर्को सरकार आएपछि बजेट घटेर आउने समस्या यथावत् छ । बाटो नै प्वाल परेर जान्छ । बाटो नै अवरुद्ध हुन्छ । त्यहाँ स्थानीय सरकारले काम गर्न सक्दैन । प्रदेश र संघ सरकारले काम गर्ने अवस्था रहन्छ । यो नै देश विकासको समस्या हो ।
संघ र प्रदेशले सुरु गरेका काम पूरा गर्ने र पालिकाले पनि आफ्नो काम गर्नुपर्छ । संघ, प्रदेश र पालिकाले मैले गरेँ भनेर जस लिने भन्दा देशभरिको सुशासन, विकास र समृद्धि हाम्रो हो भन्न जरुरी छ । त्यसो भएन भने एकले अर्कोलाई आरोप लगाउने काम हुन्छ । तीनवटै सरकार सक्रिय भएर अघि बढ्न जरुरी छ । संविधानले स्थानीय सरकारलाई दिएको २२ वटा अधिकार पूर्ण रूपमा कार्यान्वयनमा लैजान पालिकाहरू लागेका छन् ।
दलित समुदायलाई माथि उकास्नका लागि राज्यले कानुन बनाएको छ । राज्य वा सरकारमा अपनत्व हुनु आमनागरिकको अधिकार हो । एक जना महिला प्रत्येक वडामा सहभागी हुँदैमा सबै दलितको प्रतिनिधित्व र विकास भयो भन्ने हुँदैन । आधारभूत विषयमा बजेट छुट्याउने र कार्यक्रम ल्याउने प्रमुख विषय हो । भूमिसम्बन्धी समस्या, रोजगार, विकास र अन्य विविध समस्या अन्त्य गर्ने प्रमुख विषय हो । राज्य र संविधानले दलितका लागि सुनिश्चित गरेका अधिकार कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार प्रतिबद्ध छ ।
शैक्षिक सुधार विकासको मुख्य आधार हो । ९३ वटा सामुदायिक विद्यालय र ७६ वटा संस्थागत विद्यालय दुवै पालिकाको अधिकारभित्र पर्छन् । घोराहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो र शिक्षकको संख्या बढ्दो थियो । अहिले विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने काम गर्यौं ।
कुनै बेलाको प्राथमिक विद्यालय अहिले माध्यमिक विद्यालय भइसक्यो । तर नेतृत्व प्राथमिक विद्यालयको शिक्षकले गरिरहेको थियो । हामी निर्वाचित भएपछि तहगत रूपमा प्रधानाध्यापक व्यवस्थापन गर्यौं । शैक्षिक सुधारका लागि विद्यार्थीको संख्याभन्दा गुणस्तरमा जोड दियौं । नमुना विद्यालय बनाउन हामी अघि बढ्यौं ।
कक्षा ८ को परीक्षा अन्तरविद्यालयस्तरीय सुरु गरेका छौं । विद्यार्थीहरूमा म कमजोर छु, मैले पढ्नु पर्छ भन्ने मानसिकता बढाउन जरुरी छ । शिक्षकलाई पनि आफ्नो विषयमा विद्यार्थी कमजोर छ, थप पढाउनु पर्छ भन्ने वातावरण तयार गरिरहेका छौं ।
युवाहरूलाई अनुशासित बनाउनुपर्ने र सही बाटोतिर लगाउनु पर्छ भनेर मेयर कप फुटबल र उपमेयर कप भलिबल आयोजना गर्दै आएका छौं । खेलकुद विकास समिति विकास गरी धेरै विधाका खेलहरू गराइरहेका छौं । घोराही उपमहानगरपालिका खेलकुद हबका रूपमा विकास भइरहेको छ ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’मा घोराही उपमहानगरपालिका प्रमुख चौधरीद्वारा व्यक्त विचार)
