‘व्यवसायी र नागरिकको भविष्यबारे पनि सोचौं’

चैत्र १९, २०८१

चन्द्रप्रकाश श्रेष्ठ (सीपी) 

”Let's also think about the future of businessmen and citizens”

रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जुन बेला शिलान्यास र उद्घाटन भयो, हामी असाध्यै धेरै खुसी भयौं । अब यस क्षेत्रका पर्यटन व्यवसायी र नागरिकले यस एयरपोर्टबाट धेरै नै लाभ पाउने भए भनेर । हाम्रा लागि अन्तर्राष्ट्रिय उडान यहींबाट हुनु खुसी र गर्वको विषय थियो ।

तर त्यो खुसी धेरै दिन टिक्नै सकेन । त्यो त एकाएक निराशामा बदलियो । दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेन । एउटा मात्र अन्तर्राष्ट्रिय उडान भयो । जजिरा एयरलाइन्सले ८ महिनासम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतसम्म अन्तर्राष्ट्रिय उडान चलाएको हो । 

त्यसपछि अरू कुनै पनि उडान हुन सकेन । ८ महिनापछि जजिरा एयरलाइन्सको उडान पनि रोकियो । त्यसपछि यहाँ भैरहवामा होटल व्यवसायीले यो शिलान्यास भइसकेपछि ८० अर्ब रुपैयाँ लगानी गरे र सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउनलाई ४० अर्ब रुपैयाँ लगानी गर्‍यो । अहिले देखिरहेका छौं– दुवै डुब्ने अवस्थामा छ । व्यवसायीहरू डुबिसके । आज व्यवसायीहरूको स्थिति हेर्नुहोस् । कुन अवस्थामा पुगेको छ ! हामीले पटक–पटक संघीय सरकारदेखि स्थानीय सरकारलाई अनुरोध गर्‍यौं कि यो एयरपोर्ट किन बनेको हो ? किन सञ्चालनमा आएको छैन ?

हामीले यसका लागि आन्दोलन पनि गर्‍यौं । आन्दोलन गर्नुपर्ने हाम्रो बाध्यता थियो । नेपालमा आन्दोलन नगरीकन कुनै चिज पनि पाइँदैन । आजसम्म जति पनि काम भएको छ, आन्दोलनकै बलमा भएको छ । हामीले लगभग एयरपोर्टमै धर्ना दिएर १५ दिनसम्म आन्दोलन गर्‍यौं । जुन बेला सुदन किराती पर्यटन मन्त्री हुनुहुन्थ्यो र हाम्रो आन्दोलनपश्चात् हामीलाई वार्ताका लागि बोलाइयो । हामी वार्तामा गयौं । सरोकारवालाको बैठक बस्यो । दुई महिनाभित्र, हामीले आन्दोलन गर्दा खेरी सम्पूर्ण जति पनि माग थिए, यहाँ जुन पूर्वाधार बन्नुपर्ने थियो यो अवधिमा खुल्न सकेन र हामीले माग गरेका कुराहरू पूरा हुन सकेनन् । 

तर एक दिन हाम्रा वर्तमान प्रधानमन्त्रीज्यू एयरपोर्टबाट केही कार्यक्रममा आउन थाल्नुभएको थियो । हाम्रो होटल एसोसिएसनको डेलिगेसनले ज्ञापन पत्र लिएर यही कुरा प्रधानमन्त्रीसमक्ष राख्यौं । उहाँले आश्वासन पनि दिनुभयो । त्यसपछि २०८१ साउन आफ्नो सचिवालयको बैठक बस्नुभयो र यी सबै कुरा मन्त्रिपरिषद्बाट निर्णय भयो । आज नौ महिना हुँदा पनि जति पनि कुराहरू भैरहवामा बन्नुपर्ने थियो । त्यो आएको खण्डमा निश्चित रूपमा यो एयरपोर्टले गति लिने थियो । तर त्यो भएन । किन भएन ? 

सरकारले नै यो एयरपोर्ट चलाउन नखोजेको हो । काठमाडौंका केही व्यक्तिका भनाइमा यो एयरपोर्ट नचलाइएको हो । 

म सरकारलाई यो एयरपोर्ट भनेको यो क्षेत्रको हो । यहाँका व्यवसायी र नागरिकको भविष्य हो । यहाँका व्यवसायीले जुन बैंकबाट कर्जा लिएका छन्, जुन ८० अर्बको लगानी भएको छ । कतिपय व्यवसायी लिलामी हुने अवस्थामा पुगिसकेका छन्, कालोसूचीमा परिसके । यी कुरा कसले हेर्ने ? सरकार कहाँ छ त अहिले ? 

चैत ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे भैरहवा आउनु भएको थियो । उहाँसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सभाकक्षमै पुगेर बैठक बसेका थियौं । यस्ता छलफल हामीले एक पटक होइन, विमानस्थल सञ्चालनका लागि करिब १०औं पटक गरिसक्यौं । मैले उहाँलाई के प्रश्न गरेँ भने अब छलफल किन ? निरन्तर उडानका लागि हामी जाऊ न । अब यहाँहरूले छलफल गर्नुभन्दा सम्बन्धित सरोकारवालासँग अर्थात् अर्थ, स्वास्थ्य, परराष्ट्रदेखि उद्योग मन्त्रालय सबैसँग मागका कुरा गरौं । ती माग पूरा भएको खण्डमा यहाँ पर्यटकको हुरी आउँछ ।

हामीले सरकारसँग यति धेरै आशा राखेका छौं, जुन पुरा हुन सकेको छैन । अहिले एउटै कुरा के भने संसारमा करिब १३० करोड बुद्धिष्ट छन् । किनभने चीनमा मात्रै ७० प्रतिशत बुद्धिष्ट छन्, जसको जनसंख्या १ अर्ब ४० करोड छ । यसको अर्थ अहिले भर्खरै भारतको इलाहावाद कुम्भ मेलामा ६६ करोड हिन्दु त्यहाँ गए, स्नान गरे । हिन्दुहरू पनि १ अर्ब ३० करोड संख्यामै हो । ६६ करोड त्यहाँ जान सक्छ भने १ अर्ब ३० करोड बुद्धिष्टमध्ये भगवान् गौतम बुद्ध जन्मेको जन्मस्थलमा ५० लाखलाई पनि हामी ल्याउन सक्दैनौं ? 

मैले भन्न खोजेको नेपालमा सरकारको पर्यटन नीति नै ठीक छैन । कानुन ठीक छैन, ऐन ठीक छैन, कार्यविधिहरू बन्दैनन् । त्यसकारण पर्यटक आउने वातावरण छैन । त्यसकारण म सरकारलाई अनुरोध गर्न चाहन्छु, सरकारले पर्यटक आउने वातावरण बनाओस्, पर्यटन व्यवसायी जहिले सरकारको साथमा हुन्छन् । 

हालै द न्युयोर्क टाइम्सले लुम्बिनीलाई संसारकै घुम्न पर्ने सूचीमा नौं स्थानमा राखेको छ । अर्थात् संसारमै यो गौतम बुद्धको जन्मस्थलबारे जानकारी छ । हामीले यो जन्मस्थलमा यदि चाह्यौं भने असंख्य मात्रामा पर्यटक ल्याउन सक्छौं । यसले ठूलो मात्रामा नेपालको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय (जीडीपी) दर बढाउन सहयोग पुग्न सक्छ । 

यहाँ रोजगारीको पनि कुरा आएको छ । यस जिल्लामा करिब १५/२० हजार जनालाई रोजगारी प्रदान गरेका छौं । एउटा दक्ष जनशक्ति उत्पादन गरेका छौं । 

अब क्रस बोर्डर टुरिज्मको कुरा गर्दा हाम्रा पर्यटक आउने भनेको एउटा एयर कनेक्टिभिटी र अर्को रोड कनेक्टिभिटी हो । हाम्रो जुन सुनौली नाका छ, यहाँबाट धेरै जसो भारतीय पर्यटक आउँछन् । जसलाई हामी बेलहिया बोर्डर भन्छौं । यो बोर्डरको अवस्था हेर्नुभएको र सुनी नै रहनुभएको छ । अध्यागमन कार्यालयमा एक जना कर्मचारी छन् । असंख्य पर्यटक छ/छ घन्टा लाइन लागेर बस्छन् । भारतका ट्राभल एजेन्सीहरूले हामीलाई फोटो देखाएर भन्छन् कि हामी छ घन्टा लाइनमा बस्नुपर्छ । हामी नेपाल किन आउने ? पर्यटकमा यसको नकारात्मक प्रभाव गइरहेको छ । 

म विनम्रतापूर्वक भन्न चाहन्छु– यो अध्यागमन कार्यालयलाई चुस्त–दुरुस्त बनाइयोस् । चाहिँदोमात्रामा कर्मचारी राखियोस् । यस्ता कुरा छिटोभन्दा छिटो गर्न संघीय र प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान’मा होटल एसोसिएसन नेपाल, लुम्बिनी प्रदेशका संयोजक श्रेष्ठद्वारा व्यक्त विचार)

चन्द्रप्रकाश श्रेष्ठ (सीपी) 

Link copied successfully