‘व्यवसायीकरणका लागि नीति–नियम परिमार्जन आवश्यक’

चैत्र १९, २०८१

मौसमी श्रेष्ठ

”Policies and rules need to be amended for commercialization”

म कृषि क्षेत्रमा काम गरिरहेकी छु । कुखुरा फार्मबाट व्यवसाय सुरु गरेकी हुँ । विश्वास र दृढतालाई नछोडी काम गरे सफलता मिल्छ भन्ने मलाई लाग्छ ।

व्यवसायमा मेरो श्रीमान‍्को पूर्ण साथ–सहयोग छ । मेरो छोरा अमेरिकाको बोस्टनमा पढेर नेपाल आयो । छोरा नेपाल फर्किन्छ कि फर्किंदैन भन्ने ठूलो डर लाग्थ्यो । अहिले छोराको यात्रा ‘बोस्टन टू बुटवल’ भएको छ । कृषि व्यवसायलाई अगाडि बढाउँछु भनेर लागेको छ ।

अन्डा पार्ने कुखुरा फार्मबाट व्यावसायिक यात्रा सुरु भएर श्रीनगर एग्रिटेक इन्डस्ट्री एउटा इन्डेग्रेटेड एग्री बिजनेस कम्पनीका रूपमा स्थापित भएको छ । लुम्बिनी प्रदेशमा चारवटा भर्टिकल फार्म, फिड, फुड र फेसिलिटेसन विङका रूपमा स्थापना गरेका छौं । कम्पनीलाई पब्लिकसँग जान सक्ने क्षमता बिस्तार गरेका छौं । 

अब प्रोफिट सेयरिङ डिभिडेन्ड सेयरिङ कम्पनी बनाउन चाहेका छौं । त्यस्तो कम्पनीका लागि हदबन्दी छ, ११ बिघाको । यसलाई बढाइदिनुपर्‍यो भन्ने हाम्रो माग छ । काम गर्न ठाउँ पुगेन । पोल्ट्री फार्मिङ, प्यारेन्ट फार्म, फिड मिल, प्रोसेसिङ युनिटका लागि हदबन्दीको जग्गा फुकाउनुपर्यो । त्यसका लागि धेरै ठाउँ धाउनुपर्ने अवस्था छ । तीन–चार महिनादेखि धाउँदा पनि स्वीकृति पाएका छैनौं । 

कृषि मन्त्रालयदेखि प्रदेश तहमा सबैले साथ दिँदा पनि प्रक्रिया झन्झटिलो भयो । त्यही कारणले धेरै धाउनुपरेको अवस्था छ । हाम्रो नीति नियम ‘सस्टेनेबल एग्रिकल्चर’कै ‘प्रोस्पेक्टिभ’बाट प्रेरित छ । भविष्यमा ‘सस्टेनेबल एग्रिकल्चर’बाट एउटा ग्रोथका रूपमा हेर्नुपर्छ । व्यवसायीकरण गर्नुपर्छ । हामी चाहन्छौं— सबै प्रक्रिया सजिलो होस् । अहिले एउटै कामका लागि धेरैतिर चहार्नुपर्ने, ढोका–ढोका पुग्नुपर्ने अवस्था छ । यसले व्यवसाय गर्न प्रोत्साहित गर्दैन । त्यसका लागि नीतिमा परिवर्तन ल्याउनु जरुरी छ । 

निजी क्षेत्रले दीर्घकालीन सोच बनाएर काम गर्न खोज्छन् । व्यापारिक योजना बनाएका हुन्छन् । तर मैले यस विषयमा केही खाडल देखेकी छु । त्यही कारण हामीले आफ्नै ‘फेसिलिटेसन विङ’ भनेर श्री किसन इनोभेसन हब स्थापना गरेका छौं र त्यहीँबाट पास आउट गरेको जेटीए, डाक्टरलाई टेक्नो कमर्सियल प्राविधिक बनाएका छौं । 

भ्यालु चेनको कुरा गर्दा लुम्बिनी क्षेत्रमा उदाहरणीय काम गरेका छौं । किसानको फार्म, प्रोडक्सन टू मार्केट लिंकेज गरेका छौं । बजारको सुनिश्चितता नभएसम्म जति उत्पादन गरे पनि, उत्पादकत्व बढाए पनि स्थिरता आउँदैन । बजारमा उत्तारचढाव आइरहेको हुन्छ । 

फिड उद्योगका लागि एउटा मुख्य आवश्यक मकै हो । धेरै आयात नै हुन्छ । ८० प्रतिशत आयाममै निर्भर छौं । हामीले स्वदेशमै उत्पादन प्रोत्साहन गरेका छौं । दाङलाई मकै जोन घोषणा गरेका छौं । सरकारले पनि घोषणा गरेको छ । उत्पादकत्व बढाएर स्वदेशी मागलाई पूर्ति गर्न लागिपरेका छौं । किसानलाई फाइदा पुर्याउन हामीले ‘वायर हाउसिङ कम्पनी’ पनि स्थापना गरेका छौं । कपिलवस्तु र विराटनगरमा सेटअप गरेका छौं । कपिलवस्तुमा निर्माणकै क्रममा छ । निर्माण भइसकेपछि किसानसँग नजिक भएर काम गर्न सक्छौं । उत्पादन भएको अनाज ‘वायर हाउस’मा राख्न सकिन्छ, भाउ आएको बेला बेच्न सकिन्छ ।

कोभिडको समयमा ठूलो समस्या भोगेका थियौं । उत्पादन धेरै भयो । तर होटल रेस्टुराँ सबै बन्द भए । किसानको उत्पादन बजारसम्म पुग्न सकेन । धेरैजसो कुखुरा व्यवसायी धराशयी भए । धेरै किसान पलायन भए । कोभिड सकिएपछि किसान बिदेसिएका छन् । गाउँघरमा पोल्ट्री व्यवसायलाई कसरी फिर्ता ल्याउने भन्ने दौडमा छौं । 

बजारमा फ्रेस कुखुराको धेरै माग छ । नेपाली कुखुराको स्वाद आउँदैन भन्ने पनि गुनासो हुन्छ । तर उपभोक्ताले बुझेनन् । फ्रेस हाउसले चिल्ड ब्याक्टेरिया फ्रि कुखुरा बिक्री गरेका हुन् । यो हाम्रो मुख्य चुनौती पनि हो । सरकारले त्यसलाई हेर्नुपर्छ । कुखुरा बिक्री गर्दा गुणस्तरको मापदण्डसहितको नीतिनियम सरकारले ल्याउनुपर्छ । 

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको पहिलो सत्र ‘सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती’ मा श्रीनगर एग्रिटेक इन्डस्ट्रिजकी कार्यकारी निर्देशक श्रेष्ठद्वारा व्यक्त विचार)

मौसमी

Link copied successfully