पाल्पा — तानसेनलाई विभिन्न क्षेत्रबाट चिनाउने ३५ जनालाई नगरपालिकामा गठित तानसेन नगर प्रज्ञा प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
तानसेन र पाल्पाको विकासमा योगदान गरेका उनीहरुलाई नगद, सम्मानपत्र र पाल्पाली ढाकाले सम्मान गरेको हो । भाषा साहित्य, कला संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग पर्यटन, स्वास्थ्य रीतिरिवाजका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
यसैगरी साहित्य, जात्रा, मेलापर्व, समाजसेवा लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको प्रज्ञा प्रतिष्ठानका सदस्य शंकर गैरेले जानकारी दिए । साहित्यकार अजम्बरध्वज खाती, कलाकार तथा चित्रकार एवं साहित्यकार अशोकमान सिं, कृष उद्यमी केशव कार्की, ढाका उद्यमी हरिकृष्ण कार्की र गंगाराम नेपाल, शिक्षा तथा स्वास्थ्यसेवी गोपाल बहादुर पोखरेल, शिक्षा तथा समाजसेवी झमानसिं दर्लामी, शिक्षा तथा पर्यटनउद्यमी टुकबहादुर अर्घाली थापालाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाले सम्मान गरिएको छ ।
यसैगरी शिक्षाविद् तथा समाजसेवी देवप्रसाद बज्राचार्य, द्धारिकाप्रसाद शर्मा, बुद्धीप्रसाद शर्मा, राधाकृष्ण शर्मा, प्रा. डा. सावित्री कक्षपति, सुशीला श्रेष्ठलाई सम्मान तथा पुरस्कार दिइएको छ । त्यस्तै, साहित्यकार वनमाली निराकार, विजय सागर, राजेन्द्र गोपाल सिंह, डा. नारायणप्रसाद शर्मा गैरे, मन गहिरे, रजिउल्लाह खाँ स्वास्थ्यसेवी विश्वमान बज्राचार्य, डा. रचेल कारख, लोकमान शाक्य, पर्यटन उद्यमी सावित्रा भुसाल, धनिश्वर बस्याललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
अभिनेता तथा चलचित्रकर्मी नायक धीरेन शाक्य, संगीतकर्मी तथा संस्कृतिविद् महेश देउराली, मदन देउराली, भरत देउराली पत्रकार मेघराज शर्मा, गायक कलाकर्मी मीना नेपाली (गैरे), धातुकला उद्यमी मंगलप्रसाद बज्राचार्य, प्रदीपकुमार बज्राचार्यलाई तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा, पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
तानसेनको शिक्षा, पाल्पाली ढाका, करुवा लगायतका क्षेत्रबाट देश तथा विदेशमा ख्याती कमाउन सफल व्यक्तित्वलाईसमेत सम्मान गरिएको छ । यसैगरी पाल्पाली ढाकाकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनलाई ६८ हजार नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको छ । साथै लुम्बिनी प्रदेशभित्र साहित्य क्षेत्रमा पुस्तक प्रकाशन गरी योगदान गर्ने एक जनालाई पनि पुरस्कार प्रदान गरिने तानसेन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव दुर्गा थापाले जानकारी दिए ।
तानसेन नगरपालिकाभित्रका भाषा, कला ,साहित्य, संस्कृति संरक्षण संवर्द्धन गर्दै यहाँका मौलिक सिर्जना र प्रतिभालाई उजागर गर्न सामाजिकशास्त्रको अनुसन्धानबाट प्रभावकारी हुने भएकाले नगर प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको छ । तानसेन नगरपालिकाको १५ औं नगरसभाले पारित गरेको ऐनअनुसार एक उपकुलपतिसहित १६ जना सदस्य रहेको प्रज्ञा प्रतिष्ठान गठन भएको छ । नगरपालिका क्षेत्रको कला र संस्कृति संरक्षण गर्दै काम गर्ने योजना बनाएको नगरपालिकाले प्रज्ञा प्रतिष्ठानलाई यो वर्षको लागि १५ लाख बजेट विनियोजन गरेको थियो ।
