अन्तर्राष्ट्रिय ब्रान्डको टायल नेपालमै उत्पादन गर्दै कजरिया

रमेश कर्प नेपाल र भारतको अग्रणी टायल निर्माता कजरिया कम्पनीबीचको सम्झौतापछि ४ अर्ब लगानीमा नवलपरासीको बर्दघाटमा उद्योग सञ्चालन गरिएको छ, कम्पनीले गुणस्तरीय टायल उत्पादन गरेर भारतमा पनि निर्यात गर्ने लक्ष्य लिएको छ

चैत्र १०, २०८१

सीमा तामाङ

Kajaria producing international brand tiles in Nepal

काठमाडौँ — कुनै बेला दरबार, मठमन्दिर र घरमा परम्परागत ‘टेराकोटा’ टायल प्रयोग गरिन्थ्यो । नेवारी वास्तुकलाबाट प्रभावित दरबार र मठमन्दिरमा अझै यस्तो टायलको प्रयोग देख्न सकिन्छ । बदलिँदो समयसँगै टायलका प्रकार र स्वरूप पनि परिवर्तन भइरहेका छन् । घरको भुइँ, किचनदेखि बाथरुमसम्म विभिन्न टायल प्रयोग गर्ने क्रम बढ्दो छ ।

आकर्षक देखाउन हरेक घरमा फरकफरक डिजाइन र आकारका टायल प्रयोग भएको देख्न पाइन्छ । आधुनिक जमानामा भिट्रिफाइड, सेरामिक र पोर्सिलेन जस्ता टायल प्रयोग भइरहेका छन् । आयातमा आधारित नेपालको टायल बजारमा अहिले कजरिया रमेश टायल्सले सेरामिक र भिट्रिफाइड टायल स्वदेशमै उत्पादन गरिरहेको छ ।

रमेश कर्प नेपाल र भारतको अग्रणी टायल निर्माता कजरिया सेरामिक्स लिमिटेडबीच ०७९ कात्तिकमा सम्झौता भएको थियो । सम्झौतापछि कजरिया रमेश टायल्सले गत भदौदेखि नेपालमै टायल उत्पादन सुरु गरेको छ । नेपालमा समेत लोकप्रिय भारतको ‘कजरिया’ ब्रान्डलाई रमेश कर्पले विदेशी लगानीसहित भित्र्याएको हो । 

ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन स्वदेशमै उपलब्ध गराउने उद्देश्यले नेपालमा कजरिया टायल्सको उत्पादन सुरु गरेको कजरिया रमेश टायलका निर्देशक हिमांशु अग्रवालले बताए । मुलुकमा विदेशी विनिमय सञ्चिति घट्दो र आयातमा प्रतिबन्ध लगाएको समयमा मुलुकमै टायल उद्योग खोल्ने निर्णय गरेको उनको भनाइ छ । ‘०७९ मा नेपालमा विदेशी विनिमय सञ्चिति घट्दो थियो, आयातमा पैसा धेरै बाहिरियो भनेर सरकारले प्रतिबन्ध लगाएको थियो,’ उनले भने, ‘अरूको तुलनामा कम बाहिरिन्थ्यो होला तर टायल आयातमा पनि पैसा बाहिरिरहेको थियो । त्यसलाई रोक्न पनि उद्योग खोलेका थियौं ।’

Kajaria producing international brand tiles in Nepal

सुन्दर, आकर्षक, दिगो, मर्मतसम्भार र सरसफाइका लागि सहज हुने भएकाले टायलको प्रयोग बढ्दै गएको छ । मुलुकमा टायलको माग बढिरहेकाले उद्योग खोल्ने गरी कजरियासँग सम्झौता गरेर अघि बढेको अग्रवालले बताए । ‘निर्माण सामग्रीमध्ये कुनै एउटा सामान उत्पादन गर्ने सोच थियो, टायलको राम्रो बजार देखिरहेका थियौं,’ उनले भने, ‘कजरिया ब्रान्ड पनि सम्बन्धित मुलुकमै त्यहींका कच्चा पदार्थ प्रयोग गरेर स्थानीय रूपमा गुणस्तरीय टायल उत्पादन गर्न चाहन्थ्यो । हाम्रो सोच मिलेपछि दुवै मिलेर कारखाना खोलेर सञ्चालन गर्‍यौं ।’

कुल ४ अर्ब लगानी गरेर खोलेको उद्योगमा कजरिया र रमेश कर्पको ५०/५० प्रतिशत लगानी रहेको उनको भनाइ छ । नेपालमै टायल उत्पादन गरेपछि आयातको तुलनामा कजरिया ब्रान्डको टायलको मूल्य २५ प्रतिशतसम्म सस्तो भएको उनले जनाए । ‘नेपालमै टायल उत्पादन गर्न थालेपछि आयातितको तुलनामा २२ देखि २५ प्रतिशत सस्तो छ,’ उनले भने, ‘नेपालमै उत्पादन गरेपछि मूल्य घटाएका छौं । सस्तो भएपछि घर बनाउन चाहनेलाई सहज हुने भइहाल्यो ।’

नवलपरासीको बर्दघाटमा १७ बिघामा खुलेको उद्योगले त्यस क्षेत्रको सडक पूर्वाधारदेखि अर्थतन्त्रमै परिवर्तन ल्याएको उनले सुनाए । कजरिया ब्रान्ड नेपाल भित्रँदा विदेशी लगानी, प्रविधि, प्राविधिक ज्ञानसँगै भारतको नम्बर १ ब्रान्ड टायलको गुणस्तरसमेत भित्रिएको उनको भनाइ छ । ‘कजरिया अन्तर्राष्ट्रिय ब्रान्ड हो, यसको आफ्नै गुणस्तर र मापदण्ड थिए, वर्षौंको मिहिनेतले नम्बर १ बनाएको थियो,’ उनले भने, ‘एउटा ब्रान्ड भित्रिँदा त्यो सबै नेपाल भित्रिएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड र गुणस्तरीय टायल नेपालमै उत्पादन भइरहेको छ ।’ उद्योगमा वार्षिक ५२ लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने क्षमता छ ।

ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन स्थानीयमै उपलब्ध गराउने उद्देश्यले कजरिया टायल्सको उत्पादन सुरु गरेको उनको भनाइ छ । अत्याधुनिक प्रविधिबाट टायल तयार हुने भएकाले उच्च टिकाउपन, आकर्षक डिजाइन तथा वातावरणमैत्री रहेकाले हरेक उपभोक्ताले रुचाउने अग्रवालले सुनाए । ‘हाम्रो टायल्स उत्पादन प्लान्ट नेपालमा सबैभन्दा ठूलो र अत्याधुनिक छ, त्यसैले अब हामी नेपालमा पनि नम्बर वान टायल ब्रान्ड बन्ने गरी अघि बढिरहेका छौं,’ उनले भने ।

कजरियाले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र किफायती मूल्यका कारण विश्वभरका प्रतिस्पर्धी ब्रान्डलाई चुनौती दिँदै आएको अग्रवालको दाबी छ । सोही सन्दर्भमा पनि नेपालमा टायल उत्पादनमा लगानी गरेको उनको भनाइ छ । कजरियाले ग्लेज्ड र हेभी ड्युटी भिट्रिफाइड टायल्स विभिन्न साइज र डिजाइनमा उत्पादन गरी बजारमा ल्याइसकेको छ । ‘उपभोक्ताको रुचिअनुसार विभिन्न डिजाइन, साइज र टेक्स्चर उपलब्ध गराएका छौं,’ उनले भने, ‘हामीले गुणस्तर, मूल्य र सेवा तीन वटै पक्षलाई ध्यान दिएर प्रतिस्पर्धी रणनीति अपनाएका छौं ।’

Kajaria producing international brand tiles in Nepal

मुलुकको टायल बजारमा कजरियाको हिस्सा ४० प्रतिशत रहेकाले अहिलेको प्राथमिकता नेपाली बजार नै रहेको अग्रवाल बताउँछन् । नेपाली बजारको माग पूरा गरेपछि भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना बनाउने उनको भनाइ छ । नेपालकै कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय टायल उत्पादन गरेर भारतमा निर्यात गर्न सकिने उनले बताए । 

‘टायल गह्रौं वस्तु भएकाले यातायात लागत बढी हुन्छ,’ उनले भने, ‘भारतका टायल उद्योग गुजरातमा मात्रै छन् । भारतका केही भागमा टायल निर्यात गर्दा गुजरातबाट भन्दा सस्तो पर्छ, त्यसैले भारत नै बजार हो ।’ डिजिटल प्रिन्टिङ प्रविधिबाट उत्कृष्ट डिजाइन तथा टिकाउ टायल उत्पादन गरिरहेकाले स्टेन–रेसिस्टेन्ट, स्क्य्राच रेसिस्टेन्ट तथा एन्टी–ब्याक्टेरियल प्रविधि जस्ता नवीन विशेषता रहेको उनले दाबी गरे ।

‘नेपाली उपभोक्ताको आवश्यकताअनुसार मौसममा आधारित टिकाउ टायल्स, विभिन्न आकार तथा बनावटका उत्पादन र घर तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त विभिन्न भेराइटी ल्याएका छौं,’ उनले भने, ‘नेपालमा सबैभन्दा धेरै डिजाइनका टायल्स उत्पादन हामीले नै गरेका छौं ।’ कजरिया टायलको उत्पादन प्रक्रिया वातावरणमैत्री प्रविधिमा आधारित रहेकाले जल तथा ऊर्जासमेत बचत गर्ने उनको भनाइ छ । ‘हाम्रो टायल्समा नवीकरणीय सामग्रीको प्रयोग गरिन्छ, जसले हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्न मद्दत गछ,’ उनले भने, ‘प्रदूषणरहित भएको उद्योग हो ।’

करिब ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । आगामी दिनमा उद्योगको उत्पादन क्षमता बढाएपछि एक हजार जनासम्मलाई प्रत्यक्ष रोजगारी दिन सक्ने उनले सुनाए । ‘उद्योगमा दक्ष विदेशी कामदार छन् भने ८० प्रतिशत स्थानीय पनि छन्,’ उनले भने, ‘दक्ष जनशक्तिबाट अदक्ष जनशक्तिमा सीप हस्तान्तरण भइरहेको छ ।’ स्वदेशी कामदारलाई भारतमै लगेर तालिम दिइरहेको समेत उनको भनाइ छ ।

नेपालमा टायल उत्पादनसँगै समानान्तर रूपमा सेरामिक्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको उनले सुनाए । टायल उत्पादनमा प्रयोग हुने विभिन्न प्रकारको माटो, ग्लेज्ड र इन्क आयात गरिए पनि नेपालकै माटोको पनि अनुसन्धान भइरहेको उनले सुनाए । ‘गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर कच्चा पद्धार्थको खोजी गरिरहेका छौं, नेपालमा अनुसन्धान प्रयोगशाला नै स्थापना गरी देशका विभिन्न भूभागका खानीमा हाम्रा विशेषज्ञले अध्ययन र अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘आगामी ३ देखि ६ महिनापछि स्वदेशी कच्चा पदार्थ प्रयोग गरी टायल उत्पादन गर्ने गरी तयारी भइरहेको छ ।’

Kajaria producing international brand tiles in Nepal

नेपालमा निर्माण क्षेत्र द्रुत रूपमा विस्तार भइरहेको भन्दै अग्रवालले कजरियाले मुख्य भूमिका खेल्ने बताए । कजरियाका टायल देशका विभिन्न सहरमा रहेका ५० वटा शोरुमबाट खरिद गर्न सक्नेछन् । ‘आगामी दिनमा नेपालका सबै प्रमुख सहर र बजारमा वितरण सञ्जाल विस्तार गर्दै जानेछौं,’ उनले भने, ‘बिस्तारै अनलाइनमार्फत बिक्री प्रवर्द्धन गर्ने योजनासमेत बनाएका छौं ।’

पार्किङका लागि हेभी ड्युटी भिट्रिफाइड टायल, सेरामिक वाल टायलहरू उत्पादन गरिरहेको छ । कजरिया उद्योगले ३०० बाई ४५० एमएम आकारको सेरामिक टायल, ६०० बाई ६०० एमएम र ६०० बाई १२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टायल र ४०० बाई ४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टायल उत्पादन गरिरहेको छ ।

आधुनिक प्रविधिमा उत्पादन गरिएका अन्य टायल पनि बजारमा ल्याउने तयारी भइरहेको छ । भविष्यमा प्लाङ्क (काठजस्तो देखिने) टायल पनि उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । प्राइम सेरामिक्स, लुम्बिनी सेरामिक्स, निमाटो, नेपाल सेरामिक्सम्किसलगायत ६ वटा उद्योगले टायल उत्पादन गरिरहेको छ । गत फागुनमा भृकुटीमण्डपमा भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा उद्योगीले गत वर्षसम्म भारतबाट १४ अर्बको टायल आयात हुने गरे पनि यस वर्ष टायलमा आत्मनिर्भर भइसकेको बताएका थिए ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully