आईपीएल : करिब साढे १६ अर्ब डलरको उत्सव

आईपीएलकै कारण क्रिकेटका खेलाडीहरूले अन्य प्रमुख खेलका खेलाडीसरह कमाउने भएका छन्, विदेशी खेलाडीले पनि आईपीएल खेलेर मनग्य कमाउने गर्छन्

चैत्र ९, २०८१

हिमेश

IPL: A celebration worth around $16.5 billion

काठमाडौँ — अलिकति धेरै आक्रोश । ईर्ष्या पनि । तर आक्रोशभन्दा अलिकति कम । आजभोलि भारतीय क्रिकेटप्रति केहीको यस्तै सोच रहने गरेको छ ।विश्व क्रिकेटको सर्वोच्च संस्था हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् । छोटकरीमा आईसीसी । केही आलोचकले त आईसीसी भन्नु नै भारतीय क्रिकेट नियन्त्रण बोर्ड हो समेत भन्छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले भारतको जुन दबदबा छ, केहीलाई यो पटक्कै मनपर्दैन । मन परोस् पनि कसरी । अहिले भारतले जे भन्छ, विश्व क्रिकेटमा त्यही हुन्छ । 

भारतले भर्खरै आईसीसी च्याम्पियन्स ट्रफी पनि जितेको छ । टोली ढुक्क भएर यूएईमा खेलेको थियो । भारतविरुद्ध खेल्नुपर्ने अन्य टिमलाई भने यूएई र पाकिस्तान आतेजाते गर्नुपरेको थियो । तर, सबैलाई थाहा छ, भारतीय क्रिकेट टिम पनि यति बेला आफैंमा सबैभन्दा बलियो छ । त्यसैले त भारतले कुनै खेल नगुमाएर विश्वकपपछिको दोस्रो ठूलो प्रतियोगिता जित्यो । भारत ट्वान्टी–२० क्रिकेटको पनि विश्व च्याम्पियन हो । ‘ह्वाइट बल’ क्रिकेटमा भारतलाई टक्कर दिन अरूलाई गाह्रै छ । 

भारतीय क्रिकेटले भने जस्तै हुनु पछाडिको एउटा अर्को कारण हो, यसको आर्थिक शक्ति । विश्व क्रिकेटको जति पनि आयस्रोत छ, त्यसमध्ये ८० प्रतिशतको हाराहारी भारतीय बजारबाट आउँछ । त्यसैले के सम्म भन्ने गरिन्छ भने भारतविना त पाकिस्तानी क्रिकेटमात्र होइन, दक्षिण अफ्रिकाको क्रिकेट पनि चल्दैन । यो नै विश्व क्रिकेटको एकमात्र ध्रुवसत्य हो । यस्तो किन भयो त ? यसका केही खास कारण छन् । त्यसमध्ये सबैभन्दा अगाडि आउँछ, फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटको एउटा प्रतियोगिता जसको नाम हो, इन्डियन प्रिमियर लिग (आईपीएल) ।

आईपीएल सन् २००८ देखि सुरु भएको थियो । त्यसयता क्रिकेट त्यस्तो रहेन, जस्तो पहिले थियो । विश्व क्रिकेटमा भारत साँच्चै यति धेरै बलियो हुनु पछाडिको कारण भन्नु नै आईपीएलको सफलता, यस्तो विस्तार र लोकप्रियता हो । यही प्रतियोगिताको १८ औं सस्करण शनिबार सुरु हुँदै छ । यसपल्ट पनि कुल १० टिमको सहभागिता छ । यसको डिफेन्डिङ च्याम्पियन हो, कोलकाता नाइट राइडर्स । कोलकाताले उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्नेछ । बेंगलुरु त्यही टिम हो, जसबाट भारतीय क्रिकेटको सबैभन्दा ठूलो नाम विराट कोहली खेल्छन् । विराटले सुरुदेखि नै यही एउटै टिमबाट खेलिरहेका छन् । तर अहिलेसम्म यो बेंगलुरुका लोकप्रिय टिमले एकैपल्ट पनि उपाधि भने जित्न सकेको छैन ।

यसपल्ट लिग चरणको खेल यसअघिभन्दा अलिकति फरक छ । अहिलेको संस्करण आइपुग्दा सबै १० टिमले एकअर्काविरुद्ध दुईपल्ट खेल्नेछन् । मार्च २२ देखि मे १८ सम्म लिग चरणको खेल हुनेछ । त्यसको समाप्तिमा पहिलो क्वालिफायर, इलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल हुनेछ । अन्तिम लिग तालिकाको शीर्षमा रहेको दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ । यसको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । त्यसपछि तेस्रो र चौथो स्थानमा रहने टिमले इलिमिनेटर खेल्नेछ । यसमा पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिने छ । विजेता टिमले भने पहिलो क्वालिफायरमा हार्ने टिमसँग खेल्नेछ । यसको विजेता फाइनल खेल्न योग्य दोस्रो टिम हुनेछ । त्यसैले लिग चरणमा शीर्ष चार टिमलाई प्रतिस्पर्धा चल्नेछ ।

IPL: A celebration worth around $16.5 billion

यो प्रतियोगिताका दुई ठूला टिम छन् । एउटा भयो मुम्बई इन्डियन्स । अर्को चेन्नई सुपर किंग्स । दुवैले ५–५ पटक उपाधि जितेको छ । त्यसपछि आउँछ कोलकाता । यसले तीन पटक उपाधि जितेको छ । यसपल्ट पनि यिनै तीन टिम उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी हुन् ।

त्यसो त पछिल्ला केही सिजन मुम्बईका लागि राम्रो रहेन । तर यसपल्ट मुम्बईले राम्रो गर्ने सक्दो प्रयास गर्नेछ । एक प्रकारले मुम्बई र चेन्नईबीच ६ पटक उपाधि जित्ने पहिलो टिम हुन प्रतिस्पर्धा चल्नेछ । अन्यथा प्रतियोगितामा सहभागी हुने सबै १० टिम लगभग उस्तै छन् । सुरुआती केही चरणका खेलपछि ठ्याक्कै देखिनेछ, कुन टिम कति पानीमुनि छ अनि कुन टिम कति पानीमाथि छ । टिमको प्रदर्शनमा धेरै हदसम्म आफ्नो घरेलु मैदानको पनि ठूलो भूमिका हुने गर्छ ।

लिग चरणका खेल आफ्नो घरमा एकपल्ट, विपक्षी टिमको घरमा एकपल्ट खेल्ने स्वरूपमा चल्ने गर्छ । यति भन्दाभन्दै पनि सबै टिमले सबै खेल आफ्नै घरमा खेल्ने भन्ने हुन्न । प्रतियोगिताका केही तटस्थ मैदान पनि प्रयोग हुनेछ । जुन टिमले आफ्ना समर्थकमाझ खेलेर बढी अंक हासिल गर्न सक्छ, त्यही टिम फाइदामा हुनेछ ।

यहाँनिर विशाखापट्नम्, गुवाहाटी र धर्मशालाको क्रिकेट मैदानमा हुने खेलको नतिजाले पनि प्रतियोगितामा कुन टिमको प्रदर्शन कस्तो हुनेछ, त्यो भर पर्न सक्छ । यसबीच एउटा तथ्य निश्चित छ, अबको महिना दिन क्रिकेटप्रेमी जति सबै यही प्रतियोगितामा झुम्ने छन् । यस्तो किनभन्दा खेलका क्रममा ठुल्ठूला छक्का र चौकासँगै उत्तिकै राम्रो बलिङ र फिल्डिङ पनि हेर्न पाइनेछ ।

आर्थिक पक्ष

आईपीएललाई विश्व क्रिकेटकै सबैभन्दा धनी प्रतियोगिता त्यसै भनिएको होइन । यसलाई प्रमाणित गर्न भने जति तथ्यांक छन् । फेरि आजभोलि कुन प्रतियोगिता कस्तो भनेर नाप्ने औजार पनि आर्थिक तथ्यांक नै हुने गरेको छ । सन् २०२४ को पछिल्लो संस्करणमा १६ अर्ब ४० करोड डलर बराबरको आर्थिक लेनदेन भएको मानिन्छ ।

यो प्रतियोगिताले भारतीय अर्थ व्यवस्थालाई नै चलायमान बनाउने गरेको छ । जस्तो, मुम्बई इन्डियन्सले खेल्दा पूरा सहर यही खेलमा केन्द्रित हुने गर्छ । सबैले कुनै न कुनै रूपमा क्रिकेट हेर्ने गर्छन्, घरमा बसेरदेखि क्याफे रेस्टुरेन्टसम्म । बाटो बाटोमै स्क्रिनमा आईपीएलका खेल चल्ने गर्छन् । यसले बजार आफैंमा चलायमान हुने गर्छ । मुम्बई मात्र होइन, अन्य सहरको कथा पनि यही हो ।

IPL: A celebration worth around $16.5 billion

खासमा आईपीएलको कुरा गर्दा आउने भनेकै करोडौं र अर्बौं डलरकै आँकडा मात्रै हो । आईपीएलको आम्दानीको सबैभन्दा ठूलो स्रोत हो, टीभीमा प्रत्यक्ष प्रसारणको सम्झौता । सन् २०२३ देखि २०२७ सम्म प्रत्यक्ष प्रसारणको अधिकार ६ अर्ब डलरमा बिकेको थियो । आईपीएल टीभीमै मात्र हेर्नुपर्छ भन्ने मात्र पनि छैन ।

खेल हेर्ने सुविधा अन्य माध्यममा पनि छन् । त्यसैले त गत वर्षको संस्करण मात्रै कीर्तिमान ६० करोडले हेरेका थिए । मुम्बई, चेन्नई र बेंगलुरु सबैभन्दा लोकप्रिय टिम हुन् । उनीहरूको ब्रान्ड मूल्य एक अर्ब १० करोड डलरको हाराहारीमा छ । यी फ्रेन्चाइज टिमले आफैं करोडौंमा कमाउने गर्छन् । यसमा टिकट बिक्री, मर्कन्डाइज र व्यापारिक अनुबन्ध रहेका छन् । प्रायोजक अनुबन्धको रकमले पनि ठूलो हिस्सा ओगट्ने गरेको छ ।

प्रतियोगिताका बेला भारतीय पयर्टन र हस्पिटालिटी व्यवसाय ४० प्रतिशतले बढ्ने गर्छ । गत वर्ष चेन्नई र जयपुरका होटलमा शतप्रतिशत बुकिङको कीर्तिमान बनेको थियो । प्रतियोगिताकै क्रममा रेस्टुरेन्ट र यातायात क्षेत्र प्रत्यक्ष फाइदामा रहने गरेका छन् । भारतीय सरकार स्वयं पनि प्रतियोगिताबाट मालामाल हुने गरेको छ ।

प्रतियोगिताको टिकट बिक्री, विज्ञापन र अन्य खेल सम्बन्धित सामग्रीको बिक्रीमा उठ्ने करमात्रै ३ हजार ५ सय करोड रहने गरेको छ । अझ प्रतियोगिताकै क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले केही नभए पनि एक लाख ५० भन्दा बढीले काम पाउने गरेका छन् । आईपीएलकै कारण भारतमा प्रतियोगितासँग जोडिएका भौतिक पूर्वाधारको निर्माणले तीव्र गति लिने गरेको पनि छ । अनि जुन टिम च्याम्पियन हुनेछ, त्यसले पाउने छ २३ लाख २० हजार डलर । उपविजेताले भने १५ लाख डलरमात्रै ।

महँगो खेलाडीको कीर्तिमान बन्दै भंग हुँदै

यसपल्टको प्रतियोगिताकै लागि भनेर गत नोभेम्बरमा खेलाडीको अक्सन भएको थियो । आईपीएल नै त्यो प्रतियोगिता हो, जसले खेलाडी लिलामीको स्वरूपमा भित्र्याएको थियो । यही लिलामीले खेलाडीलाई रातारात मालामाल बनाउने गरेको छ । केही दशक अगाडिसम्म पनि क्रिकेट खेलाडीका लागि खासै कमाइ हुने खेल थिएन ।

भारतमै पनि क्रिकेट खेलाडीको स्थिति केही अपवाद छाडेर दयनीय नै थियो । तर, आईपीएलकै कारण क्रिकेटका खेलाडी अन्य प्रमुख खेलका खेलाडीसरह कमाउने भएका छन् । आईपीएल खेलेर विदेशी खेलाडीले पनि मनग्य कमाउन गरेका छन् । त्यसैले त हो, जस्तै विवादबीच पनि प्रायः स्टार खेलाडीले आईपीएलको आलोचना गर्ने गरेका छैनन् । इंग्ल्यान्ड र अस्ट्रेलियातिरका खेलाडी पनि एक सिजन आईपीएल खेलेर आफ्नो पूरा खेल जीवनभरको कमाइ गर्ने गरेका छन् ।

फेरि नोभेम्बरको अक्सनमै फर्कने हो भने यसपल्टका सबैभन्दा महँगो खेलाडी हुन्, विकेटकिपर/ब्याटर ऋषभ पन्त । उनी लखनउ सुपर जायन्ट्सका कप्तान हुन् । उनको नाममा ३२ लाख डलरको भाउ लागेको थियो । उनी यति रकममा बिक्नु अगाडि श्रेयस अय्यरले ३१ लाख ७० हजार डलरको मूल्य पाएका थिए ।

उनलाई यति धेरै रकममा पन्जाब किंग्सले किनेको थियो । विदेशी खेलाडीमध्ये सबैभन्दा बढी मूल्य पाउनेमा इंग्ल्यान्डका आक्रामक ब्याटर जस बटलर छन् । गुजरात टाइटन्सले उनका लागि यति मूल्य तोकेको हो । यति धेरै तलब पाउने भएकै कारण केही खेलाडीले आफ्नो देशकै लागि खेल्न छाडेर आईपीएलमै मात्र ध्यान दिन थालेका छन् । अचेल आफ्नो देशका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभन्दा आईपीएल खेल्नु नै कोही पनि खेलाडीका लागि फाइदाका व्यवसाय हुने गरेको छ ।

सम्भावित केही निर्णायक पक्ष

क्रिकेट पण्डितहरूले तीन त्यस्तो मोडबारे पनि अनुमान गरेका छन्, जुन प्रतियोगिता अगाडि बढ्ने क्रममा निर्णायक साबित हुन सक्नेछ । त्यसध्ये एक हो, मुम्बईका बलर जसप्रित बुमराहको फिटनेस । जनवरीयता उनी चोटका कारण धेरै सक्रिय छैनन् । तर उनी नै सेतो बलले खेलिने क्रिकेटका सबैभन्दा प्रभावशाली बलर हुन् ।

केही सुरुआती चरणका खेलपछि उनी मुम्बईका लागि मैदानमा ओर्लिने विश्वास छ । उनी आफ्नो पूर्ण लयमा खेल्न सक्षम हुनेछन् भने त्यो मुम्बईका लागि ठूलै उपलब्धि हुनेछ । उनी प्रतियोगितामा लामै समय अनुपस्थित रहे भने वा आफ्नो प्रतिष्ठाअनुसार खेल्न मात्र पनि असफल रहे भने त्यो मुम्बईका लागि घातक साबित हुनेछ । उनीमात्र होइनन्, ब्याटबाट कोहलीको प्रदर्शन कस्तो हुने हो, त्यो पनि निर्णायक साबित हुन सक्नेछ ।

खास कुरा के भने यसअघिका १७ संस्करणमा बेंगलुरु जहिल्यै पनि बलियो टिम मानिएको छ । धेरैले बेंगलुरुले उपाधि जित्ने अनुमान गर्छन् । तर सफलताको नजिक पुगेर बेंगलुरु र कोहली दुवै चुक्ने गरेका छन् । कोहली अन्तर्राष्ट्रिय क्रिकेटको जतिसुकै ठूलो नाम भएता पनि उनले अहिलेसम्म आईपीएल उपाधि जित्न सकेका छैनन् । फेरि उनी आफ्नो खेलजीवनको अन्त्यतिर छन् । 

यस्तोमा उनका समर्थकलाई लोभ हो, सायद अहिलेकै सिजन बेंगलुरुले आईपीएल जित्ने हो कि ? र, अन्त्यमा महेन्द्रसिंह धोनीको कुरा । कोहलीको ठीक उल्टो । उनी आईपीएलकै सबैभन्दा सफल खेलाडी हुन् । चेन्नाइले पाँचपल्ट उपाधि जित्दा सबै अवसरमा उनी प्रमुख खेलाडी थिए । उनी पनि आफ्नो खेलजीवनको अन्त्यतिर छन् । अझ उनले त अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पनि ६ वर्ष भइसक्यो । के उनी उत्तिकै प्रभावशाली खेलाडी साबित हुनेछन् ?

आजको खेल

कोलकाता नाइट राइडर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु

समय : १९ः४५ बजे

प्रत्यक्ष प्रसारण : कान्तिपुर म्याक्स एचडी

हिमेश

Link copied successfully