आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

IPL Live Streaming from Kantipur Max

काठमाडौँ — कान्तिपुर म्याक्स एचडीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी)ले जनाएअनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । 

सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ । आईपीएलको १८ औं सिजन शनिबार सुरु हुँदै छ । पहिलो दिन कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्दै छन् । फाइनल खेल मे २५ मा इडेन गार्डेनमै हुनेछ । 

‘नेपालका खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक र पत्रकारबाट म्याचको प्रिभ्यु र रिभ्यु गरिने छ, जसले आईपीएललाई नजिकबाट बुझ्न सहयोग गर्नेछ,’ केएमजीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले भने, ‘आईपीएल भनेको भारतीय बजारमा वर्षभर आफ्नो उत्पादनलाई प्रवर्द्धन गर्ने मुख्यस्थल हो । आईपीएलको प्लेटफर्ममा नेपाली बजारले पनि आफ्नो ब्रान्ड प्रचारप्रसार गर्ने मौका पाएको छ ।’

नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक आईपीएल नेपाली च्यानलबाट देखाउन लागिएको हो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सफलताबाट उत्साही नेपाली दर्शकका लागि आईपीएलले थप जोस थप्ने सीईआो महेश स्वाँरले विश्वास व्यक्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully