पिरियडका बेला प्याड प्रयोगबारे सिकाउने आमा, कसैको दुर्व्यवहारविरुद्ध लड्न सिकाउने आमा, स्विमिङ र तेन्वान्दोको तालिम लिन पठाउने आमा, केही पर्दा केटा मान्छेको गुहार माग्ने हैन, निर्धक्क र सक्षम हुनुपर्छ भनी सिकाउने आमा हुन् संगीता
काठमाडौँ — सगुना शाह कोठाको कुनामा ठडिएको दराज उघार्छिन् । तखताभरि पुस्तक र कापीका चाङ छन् । तिनलाई नजिकको टेबुलमा बिसाउँछिन् । कापीका पानाहरूलाई सुस्तरी पल्टाउँछिन् । पानामा अक्षरले कुँदिएका कथाहरू थिए, कविताहरू थिए, गीतहरू थिए । तर कसका ? ‘ममीका, यी सब ममीका,’ लेखक, अनुवादक शाह पाण्डुलिपि देखाउँदै भन्छिन् ।
पुराना र गाढा अक्षरहरू नियाल्दै गर्दा सगुना के पाउँछिन् ? ‘ममीको अनुभूति, जीवनप्रतिको बुझाइ, गहिरो चिन्तन,’ उनी ठम्याउन खोज्छिन्, ‘यो लेखिरहँदा उहाँ कुन अवस्थाबाट गुज्रिरहनुभएको रहेछ, त्यो थाहा पाउँछु ।’
पाण्डुलिपिमा कलमले लेखेको लेखकको नाम छ– संगीता शाह । उनी, सगुनाकी आमा हुन् । सगुना एक्लैको ? हैन, बहिनी प्रार्थनाको पनि ।
संगीताले रहरलाग्दो जीवन बाँचिन् । अहिले पनि त्यही रहरलाग्दो जीवनमा उनी आफूलाई फैलाइरहेकी छन् । आफ्नो जीवनमात्र हैन, उनले छोरीहरूको जीवन पनि उस्तै रहरलाग्दो बनाइन् । बरु सकसलाग्दो परिस्थितिसँग एक्लै भिडिरहिन् । उस्तैपरे अहिले पनि । कसैले सोध्छन् सगुनालाई आमाको उमेर । भन्छिन्, ‘७५...। अनि त उहाँले आफ्नो उमेर गन्नै छाड्नुभयो ।’ सगुना आफैं औंलाले केही अंक गिन्ती गर्छिन् । ‘८० पो पुग्नुभयो कि,’ त्यसपछि हाँस्छिन् ।
सगुना निबन्ध लेख्छिन् । पुस्तकका समीक्षा गर्छिन् । पठन संस्कृतिसँग जोडिएका बहसका शृङ्खला चलाउँछिन् । उनले अनुवाद गरेको शिवा शाहको उपन्यास ‘द अदर क्विन’को नेपाली अनुवाद ‘कान्छा महारानी’ पाठकमाझ लोकप्रिय छ ।
उनै अनुवादकको अगाडि यतिबेला अर्को अनुवाद पुस्तक छ । त्यो आमा संगीताले नेपालीमा भावानुवाद गरेको– श्रीमद्भागवत सत्संग गीता । संगीता आध्यात्मिक मार्ग रुचाउँछिन् । यद्यपि, धर्मका नाममा रचिएका गलत नियमहरूका विरुद्धमा उभिन छाड्दिनन् । सगुना सुकेधारास्थित आफ्नो घरमा आमाको सिर्जना पल्टाउँदै उनको स्वभाव र विगतबारे सम्झिरहेकी छन् । सुनाउँछिन्, ‘ममी भन्नुहुन्छ, यिनीहरूलाई एकदिन गंगामा सेलाइदिनु ।’
‘तर किन ?’
‘जीवन त अमर हुँदैन । यसले ठाउँमात्र ओगटेर के गर्नु ?’ संगीताको सटीक जवाफ उनी उद्धृत गर्छिन् । आमाको यो वचन सगुनाले टेरे पो, बरु जतनले सँगाल्छिन् । आमाले रेकर्ड गरेका गीतका क्यासेट सँगालेजस्तै । आमालाई हजुरआमाले लेखेका चिठीपत्र सँगालेजस्तै । कहिलेकाहीं क्यासेट सुन्छिन् । कहिलेकाहीं चिठी पल्टाउँछिन् । अनि आमाले सुनाएका पुराना कथाहरूका थैलो उघार्छिन् ।
कुपन्डोलको खड्का परिवारमा आमा संगीता जन्मिइन् । बाल्यकालमा उनको उपद्रो सुन्दा सगुनालाई सिनेमाको कथाजस्तो लाग्छ । जस्तो कि घरबाट पढ्न भनेर स्कुल गएकी छोरी दिनभरि बागमतीमा हाम फाल्दै पौडी खेल्ने । साँझ परेपछि घर फर्कने । ‘तर ममीले पौडी खेलेको आफ्नै आँखाले नदेखुन्जेल पत्याइनँ,’ सगुना भन्छिन्, ‘कुन कथा साँचो हो, कुन झूटो पत्याउनै मुस्किल पर्थ्यो ।’
एक पटक आमा घरबाट भागेर सिनेमा हेर्न गइछन् । जब मध्यान्तर भयो, छेउको सिटमा त आफ्नै बा । बा र छोरीको हेराहेर भएछ । दुवै आतिएछन् । दुवैले वचन दिएछन्, ‘सिनेमा हेरेको घरमा नभन्ने ।’
‘यस्तो पनि कहीं हुन्छ र ? पूरा फिल्मी स्टोरी भयो,’ सगुना आमाले सुनाएको कथाको विश्वसनीयतामाथि प्रश्न गर्छिन् । यस्तै थुप्रै किस्सा जुन सगुनाले झूट र सत्यको माझमा राखेर सुनिन् ।
आर्मी, आमा संगीताको पारिवारिक पृष्ठभूमि ।
बा राणा प्रधानमन्त्री मोहनशमशेरका एडीसी । बाजे चाहिँ चन्द्रशमशेरको । संगीताका कान्छा भाइ पनि राजा वीरेन्द्रका एडीसी । घरभित्र अनुशासन त थियो । तर संगीताले अनुशासनसँगै पाएकी थिइन् स्वतन्त्रता ।
एकपल्ट उनले भाइलाई पछाडि राखेर मोटरसाइकल हुइँक्याइछन् । त्यतिबेला उनलाई ब्रेकबारे राम्रो जानकारी थिएन । पछाडिबाट आर्मीको जिप आउँदै थियो । जिपले बाटो पाएन । बल्लबल्ल ब्रेक लगाएर ‘घच्याक्क’ रोकिन् । जिपबाट बाहिर निस्केका आर्मी अफिसर रिसाउँदै गर्जिए, ‘कुनचाहिँ साले हो ?’ जब संगीतालाई देखे, त्यसपछि आक्रोश थम्थम्याउँदै भने, ‘ए, साले भनेको साली पो परिछ ।’ ती अफिसर संगीताका भिनाजु पर्नेर् रहेछन् ।
संगीताले आरआर क्याम्पसमा साइकोलोजीमा स्नातक गरिन् । स्नातक पढ्ने क्रममा उनी क्याम्पसमा कविता भन्थिन्, गीत गाउँथिन् । नाटक गर्थिन् । ब्याटमिन्टन खेल्थिन् । २०२६ सालतिर, एकदिन क्याम्पसमा नाटक हेर्न पुगेछन् प्रकाशविक्रम शाह । उनले नाटक गरिरहेकी संगीतातर्फ हेर्दै भनेछन्, ‘म यही केटीसँग बिहे गर्छु ।’
सुत्ने बेलामा सगुना एक साइडमा हुन्थिन्, बहिनी प्रार्थना अर्को साइड । आमा बीचमा । कोतर्फ पल्टने ? उनी द्विविधामा पर्थिन् । ‘ममी दुईतिरै फर्कनु हुन्नथियो । अनि उतानो फर्केर कथा भन्नुहुन्थ्यो,’ सगुना सुनाउँछिन् ।
बा प्रकाशविक्रम बागदरबारका शाह । बागदरबारमा हुर्कंदै गर्दा सम्झना छ सगुनालाई, त्यहाँको विशाल क्षेत्रफल, अनि मठमन्दिर । र, सम्झना छ, आमाले साह्रै दुःख गरी बहिनी र उनलाई खाना खुवाएको । आमाले त्यतिबेला पनि लगाउँथिन्, कथा भन्ने जुक्ति । ‘बहिनी र मलाई एउटै थालमा खाना मुछेर खुवाउँदै गर्दा कथा भन्नुहुन्थ्यो,’ सगुना सम्झिन्छिन् । सामान्य बेलामा पनि संगीता छोरीहरूलाई कथा सुनाउन भने छुटाउन्नथिइन् ।
सगुनाका बाका चार आमा । उनी माइलीका सन्तान । प्रकाशविक्रम नापी विभागका अधिकृत भएकाले उनले जीवनको लामो हिस्सा काठमाडौं बाहिरका जिल्लाहरूमा बिताए । बिहेपछि आमा संगीता पनि प्रकाशविक्रमसँगै विभिन्न जिल्लाहरूमा रहिन् । कहिले सिन्धुलीगढी त कहिले हेटौंडा । हेटौंडामा दस वर्ष बिताए उनीहरूले ।
सगुनालाई ४ वर्षको उमेरमा सेन्टमेरिजमा भर्ना गरिदिए । तर आमालाई छोरी काठमाडौंमा राखेर पढाउनुथिएन । पछि बहिनी र सगुनालाई दार्जिलिङ पठाइन् । दार्जिलिङ जाँदा सगुना ७ वर्षकी थिइन् । संगीतालाई बागदरबारको वातावरणमा छोरीहरू हुर्काउनु थिएन । उनी छोरीहरूलाई आम मान्छेझैं देख्न चाहन्थिन् । सगुनालाई लाग्छ, यदि त्यतिबेला दार्जिलिङ नगएको भए के हुन्थ्यो ?
सायद आफ्नो परिचयबारे बेखबर हुनुपर्थ्यो कि, हुर्काउँदै गर्दा सगुनाले बालाई राजासाहेब भनेको मात्र सुनिन् । आमालाई रानीसाहेब । अनि आफूलाई सानु महारानी । उनलाई आफ्नो नाम सगुना भनेर दार्जिलिङ पुगेपछि मात्र थाहा भयो । नत्र कसैले नाम सोधिहालेमा भन्थिन्, ‘सानु महारानी ।’
बुकाहोलिक्समार्फत सगुना निरन्तर पठन संस्कृतिको विकासका काम गरिरहेकी छन् । थुप्रै बहस र छलफल कार्यक्रम चलाइसकेकी छन् । त्यो गतिविधि नदेखेमा आमा सोधिहाल्छिन्, ‘आजकल हरायौ त । सेलायौ त ।’
दार्जिलिङमा उनलाई त्यो नामले कसैले बोलाएनन् । बल्ल उनलाई आफ्नो असली नामबारे थाहा भयो । पछि फर्किने बेला कसैले सानु महारानी भन्दा उनको विनम्र अनुरोध हुन्थ्यो, ‘मलाई सगुना भन्नू ल ।’
यता छोरीहरू सम्झेर बा जहिल्यै रुन्थे । आमासँग गुनासो थियो, ‘तिमीले छोरीहरूबाट मलाई टाढा राख्यौ ।’ तर आमा र छोरीहरूमा दरबारियाको छाया पर्न दिनु थिएन । राम्रो स्कुलिङ दिनु थियो । आत्मनिर्भर बनाउनु थियो ।
जीवन सुन्दर थियो । सगुनाले आमाको आँखामा आँसुको डोब देख्नुपरेको थिएन । इन्द्रेणीझैं रंगीन जीवनमा अचानक बिजुली चम्कियो । अनि बादलले ढाक्यो । २०४२ साल आँसुमय बन्यो । त्यो वर्ष कहिल्यै नभोगेको पीडा भोगिन् सगुनाले । कहिल्यै नगरेको संघर्ष गरिन् आमाले । सगुना ११ वर्षकी थिइन्, बिदा मनाउन काठमाडौं आएकी थिइन् ।
रक्तदान गर्न वीर अस्पताल पुगेका बाको अचानक पेट दुख्यो । उनी रन्थनिँदै घर आए । दुखाइले आहात भएका उनी पलङमा पल्टिए । पल्टिरहेका बाको सौम्य अनुहारमा सगुनाले पहिलो पटक आँसु देखिन् । सम्भावित भयले सगुनालाई गाँज्यो । बालाई हतारहतार अस्पताल लगियो । तर बा अस्पताल पुग्न पाएनन् । उनले सधैंका लागि आँखा चिम्लिए । उनीहरूको रुवाइले, चीत्कारले बा फर्किनेवाला थिएनन् । बा गए, दुःखहरू आए । सगुना सम्झिन्छिन्, ‘ड्याडी गएपछि ममीको संघर्ष सुरु भयो ।’
स्वर्गीय भएका बाको एकाह लगाउन इलाहावाद पुग्दा पहिलो पटक सगुनाले आमा पौडिएको देखिन् । त्यतिबेला ठानिन्, ‘मामुले सुनाउनु भएको पौडीको किस्सा सत्य रहेछ ।’
सम्झिन पुगिन्, आमाले पौडीबारे सुनाएका थप कथा । जुन बासँग जोडिएर आउँथे । हेटौंडामा नापीको हाकिम हुँदा अरू विभागका हाकिम बटुल्दै बा–आमा राप्ती किनारमा पिकनिक जान्थे । आमा जोसिँदै स्विमिङ गर्थिन् । बालाई पानीसँग डर थियो । आमालाई ‘सानु सानु’ भन्दै बोलाउँथे । आमा स्विमिङ गरेर बाहिर निस्केपछि मात्र बाको मन शान्त हुन्थ्यो ।
तर इलाहावादमा पानीमा पौडिएर बाहिर निस्कँदा आमाको मन भने शान्त थिएन ।
आफ्नो जमिन, सम्पत्तिको बाले कहिल्यै वास्ता गरेनन् । श्वेत कपडामा आमाले घनचक्कर मार्दै अधिकारको लडाइँ लडिन् । मागेर पाइनन् आफ्नो । अनि खोसिन् । ‘त्यसपछि मैले सधैं ममीले एक्लै संघर्ष गर्नुभएको देखें,’ सगुना सुनाउँछिन् ।
सगुनासँग आमाको लामो समय एउटै गुनासो रह्यो । १७ वर्षको उमेरमा संगीताले छोरीको बिहे छिनेकी थिइन् ।
सानैदेखि ‘गुड टच’, ‘ब्याड टच’ सिकाउने आमा, पिरियडका बेला प्याडको प्रयोगबारे सिकाउने आमा, कसैको दुर्व्यवहारविरुद्ध लड्न सिकाउने आमा । स्विमिङ र तेन्वान्दोको तालिम लिन पठाउने आमा । त्यतिबेला किन गलिन् ? ‘तिमीहरूलाई केही पर्दा केटा मान्छेको गुहार माग्ने हैन,’ निर्धक्क र सक्षम हुन सिकाउने आमा किन कमजोर भइन् ? सगुनाले त्यो विवाह अस्वीकार गर्दै भनिन्, ‘म तपाईंलाई मुद्दा हाल्छु ।’
आमालाई अल्सर थियो । बाको अनुपस्थितिपछि एक्लै लडेकी आमालाई सायद डर लागेको हुनुपर्छ, ‘भोलि यिनीहरूको अभिभावक कोही छैन ।’ ‘यहाँनिर ममीलाई जिन्दगीमा कहीं आवश्यकता नभएको मेल फिगरको आवश्यकता भएको हुनुपर्छ,’ सगुना ठम्याउँछिन् ।
जति जति विवाह नजिकिन्थ्यो, सगुनाको मनमा विरहको धुन बज्थ्यो । उनी विचलित हुन्थिन् । छोरीको उदास अनुहार पढिरहेकी आमाले एक बिन्दुमा पुगेपछि भनिन्, ‘मन छैन भनेर नगर न त ।’
तर त्यतिबेला समय निकै घर्किसकेको थियो ।
दुई छोरा सौगात र सौम्यको आगमनपछि उनी वैवाहिक जीवनबाट मुक्त भइन् । आमालाई छोरीको मञ्जुरीबिनाको विवाहको निर्णयमाथि अहिले पनि पछुतो छ । आजकल नातिहरूसँग सम्बन्धका कुरा गर्छिन् । भन्छिन्, ‘लिभिङ टुगेदर पनि नराम्रो हैन ।’ सगुना आमाको सुझावमाथि सन्देह गर्छिन्, ‘नाति भएर पो यसो भन्नुभएको हो कि ? यदि छोरी हुन्थे भने ?’
अहिले आमा अमेरिकामा कान्छी छोरीज्वाइँसँग छिन् । अध्ययनको सिलसिलामा दुई छोरा पनि बाहिर छन् सगुनाका । २०१८ सम्म सँगै थिइन् आमा । सँगै हुँदा आमाछोरीबीच असहमतिका दोहोरी चलिरहन्थे । अहिलेचाहिँ आमाको अनुपस्थितिले चिमोट्छ बेलाबेला । सगुनाले १५ वर्ष कलेजमा अंग्रेजी साहित्य र फ्रान्सेली भाषा पढाइन् । उनी कलेज पढाउन जाँदा आमा बिहान छोरीलाई माइग्रेन दुख्छ भनेर कोठा सफाचट् पारेर राखिदिन्थिन् । जुस राखिदिन्थिन्, फलफूल राखिदिन्थिन् । सगुना घर आउँथिन्, आमाको करलाई नकार्दै भन्थिन्, ‘मलाई खान मन छैन । बाहिर खाएर आएँ ।’
सगुना सम्झिन्छिन्, ‘त्यो कुराले मामुलाई कति हर्ट हुन्थ्यो होला ।’
आमा अमेरिका जानुअघि सगुना वल्लो घरमा बस्थिन् । त्यो घर अहिले रेन्टमा दिइएको छ । अर्को घर खाली थियो । खाली घरमा आफ्नै स्पेसमा बस्न थालिन् सगुना । बेलाबेला आमा अमेरिकाबाट आउँथिन् । तैपनि आमासँग स–साना कुरामा नोकझोंक चलिरहन्थ्यो । जस्तो कि सगुनाले कप घोप्ट्याएर राखेकी छन् भने आमा उल्ट्याइदिन्थिन् । ‘मलाई थरीथरीका कपमा चिया खान मन लाग्छ । ममीचाहिँ भएभरका कप थन्क्याइदिएर हेप्पी बर्थ डे वाला कप निकालेर राख्दिनुहुन्छ । म आफ्नो वनरसिप खोज्छु, ममी आफ्नो,’ सगुना सुनाउँछिन् ।
आमा केही कुरा खुवाउन कर गरिरहने । सगुना नखाइदिने । आमा चुपचाप कहिल्यै नबस्ने । कहिले त रुखका हाँगा काटिरहेकी हुन्थिन् । आमा अनावश्यक चलिरहेको देख्दा सगुनालाई रिस उठ्थ्यो ।
सगुना एक्लै हुँदा लेखपढ गरेर सधैं समय कट्दैनथियो । त्यस्तो बेला उनी पनि लट्ठीले रुखका सुकेका पात खसाल्न थाल्छिन् । उनलाई अचम्म लाग्छ, ‘जुन पात आफैं खस्छ । किन खसालिरहेछु ।’
जुन कुरा मलाई ममीको मन पर्दैनथ्यो, अहिले म बिस्तारै त्यही हुँदै जाँदै छु,’ सगुना सुनाउँछिन् । अहिले छोराहरूले सगुनालाई ठट्टा गर्दै भन्छन्, ‘तपाईं पनि आफू (आमा) जस्तै । हिँडेको पनि आफूजस्तो, बोलेको पनि ।’
केही समयअघि सगुनाको परिवार लन्डनमा जम्काभेट भयो । उनीहरूले एकअर्कालाई वर्षौंपछि संयुक्त समय दिए । त्यतिबेला आमाको इनर्जी देखेर जिल खाइन् सगुना । ‘जति हिँड्दा पनि नथाक्ने आमा, कति स्ट्रङ ?’ सगुनालाई लाग्यो ।
आमा छोरीको गतिविधि टाढै बसेर पनि मध्यनजर गरिरहन्छिन् । बुकाहोलिक्समार्फत सगुना निरन्तर पठन संस्कृतिको विकासका काम गरिरहेकी छन् । थुप्रै बहस र छलफल कार्यक्रम चलाइसकेकी छन् । त्यो गतिविधि नदेखेमा आमा सोधिहाल्छिन्, ‘आजकल हरायौ त । सेलायौ त ।’
आमालाई सगुनासँग एउटा गुनासो पनि छ, विद्यावारिधि नगरेकोमा । सगुनाले छोराहरू अध्ययनका लागि बाहिर जान्छन्, अनि आफू पनि पीएचडीका लागि कुनै देश जाने सोच बनाएकी थिइन् । उनी विश्वविद्यालय पनि खोज्दै थिइन् । एउटा बिन्दुमा पुगेपछि लाग्यो, ‘बूढी हुँदै गएकी आमालाई छोडेर कहाँ जाउँ ? बरु जहाँ जान्छु, ममीलाई सँगै लान्छु ।’ उनले विश्वविद्यालय खोजिरहने क्रममा आमा नै अमेरिका उडिन् । अहिले भन्छिन्, ‘१५ वर्ष भयो तेरो पीएचडी सुनेको ।
अब गर्दिनस् ।’
तर, आमालाई अझै पनि त्यसको चाह छ ।
सगुनाको स्वभावलाई लिएर आमा भन्ने गर्छिन्, ‘तँलाई जसले पनि उल्लु बनाउँछ ।’ सगुना आमालाई जवाफ फर्काउँछिन्, ‘यो पनि हजुरकै बानी ।’
तर, कसैले गल्ती गरेमा सगुनाको मन त फर्केला । आमाको फर्किन्न । ‘सधैं खुला हुने
ममीको ढोका एकपल्ट बन्द भएपछि कहिल्यै खुल्दैन,’ सगुना भन्छिन्, ‘यो कुरामा चाहिँ उहाँले गिभअप गरिदिए नि हुने ।’
आमाका कथा सगुना धाराप्रवाह भन्न सक्छिन् । सम्झन पनि सक्छिन् । सायद आमाको ठाउँमा आमा नभएर बा भएको भए ? उनी सोच्न पनि सक्दिनन् । ठम्याउँछिन्, ‘आमा हुनुको महत्त्व अलग्गै छ ।’ आमाले कथा भनेर नथाकेजस्तै सगुना आमाकै कथा सुनाएर पनि थाक्दिनन् । तर आमाजस्तो कुशल कथावाचक भने ठान्दिनन् आफूलाई । ‘आमा आएपछि बाँकी कथा उहाँले पनि सुनाउनुहुन्छ है,’ उनी पुनः निम्तो दिँदै भन्छिन् ।
