च्याटजीपीटीदेखि डिपसिकसम्म, जेमिनाइदेखि ग्रोक, क्लाउडीदेखि कोपाइलटसम्म, अहिले प्रतिस्पर्धा छ त एआई च्याटबटको । सिर्जनात्मक लेखन, तस्बिर तथा भिडियो निर्माणबाट लोकप्रिय बनेका बटहरूले राजनीतिक टिप्पणी पनि गर्न थालेका छन् । आक्रामक हुने होडमा ग्रोक जस्ता एआईले त भारतलगायत देशमा राजनीतिक विवादलाई उत्कर्षमै पुर्याइदिए जसका कारण सरकार नै एआई कम्पनीलाई कारबाही गर्न कस्सिएका छन् । सरकारसँग भिड्न पाएपछि एआई बट अझ उत्साहित भएका छन् ।
काठमाडौँ — अर्बपति इलन मस्कको कम्पनी ‘एक्स एआई’ ले निर्माण गरेको ‘ग्रोक एआई’ च्याटबटले पछिल्लो समय राजनीतिक र विभिन्न संवदेनशील विषयमा ‘कडा’ र ‘सनसनीपूर्ण’ प्रतिक्रिया दिइरहेको छ । यसले कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘पुटिनका मतियार’ भनिदिन्छ त कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘सबैभन्दा साम्प्रदायिक नेता र पीआर मेसिन’ को संज्ञा दिन्छ । मस्कलाई समेत ग्रोकले ‘मिथ्या सूचना फैलाउने मुख्य पात्र’ बताउने गर्छ ।
अहिले जसरी ग्रोकको चर्चा छ, एक महिनाअघि मात्रै चिनियाँ एआई च्याटबट ‘डिपसिक’ ले पनि हलचल मच्चाएको थियो । ‘डिपसिक’ ले विश्व अर्थतन्त्रमै तरंग ल्याइदियो, अमेरिकी र युरोपेली देशका सूचना प्रविधि कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो । सस्तो लागत, न्यून कम्प्युटिङ पावर, ओपेन–सोर्स मोडलमा निर्माण गरिएको र अन्य उन्नत एआई च्याटबटजत्तिकै ‘पावरफुल’ भएकाले एआई क्षेत्रमा डिपसिकको प्रवेश महत्त्वपूर्ण रह्यो । यस क्षेत्रमा अमेरिकी कम्पनीहरूको प्रभुत्व रहेका बेला सशक्त चिनियाँ प्लाटफर्म आउनुलाई कतिपयले ‘एआईको स्पुतनिक क्षण’ का रूपमा पनि टिप्पणी गरे ।
सन् १९५७ मा तत्कालीन सोभियत संघले विश्वमै पहिलो पटक अन्तरिक्षमा स्पुतनिक नामक भू–उपग्रह प्रक्षेपण गरेको थियो । अन्तरिक्षमा को पहिलो हुने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला आफ्ना प्रतिस्पर्धी देशले प्रविधि क्षेत्रमा फड्को मार्दा अमेरिका चकित बनेको थियो । अहिले एआईमा पनि चिनियाँ प्रविधि अघि बढ्नुलाई स्पुतनिक घटनासँग जोडिएको हो । चीनमा डिपसिकसँगै बाइडु, जिपु, मुनसटजस्ता अन्य च्याटबटहरूमाझ को सबैभन्दा अब्बल हुने वा को विश्वस्तरमा चाँडो फैलिने भन्नेमा आफ्नै प्रतिस्पर्धा चलिरहेको छ ।
एआई च्याटबटको दुनियाँमा २०२२ नोभेम्बर ३० ऐतिहासिक क्षण थियो । यो दिन अमेरिकी कम्पनी ओपेन एआईले अहिलेको सबैभन्दा चर्चित बट ‘च्याटजीपीटी’ सार्वजनिक गरेको थियो । यो च्याटबट सार्वजनिक भएको एक साताभन्दा कम समयमै १० लाख फलोअर्स पुगेका थिए । हाल यसका दैनिक सक्रिय प्रयोगकर्ता नै करिब १२ करोड छन् भने दिनमा १ खर्बभन्दा धेरै जिज्ञासा यसले ‘प्रोसेस’ गर्ने गरेको कम्पनीको दाबी छ । कुनै बेला इन्टरनेटमा केही खोज्नुपरे ‘गुगल गर्ने’ भनिएझैं अहिले ‘च्याटजीपीटी गर्ने’ प्रवृत्ति ह्वात्तै बढेको छ ।
मानिस र मेसिनबीच हुने अन्तरक्रियाका लागि सबैभन्दा बलियो, एआई–पावर्ड, मेसिन लर्निङ, भ्वाइस रिकग्निसनजस्ता उन्नत प्रविधिमा आधारित च्याटबट बनाउन अहिले ठूल्ठूला प्रविधि कम्पनी र विभिन्न देशबीच नै प्रतिस्पर्धा देखिन्छ । शक्तिशाली एआई च्याटबटहरूको विकास राष्ट्रिय चासोको विषय बनेको छ । हामीकहाँ नै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा च्याटबटबारे बोल्ने गरेका छन् । ‘डिपसिक त ब्रुस्लीजस्तो आएको छ, ज्यान सानो–सानो छ तर ढ्याङढुङ हानिहाल्छ, ढालिहाल्छ,’ माघ १७ मा आयोजित आठौं नेपाल चेम्बर एक्स्पोको उद्घाटन समारोहमा ओलीले भनेका थिए । यस्ता प्रविधिमा नेपाल सधैं उपभोक्ता नभई आफैं निर्माणमा समेत लाग्नुपर्ने उनको धारणा थियो ।
च्याटजीपीटी, ग्रोक र डिपसिक मात्रै होइन, कोपाइलट, जेमिनाइ, परप्लेक्सिटी एआई, क्लाउडीजस्ता च्याटबट अहिले दैनिक जीवनको एक हिस्साजस्तै भइसकेका छन् । सामाजिक सञ्जालमा गरिने पोस्टलाई विभिन्न भाषामा स्पष्टसँग लेख्नदेखि जागिरका निवेदन, इमेल ड्राफ्ट गर्न, प्रपोजललगायत दस्ताबेज तयार गर्न च्याटबटको प्रयोग बढेको छ । उट्पट्याङ प्रश्न सोध्न र व्यक्तिगत कुराकानी गर्नसमेत च्याटबटको प्रयोग भइरहेको छ । अहिले जेनेरेटिभ च्याटबट नै यति धेरै उपयोगी भइरहँदा अब आउने भनिएको ‘एजेन्टिक एआई च्याटबट’ अझै सशक्त र ह्युमन कमान्डबेगर नै प्रयोगकर्ताका काम गरिदिने क्षमताको हुने भएकाले भविष्य कस्तो होला भन्नेमा उत्सुकता र आशंका पनि बढेको छ ।
हाल च्याटजीपीटीसँगै दैनिक झन्डै १ करोडले गुगल जेमिनाइ, ६२ लाख प्रयोगकर्ताले डिपसिक, झन्डै ४० लाखले क्लाउडी र पर्प्लेक्सिटी एआईसहित दैनिक रूपमा करिब १ अर्ब व्यक्तिले एआई च्याटबटहरू चलाउने गरेको तथ्यांक छ । यो संख्या कति ठूलो हो भने विश्वमा रहेका आठमध्ये एक व्यक्तिले सरदर दैनिक रूपमा कुनै न कुनै च्याटबट प्रयोग गर्छन् । यसले पनि च्याटबटहरूको बढ्दो प्रभाव र उपयोगिता देखाउँछ । धेरै मानिसमा पुग्ने, मानिसको धारणा परिवर्तन गरिदिन सक्ने यस्तो प्रभावशाली माध्यम भएकाले एआई च्याटबटमा लगानी पनि बढेको बढ्यै छ ।
चल्तीका च्याटबटहरूमा सबै जसोको आ–आफ्नै विशेषता, बलियो र कमजोर पक्ष छन् । धेरैको रोजाइमा पर्ने गरेको च्याटजीपीटी सिर्जनात्मक लेखाइमा विविधता, समस्या समाधान (प्रब्लम सल्भिङ) मा बलियो र सामान्य ज्ञानको प्रचुरताका लागि प्रख्यात छ । यसले शब्द र तस्बिर दुवै जेनेरेट गर्न सक्छ । तथापि, बारम्बार देखिने तथ्यगत त्रुटि र अद्यावधिक सूचनाको अभावका कारण भ्रामक सूचना सिर्जना गरेर यो पटक–पटक विवादमा पनि आउने गरेको छ ।
हालै मात्र युरोपेली देश नर्वेका आर्वे जाल्मर होल्मेनले आफ्नाबारे प्रश्न सोध्दा च्याटजीपीटीले दुई छोराको हत्या गरेर कुख्यात बनेका व्यक्ति भनी आफूबारे गलत कुरा लेखेको भन्दै उनले ओपेन एआईविरुद्ध मुद्दा हालेका छन् । च्याटजीपीटीले उनलाई दुई छोराको हत्या गरेकाले २१ वर्ष कैद सजाय सुनाइएका मानिस भन्ने जवाफसमेत दिएको थियो । अहिले उनीबारे सोध्दा च्याटजीपीटीले आफ्नो गल्ती स्वीकार गर्दै अघिल्लो विवरण ‘एआई हलुसिनेसन’ का कारण मिथ्या कन्टेन्ट उत्पन्न भएको र यसमा ओपेन एआईले छानबिन गरिरहेको प्रतिक्रिया दिन्छ ।
यस्तै, अहिले चर्चामा रहेको ग्रोकचाहिँ सामाजिक सञ्जालको समेत सूचना समावेश गरेर कम सेन्सरसिप भएको जानकारी दिन सक्षम देखिएको छ । ‘पछिल्ला केही दिनयता ग्रोक एआईले सामाजिक सञ्जालमा आगो लगाइदिएको छ, जुन झूटा खबर र प्रोपोगान्डा फैलाउन गोदी मिडिया र आईटी सेलका मजदुरहरूले वर्षौं समय लगाए र मानिसहरूलाई लाखौँ ह्वाट्सएप फर्वाड पठाए, एकै दिनमा ग्रोकले दूधको दूध, पानीको पानी छुट्याइदिएको छ,’ चर्चित भारतीय युट्युबर ध्रुव राठी भन्छन्, ‘ग्रोकले सटीक र बोलीचालीको भाषामा तथ्य जाँचको काम गरिरहेको छ ।’ उनी एआई च्याटबटहरू व्यक्ति वा विचारपरक नभई वस्तुपरक प्रश्न सोध्न र तथ्य–तथ्यांक थाहा पाउनलाई अहिलेको समयको सबैभन्दा उत्तम प्रविधि मान्छन् ।
रियल टाइम तथ्यांकमा आधारित सेयर कारोबार, क्रिप्टोजस्ता विषयमा निर्णय लिनसमेत ग्रोक एआई उपयोगी रहेको कतिपय प्रयोगकर्ताको अनुभव छ । तथापि, सामाजिक रूपमा अपाच्य शब्दको प्रयोग, सीमित सिर्जनात्मक भाषालगायत यसका कमजोर पक्ष छन् । कतिपयले ग्रोकलाई दक्षिणपन्थी राजनीति वा भारतमा भाजपाप्रति असाध्यै पूर्वाग्रही रहेको टिप्पणी पनि गरिरहेका छन् । ग्रोकमात्रै नभएर समग्र च्याटबटहरूलाई नै कतिपय विषयमा पूर्वाग्रही रहेको भन्दै आलोचना हुने गरेको छ । यी बटहरू प्रायः विकसित र पश्चिमा देशका डेटासेटमा प्रशिक्षित हुने भएकाले यिनले पूर्वीय सन्दर्भ र संस्कृति नबुझेर उल्टोपाल्टो जवाफ दिने कतिपयको बुझाइ छ ।
माइक्रोसफ्टले बनाएको कोपाइलट च्याटबट कोडिङ र दस्ताबेजहरू तयार गर्न, प्रभावकारी सर्च इन्जिनको रूपमा काम गर्न र विशेषतः माइक्रोसफ्ट अफिससँगै जोडेर प्रयोग गर्न उत्तम मानिन्छ । तर, आम कुराकानी र संवादका लागि यो त्यति उपयोगी देखिँदैन । एन्थ्रोपिक कम्पनीको क्लाउडी एआई ठूला आकारका दस्ताबेजहरू तयार तथा सम्पादन गर्न, प्राज्ञिक कार्यका लागि पनि उपयुक्त हुने कारणले धेरैको रोजाइमा पर्ने गरेको छ । तस्बिरहरूमा काम गर्न नसक्ने र जेनेरेट भएका कतिपय कन्टेन्ट सजिलै सम्पादन गर्न नमिल्नेजस्ता सीमितता यसमा देखिन्छ भने लिंक पढ्न सक्ने क्षमता नहुनुले पनि यसलाई कमजोर बनाएको छ ।
गुगलको आफ्नै च्याटबट जेमिनाइलाई अहिलेको अवस्थामा ल्याइपुर्याउन कम्पनीले अत्यन्तै मिहिनेत गरेको थियो । शब्द, तस्बिर, अडियो–भिडियो सबैमा काम गर्न सक्ने यो च्याटबट गुगलको अथाह डेटामा आधारित भएका कारण जानकारीहरू सर्च गर्ने प्रयोजनका लागि उपयोगी देखिने गरेको छ । यसका विभिन्न मोडलहरू उपलब्ध रहेको र गुगल डिपमाइन्डमार्फत निरन्तर अपडेट आउने भएकाले यो अझै पनि विकासकै क्रममा छ । त्यस्तै, आफ्नो बलियो बहुभाषिक क्षमता, गणितलगायत कोडिङका समस्या समाधानमा अब्बल र तथ्यांकको प्रोसेसिङमा अन्य एआई च्याटबटभन्दा डिपसिक प्रभावकारी मानिएको छ । तर, चिनियाँ राजनीतिक विषयहरूमा जवाफ नदिने, चिनियाँ सेन्सरसिप र डेटा सुरक्षाबारे आशंकाजस्ता विषयहरू यसका कमजोर पक्ष हुन् । च्याटजीपीटी, पर्प्लेक्सिटी एआईलगायतले पनि कैयौँ राजनीतिक विषय, घटना र व्यक्तिबारे जानकारी दिन मान्दैनन् ।
जुनसुकै कम्पनीका भए पनि च्याटबटहरूले दिने जवाफमा प्रयोग हुने असत्य र अर्धसत्य सूचनासँगै पक्षपाती विचारहरूले प्रयोगकर्ताहरूमा प्रभाव पार्दै लगेको फोर्ब्स म्यागाजिनको एक समाचारमा उल्लेख छ । च्याटजीपीटीलगायत विभिन्न च्याटबटहरूले सामना गरिरहेको अर्को कठिन प्रश्न बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार उल्लंघनसँगै डिपफेकजस्ता कन्टेन्टको प्रयोगले निम्त्याउन सक्ने नकारात्मक प्रभाव पनि हो ।
सबैभन्दा डरलाग्दो पक्षचाहिँ एआई च्याटबटहरूले आफ्नै भाषामा एक–अर्कासँग गर्ने संवादलाई लिने गरिएको छ । केही समयअघि मात्रै दुई एजेन्टिक एआई च्याटबटहरूले एकअर्कासँग जिब्बरलिंक मोड (एआई च्याटबटहरूले भाषाको सट्टा साउन्ड–लेभल प्रोटोकलमार्फत गर्ने संवाद) मा कुराकानी गरेको भिडियो भाइरल बनेको थियो । ‘एआई–एआईबीचको अन्तरक्रियालाई प्रभावकारी बनाउन जिब्बरलिंक मोड विकास गरिएको हो,’ फोर्ब्समा डा. डियान हेमिल्टन लेख्छिन्, ‘तर, मेसिनहरूले गोप्य भाषामा बोल्न थाले भने यसले पारदर्शिता र प्रभुत्वसम्बन्धी प्रश्न उब्जाउँछ ।’
एआई च्याटबटहरूलाई अथाह डेटासेटमा प्रशिक्षण गरिने र यिनमा सेल्फ–लर्निङ (आफैँले नयाँ कुरा सिक्न सक्ने) क्षमता भएकाले यी भविष्यमा बेलगाम हुन सक्ने कतिपयको विश्लेषण छ । अहिले ग्रोक नै अनियन्त्रित भएर आफ्नै निर्माता इलन मस्कको आलोचना गरिरहेको एकथरी बताउँछन् । अर्काथरी भने ग्रोकलाई अन्य च्याटबटभन्दा चर्चित बनाउन मस्कले यसलाई ‘रोचक’ र ‘अप्रतिबन्धित’ टुलका रूपमा विकास गरेको ठान्छन् । हाल इलनले आफू र ट्रम्पले मिथ्या सूचना फैलाएको विषयमा नबोल्न ग्रोकमाथि सेन्सरसिप लगाएको कुरा यही च्याटबटले बताउने गरेको छ । ‘एआईलाई नियन्त्रण गर्नु वा यसले दिने जवाफलाई नियन्त्रण गर्नु कति मुस्किल काम हो भन्ने यसबाट बुझिन्छ,’ राठी आफ्नो एक्स्प्लेनर भिडियोमा भन्छन्, ‘एआईलाई यी व्यक्तिबारे राम्रा कुराहरू मात्रै भन भनेर जतिसुकै प्रोग्रामिङ गरिए पनि यिनलाई टेढोमेढो प्रश्न सोधेर साँचो कुरा निकाल्न सकिन्छ ।’
विभिन्न मिडिया र सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूले कतिपय एआई कम्पनीलाई आफ्ना सिर्जना, आवाज र हुलियासमेत अनुमति नलिई प्रयोग गरेको भन्दै त्यसलाई रोक्न कानुनी पहल अगाडि बढाएका छन् । च्याटबटहरूमा प्रयोग हुने लार्ज ल्यांग्वेज मोडल निर्माणमा सामेल गरिने लाखौं, करोडौं जानकारी, अर्काइभ, लेख, रचना, तस्बिर, अडियो, भिडियो, चित्र, पुस्तक, समाचारबाट साभार गरिने बौद्धिक सम्पत्तिको नैतिक प्रयोग कसरी सुनिश्चित गर्ने भन्नेमा पनि युरोपेली संघ, बेलायत जस्ता देशका सरकारहरूले पहल सुरु गरेका छन् । यसबाट यो समस्या कुनै कम्पनी वा प्लाटफर्म विशेषको भन्दा पनि सबै एआई च्याटबट प्रणालीकै व्यवस्थापनसँग जोडिएको बुझ्न सकिन्छ ।
च्याटबटका चुनौती नैतिक र व्यावहारिक मात्र छैनन्, कानुनी र प्राविधिक पनि छन् । इटालीको सरकारले २०२३ मा गोपनीयताको कारण देखाउँदै च्याटजीपीटीमाथि लगाएको प्रतिबन्ध, न्युयोर्क सिटी स्कुलले यसको प्रयोगमा लगाएको रोक, चीनको कडा एआई नियमन, अस्ट्रेलिया सरकारले चुनाव आसपास एआई च्याटबटको प्रयोगबाट फैलिन सक्ने स्क्यामबारे गरेको आशंकाले च्याटबटहरूको प्रयोगमाथि प्रश्न उठाएको थियो । त्यस्तै, जापान सरकारले च्याटबट बनाउन प्रयोग हुने प्रतिलिपि अधिकार भएका कन्टेन्टको प्रयोगमा उठाएको प्रश्न र सिंगापुर सरकारले गरेको डिपफेक प्रविधिको आलोचना जस्ता उदाहरणले यसको प्रयोगसँगै समस्या पनि बढ्दै गएको देखाउँछ ।
(एजेन्सीको सहयोगमा)
