एक बिहान सुशीलाले छिमेकी युवतीहरू फुटबल खेल्न गइरहेको देखिन् । उनले बिहानभरि ओछ्यानमै हुने छोरी अञ्जनालाई पनि पठाउने सोचिन् । त्यसताका रौतहटकै अनु लामा फुटबलबाट निकै चिनिएकी थिइन्,
काठमाडौँ — आमाले एउटा सपना देखिन् । सपनाको केन्द्रमा छोरीलाई राखिन् । झिसमिसेमै निद्राबाट ब्युँझाएर साइकलको अगाडि बसाइन् । र, आफैंले पाइडल चलाएर सपनाको बाटैबाटो डोहोर्याइन् । खुट्टामा ठेस लाग्थ्यो, चोट लाग्थ्यो ।
आमा दुखाइको मलम लगाइदिन्थिन् । तर रोकिने छुट दिन्नथिइन् । आमाको सपनामा सयर गरिरहेकी छोरी उम्केर घर फर्कन चाहन्थिन् ।
नचाहँदा नचाहँदै, पत्तै नपाई आमाको चाहना उनको चाहना भएछ । आमाको सपना उनको सपना भएछ । त्यही सपनाले संघर्ष रोज्यो । अनि पराजयको शृंखला टेक्दै सफलताको बिन्दु पनि भेट्यो । नेपाल महिला फुटबल टोलीकी गोल रक्षक अञ्जना रानामगर (२३) लाई कुनै बेला प्रश्न आउँछ, ‘खेल जीवनको सफलताको हिस्सा यदि सबैलाई भाग लगाउनुभयो भने सबैभन्दा बढी कसलाई छुट्याउनु हुन्छ ?’ मुस्कानसहितको अनुहारमा उनी निर्धक्क भन्न सक्छिन्, ‘आमालाई... ।’
स्मृतिका पर्दाहरूमा उनी हिउँद खेपिरहेको तराईको हुस्सुभित्र गुडिरहेको साइकल सम्झिन्छिन् र अड्कल्छिन्, ‘जाँदिन भन्दाभन्दै पनि ममीले नउठाउनुभएको भए ? फकाइफकाइ साइकलमा डोहोर्याएर नलैजानुभएको भए ? दुखेका खुट्टालाई जोगाउन बुट नकिनिदिनुभएको भए ? यतिखेर म कहाँ हुन्थें ? सायद गाउँमा गृहिणी जीवन बाँचिरहेकी हुन्थें ।’ हाँसिरहेकी अञ्जनाको परेला छिचोल्दै आँखाबाट स्मृति बग्न थाल्छन् । उनी खेल जीवनका विजयी क्षण र उत्सवहरूलाई एकीकृत गर्दै भन्छिन्, ‘मेरो जिन्दगीको सबै सफलता ममीकै नाम गरिदिए पनि हुन्छ ।’
रौतहटको चपुरमा बस्छन्, अञ्जनाका बाआमा क्षेत्रबहादुर र सुशीला रानामगर । दुई दाइ र एक दिदीपछि २०५८ मा अञ्जना जन्मिइन् । आमा सानैदेखि भन्थिन्, ‘कान्छी, तँ राजा मरेको साल जन्मेकी ।’ अञ्जना जन्मेको दुई सालसम्म पनि उनीहरूको आफ्नो घर थिएन । घर नहुँदाको त्यो बेलाको पीडा सुनाउँदै आमा भन्थिन्, ‘त्यतिबेला धेरै अभाव थियो । आफ्नो गाँस कटाएर तिमीहरूलाई हुर्काएँ ।’
घरभित्रको चुलो वरिपरि दाइ, दिदी र अञ्जना आमालाई सुन्न बस्थे । आमा बासँगको प्रेम, छोराछोरी आगमन र अभावका कथाहरू सुनाउँथिन् । एउटै स्कुलमा क्षेत्रबहादुर कक्षा ८ मा पढ्थे, सुशीला पाँचमा । एक दिन क्षेत्रबहादुरले नयाँ सर्ट लगाएर स्कुल गए । स्कुलमा सुशीलासँग उनको झगडा पर्यो । सुशीलाले सर्ट च्यातिदिइन् । क्षेत्रबहादुरले सुशीलालाई कुटिदिए, सुशीला रोइन् । झगडाबाट सुरु भएको बाआमाको सम्बन्धले अचानक प्रेमको आकार लिन थाल्यो । ‘त्यसपछि बाले ममीलाई काठमाडौं भगाउनुभएछ । अनि दुवै जना गलैंचा कारखानामा काम गर्न थाल्नुभएछ,’ अञ्जना आमाका कथालाई आफ्नो शैलीमा उन्छिन् ।
केही वर्षपछि गाउँ फर्किएका सुशीला र क्षेत्रबहादुरको दुई छोरा भए । क्षेत्रबहादुर अब छोरीको पर्खाइमा थिए । नभन्दै दिदी अञ्जली जन्मिइन् । बाले लक्ष्मी जन्मिएको भन्दै छिमेकीलाई भोजनका लागि डाके । अञ्जलीपछि बा–आमाले चाहेका थिएनन्, अर्को सन्तान । तर, सुटुक्क आमाको गर्भमा आइन् अञ्जना । ‘एउटा मात्र सुत्ने कोठा, एउटा मात्र बेड । नजिकै खाना बनाउने सानो चुलो । चुलोको छेउमा ममीलाई राति व्यथा लागेछ । कसैको सहायताबिनै मलाई जन्माउनुभएछ,’ आफ्नो धरती प्रवेशबारे अञ्जना भन्छिन् ।
सानी छोरी साह्रै चञ्चले । त्यसमाथि स्कुल जानु फलामको चिउरा चपाउनु बराबर हुन्थ्यो अञ्जनालाई । कहिले त आँगनमा लडिबुडी गर्थिन् । कहिले पैसा मागेर धुरुक्कै पार्थिन् । ‘ममी सिर्कना बोकेर लखेट्न थाल्नुहुन्थ्यो अनि बल्ल भागेर जान्थें । ममी फर्केर आउनुहुन्थ्यो, फेरि ममीकै पछिपछि आउँथें,’ उनी सम्झनाको कुहिरो छिचोल्दै भन्छिन् । सुशीलाको सखारै उठेर घरछेउको पसलमा चिया पिउने बानी थियो । त्यसरी चिया पिउने क्रममा उनले लस्करै किशोरी, युवतीहरू कतै गइरहेको देखिन् । नियमित देखेपछि उनले छिमेकीलाई सोधिन्, ‘उनीहरू कहाँ जान्छन् ?’
‘फुटबल खेल्न,’ जवाफ पाउनासाथ उनले पहिलो पटक मनन गरिन्, ‘यहाँ केटीहरूले पनि फुटबल खेल्दा रहेछन् ।’ तत्काल उनलाई छोरी अञ्जनाको सम्झना आयो । जो त्यतिबेला मस्त ओछ्यानमा सुतिरहेकी थिइन् । उनका लागि स्कुल, साथी र घरबाहेक अरू कुरा सोच्नुसम्मै थिएन । त्यतिबेला रौतहटमा फुटबलर अनु लामाको नाम अत्यधिक चलेको थियो । सायद मनमनै प्रण गरिन्, ‘मेरी छोरीको पनि यस्तै नाम हुनेछ ।’ अञ्जना कक्षा ४ मा पढ्थिन् । एक दिन स्कुलमा साथीहरूले अञ्जनालाई भने, ‘तेरो ममीले भनेको बिहान हामीसँग फुटबल खेल्न हिँड् रे ।’ अञ्जना किन जान्थिन् ! टारिन्, ‘आ, म त जाँदिनँ । यतै रमाइलो हुन्छ ।’
एक दिन आमाले बिहानै अञ्जनाको निद्रा टुटाइन् । अनि चिया पिलाउँदै फकाउन थालिन् । आमाको ढिपीले उनी साथीहरूसँगै साइकलमा फुटबल सिक्न जान थालिन् । तर खेल्नुअघि जहिल्यै मैदानको कुरो उखेल्नुपर्ने, हातभरि फोका उठ्ने । त्यसमाथि खाली खुट्टा । आमालाई राता भएका हातहरू देखाउँदै उनी रोइन्, ‘म त जाँदिनँ । गुरुले कुरो टिप्न लगाउनु हुन्छ, कराउनु मात्र हुन्छ ।’ अर्को दिनदेखि आमाले साइकलमा डोहोर्याएर आफैं लैजान थालिन् । साथीहरूका खुट्टामा जुत्ता थिए । राम्रा जर्सीहरू थिए । खाली खुट्टाको घाउले बिझाएपछि अब त नजाने नै हठ गरिन् । ‘जेसुकै होस् । जान्न, जान्न,’ एक महिना यसरी जिद्दी गरेर बसिन् ।
बासँग त्यतिबेला पैसा थिएन । सुशीलाले दाइ मानेकासँग पैसा सापटी मागिन् र अञ्जनालाई बुट र जर्सी किनेर ल्याइदिइन् । बुट र जर्सी भएको दिन अञ्जनाको मन उड्दै उड्दै मैदानतर्फ पुग्यो । त्यसपछि भने उनका हठहरू हराउँदै गए । मन फुटबलमा बस्दै गयो । उनी फुटबल जीवन बाँच्दै जान थालिन् ।
सुरुमा अञ्जनाले रौतहटबाट खेल्न पाइनन् । सिनियर दिदीहरू थिए, पालो पाउन गाह्रो थियो । उनीजस्तै सानाले चाहिँ सर्लाहीबाट खेल्न पाए । सुरुमा त स्ट्राइकर खेलेकी थिइन् । एक दिन गुरुले भने, ‘तेरो हाइट राम्रो छ, गोलकिपर खेल् ।’ उनले मानिनन् । आमाले सम्झाइन् अनि स । पहिलो पटक गोलकिपर खेल्दा कुनै नियम जानेकी थिइनन् अञ्जनाले । ‘बिस्तारै ज्ञान बढ्दै गयो, गुरुले सिकाउँदै जानुभयो,’ अञ्जना भन्छिन् ।
सर्लाही टिमबाट एकपल्ट उनीहरूले काठमाडौंलाई हराए । अञ्जनाको फुटवर्क राम्रो थियो । गुरुले बेस्सरी प्रशिक्षण गराएका थिए । सुटिङ पनि राम्रो थियो उनको । ‘समाउने पनि मै, हान्ने पनि मै । सबैको आँखामा परें,’ उनी विजयको सुरुवाती क्षणबारे भन्छिन् । काठमाडौंलाई २–० ले हराएपछि आमालाई फोन गरेर खुसी साटिन् । सुशीलालाई आफैंले जितेजस्तो भयो ।
त्यसपछि रौतहटसँग पर्यो । सिनियर दिदीहरूसँग उनीहरूको के लाग्थ्यो ! पाँच गोल खाए । तैपनि दुई म्याच खेलेर अञ्जना काठमाडौं जाने छनोटमा परिन् । ‘सुनेकी थिएँ– काठमाडौंमा ठूला–ठूला घर हुन्छन् रे, गाडी गुडछ्न् रे । त्यो सहर म पनि जान पाउने भएँ,’ उनी फुरुङ्ग परिन् । आमालाई सुनाइन् । आमा दंग परिन् । आफूहरू मजदुरी गर्न गएको सहरमा छोरी फुटबल खेल्न पुग्ने भई, आमाको मन त्यसै रमायो । काठमाडौं जाँदा आँखाभरि खुसीको आँसु पार्दै छोरीलाई पाँच सय थमाइदिइन् । र, भनिन्, ‘छोरी खेलेर ठूलो मान्छे हुनुपर्छ । अनु लामा दिदी जस्तो बन्नुपर्छ ल ।’
काठमाडौंमा क्लोज क्याम्प बसिरहेका बेला उनको शरीरभरि ठेउला आयो । न आमा, न बा । उनी आत्तिएर रुन थालिन् । फोनबाट आमाले सम्झाइरहिन् । छनोटमा परे विदेश जान पाइन्थ्यो । विदेशीहरूसँग खेल्न पाइन्थ्यो । डर मानिन्, ‘रहर पूरा नहुने पो हो कि !’ धेरै साथीहरू फालिए । उनको पालो आयो । मनमनै प्रार्थना गरिन्, आमालाई । नाम आयो । आमालाई खुसीले उफ्रँदै सुनाइन्, ‘ममी, म विदेश जाने भएँ ।’ पहिलो पटक उनीहरूको परिवारमा कोही प्लेन चढ्दै थियो, कोही विदेश जाँदै थियो । बाआमा दुवैका आँखा खुसीले भिजे । अन्डर–१४ कप खेल्न अञ्जनाहरू उज्वेकिस्तान उडे । बाले फोनमा सम्झाएका थिए, ‘प्लेन चढ्ने बेला नडराउनू । एकपल्ट ढोग्नू, पशुपतिको नाम लिनू ।’ बाले सम्झाएझैं सबै गरिन् । तर प्लेन उडेपछि डर काबुमा थिएन । प्लेनभित्र सबै साथीहरू आत्तिएर रुन थाले ।
खेल अपेक्षित भएन । भारत र बंगलादेशसँग उनीहरूले नराम्रोसँग पराजय भोगे । पराजित हुँदा सबैजना रोए । कोचले सम्झाए । घर फर्किंदा भने अञ्जनाले आमालाई बल्खुबाट खानेकुरा किनेर लगिदिइन् । आमाले छिमेकीलाई बाँड्दै भनिन्, ‘मेरी छोरीले ल्याएकी ।’ त्यसपछि पहिलो पटक अञ्जनाले रौतहटबाट कोकाकोला कप खेलिन् ।
खेल उनीहरूले जिते, अञ्जनाले बेस्ट गोलकिपरको अवार्ड हात पारिन् ।
त्यसपछि खेलेको प्रधानसेनापति कपलाई अञ्जनाले ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिइन् । पहिलो म्याच जिल्लासँग हुँदा कोचले विश्वास गरे । उनले खेलिन् । उनीहरूले जितेर सेमिफाइनलमा प्रवेश गरे । आर्मी क्लबसँगको खेलमा कोचले गोलकिपरमा अञ्जनालाई नै विश्वास गरे । दुवैको खेल २–२ भयो । त्यतिबेला ट्राइबेकरमा अञ्जनाले दुई गोल सेभ गरिन् । ‘३ वटा सेभ भएर पहिलो पटक जिल्लाले विभागीय टिमलाई ढालेको रेकर्ड थियो,’ अञ्जना सुनाउँछिन् । त्यसपछि घरबाट आमाले फोन गरेर सुनाइन्, ‘छोरी रौतहटमा तँलाई सबैले हाईहाई गरिरहेका छन् ।’
फाइनलमा एपीएफसँग थियो । उनीहरूले १ गोल हाने । एपीएफले २ गोल हान्यो । हार्दा पनि अञ्जनाको आँखामा भने खुसी छचल्किएको थियो । ‘किनकि त्यो टिममा अनु दिदी पनि हुनुहुन्थ्यो । अनु लामाको नाम सुनेर फुटबल सुरु गरेको, त्यही मान्छेसँग खेल्न पाउँदा विश्वकप जितेजस्तै भयो,’ उनी गौरवान्वित भावमा भन्छिन् । अञ्जनाले त्यो बेलामा पनि बेस्ट गोलकिपरको अवार्ड उचालिन् । १० हजार र ट्रफी पाइन् । ८ हजारमा नयाँ साइकल किनिन्, २ हजार आमालाई दिइन् । त्यसपछि साफ गेमका लागि उनी क्लोज क्याम्पमा छनोटमा परिन् । राष्ट्रिय टिममा पर्दाको खुसी अञ्जना र परिवारका लागि सानो थिएन । जब त्यसको दुई दिनपछि राष्ट्रिय दैनिकमा ‘कान्छी गोलकिपर’ शीर्षकमा उनको ठूलो फोटो छापियो । त्यो क्षणले त पारिवारिक खुसीमा उलटपुलट ल्याइदियो ।
राष्ट्रिय टिममा १४ वर्षकी गोलकिपर छनोटमा पार्नु आफैंमा विशाल कुरा थियो । तर फोटो आएपछि टाढिएका आफन्त पनि नाता लगाउँदै नजिकिन थाले । ‘हाम्रा आफन्त धनी थिए । हामी छाक काट्ने अभावसँग जुधिरहँदा बेवास्ता गरेका थिए,’ उनी सुनाउँछिन् । ती आफन्तले पनि आमालाई फोन गर्दै भन्न थालेछन्, ‘पत्रिकामा फोटो आएको त हाम्रो छोरी पो रहेछ है ।’
पत्रिकामा आएको फोटोवाला जर्सी आमाले अहिले पनि सम्हालेर राखेकी छन् । ‘ममीले यो जर्सी लगाउनुपर्दैन भनेर मायाले सम्हाल्नुभएको थियो,’ उनी सम्झन्छिन् ।
राष्ट्रिय टिममा परेपछिका दिनहरूमा नाम र फोटो पत्रिकामा बारम्बार आइरहे । घर पुगेपछि उनले बा, दाइ, दिदी र आमाको आँखा हेरिन् । खुसीको आँसु पोखिएको देख्दा अञ्जनालाई संसार जितेजस्तो भयो ।
अञ्जनाको जीवनमा नयाँ अवसरको दैलो खुल्यो । तर उनी राजी थिइनन् । आर्मी फुटबल टिमबाट प्रस्ताव आउँदै थियो । रौतहटका कोचले अञ्जनालाई सम्झाए, ‘तिमी अहिले सानु छौ । अहिले नै काठमाडौं जाने, आर्मीबाट खेल्ने कुरा गर्दै नगर । अब रौतहटमै टिम राम्रो बनाउनुपर्छ ।’ अञ्जनालाई घर छाडेर काठमाडौं जाने मन पनि थिएन । घर गएर परिवारलाई भनिन्, ‘मलाई तपाईंहरूसँग बस्नु छ । म काठमाडौं जाँदिनँ । गएँ भने फर्केर आउन पनि पाउँदिनँ । आर्मीको सर आउँछ भन्नुभएको छ । छोरी सानी छ, पठाउन्नौं भन्नू ।’
नभन्दै आर्मीका प्रतिनिधि अञ्जनाको घरमा आए । अञ्जनाले भनेकै कुरा बा–आमाले मिलाए, ‘मेरो छोरी सानै छ... ।’ ती प्रतिनिधि मगर थिए । मगर भाषा घरमा हजुरबाले जान्दथे । हजुरबासँग उनले मगर भाषामा कुरा गरे । अचानक हजुरबा राजी भए । हजुरबाको वचन कसले काट्ने ? ‘घरमै कन्ट्र्याक पेपरमा साइन भयो । गेम हुँदा काठमाडौं आउने नत्र भने एसईई नसकिँदासम्म चपुर बसेर तालिम गर्ने सम्झौता भयो,’ अञ्जना सम्झन्छिन् ।
एसईईपछि काठमाडौं आइन् अञ्जना । केही महिनापछि त घरको यादले सताउन थाल्यो । उनी घर जाने दिन गन्दै बस्थिन् । ‘सुरु–सुरुमा दिदीहरूलाई भनेर बल्खुमा गाडी चढाउन लगाउँथें । बिस्तारै बानी भइसकेपछि सरहरूलाई ‘म रौतहट गएको है’ भनेर फोन राख्थें । सरहरूको कुरा सुन्न लागेको भए नजाऊ भन्ने कुरा आउँथ्यो,’ उनी सुनाउँछिन् ।
काठमाडौंका दिनहरू भने लामो समयसम्म अञ्जनाका लागि सकसपूर्ण रहे । कारण, आमाको याद । त्यतिबेला कोही आमाहरूसँग हिँडेको देख्दा पनि मन भारी हुन्थ्यो उनको । एक्लै रुन्थिन् । ठूलो हुँदासम्म पनि आमाले टाउकामा तेल लगाएर तातेताते गरिदिन्थिन् । त्यो सम्झँदा भक्कानो छुट्थ्यो उनलाई । उता टाढा भएकी कान्छी छोरी सम्झेर आमा भक्कानिन्थिन् । फेसबुक र रिल्समा बल समातेर छोरी लडेको दृश्यहरू देख्दा सुशीला दुख्थिन् ।
गत वर्ष अञ्जनाले अविरल लामासँग प्रेम विवाह गरिन् । विवाहको निर्णय सुनाउन एक दिन उनी घर पुगेकी थिइन् । ‘बिहे गर्ने डिसिजन गरें । तपाईंहरूको यसमा राय के छ ?’ निर्धक्क सोधिन् । आमा र दिदी रुन थाले । ‘अस्तिसम्म मैले खाना खुवाउनुपर्ने, मसँग लुटुपुटु हुने बहिनी बिहेको कुरा लिएर आउँछे । कान्छी तेरो बेला भएको छैन,’ दिदीले रुँदै राय दिइन् । अञ्जना आफ्नो निर्णयबाट पछि हटिनन् । पछि सबैको सहमतिमा उनको बिहे भयो ।
बिहेपछि अञ्जना सासू आमाका लागि बुहारी कम, छोरी बढी भइन् । उनले निकै प्यारो गर्न थालिन् । कहिल्यै गेम नहेर्ने उनले नियमित गेम हेर्न थालिन् । बुझ्न पनि थालिन् । हिजोआज अञ्जनालाई लाग्छ, ‘लामो समय टाढा बसेर अभाव महसुस भएको आमाको माया फेरि पाउन थालें ।’ बा–आमालाई रंगशालामा फुटबल हेराउने चाहना थियो अञ्जनाको । जुन पूरा भएको थिएन । ‘तर यताको ममीले एउटा पनि गेम छाड्नुभएको छैन । मेरो ठूलो फ्यान र सपोर्टर हुनुहुन्छ,’ अञ्जना भन्छिन्, ‘उहाँ जहिल्यै गेममा फोकस गर भन्नु हुन्छ । स्नेह गर्नु हुन्छ ।’
चार वर्षअघि अन्डर १९ खेल्दा क्याप्टेन भएर देशलाई बाहिर चिनाउन पाउँदाको क्षण अविस्मरणीय लाग्छ अञ्जनालाई । अर्कोचाहिँ राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतसँगको खेलमा पेनाल्टी रोकेकी थिइन् । त्यतिबेला नेपालले भारतलाई जितेको थियो । महत्त्वपूर्ण क्षण अञ्जना सम्झन्छिन्, ‘त्यतिखेर रंगशालामा अटी नअटी मान्छे थिए । तर मेरो दिमागमा कोही पनि थिएनन् । यति थियो कि यो बल मैले रोक्नुपर्छ ।’
सुरुमा कोचको विश्वास जितेकी अञ्जनाले सारा नेपालीको मन जितिन् । गाउँमा प्रोजेक्टर लगाएर उनीहरूको खेल हेरिएको थियो । जितेपछि बाले खुसी हुँदै भने, ‘देखिस्, पेनाल्टी रोक्न मैले सिकाएको तँलाई । त्यही भएर तैंले सेभ गरेको ।’ अञ्जना बाको कुरालाई सत्य पनि मान्छिन् । थप्छिन्, ‘बुबा कोचले नसिकाएको कुरा सिकाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, पेनाल्टी हान्नेको आँखामा हेर, खुट्टामा हेर ।’ अहिले गाउँभरि बा र आमाको छुट्टै सम्मान छ ।
फुटबलका कारण अञ्जनाले के गुमाइन्, थाहा छैन । तर पाएका सूचीका फेहरिस्त लामा छन् । थुप्रै देशहरू पुगिन् र देश चिनाउन पाइन् । थुप्रै प्रशंसकहरू पाइन्, शुभचिन्तकहरू पाइन् । आफू हार्दा सँगै रुने मनहरू पाइन्, आफू जित्दा देश जित्ने सिंगो भावना पाइन् । र, सारा कुराहरूको सपना त आमाले उबेलै देखेकी थिइन् । सम्झनाको अन्तरकुन्तरमा आमाले झिसमिसेमा उठाउँदै गरेका साउतीहरू अञ्जना खोतल्छिन् । र, भन्छिन्, ‘आमाको एउटा सपना त पूरा भयो ।’ अञ्जनाको सपना भने पूरा भएको छैन अझै । उनलाई लाग्छ, ‘सपना कहिल्यै टुंगिन्न । देख्दै जानुपर्छ, पूरा हुँदै जान्छ ।’
त्यसकारण अझै खेल्नु छ अञ्जनालाई । विश्व मैदानहरूमा बलको प्रहार छेक्नु छ उनलाई । र, जित्नु छ मेडल । ‘अब मलाई देशका लागि मेडल चाहिएको छ । र, त्यो घर पुगेर ममीलाई लगाइदिनु छ,’ उनी स्वप्नशील आँखामा मुस्कान भर्दै भन्छिन् ।
