कैलाली कारागारभित्र भएको के हो ? पाँच बुँदामा बुझ्नुहोस्

कारगारभित्र हैकम चलाउन दुई पक्षबीच झडप भइरहेको कैलाली कारगारभित्र कैदीबन्दीहरुबीच कुटपिट हुँदा एक जनाको मृत्यु नै भयो । घटनाको चार दिनसम्म भइसक्दा पनि धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको शव उठ्न सकेको छैन । यो घटनापछि कैलाली कारागार अशान्त छ । कारगारभित्रको पछिल्लो झडप कसरी सुरु भयो र यो घटनाबारे बुझ्नैपर्ने पाँच तथ्यहरु के हुन् ?

श्रावण २६, २०८२

अर्जुन शाह

What happened inside Kailali prison? Understand in five points

What you should know

धनगढी — सुरक्षित र शान्त रहनुपर्ने कैलाली कारागारभित्र शुक्रबार मध्यरातमा तोडफोड भयो । कैदीबन्दीहरुबीच कुटपिट भयो अनि एक जनाको मृत्यु । घटनामा ४८ जना घाइते भए । एक सय ५० जना क्षमता भए पनि सात सय कैदीबन्दी राखिएको कैलाली कारागार यो घटनापछि अशान्त छ ।  

१. यो घटना कसरी सुरु भयो ?
क्षमताभन्दा करिब पाँच गुणा धेरै कैदीबन्दी अनि कमजोर कारागार प्रशासन । त्यसैले पनि केही समयदेखि कैलाली कारागार अशान्त थियो ।  असार २ गते डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिशसिंह पालीको कैलाली कारागारमा स्थानान्तरण भएकै दोस्रो दिनमा मृत्यु भयो । पाली अचानक बिरामी परेको भनिए पनि शरीरमा भएका निलडामले कुटपिटबाट पालीको मृत्यु भएको आशंका गरिएको थियो । यो विषयमा पर्याप्त अनुसन्धान नहुँदा घटना गुपचुपमै सीमित भयो । 

कैलाली कारागारभित्र रहेका कैदीबन्दीभित्र विभिन्न समूह छन् । जसमध्ये जयन्द्र शाहको समूहका व्यक्तिहरु र नवीन रावल दुई प्रमुख समूह हुन् । यि दुई समूहबीच बेला बखत कुटपिट र झडप भइरहन्छ । पछिल्लो समय साउन २३ गते र असार २८ गते यी दुई समूहबीच झडप भएको थियो । २३ साउन अर्थात् गत शुक्रबार पनि ‘ए’ ब्लकमा रहेका कैदीबन्दीहरु ब्लकको पर्खाल तोडफोड गरेर ‘बी’ ब्लकमा पुगे । सांघातिक आक्रमण गरे । झडपमा धनगढी उपमहानगरपालिका ४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । ४८ जना घाइते भए । जसमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्‍यो । 

२. यो घटनापछि के–के भयो ? 
शुक्रबार रातिको घटनापछि आइतबार साँझसम्म कैलाली कारागारको बन्दीगृह कैदीबन्दीको नियन्त्रणमा रह्यो । कैदीबन्दीहरुले बन्दीगृहभित्रको मुख्य प्रवेशद्वारमा ग्यास सिलिण्डर राखेर पड्काइदिने धम्क्याउँदै बसे । सुरक्षाकर्मी, कारागार प्रशासनका कर्मचारी कसैले पनि प्रवेश गर्न सकेनन् । भित्रको अवस्था कस्तो छ भन्ने अन्योल भइरह्यो ।

घटनाको करिब ४२ घण्टापछि कारागार प्रशासन, सुरक्षाकर्मी र राष्ट्रिय मानवअधिकार आयोगको टोली बल्ल बन्दीगृहभित्र प्रवेश गर्न सक्यो । कैदीबन्दीको गणना गर्‍यो । गणनाबाट सबैको अवस्था सामान्य रहेको कारागार प्रशासनले जानकारी दियो । कारागार व्यवस्थापन विभागले बाँकेबाट अधिकृत जालन्धर भुषाललाई कैलाली खटायो । भुषाल कारागार पुगेर कैदीबन्दीसँग सम्पर्क स्थापित गरे । 

३. के यो घटनामा कारागार प्रशासन चुकेको थियो ? 
क्षमताभन्दा धेरै कैदीबन्दी अनि बारम्बार भइरहने झडप । यस्तो परिस्थितिबारे जानकार भए पनि कारागार प्रमुख बसन्त खत्री ३१ असारदेखि बिदामा थिए । अधिकृतपछिका नायब सुब्बा ज्ञानेन्द्र ओझाले निमित्तको जिम्मेवारी सम्हालेका थिए । उनी पनि केही दिनपछि बिदा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी खरिदार रामकुमार चौधरीले पाएका थिए । कैदीबन्दीको दुई समूह अनि बारम्बार हुने झडप र हिंसाको गम्भिरतालाई निमित्त प्रमुख चौधरीले बुझ्न सकेनन् । उनले नै कान्तिपुरसँग भनेका छन्, ‘म पनि भर्खरै आएको हुँ, यहाँभित्रको धेरै कुरा मलाई पनि जानकारी छैन ।’

नायब सुब्बा ज्ञानेन्द्र ओझा पनि झडपको अघिल्लो दिन बिदामा थिए । यति संवेदनशील जिम्मेवारीमा रहेका जेलरलाई किन बिदा दिइयो र प्रशासन कसको भरमा चलेको थियो भन्ने विषयमा गृहका अधिकारीले स्पष्ट बताएका छैनन् । चौधरी भने खत्री सिकिस्त बिरामी परेर बिदा बसेको बताउँछन् । 

४. घटनापछि गृह प्रशासनले के कदम चाल्यो  ? 
घटनाको भोलिपल्टै अर्थात शनिबार बिहान जिल्ला सुरक्षा समितिको बैठक बस्यो । झडपको अनुसन्धान गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भयो । छानबिन समितिले आइतबारदेखि काम सुरु गरेको छ । शनिबार नै कारागार व्यवस्था विभागले बाँकेका जेलर जालन्धर भुसाललाई कैलाली कारागार प्रमुखका रूपमा खटायो । कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार नै सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाए । घटनाको करिब ४२ घण्टापछि सुरक्षाकर्मी बन्दी गृहभित्र प्रवेश गरेर जानकारी लिए । 

५. अहिले अवस्था के छ ? 
घटनाको चार दिनसम्म पनि मृतकको शव उठन सकेको छैन । मृतकको शव सेती प्रादेशिक अस्पतालमा छ । कारागारको अवस्था सामान्य बनेको छ । सशस्त्र प्रहरी बलले घटनास्थलमा रातिदेखि नै सुरक्षा दिइरहेको छ । 

यससँग सम्बन्धित अन्य समाचारहरु 

तीन सातादेखि झडप भइरहँदा प्रमुख र कामु बिदामा, जेल प्रशासनको बेवास्ताले हिंसा

४२ घन्टापछि कैलाली कारागारको सुरक्षा नियन्त्रणमा

कैलाली कारागार घटना : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुख

झडपपछि कैलाली कारागार तनावग्रस्त, जिल्ला सुरक्षा समितिको बैठक जारी

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully