झडपपछि कैलाली कारागार तनावग्रस्त, जिल्ला सुरक्षा समितिको बैठक जारी 

प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेको छैनन् ।

श्रावण २४, २०८२

अर्जुन शाह

After the clash, Kailali jail is under tension, district security committee meeting continues

What you should know

धनगढी — शुक्रबार राति एक जनाको मृत्यु र ४७ जना भन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झपपपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ। कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेहरुको विवरण प्राप्त हुन सकेको छैन ।

कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएकोमा गएरातिको झडपमा परी धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेको छैनन् ।

कारागारबाहिर कैदीबन्दीका आफन्तहरु चिन्तित छन् । यतिबेला जिल्ला प्रशासन कार्यालयमा चारवटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् । 

रातिको झडपमा धनगढी उपमहानगरपालिका ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको भने ४७ जना घाइतहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचार र सुरक्षामा सुरक्षा निकायलाई हम्मेहम्मे भइरहेको छ । विहान उनीहरुलाई कोरोनाका बेला बनाइएको बेग्लै कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

यसअघि बिहीबार पनि कैदीबन्दीहरुबीच आपसमा झडप भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएपनि एक जना भने अहिले पनि उपचारकै अवस्थामा रहेको कारागारमा खरिदार रामप्रसाद चौधरीले बताए ।  कारागार प्रमुख बसन्त खत्री विदामा छन् । एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।  

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully