कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : प्रहरी सई पक्राउ

असार ५, २०८२

रञ्जना बिसी

Prisoner death case in Kailali Jail: Police Sai arrested

कैलाली — कैलाली कारागारमा डडेलधुराका २८ वर्षीय हरिससिंह पालीको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतककी पत्नी जानकी साउँदले दिएको किटानी जाहेरीको आधारमा सई नाथलाई पक्राउ गरिएको हो। नाथ पक्राउ परेपछि पीडित पक्ष शव बुझ्न तयार भएको उनले बताए । सेती प्रादेशिक अस्पतालमा राखिएको शवको परिक्षण सकिएपछि शव परिवारलाई बुझाइने जनाइएको छ।

मृतक पालीमाथि बैंकिङ कसुरको मुद्दा चलेको थियो। उनीविरुद्ध पक्राउ परेका नाथले नै बैंकिङ कसुर मुद्दा दिएका थिए । पालीलाई  २०८० फागुनमा जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला पछि फरार रहेका उनलाई डडेलधुरा प्रहरीले २९ जेठमा पक्राउ गरी ३० गते कैलाली ल्याइएको थियो।

त्यसपछि असार १ गते अदालतमा उपस्थित गराइएका उनलाई अदालतको आदेशपछि सोही दिन कारागार चलान गरिएको थियो। तर कारागार पुगेको भोलिपल्ट, असार २ गते राति करिब साढे १० बजे पाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा फेला परे। उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल पुर्‍याइएका पालीलाई १२ बजे  चिकित्सकले घोषणा गरेका थिए ।

मृतकका शरीरमा चोटपटक देखिएको भन्दै उनका परिवारले कुटपिटबाट हत्या गरिएको आशंका गरेका छन्। मृतककी पत्नी जानकी साउँदले प्रहरी सई नाथकै योजनामा श्रीमानको हत्या भएको आरोप लगाएकी छिन्। पक्राउ परेका नाथलाई हिरासतमा राखिएको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

रञ्जना

Link copied successfully