धनगढी — कैलाली जिल्ला कारागारमा रहेका डडेलधुराका भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको सोमबार मृत्यु भएको छ । पालीका परिवारले हरिशसिंहको मृत्युलाई शंकास्पद रहेको भन्दै शव बुझ्न मानेका छैनन् । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
हरिशसिंहको मृत्यु कुटपिटबाट भएको परिवारजनको दाबी छ । मृतकका आफन्त नाता पर्ने जगदीश रावलले कारागारभित्रै हरिसिंहलाई यातना दिइएको दाबी गरे । ‘शरीरभरि निलडाम छन्, टाउकोबाट रगत बगेको थियो,’ उनले भने ‘छानबिन नहुँदासम्म शव बुझ्दैनौं ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले हरिशसिंह एक्कासि बिरामी भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको बताए । ‘अस्पताल पुर्याएको आधा घण्टामै मृत्यु भएको हो,’ प्रवक्ता सिंहले भने ।
कैलाली प्रहरीका अनुसार हरिसिंहलाई २० फागुनमा कैलाली जिल्ला अदालतले बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई चैत ३१ गते डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । कारागार चलान भएको दोस्रो दिनमै उनको मृत्यु भएको हो ।
