कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप

उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए।

भाद्र ५, २०८२

रासस

Prison incident study report: Clashes due to internal differences

What you should know

सुदूरपश्चिम — कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ ।

उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए। उनले भने, 'घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी गर्‍यौँ, बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।'

घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । उनले भने, 'घटनास्थलको अध्ययनका क्रममा ‘सिसिटिभी फुटेज’ स्पष्ट देखिएन, घाइतेले भनेबमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ ।'

समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने  ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा अझै उपचार भइरहेको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेकामध्ये ४१ जना ‘डिस्चार्ज’ भइसकेका छन् । उनीहरूमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ । अस्पतालले डिस्चार्ज भने पनि धेरै कैदीबन्दी अस्पतालमा नै बसिरहेका छन् । उनीहरूले इच्छाएको कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ ।

घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । यसैगरी, कारागार शाखा प्रमुखमा पनि नयाँ व्यक्ति खटाइएको छ । १५० जना अटाउने कैलाली कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।

रासस

Link copied successfully