कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन् ।
धनगढी — कैलाली कारागारभित्र कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन् ।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको बताए । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, हाल आठ कक्षामा अध्ययनरत छोरी बन्दनालाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै थिए ।
लागूऔषध सेवनको आरोपमा चौधरीलाई माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो । परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर कारागार चलान गरिएको थियो । भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन् ।
