कैलाली कारागार घटना : ६ जना घाइते कैदीबन्दीको शल्यक्रिया

हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो ।

श्रावण २७, २०८२

अर्जुन शाह

Kailali Jail incident: Operation of 6 injured prisoners

धनगढी — कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया गरिएको छ । हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टका अनुसार हात, खुट्टा भाँचिएका तथा हाडजोर्नी अलग भएका पाँच जना र टाउकोमा गम्भीर चोट लागेका एक जनाको शल्यक्रिया गरिएको हो । कारागारभित्र भएको हिंसात्सक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए ।

शल्यक्रिया गरिएका र उपचाररत अन्य घाइते कैदीबन्दीको अवस्था खतरामुक्त रहेको डा. भट्टले बताए । गम्भीर घाइते आयुष भट्ट र कृष्ण सारुमगरलाई थप उपचारका लागि यसअघि नै काठमाडौं लगिएको छ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully