‘आज पनि १०/१५ किलोमिटर तलसम्म सिन्धु खोलाको किनारैकिनार खोजीमा गयौं, तर कतै भटिएनन् ।’
What you should know
कञ्चनपुर — भारत उत्तराखण्डको पौडी गढवाल क्षेत्रमा मंगलबारदेखि नै वर्षा भइरहेको थियो । पौडी गढवालको थलिसेनमा बर्दियाका नेपाली कामदार टेन्टमा बस्थे । सडक निर्माणका कामका लागि त्यहाँ पुगेका उनीहरु वर्षाका कारण बाहिर निस्किन सकेका थिएनन् । बुधबार पनि वर्षा भइरहेकै थियो । एक्कासि माथिबाट आएको पहिरोले टेन्टसहित मान्छे पनि बगाएर लग्यो ।
‘हामीले हेर्दाहेर्दै तल खोलामा पुर्यायो, त्यसपछि केही पत्ता लागेन,’ ५ महिनादेखि पौडी गढवालको थलिसेन ब्लकअन्तर्गत बकुडा गाउँमा सडक निर्माणको काम गरिरहेका बर्दियाको मधुवन नगरपालिका-५ का चित्रबहादुर पौडेलले भने, ‘बिहान पौने ९ बजेतिर पहिरो आएको हो, त्यहीबेला टेन्टमुनि भएका पाँचै जना बेपत्ता भएका हुन् ।’
पौडेलका अनुसार बिहान उठेर सबै हातमुख धोएर खाजा बनाउने तथा खाने काम भइरहेको थियो । कोही टेन्टभित्रै पल्टिएका थिए । कोही जंगलतर्फ गएका थिए । टेन्टभित्र रहेका सबैलाई बगाएर लगेको पौडेल बताउँछन् । उनका अनुसार सडक छेउमै रहेको टेन्टभन्दा ५० मिटर माथिबाट आएको ठूलो पहिरोले एकै पटक सबै बगाएको थियो ।
पौडेलका अनुसार बर्दियाबाट सडक निर्माणका लागि २८ जना कामदार बखुडा पुगेका थिए । उनका अनुसार बेपत्ता हुनेमा वडा नं ५ कै नरेन्द्र खड्का र उनकी श्रीमती सन्ध्या खड्का तथा १८ महिनाको बालक रोमन रहेका छन् । यसैगरि वडा नं. ५ कै अमृता परियार र सुवास विक रहेका छन् ।
पहिरोमा पनि लक्ष्मी परियार र भुपेन्द्र खत्रीको हात खुट्टा भाँचिएको छ । उनीहरुको हल्द्वानीमा उपचार भइरहेको छ । सामानय घाइते भएका कालीग्राम चौधरी र अशोक परियार भने सामानय उपचारपछि निको भएका छन् ।
‘आज पनि १०/१५ किलोमिटर तलसम्म सिन्धु खोलाको किनारैकिनार खोजीमा गयौं,’ पौडेलले भने, ‘तर कतै भटिएनन् ।’ उनका अनुसार खोजीमा प्रहरी र स्थानीय स्थानीय सबै खटिएका छन् ।
उक्त क्षेत्रमा देघाटदेखि जितपुर र रामनगर जाने पक्की सडक निर्माण भइरहेको छ । सोही सडक किनारमा नाली, प्याराफिट लगायतको कामका लागि नेपालीहरु त्यहाँ पुगेका हुन् । पौडेल आफै १०/१२ वर्षदेखि बकुडा गइरहेका छन् । उनले नै अन्य नेपालीलाई पनि लगेर गएका हुन् । उनका अनुसार बकुडा आसपासको क्षेत्रमा अन्य नेपालीहरु समेत सडकको काममा खटिएका छन् ।
