चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा चितवन प्रहरीले कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार भरतपुर ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरेको छ ।
प्रहरीले यो मुद्दामा अर्का आरोपित रामबहादुर खनाललाई पनि बयानमा लागि जोशीसँगै चितवन ल्याएको छ ।
जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) शान्तिप्रसाद लुइँटेलले आइतबार दिउँसोबाटै बयान सुरू भएको बताए । गोरखा मिडियाका तत्कालीन शेयरधनी र सञ्चालक रहेको भन्दै बचतकर्ताहरूले छविविरूद्ध चितवन प्रहरीमा पुरक उजुरी दिएका थिए । गोरखा मिडियाका तत्कालीन शेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा चितवन-२ का सांसद रवि लामिछानेविरूद्ध पनि चितवन प्रहरीमा उजुरी परेर पक्राउ पुर्जी जारी भएको छ ।
कास्की प्रहरीले नियन्त्रणमा लिएको रवि लामिछानेको काठमाडौंमा बयान भइरहेको छ । गोरखा मिडियामा चितवन साहाराबाट नियमविपरीत १० करोड रूपैयाँ गएको विभिन्न अनुसन्धानले देखाएको छ ।
