लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पूरक मुद्दा लैजाने प्रहरीको तयारी

कार्तिक ४, २०८१

स्वरूप आचार्य, दीपक परियार

Lamichhane will be produced in court today

पोखरा — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।

यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ । 

यसअघि पहिलोपल्ट ५ दिन र दोस्रोपल्ट ७ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । म्याद थप्ने दिन घटस्थापना परेको र त्यसलगत्तै दसैं बिदा भएकाले अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरिदिएको हो । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ । 

डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए । 

सूर्यदर्शन सहकारीको बचत हिनामिनामा शुक्रबार अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । कास्कीका जिल्ला न्यायाधीश कृष्णजंग शाहले पक्राउ अनुमति दिएपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी उपस्थित गराइदिन सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाडौंलाई पत्र पठाएको थियो । 

पत्राचारपछि सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले वनस्थलीस्थित रास्वपा कार्यालयबाट लामिछानेलाई नियन्त्रणमा लिएर पोखरा ल्याएको हो । अदालतले दिएको पक्राउ पुर्जीमा लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ (३) अनुसार पक्राउ अनुमतिका लागि अनुरोध भई आएकाले त्यसमा अनुसन्धान गर्न मनासिब आधार र कारण देखिएको उल्लेख छ । 

पोखरा ल्याइपुर्‍याएपछि लामिछानेलाई प्रहरीले सुरुमा रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गराएपछि मात्रै कास्की प्रहरीको जिम्मा लगाएको थियो । लामिछानेलाई प्रहरीले सेतो स्कोर्पियो गाडीमा राखेर कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालयमा ल्याइपुर्‍याएको थियो । रास्वपाका समर्थकहरूले ठाउँठाउँमा अवरोध गर्दै नाराबाजी गरेपछि कास्की प्रहरीले आफ्नो सीमानामा स्कर्टिङका लागि सुरक्षाकर्मीसहित गाडी पठाएको थियो । 

लामिछानेसँगै काठमाडौंबाट दलबलसहितको ठूलो टोली उनको गाडीको पछि लागेर पोखरासम्म नै आइपुगेको थियो । रास्वपा उपसभापति डीपी अर्याल पनि काठमाडौंबाट लामिछानेको गाडीको पछिपछि आएका थिए भने अर्का उपसभापति स्वर्णिम वाग्ले भने शुक्रबार दिउँसो नै विमानबाट पोखरा आएका थिए । लामिछानेलाई प्रहरी कार्यालय ल्याइपुर्‍याउँदा बाहिर उपस्थित केही दर्जन कार्यकर्ताले करिब एक घण्टाजति नाराबाजी गरेका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए । 

डीएसपी शर्माका अनुसार लामिछानेलाई जिल्ला प्रहरीको हिरासतमा एक्लै राखिएको छ । उनले शनिबार बिहान ९ बजेतिर पार्टीका उपसभापति तथा सांसद डीपी अर्याललगायतसँग केही समय भेटघाट गरेका थिए । ‘बिहान आफ्नो पार्टीका केही माननीय र परिवारसँग भेट गर्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि उहाँले कसैसँग पनि भेट गर्नुभएको छैन ।’ डीएसपी शर्माका अनुसार केही दिन अस्पतालमा भर्ना भएका पूर्वडीआईजी जोशीलाई पनि शनिबारदेखि हिरासतमै राखिएको छ । दुवै जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ । 

सरकारवादी मुद्दामा आइतबार जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख एवं जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बहस गर्नेछिन् । सहकारीपीडितका तर्फबाट निजी वकिल युवराज पराजुलीले बहस गर्नेछन् । आइतबार अन्य वकिलले पनि पीडितको तर्फबाट बहस गर्न इच्छा देखाएको सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । लामिछानेको पक्षबाट अधिवक्ताहरू सुशील पन्त, नारायण घिमिरे र सुवास आचार्यले बहस गर्ने भएका छन् । 

लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहरा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले गोर्खा मिडियामा पाएको भनिएको ‘स्वेट सेयर’ लाई समितिले किर्ते भनेको छ । ‘गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा कम्पनीहरूमा सेयर खरिदबिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिदबिक्री भएको पाइएको’ समितिको निष्कर्ष छ । बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछाने/रोशनी गुरुङमार्फत आएको रकमलाई आफ्नो लगानी भनेर लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत सेयर लिएका थिए । कम्पनीबाट बिदा हुने बेला सेयरबापत १ करोड ८० लाख रुपैयाँ बुझेको भन्दै लामिछानेले औंठाछापसहितको कागज पनि कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए । तर यी कागजलाई ‘नक्कली र देखावटी’ भनेर उनले पत्रकार सम्मेलनमै स्विकारेका थिए ।

सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ मा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष राई, पूर्वप्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले उनीहरूविरुद्ध संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो ।

संसद्‌द्वारा लामिछाने पक्राउको जानकारी

प्रतिनिधिसभाले सूचना प्रकाशित गरेर सांसद रवि लामिछाने पक्राउ परेको जानकारी दिएको छ । संसद् अधिवेशन नचलिरहेकाले संसद् सचिवालयले सांसद लामिछाने पक्राउको जानकारी सूचना टाँसेर दिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार जारी गरेको सूचनामा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाई फौजदारी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको उल्लेख छ । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ मा कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने उल्लेख छ । तर, बैठक नचलेको अवस्थामा सूचना सार्वजनिक गर्नुपर्ने नियमावलीमा प्रावधान छ । प्रहरीले पक्राउ गर्नेबित्तिकै सांसदको पद भने निलम्बित नहुने अहिलेको नियमावलीको व्यवस्था छ ।  प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको स्थितिमा मात्रै त्यस्तो अवधिभर निलम्बनमा रहने प्रावधान छ । 

सहकारी ठगी प्रकरण

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully