पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन

कार्तिक ३, २०८१

कान्तिपुर संवाददाता

Demonstration of RSVP workers in Pokhara

पोखरा — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् । 

रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन् । प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा जिल्ला तहका नेताले भाषण गरिरहेका छन् ।     

सूर्यदर्शन लगायतका सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । लगत्तै लामिछानेलाई स्थलमार्गबाट यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो । 

लामिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully