काठमाडौँ र पोखरा — सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत ठगी गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
ठगी र संगठित अपराध अनुसन्धानमा उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई शुक्रबार राति नै पोखरा लगिएको छ ।
पोखराका १८ हजार ७ सय ५० सर्वसाधारणले सूर्यदर्शन सहकारीमा जम्मा गरेको बचत हिनामिना भएपछि सहकारी दुई वर्षदेखि बन्द छ । त्यसअघि सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीको आरोप छ । यसअघि नै पक्राउ परेका रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् भने छविलाल एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । जीबी फरार छन् भने रवि शुक्रबार पक्राउ परेका छन् ।
सहकारी ठगी तथा संगठित अपराध अनुसन्धानमा गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको शुक्रबार २७ दिन पुगिसकेको थियो । उस्तै प्रकृतिको अपचलनमा संलग्न लामिछानेलाई पक्राउ नगरेकोमा सहकारीपीडितले प्रश्न उठाइरहेका थिए । दसैं बिदापछि शुक्रबार अदालत खुल्यो ।
शुक्रबार जोशीलाई म्याद थप गर्न लैजाँदा लामिछानेविरुद्ध पक्राउ अनुमति पनि सँगै लिने प्रहरीको तयारी थियो । शुक्रबार नै काठमाडौंमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लामिछाने पक्राउ पर्ने सम्भावना रहेको ‘ब्रिफिङ’ गरेका थिए । म्याद थप र पक्राउ पुर्जी जारी गर्नका लागि भने जिल्ला अदालतमा एक जना पनि न्यायाधीश उपस्थित थिएनन् । न्यायाधीश नवराज दाहाल, हिमलाल बेल्वासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, चन्द्रकान्त पौडेल र नितिज राई बिदा बसेका थिए । स्रेस्तेदार राजन खनाल पनि अदालत गएका थिएनन् । अर्का न्यायाधीश कृष्णजंग शाह नेपालगन्जबाट काठमाडौं हुँदै जहाजमा पोखरा आउने तयारीमा थिए । मौसमको खराबीले जहाज उड्ने/नउड्ने निश्चित थिएन ।
प्रहरीले पक्राउ अनुमतिका लागि फाइल लिएर आउने जानकारी पाएका अदालतका कर्मचारी न्यायाधीश नआए के गर्ने भन्नेमा दोधारमा थिए । अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार सातै जना न्यायाधीश उपस्थित हुन नसक्ने घटना पहिलोपल्ट भएकाले के गर्ने भन्ने छलफल चलिरहेको थियो । झन्डै साढे २ बजे बल्ल न्यायाधीश कृष्णजंग शाह पोखरा विमानस्थलमा ओर्लिएको खबर आयो । उनी झन्डै ३ बजे अदालत प्रवेश गरे ।
उनी आउनुअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्याम ओलिया, डीएसपी वसन्तकुमार शर्मासहित सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा संलग्न प्रहरीको टिम नै फाइलसहित अदालत पुगेको थियो । पोखरा महानगरले तयार गरेको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन समितिको प्रतिवेदन, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनसहितको फाइल अदालतमा बुझाउँदै प्रहरीले लामिछानेसहित सूर्यदर्शन सहकारी ठगीमा संलग्न १४ जनाविरुद्ध पक्राउ अनुमति माग्यो । साँझ ५ बजेतिर अदालतले पक्राउ अनुमति दियो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा जिल्ला अदालत कास्कीले लामिछाने मात्र होइन, उनीसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारी ठगीमा यसअघि नै १९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
सूर्यदर्शन सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर २०८० असोज १८ मा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भवीश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । दोस्रो चरणको अनुसन्धानका क्रममा लामिछाने पक्राउ परेका हुन् ।
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा प्रहरीले पहिलो चरणको अनुसन्धान गरी २०८० भदौमा मुद्दा दायर गर्दा लामिछानेसहितका व्यक्तिलाई सरकारले उन्मुक्ति दिएको थियो । उक्त समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । तर, लामिछानेसहित सहकारी ठगीका आरोपीमाथि पनि अनुसन्धान गर्न भन्दै पीडित बचतकर्ताले ०८० माघ २२ मा पूरक उजुरी दिएका थिए । तर, २१ फागुनमा लामिछाने आफैं गृहमन्त्री भएपछि अनुसन्धान अवरुद्ध भएको थियो । लगत्तै सञ्चारमाध्यम र संसद्मा लगातार आवाज उठेपछि संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय ५० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधीन छ । प्रतिवेदनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ । यसमध्ये ३० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको तमसुकसमेत छ ।
प्रहरीले गरेको अनुसन्धानका आधारमा कास्कीका जिल्ला न्यायाधीश कृष्णजंग शाहले पक्राउ अनुमति दिएपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी उपस्थित गराइदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाडौंलाई पत्र पठाएको थियो । पत्रमा ‘प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गीतेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानका सिलसिलामा पक्राउ गर्न कास्की जिल्ला अदालतबाट अनुमति जारी’ भएको उल्लेख छ ।
पत्राचारपछि सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली वनस्थलीस्थित रास्वपा कार्यालय पुगेको थियो । सीआईबी टोलीले साँझ पौने ७ बजे लामिछानेलाई पक्राउ पुर्जी थमायो । उनलाई स्थलमार्ग हुँदै पोखरा लगिएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले आइतबार कार्यालय समयमा लामिछानेलाई अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अदालतले दिएको पक्राउ पुर्जीमा लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ (३) अनुसार पक्राउ अनुमतिका लागि अनुरोध भई आएकाले त्यसमा अनुसन्धान गर्न मनासिब आधार र कारण देखिएको उल्लेख छ । अदालतले आदेश दिएपछि संगठित अपराध र सहकारी ठगीको कसुरमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए । ‘जिल्ला अदालत कास्कीको अनुमतिमा लामिछानेलाई पक्राउ गरिएको छ, कार्यालय समयमा उहाँलाई अदालतमा प्रस्तुत गरिनेछ,’ उनले भने ।
गीतेन्द्रबाबु (जीबी) राई र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेले गोर्खा मिडियामा पाएको भनिएको ‘स्वेट सेयर’ लाई समितिले किर्ते भनेको छ । ‘गोर्खा मिडिया नेटवर्क प्रालिलगायतमा कम्पनीहरूमा सेयर खरिदबिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिदबिक्री भएको पाइएको’ समितिको निष्कर्ष छ । बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछाने/रोशनी गुरुङमार्फत आएको रकमलाई आफ्नो लगानी भनेर लामिछानेले गोर्खा मिडियाको १५ प्रतिशत सेयर लिएका थिए । कम्पनीबाट बिदा हुने बेला सेयरबापत एक करोड ८० लाख रुपैयाँ बुझेको भन्दै लामिछानेले औंठाछापसहितको कागज पनि कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएका थिए । तर यी कागजलाई ‘नक्कली र देखावटी’ भनेर उनले पत्रकार सम्मेलनमै स्विकारेका थिए ।
सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ मा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, पूर्वप्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले उनीहरू विरुद्ध संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो । समितिले प्रतिनिधिसभामा भदौ ३१ मा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेको निर्देशनपछि प्रधानमन्त्री कार्यालय पठाइएको थियो । मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनमा लैजाने भन्दै गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाएको थियो, जहाँबाट प्रतिवेदन कास्की प्रहरीमा पुगेको थियो ।
समितिको प्रतिवेदनअनुसार खातामा आएको रकममध्ये धेरैजसो तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको हस्ताक्षरमा काटिएका चेकमार्फत खर्च भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । खाता सञ्चालकका रूपमा राई, लामिछाने र जोशीको नाम, मिति, कम्पनीको नाम, ठेगाना, तस्बिर, तीनपुस्ते, औंठाछाप र हस्ताक्षरसहित ग्राहक पहिचानपत्र (केवाईसी) फाराम भरेर बैंक खाता खोलिएको प्रमाणित भए पनि लामिछानेले सहकारीबाट आफ्नो खातामा पैसा नआएको दाबी गर्दै आएका थिए ।
कास्की प्रहरीको टोलीले काठमाडौं आएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामार्फत अपचलन गर्ने कार्यमा राई, लामिछानेलगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । गत वर्षदेखि नै फरार रहेका राई हाल मलेसियामा रहेको प्रहरीले जनाएको छ ।
जोशीलाई थप २० दिन हिरासतमा राख्न अनुमति
सहकारी बचत रकम अपचलन प्रकरणमा असोज ६ मा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक
छविलाल जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ । यसअघि पहिलोपल्ट ५ दिन र दोस्रोपल्ट ७ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । म्याद थप्ने दिन घटस्थापना परेको र त्यसलगत्तै दसैं बिदा भएकाले अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
जोशी जिल्ला प्रहरी कार्यालय नजिकैको फिस्टेल अस्पतालमा बसिरहेका छन् । उनी उच्च रक्तचापको बिरामी भएकाले अस्पतालमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए ।
