फेसबुकमा लेखे- 'सरकार मर्यो, हामीलाई जुठो पर्यो'
काठमाडौँ — पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका छन् ।
उनले पक्राउ पुर्जी बुझेपछि रास्वपा पार्टी कार्यालयमा अदालतको सम्मान गर्ने र अदालती प्रक्रियालाई सम्मान गर्ने त प्रतिक्रिया दिए । उनले आफू पक्राउ पर्नुलाई उनले राज्यको दादागिरी भनेका छन् । उनले आफूले सम्झौता नगर्दा सरकार ढलेको र नयाँ सरकार बन्ने सम्झौताकै क्रममा आफूलाई पक्राउ गर्ने सहमति नभएको दाबी गरे ।
'मैले धेरै भन्नुपर्ने केही छैन। आम नागरिकले सबैकुरा देखेका छन् । उनीहरूले जस्तै सम्झौता गरेको भए सरकार लम्बिन्थ्यो होला । जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो त्यो दिन नै रविलाइ पक्राउ गर्ने सहमति थियो,' लामिछानेले भने,' देशको आशा र भरोसामाथि प्रहार भएको छ । म कुनै पनि अदालति प्रक्रियालाई सम्मान गर्न चाहन्छु ।'
उनले कुनै पनि अपराध नगर्दा पनि राज्यले सम्पूर्ण शक्ति लगाएर यो कार्य गरेको बताए । 'राज्यको दादागीरी डटेर सामान गर्न चाहन्छु ।'
लामिछाने आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिउँसो निकै विक्षिप्त र अराजनीतिक भाषामा एउटा लामो फेसबुक स्टाटस समेत लेखेका थिए । उनले भनेका छन्- 'सरकार मर्यो,हामीलाई जुठो पर्यो !!'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै बिचौलियाको सेवा गरेको आरोप लगाएका छन् ।
'तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? '
उनले राज्यको भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि आफ्नो केही नभेट्ने दाबी गरेका छन् ।
'तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?'
'ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो ।वाचा स्वरुप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रोसँग थाहा छ' लामिछानेले लेखेका छन् ।
लामिछानेले पक्राउ पर्नुअघि रास्वापाको फेसबुक पेजबाटबा एउटा भिडियो वक्तव्य पनि जारी गरेका त्यसमा पनि उनले आफूप्रति पूर्वाग्रह साँधिएको बताए ।
