सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार

कार्तिक २, २०८१

कान्तिपुर संवाददाता

A letter from the police to the speaker about the arrest of MP Lamichhane

काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् ।

'सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ,' पत्रमा भनिएको छ । 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराका पूर्वअध्यक्ष एवं संचालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा प्रस्तुत कसूरमा संलग्न देखिएको भन्दै लामिछाने पक्राउ परेका हुन् । उनीहरुमाथि कृष्णप्रसाद जैसीलगायतको जाहेरी तथा प्रहरी प्रतिवेदनले ठगीमा संलग्न भएको देखाएको थियो । 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully