लामिछाने पक्राउको विरोधमा प्रदर्शन

कार्तिक ४, २०८१

प्रतीक्षा काफ्ले

Demonstration against the arrest of Lamichhane

पोखरा — पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता एवं कार्यकर्ताले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा नेता एवं कार्यकर्ताले प्रदर्शन गरेका हुन् । 

विरोधसभालाई सम्बोधनका क्रमम रास्वपा नेताले षड्यन्त्रपूर्वक लामिछानेलाई फसाइएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रदर्शनकारीले कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा संलग्न रहेकाले कारबाही गर्नुपर्ने माग गरेका थिए । 

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पार्टी गठन भएको छोटो समयमै २१ जना सांसद लिएर संसद्मा आएपछि ठूला पार्टीको नीदहराम भएको बताए । अनेक बहाना बनाएर रास्वपा अभियान सिध्याउन प्रतिशोधपूर्ण रूपमा सरकार लागेको उनको आरोप थियो । ‘गोजीमा रातो पासपोर्ट र ग्रिनकार्ड बोकेकाहरू नै रास्वपाप्रति पूर्वाग्रही छन्,’ उनको भनाइ थियो ।

रास्वपाका अर्का उपसभापति स्वर्णिम वाग्लेले अनेक पूर्वाग्रह राखेर एउटा व्यक्ति र पार्टीलाई सिध्याउने खेलको राजनीतिक प्रतिवाद गर्ने बताए । ‘व्यक्तिगत इगोको कारण दुई–चार दिन भए पनि लामिछानेलाई थुनौं भनेर सरकार लागेको छ,’ उनले भने, ‘देशमा गर्नुपर्ने काम धेरै छन् । तर त्यतातिर ध्यान नदिई सरकार राज्यशक्तिको पूरै दुरुपयोग गरेर, अनेक पूर्वाग्रह राखेर एउटा व्यक्ति र पार्टी सिध्याउने खेलमा लागेको छ ।’ दुई तिहाइको सरकारले सबै संवैधानिक निकाय कब्जा गरिरहेको तर न्यायालय कुनै पनि दबाब र प्रभावमा नपर्ने विश्वास आफूहरूको रहेको उनको भनाइ थियो ।

रास्वपा नेता मनीष झाले ठूला पार्टीमा राज्यको सम्पत्ति दोहन नगरेको व्यक्ति भेट्टाउन मुस्किल पर्ने भन्दै रास्वपामा एक जना पनि त्यस्तो व्यक्ति नरहेको दाबी गरे । ‘दुई तिहाइको सरकारले रगत खोजेको हो भने म दिन तयार छु,’ उनले भने, ‘रास्वपा एउटा अभियान हो, एउटा व्यक्तिलाई थुन्दैमा यो रोकिँदैन ।’

सहकारीपीडितले समेत र्‍याली आयोजना गर्ने तयारी गरे पनि पछि प्रशासनको आग्रहमा स्थगित गरिएको सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

सहकारी ठगी प्रकरण

प्रतीक्षा

Link copied successfully