सहकारी पीडितको न्यायका लागि प्रभावकारी नीतिगत निर्णय लिन सरकारसँग कांग्रेसको माग

पुस १५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारमा सहभागी नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिनका लागि प्रभावकारी नीतिगत निर्णय लिन सरकारसँग माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेर सहकारीका संचालकले मनोमानी ढंगबाट सहकारी कानुन विपरीत आफूखुसी कारोबार गरेको भन्दै त्यसबाट पीडितलाई राहत दिन माग गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आइतबार केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्ने क्रममा विगतदेखि नै पार्टीले सहकारी सम्बन्धमा ध्यानाकर्षण गराएको र आगामी दिनमा प्रभावकारी कदम चाल्नका लागि माग गरेको जानकारी दिए ।

'सामान्य ज्याला मजदुरी, खेतीपाति तथा व्यापार व्यवसाय गर्ने न्यून आय भएका व्यक्ति वा परिवारले कमाएको केही रकम बचत गरौं भनि सहकारीमा जम्मा गरेको रकम केही सहकारीका संचालकले मनोमानी ढंगबाट सहकारी कानुन विपरीत आफूखुसी कारोबार गर्ने तथा आर्थिक अनियमितता र अपचलन गरी बचतकर्ताको रकम हिनामिना गर्ने गरेका समस्या देशव्यापी रूपमा फैलिएको र यसले सर्वसाधारण नागरिकहरूलाई अत्यन्तै अप्ठ्यारो पारेको छ,' कांग्रेसको माग छ, 'यस क्षेत्रको समस्या समाधान गर्न नेपाल सरकारले गठन गरेको उच्चस्तरीय संयन्त्रको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न तथा बचतकर्ताको लगानी फिर्ता पाउने कुराको सुनिश्चितता गराउन सरकारले तत्काल प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्ने एवं विद्यमान कानुनी उल्जन हटाई पीडितलाई न्याय दिलाउने प्रभावकारी नीतिगत निर्णय लिन सरकारसँग माग गर्दछ ।'

कांग्रेसले सहकारी क्षेत्रमा देखिएका समस्याले सर्वसाधारण बचतकर्ता मर्कामा परेको भन्दै त्यसप्रति ध्यान दिन सरकारसँग माग गरेको हो । 'यस क्षेत्रको समस्याले सर्वसाधारण जनता र साना तथा अनौपचारिक क्षेत्रमा व्यवसाय गर्ने वर्गको दैनिक जीवनमा समेत कठिन परिस्थिति सृजना गर्दै लगेको र सरकारप्रति नै नकारात्मक धारणा बन्न' थालेको भन्दै कांग्रेसले सरकारलाई प्रभावकारी कदम चाल्न भनेको हो । 

सहकारी अनियमितता

कान्तिपुर

Link copied successfully