काठमाडौँ — जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात भूकम्प गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई सूचना आयो, जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ । शनिबार बिहान १ बजेसम्म एक सयभन्दा बढीको मृत्यु, हजारभन्दा बढी घाइते र हजारौं घर क्षतिग्रस्त भएको विवरण आइसकेको थियो ।
प्रधानमन्त्रीले सचिवालयलाई शनिबार सबेरै प्रभावित जिल्ला जाने तयारी थाल्न तत्कालै निर्देशन दिए । बिहान ३ बजे सुरक्षा र स्वास्थ्य निकायलाई उद्धार, उपचार र राहतका लागि तयारी हालतमा रहन अर्को निर्देशन दिए । उनी सुरक्षा निकाय, स्वास्थ्यकर्मी,
केही राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिमका सांसद शक्ति बस्नेत र जनार्दन शर्मा सहितबिहान साढे ६ मा भूकम्प प्रभावित क्षेत्रतर्फ हेलिकोप्टरमा उडे ।
जाजरकोट सदरमुकाम खलंगामा पुगेपछि उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पले पुर्याएको क्षतिको विवरण लिई जिल्ला अस्पतालमा घाइतेको अवस्था बुझे । प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सबै उपाय अपनाउने आश्वासन दिए । करिब ९० प्रतिशत घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको भेरी नगरपालिका–१ को अवलोकनपछि प्रधानमन्त्री दाहाल नलगाड नगरपालिकाको दल्ली ओर्लिए । शनिबार दिउँसो रुकुम पश्चिमको चौरजहारी विमानस्थल पुगे । त्यहाँ नेपाली सेनाको स्काइट्रक स्टान्डबाई थियो । चौरजहारी अस्पतालमा भएका घाइते र आफन्तलाई उपचारको चिन्ता नगर्न आश्वासन दिए ।
घाइतेलाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएपछि उनी रुकुम पश्चिमकै सानीभेरी नगरपालिकातर्फ लागे । त्यहाँ घाइते र मृतकका परिवारसँग दाहालले भने, ‘सरकार तपाईंको साथमा छ । हामीले तीन तहकै सरकार परिचालन गरेका छौं । उद्धार, उपचार, राहत सबै काम ढिला नगरी हुन्छ ।’
सानीभेरीको क्षति विवरण लिएर पीडितलाई आश्वासन दिएपछि उनी रुकुम पश्चिमको सल्लेस्थित अस्पताल पुगे । सांसद शर्मासहित पुगेका प्रधानमन्त्री दाहालले जिल्ला अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई सुर्खेत, नेपालगन्ज र काठमाडौं लैजान निर्देशन दिए । उनले उद्धार र उपचारका लागि हेलिकोप्टरको व्यवस्था गरिएको बताए । त्यसपछि उनी रुकुम पश्चिमको सबभन्दा बढी प्रभावित आठबिसकोट नगरपालिकाको राडीज्युला पुगे । यो नगरपालिकामा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।
राडीज्युलाबाट एक बालकसहित तीन घाइते लिएर नेपालगन्ज विमानस्थल ओर्लिए । घाइतेलाई सुर्खेत प्रदेश अस्पताल पठाएर उनी नियमित उडानबाट काठमाडौं फर्किए । उनले भूकम्प प्रभावित क्षेत्रमा झन्डै १२ घण्टा बिताए । प्रधानमन्त्री दाहालले नेपालगन्ज विमानस्थलमा विपद्का लागि सरकारले गर्नुपर्ने दायित्व गम्भीर भएर पूरा गरिरहेको बताए । भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किने क्रममा उनले अझै पनि जोखिम नटरेको र पूर्वसतर्कता सहित जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।
‘मैले बझाङ भूकम्पको पनि स्थलगत अवलोकन गरेको थिएँ । यहाँ पनि मुख्य प्रभावित क्षेत्रसहित जाजरकोट र रुकुम पश्चिमको अवलोकन गरें,’ उनले भने, ‘यतिबेला ठूलो मानवीय क्षति भएको छ । हजारौं घरहरू क्षतिग्रस्त भएको मैले प्रत्यक्ष अवलोकन गरेर आएको छु । आजको दिनमा सरकारले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ । सरकार यो विषयमा गम्भीर छ ।’
प्रधानमन्त्री दाहालले शनिबार उद्धार र उपचारको काम भइरहेको भन्दै आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने र राहत तथा पुनःस्थापनाको काम अघि बढाउने बताए । आइतबार बिहान विपद् व्यवस्थापनको बैठक पनि बस्दै छ । ‘आज दिनभर घाइतेहरूको उद्धार भएको छ । मैले आफैं पनि घाइतेहरूलाई लिएर उद्धार गरेको छु । अहिले चिकित्सक र औषधोपचारको प्रबन्ध पनि भएको छ,’ प्रम दाहालले थपे, ‘तीनवटा हेलिकोप्टरले दिनभर उद्धारको काम गरेका छन् ।’
सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचार व्यवस्थापनको काम करिब सकिएको जनाएको छ । जाजरकोटका ४ र रुकुम पश्चिमका ३ वटा पालिकामा भत्किएका संरचनाबाट घाइतेको उद्धार, पुरिएका मृतकलाई निकाल्ने काम र घाइतेको उपचारको व्यवस्थापनको काम शनिबार बेलुकासम्म भइसकेको जनाएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सबै निकाय परिचालन गरी भूकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम पूरा गरेको बताए । ‘पुरिएकालाई खोज्ने, शव निकाल्ने र घाइतेलाई उद्धार गरी आवश्यक उपचारका लागि पठाउने काम करिब सकिएको छ,’ उनले भने, ‘अब सरकारको काम भूकम्पपीडितलाई पर्याप्त राहतअन्तर्गत त्रिपाल, म्याट, कम्बल, खाद्यान्नको व्यवस्थापन गर्ने कामलाई तीव्रता दिनेछ ।’ उनले थप खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए ।
