स्तरोन्नतिमा ३ अर्बमा लागेको सडकको ३१ ठाउँमा पहिरो नियन्त्रणका लागि छुट्टै ३० करोड खर्च, तर न जोखिम घट्यो न त दीर्घकालीन समाधान नै भयो
काठमाडौँ — कालेखोलामा पहिरो गएर शनिबार साँझ ४ बजे नारायणगढ–मुग्लिङ सडकमा बन्द भएको आवागमन खुलाउन अबेरसम्म प्रयास भइरहेको छ । यो खण्डमा पहिरो खसेर आवागमन अवरुद्ध हुनु नौलो रहेन । गत असार १४ र १५ मा २९ घण्टा बन्द भयो । १४ गते राति तुइनखोलामा पहिरो खसेपछि यातायात ठप्प भयो । पूर्व–पश्चिमबाट काठमाडौं हिँडेका हजारौं यात्रु बीच सडकमै अलपत्र परे । यात्रुले भोकभोकै रात बिताउनुको विकल्प भएन । बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिए । मुग्लिङबाट नारायणगढतर्फ २.२ किलोमिटर दूरीमा पहिरो खस्दा त्रासैत्रासमा यात्रुले सडकमै रात कटाए ।
यो समस्या बर्सेनि बर्खामा दोहोरिइरहन्छ । ठूलो पानी पर्नै हुन्न, कुन ठाउँमा कतिखेर पहिरो खस्छ पत्तो हुँदैन । यो खण्डमा पानी पर्दा मात्र होइन, घामलाग्दा पनि सुक्खा पहिरो खसेर अवरुद्ध बन्ने गरेको सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताए । नारायणगढ–मुग्लिङ सडक असार १४ यतामात्र ११ दिनको अन्तरालमा झन्डै ६० घण्टा सडक अवरुद्ध भइसकेको छ ।
पुनर्निर्माण थालेर सञ्चालनमा आएयता नारायणगढ–मुग्लिङ खण्डमा धेरै दुर्घटना भएका छन् । विभिन्न समय भएका दुर्घटनामा १ सय ८४ जनाले ज्यान गुमाए भने १ हजार ८१ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पहिरोकै कारण भएको पाइएको छ । सडक विस्तारमा भूबनोटलाई ध्यानमा राखेर सुरक्षाका उपायसहितका संरचना नबनाउँदा यो खण्डमा दुर्घटनाको जोखिम बढेको हो । मुग्लिङबाट नारायणगढतर्फको खण्डमा चट्टानी पहिरोको जोखिम बढी रहेको भूगर्भविद्हरूको भनाइ छ । सडकको स्तरोन्नति २०७२ वैशाख ७ बाट सुरु भई पटकपटक म्याद थपपश्चात् २०७५ साउन २४ मा पूरा भएको थियो । दुई लेनमा सडक स्तरोन्नति गरिए पनि पहिरो खस्ने क्रम रोकिएको छैन ।
यो सडक काठमाडौं उपत्यका र गण्डकी प्रदेश आउजाउको ‘लाइफ लाइन’ हो । भन्सार नाका वीरगन्जबाट आएका सामान होस् वा भैरहवाबाट, यही राजमार्ग भएर दैनिक उपभोग्य वस्तु संघीय राजधानी भित्रिन्छ । मालवाहक र ठूला यात्रुवाहक सवारीका लागि यो सडक प्रयोग गर्नुको विकल्प छैन । प्रत्येक बर्खामा कतिबेला कहाँनेर पहिरो खस्छ भन्ने अनिश्चित छ । पहिरो रोकथामको दिगो उपाय अपनाउन नसक्दा यो खण्डमा सास्ती भोग्नुपर्ने बाध्यता छ । निर्माणकै क्रममा पनि गुडिरहेका गाडीमाथि पहिरो खस्दा कैयौंले ज्यान गुमाएका थिए ।
व्यवसायीहरूले यो सडक खण्डलाई व्यवस्थित गर्नुपर्ने माग राख्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए । ‘राजधानी जोड्ने मुख्य सडक नै यही हो,’ उनले भने, ‘सडकको स्तरोन्नति गर्नु राम्रै हो, तर प्रत्येक बर्खामा पहिरोले सास्ती दिने गरेको छ ।’ मुग्लिङबाट नारायणगढतर्फ लाग्दा पारिको खण्डमा एकतर्फी सडक बनाएर चलाए अहिलेको जस्तो समस्या नहुने उनको सुझाव छ । ‘दैनिक उपभोग्य वस्तु राजधानी ल्याउन काठमाडौं/तराई–मधेश द्रुतमार्ग नबनेसम्म यो सडकको विकल्प छैन,’ उनले भने, ‘त्यसैले विकल्पका रूपमा मुग्लिङ पारि सडक बनाउनैपर्छ ।’ उनले दैनिक उपभोग्य वस्तु राजधानीतर्फ ल्याउँदै गर्दा पहिरो झरेर सडक त्यहीं बिग्रिने गरेको उनले गुनासो गरे । ‘फलफूल, माछामासु, तरकारी, दूधलगायत खाद्यवस्तु जहिले जिल्लाहरूबाट हिँडायो त्यही दिन नै राजधानी नपुर्याए बिग्रिहाल्छ,’ उनले भने, ‘अहिले पहिरोका कारण यस्ता सामान बोक्ने ढुवानीका साधन सडकमै रोकिँदा व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ ।’
यो सडक भएर दैनिक करिब ८ हजारभन्दा बढी सवारी गुड्छन । विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत ३६ किलोमिटरमध्ये चितवनको आँपटारीदेखि मुग्लिङसम्मको ३३ किमि सडक स्तरोन्नति गरिएको हो । स्तरोन्नतिमा तीन अर्ब रुपैयाँ खर्च भयो । उक्त खण्डको ३१ ठाउँमा देखिएको पहिरो नियन्त्रणका लागि मात्र नारायणगढ–मुग्लिङ सडक आयोजनाले थप ३० करोड रुपैयाँ खर्च गर्यो । तर न दुर्घटनाको जोखिम कम भयो, न पहिरोको दीर्घकालीन रोकथाम नै भयो । यो खण्डमा पहिरो सफा गर्नका लागि बर्सेनि ९० लाख रुपैयाँ खर्च हुने गरेको सडक डिभिजन भरतपुरका प्रमुख पौडेलले बताए । ‘गत आर्थिक वर्ष ९० लाख रुपैयाँ खर्च भयो,’ उनले भने, ‘चालु वर्षका लागि पनि ९० लाख रुपैयाँ छुट्याइएको छ ।’ पहिरोको जोखिम रहेका ठाउँमा रोकथामका लागि रक नेटिङ र रक एङकरिङको काम भएको उनले बताए । अहिले तुइन खोला, केराबारीस्थित मौरी पुल र नारायणगढबाट मुग्लिङतर्फको १८ किमि दूरीमा पहिरोको जोखिम बढी छ ।
‘१८ किमि दूरीमा मुख्य सडकभन्दा माथि शाखा सडकको ट्र्याक खोल्दाको माटो बर्खामा बगेर आउने गरेको छ,’ उनले भने, ‘मौरी खोलाले पहाडमा खसेको पहिरो बगाएर ल्याउने र तुइन खोलामा पहिलो पटक चट्टानी पहिरो खस्दा समस्या भएको हो ।’ गत वर्ष यो सडक पटकपटक गरी १ सय १७ घण्टा अवरुद्ध भएको थियो । त्यस्तै सडक स्तरोन्नतिपश्चात् १८ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ४ वटा पुल सञ्चालनमा छन् । अन्य १४ पुल निर्माणको क्रममा रहेको उनले बताए । विश्व बैंकले अध्ययन नै गरेर सडक स्तरोन्नतिको काम गरिएको दाबी उनको छ ।
उनका अनुसार ३३ किमिमध्ये २४ किमि खण्डमा पहिरोको जोखिम बढी छ । ‘मुग्लिङदेखि दासढुंगा खण्डको जुनसुकै ठाउँमा पनि पहिरो खस्न सक्ने अध्ययनले देखाएको छ,’ उनले भने, ‘त्यसमा पनि ३१ ठाउँको पहिचान गरी रोकथामको काम गरिएको हो, २४ किमिमै रोकथाम गर्नका लागि धेरै खर्च लाग्ने भएर गरिएन ।’ जहाँ–जहाँ जोखिम छ, त्यहाँ–त्यहाँ मात्र काम गरिएको उनले बताए । ‘पहिरो खस्ने सम्भावित क्षेत्रमा रोकथामको काम गरियो, तुइनखोला त्यो बेला जोखिममा थिएन,’ उनले भने, ‘त्यसैले त्यो खण्डमा रोकथामको कुनै काम गरिएन । पुल बनाउन ब्रेकर हालियो, त्यसको कम्पन आएर पहिरो खस्यो कि भन्ने अड्कल छ, तर अनुसन्धान भइसकेको भने होइन ।’
सडकमा धेरै समस्या आएपछि प्रतिनिधिसभाअन्तर्गत विकास समितिका तत्कालीन सभापति रवीन्द्र अधिकारीको टोलीले २०७४ असार १३ मा स्थलगत अनुगमन गरेको थियो । समितिले जोखिम रहेको भन्दै राति सवारी चलाउन रोक लगाउन निर्देशन दिएपछि असार २५ देखि यो खण्डमा बर्खाभरि रात्रिकालीन यातायात आवागमन बन्द पनि गरिएको थियो । त्यसबेलाको स्थलगत अनुगमनमा सहभागी सदस्य गुरुप्रसाद बुर्लाकोटीले सडक निर्माणपश्चात् आइपर्ने जोखिम आकलन नगरी काम गर्दा पहिरोको जोखिम रहेको बताए ।
‘त्यो बेला सरकारले सडक विस्तारको नीति ल्यायो, त्यहीअनुसार काम अघि बढाइयो,’ उनले भने, ‘निर्माणपश्चात् आइपर्ने जोखिमको अनुमान नै नगरी काम गर्दा अहिले पहिरोको समस्या धेरै देखिएको हो ।’ स्थलगत अनुगमनमा जाँदा आफूहरूसमेत दुई घण्टा पहिरोमा फसेको र त्यहीअनुसार व्यवस्थित तरिकाले काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उनी बताउँछन् । अहिले हेर्दा जाली राखेर पहिरो नियन्त्रणको प्रयास गरिएको उनले बताए । ‘प्राविधिकहरूले पहाड काटेर सडक बनाएपछि पहिरोको समस्या आउँछ भन्ने अनुमान गरेर अघि बढ्नुपर्थ्यो,’ उनले भने, ‘त्यसो गरेको पाइएन, पहिरो नियन्त्रण गर्न नसके अझै कति वर्ष यसले सताउने हो, थाहा छैन ।’
पछि स्थलगत अनुगमनपछि समितिमा छलफलका क्रममा अध्ययन राम्रोसँग नगरी सडक स्तरोन्नति गर्दा पहिरोको समस्या आएको कुरा उठेको तत्कालीन विकास समिति सदस्य गणेश पहाडीले बताए । ‘पहाड बढी काटेको, पहिरोको जोखिम के
हुन्छ भन्ने कुराको अध्ययन नगरी काम गरेको कुरा समितिमा उठेको थियो,’ उनले भने । यससम्बन्धमा समितिबाट कुनै किसिमको निर्देशन नभई मानवीय र भौतिक क्षति कम गर्न बर्खाभरि उक्त खण्डमा राति सवारी चलाउन रोक लगाउने निर्देशन दिइएको थियो ।
आवागमन अवरुद्ध हुँदा अलपत्र एम्बुलेन्ससहितका सवारी र बिचल्ली यात्रु वैकल्पिक बाटो खोज्दै । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
सडक विस्तारअघि भौगर्भिक अध्ययन नै आवश्यकताअनुसारको हुन नसकेकाले बढी समस्या देखिएको इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहालले बताउँछन् । ‘६० प्रतिशत सडक पहाडको फेदी काटेर बनाइएको छ, पहिरोको समस्या कसरी हट्छ ?,’ उनले भने, ‘सामान्य डिजाइनको भरमा सडक स्तरोन्नति गरेर हुँदैन । मैले यो सडकको अध्ययन गरेको २० वर्ष भयो, यसको सबै पाटो हेरिरहेकाले परम्परागत अध्ययन र डिजाइनको भरमा काम गर्दा समस्या भएको हो ।’ अर्को वर्ष समस्या दोहोरिन नदिन पहाड काटेर बनाइएका सडकका भित्ताको पुनः अनुगमन गरी काम गर्नु उपयुक्त हुने उनको सुझाव छ । सडक विभागबाट विशेष प्राविधिक टोलीसहित गएर पहिरो खसिरहने ठाउँमा नियन्त्रणको दिगो काम गर्नुपर्ने उनले बताए । ‘पहिरो सफा गर्न लाग्ने खर्च अध्ययनमा लगाएर समस्या पहिचान गरिनुपर्छ,’ उनले भने, ‘दिगो समाधानतर्फ नलागे पहिरोले सधैं सताउँछ ।’ सडकमा समस्या आएपछि २०७२ यताका प्रधानमन्त्री र विभागीय मन्त्रीहरू अधिकांश स्थलगत अनुगमनमा पुगेका छन् ।
जो पुग्थे, उसले निर्माणको कामदेखि पहिरो नियन्त्रण गर्न निर्देशन दिए । तर निर्देशन दिएअनुसार यो खण्डमा काम भने अहिलेसम्म हुन सकेको छैन । यस पटक चट्टानी पहिरो खसेको तुइन खोला खण्ड अध्ययनमा पहिचान नभएको ठाउँ परेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘आवश्यक अध्ययन नै नगरी सडक स्तरोन्नति गरियो भन्ने कुरामा पूर्ण सत्यता छैन,’ उनले भने, ‘तर केही न केही समस्या भने देखिएको छ, सडक विस्तार गर्दा यस्ता समस्या नआउलान् भन्ने होइन ।’ चट्टानी पहिरो खस्नुको कारण पत्ता लगाउन नसकिएको उनी बताउँछन् । ‘सडक चौडा गर्दा मेसिन औजार प्रयोग गरेर हो वा पहाड कटिङ गरेर चट्टानमा समस्या भयो, थाहा छैन,’ उनले भने, ‘अहिलेको ध्यान सडक अवरोध खुलाउनु हो ।’ तत्काल तारजाली गर्ने र अन्य उपाय अपनाएर पहिरो रोकथाम गर्ने अवस्था नरहेको उनले बताए । पहिरो पन्छाउने मेसिन/औजार तयारी अवस्थामा फिल्डमै राखिएको उनले सुनाए । यो ठाउँमा नयाँ पुल निर्माण भइरहेको छ ।
‘त्यसैले पुल निर्माणका लागि पहाड कटिङ गर्नुपर्ने भयो, त्यसका लागि मेसिन प्रयोग गर्दा कतिसम्म असर गर्छ आकलन गर्न नसकिएकै हो,’ उनले भने, ‘त्यसरी आकलन गर्न सकिएको भए किन यो विकल्पमा गइन्थ्यो, सुरुङ निर्माण वा कुनै विकल्प खोजिन्थ्यो, त्यो तहको अनुमान गर्न नसकेकै हो ।’ यो खण्डमा सवारी चाप बढी हुने भएकाले छिटो सक्न पुलको काम अघि बढाइएको सडक विभागले जनाएको छ । ‘पुल र सडकको निर्माण एकैचोटि थाल्दा सवारी सञ्चालनमा समस्या हुने भएकाले पहिला सडक र पछि पुल निर्माण गरिएको हो,’ उनले भने, ‘तर अहिले मुख्य समस्या तुइन खोलामा भए पनि अन्यत्र समस्या छैन ।’ नारायणगढ–मुग्लिङ सडकबारे बुझ्न स्थलगत रूपमै जाने तयारीमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ‘तात्कालिक उपाय, यो बर्खामा सडक बन्द नहुने स्थिति कसरी बनाउन सकिन्छ, पहिरो आइहाले छिटो कसरी खोल्ने र दीर्घकालीन समाधानतर्फ गम्भीरतापूर्वक लाग्नेछौं,’ उनले भने, ‘यसको विकल्पका रूपमा कान्ति राजपथलाई सहज रूपमा चलाउने तयारी गर्दै छौं ।’
यो सडकको विकल्पका रूपमा पूर्वबाट आउने साना सवारी बर्दिबास–धुलिखेल हुँदै काठमाडौं, पश्चिमबाट आउनेले बुटवल–पोखरा हुँदै काठमाडौं (ठूला सवारी पनि) आउन सक्नेछन् । त्यस्तै चितवनदेखि तराईका विभिन्न जिल्लाबाट आउनेहरूले कान्ति राजपथ, हेटौंडा–नौबिसे र हेटौंडा–कुलेखानी–दक्षिणकाली हुँदै काठमाडौं आउन सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
