नागरिकता नभएकै कारण विभिन्न अवसरबाट वञ्चित युवा भन्छन्, ‘ठूलो युद्ध जितेजस्तो लागेको छ’
जनकपुर, पर्सा, भैरहवा‚ बिर्तामोड — धनुषाको गणेशमान चारनाथ–३ भरतपुरका इन्द्रजित साफी नागरिकता प्राप्तिको आन्दोलनका कार्यक्रमहरूमा अग्रपंक्तिमा थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि उनीसहितका युवाले काठमाडौंको माइतीघरमा दिनहुँजसो धर्ना र विरोधका कार्यक्रम गरेका थिए ।
सर्वोच्चले गत बिहीबार ऐन कार्यान्वयनका लागि बाटो खोलेपछि इन्द्रजितले त्यो संघर्षको मीठो फल प्राप्त गरेका छन् ।
आमा सोनावतीसँगै जिल्ला प्रशासन कार्यालय पुगेका उनका चार दाजुभाइले आइतबार जन्मका आधारमा वंशजको नागरिकता प्रमाणपत्र पाए । ‘यो क्षणले मलाई आन्दोलन गर्दाको सबै कष्ट खुसीमा बदलिदियो,’ उनले भने, ‘पढ्ने–नोकरी गर्ने उमेरमा कसैलाई नागरिकताका लागि संघर्ष गर्नु नपरोस् ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हातबाट नागरिकता पाएपछि चारै दाजुभाइले आमा सोनावतीलाई साक्षी राख्दै तस्बिर खिचे र सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी साटासाट गरे । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्षसमेत रहेका इन्द्रजित अहिले ३१ वर्षका भए । माइला भाइ रञ्जित २९, काइँला छोटु २२ र कान्छा रवीन २१ वर्षका छन् । उमेर पुग्नासाथै नागरिकता नपाउँदा उनीहरूले निकै सास्ती पाएका थिए ।
इन्द्रजितले २०७२ देखि नागरिकताका लागि दौडधुप थालेका थिए । ‘ममी–बुबाको नागरिकता छँदै छ, जहिले बनाए पनि होला भनेर वास्ता गरिनँ,’ उनले भने, ‘एसएलसी सकेर ०६८ सालमा प्लस–टु पढ्न काठमाडौं गएँ । पढाइ सकेर इन्जिनियरिङमा नाम लेखाउन खोज्दा नागरिकता मागियो । ०७२ सालमा धनुषा प्रशासन पुगेर नागरिकता बनाउन खोज्दा सर्वोच्च अदालतले रोकेको भन्दै फर्काइदिए ।’ उनलाई जिल्ला प्रशासनका कर्मचारीले एक–दुई महिनामै कानुन बनेर आउने अनि नागरिकता बन्ने भनेका थिए । ‘तर, मैले दुई वर्ष कुर्दा पनि नागरिकता बनेन,’ उनले भने, ‘भारतमा नागरिकता नहुँदा नि पढ्न पाइने रहेछ, उतै गएर इन्जिनियरिङ गरें ।’
नागरिकता पाएपछि उनलाई बल्ल नेपाली नागरिक भएको महसुस भएको छ । ‘अब देशमै केही गर्छु,’ उनले भने । इन्द्रजित सिभिल इन्जिनियर हुन् । बुबा विक्रम धोबीको नागरिकता जन्मसिद्ध भएका कारण उनी नागरिकताबाट वञ्चित हुनुपरेको थियो ।
सिरहा विष्णुपुरकी रेणुकुमारी यादवले पनि आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाइन् । आफ्नो नागरिकता नहुँदा उनले बच्चाको जन्मदर्तासमेत गराउन पाएकी थिइनन् । ‘सबै प्रक्रिया पुर्याएर आधा घण्टामै हातमा नागरिकता आयो,’ उनले भनिन्, ‘खुसीको सीमा नै छैन ।’
वीरगन्ज–६ का २३ वर्षीय भीम चौबेले गत वर्ष पर्सा–बारा औद्योगिक करिडोरस्थित एक कम्पनीमा लेखापालमा जागिर पाए । तर, नागरिकता नहुँदा उनले जागिर गुमाउनुपर्यो । वीरगन्जमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनी आइतबार जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मसिद्धका आधारमा नागरिकता पाउँदा दंग थिए । ‘अब नागरिकता नभएकै कारण जागिर नपाउने चिन्ता रहेन,’ उनले भने, ‘नागरिकता पाइयो, अब जागिरको खोजीमा लाग्छु ।’ उनका भाइ २२ वर्षीय वरुणले पनि नागरिकता लिएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत उनले ६ वर्ष कुरेपछि नागरिकता पाएको बताए ।
जन्मसिद्धका आधारमा नागरिकता प्रमाणपत्र वितरण सुरु भएपछि जिल्ला प्रशासन पर्सामा आइतबार कार्यालय खुल्नुअगाडि नै घुइँचो लागेको थियो । फेरि कुनै माथिल्लो आदेश वा अदालतले नागरिकता वितरण रोक्न सक्ने संशयका कारण धेरैजना हतारमा देखिन्थे । जिल्ला प्रशासन पर्साका प्रवक्ता विनयकुमार श्रीवास्तवले आइतबार जन्मसिद्धका आधारमा ७० वटा नागरिकता वितरण भएको बताए । उता, रूपन्देहीको सिद्धार्थनगर–४ का १९ वर्षीय साविर अलीले पनि नागरिकता प्राप्त गरेका छन् । नागरिकता नहुँदा उनले कोरियन भाषा कक्षा लिन पाएका थिएनन्, जसका कारण वैदेशिक रोजगार सपना पूरा हुन पाएको थिएन । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको हातबाट उनले आइतबार वंशजको नागरिकता पाए । ‘तीन वर्षदेखि नागरिकता भन्दै जिल्ला प्रशासन धाउँथें,’ भैरहवा माविमा कक्षा १२ मा पढ्ने उनले भने, ‘यसबारे नियम नै बनेको छैन भन्ने कर्मचारीको जवाफ सुन्दै फर्किने गर्थें ।’
प्रजिअ पाण्डेका अनुसार २०७२ सालअघि जन्मका आधारमा रूपन्देहीमा १४ हजार ८ सय ७९ जनाले नागरिकता प्राप्त गरेका थिए । अब उनीहरूका करिब २५ देखि ३० हजार सन्ततिले नागरिकता पाउनेछन् । नागरिकता वितरणका लागि भैरहवास्थित जिल्ला प्रशासन, बुटवल र मर्चवारमा रहेका इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रमा पर्ने स्थानीय तहमा बारअनुसार पालो मिलाइएको छ ।
झापामा तीन हजारको आवेदन
झापामा नागरिकता प्राप्तिका लागि दुई दिनमा करिब तीन हजार जनाले टोकन लिएका छन् । आइतबार र सोमबार गरी चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालय तथा दमक र गौरीगन्जस्थित इलाका प्रशासनमा ती आवेदन परेका हुन् । प्रजिअ शिवराम पोखरेलका अनुसार साउन १५ सम्मका लागि टोकन पूरा भएको छ ।
जिल्लामा जनशक्तिअनुसार दैनिक ७५ वटासम्म नागरिकता जारी गर्न सक्ने क्षमता छ । दुई दिनमा एक सयभन्दा बढी जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिएका छन् ।
झापामा २६ हजार ४ सय ९७ जनाले जन्मसिद्ध नागरिकता लिएको प्रजिअ पोखरेलले बताए । ‘तुलनात्मक रूपमा उनीहरूका दुई जना सन्तानका दरले हिसाब गर्दा पनि ५२ हजारभन्दा बढीले वंशजको नागरिकता लिने अवस्था छ,’ उनले भने, ‘यत्रो संख्यालाई दैनिक नागरिकता वितरण गर्दा पनि हामीलाई कम्तीमा दुई वर्ष समय लाग्ने देखिन्छ ।’
